मानव जीवन प्रकृतिको अनुपम वरदान हो । मानव मात्रले दुःख, सुख, पिर मर्का, प्रेम, स्नेह, माया ममताको अनुभव गर्नुका साथै त्यसबारे अभिव्यक्ति गर्नसक्दछ । दुःखी, गरिब तथा शारीरिकरूपमा असक्षम व्यक्तिहरूको सेवा गर्नु नै मानवता हो । मानवता भन्नाले मानिस मानिसबीचको आपसी प्रेम, स्नेह, समझदारी, साथ र सहयोग हो । जात, धर्म, संस्कृतिभन्दा मानवता ठुलो हुन्छ । हामी कोरोना कहरको यस विपत्तिबाट जोगिन घरमै बसेर चाड पर्व मनाइरहेका छौँ । दुई महिनादेखि यता मनले नचाहँदा नचाहँदै आपसी दुरी कायम गरी कोरोनाविरुद्ध लडिरहेका छाँै । हालै भारतीय विस्तारवादले नेपालको कालापानी, लिपुलेकमा एकतर्फी सडक निर्माण गरेको हुनाले सडक र सदनबाटै विरोधको स्वर घन्किरहेकोे यस घडीमा रुकुम घटनाले प्रत्येक नेपालीलाई दुःखी तुल्याएको छ ।
विकसित देशहरूले आफ्नो वा विश्वकै लागि के–कति चमत्कारहरू गरिसकेका छन् । आधुनिक खेती, उत्पादनमुखी तथा अनुसन्धानात्मक शिक्षा, उपकरण, हातहतियार र ऊर्जाका साथै चन्द्रमा वा अन्य ग्रहहरूमा समेत मानव बस्ती बसाल्ने उपाय गरिसकेको अवस्थामा नेपालीहरू भन्ने उही जातभात, छुवाछूत र विभेदको शिकार हुनु परिरहेको तीतो यथार्थ हाम्रोसामु छ । सरकारले छुवाछूत र भेदभावको अन्त्यको घोषणा गरे पनि नेपाली समाजमा अझै यस प्रकारको रुढीवादी संस्कार अमानवीय तथा असामाजिक रीतिथितिले मानव मानवबीच विभेद सिर्जना गरिरहेको छ । सामाजिक विभेद र जातीय छुवाछूतकै कारण देशका कैयौँ निर्दोष युवायुवतीहरूले अकालमै ज्यान गुमाउन परिरहेका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको देशमा दिन दहाडै हत्या, हिंसाको सङ्ख्यामा भइरहेको तीव्र वृद्धिले नेपाली समाज झन्–झन् पतनोन्मुख दिशातर्फ धकेलिंदै गइरहेको महसुस हुन्छ । छुवाछूत, जातीय विभेद सयौँ वर्षअघिको क्यान्सर रोग हो ।
जबसम्म पृथ्वीमा रहेका सबै मानिस समान छन् भन्ने भावना मनमा बोध गरी सोहीबमोजिमको आचरणको पालना हुनेछैन, तबसम्म यसको कुनै उपचार देखिँदैन । त्यसको लागि आपसी प्रेम, विश्वास कायम राख्नु जरुरी छ । परम्परा, रीतिथितिभन्दा मानव जीवनको मूूल्य ठुलो छ । मानव अस्तित्व नै समाप्त पार्ने सामाजिक खराबीलाई त्याग्न आवश्यक छ । अनेक आशा एवम् सपना सँगालेर अन्तरजातीय विवाह वा सम्बन्धमा बाँधिन चाहने युवायुवतीहरू कलिलै उमेरमा मृत्यु वरण गर्नुपर्ने कहालीलाग्दो अवस्था कतिञ्जेल रहने हो ¤ त्यतिमात्र नभई तिनीहरूले सँगालेका कैयौँ सपनाहरू कोपिलामै निमोठ्ने दुस्साहस केबल निर्दयी पशुवत हातहरूले गर्नसक्लान् । ती दुष्ट आत्माहरू मानवताको नाममा सधँै कलङ्कित हुनेछन् । अतः जातभात, छुवाछूतजस्ता सामाजिक विभेद कायम गरी सोझा सीधा जनतालाई ठग्ने, लुट्ने, मारपिट गर्ने काम निःसन्देह गलत छ । रुकुम घटनाले दम्भले मातेका, टाठा बाठा र आफूलाई माथिल्लो जातका ठान्ने व्यक्तिहरूले पुलिस, प्रशासन, कानुन आफ्नो हातमा लिई तल्लो जातका मानिसलाई शोषण गर्ने, तिनीहरूको प्रगतिमा दा¥हा किट्ने, तिनको एकता, जोश, जाँगरलाई भाँड्न अनेक खालको षड्यन्त्र गर्नेरहेछन् । जातभात, छुवाछूतजस्ता रीतिथिति बसालेका त होइनन् भन्ने प्रश्न उब्जिन्छ । मानिसले गर्ने कामको प्रकृतिअनुसार जात र वर्ण छुट्याइएको देखिन्छ । यदि त्यस्तो हो भने सबै जात समान छन् किनकि सबै काम उत्तिकै महत्वपूर्ण हुन्छन् । डाक्टरी, शिक्षण, सिकर्मी, डकर्मी, कलाकारिता, पत्रकारिता, व्यापार व्यवसाय, सिलाइ, बुनाइ आदि सबैै काम सेवा र अर्थाेपार्जनका लागि गरिंदै आएको छ । श्रीकृष्णले गीतामा कर्मलाई नै प्रधानता दिएको प्रसङ्गबाट कुनै पनि सेवा या निष्काम कर्म गर्नुको महत्व कति ठुलो हुन्छ भन्ने स्पष्ट हुन्छ । महाकवि देवकोटाले उतिबेलै ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ भनी आफ्नो चर्चित महाकाव्य मुनामदनमा लेखेको पङ्क्ति हरेक नेपालीको बोलीमा सदावहार सुनिन्छ । तर, वेदका ज्ञाता, ग्रन्थहरू कण्ठाग्र आउँछ भन्ने धुरन्धर विद्वानहरूले के हजारौँ मानिस भेला गरी होम यज्ञ गर्दा सुनाउने गरेका वेद पुरानको कथा र तिनको शिक्षालाई व्यवहारिक जविनमा साँच्चिकै लागू गरिरहेका छन् त ? छैनन् भने ती सबै ढोङ्गी, पाखण्डी सावित हुन्छन् । त्यस्तै तिनका कुरो सुनेर धेरैले आफूले गरेको पापबाट छुट्कारा पाउन लाखौँको दान दक्षिणा चढाउने गर्दछन् । तर, आम जिन्दगीमा यसको ठीकविपरीत दुःखी, गरिब र असहायहरूलाई हेलाहोचो गर्ने गरिरहेको पाइन्छ । यसरी ईश्वर कहिल्यै खुसी हुनेछैैन । महाभारत ग्रन्थमा युधिष्ठीरले यक्षको एउटा प्रश्नको उत्तरमा श्रेष्ठ बाहुन उही हो जसले चरित्रलाई प्रधानता दिएको हुन्छ भनी मानिस जातले नभई उसको चरित्र वा कार्यले श्रेष्ठ हुने पुष्टि गरेका थिए । चरित्रहीन, नैतिकताहीन व्यक्तिहरू जतिसुकै ठुला जात, घरानियाँ वा उच्चओहदाका भए पनि समाजका लागि कलङ्क हुन् । जातभात, छुवाछूतको नाउँमा शोसितपीडित गरिब वर्गका जनतालाई चरम शोषण गर्ने शोषक सामन्तहरूको विरोध एवम् भण्डाफोर गर्नैपर्दछ । जातीय कुरो गरी आफू चोखिन खोज्ने तमाम व्यक्तिहरू सामाजिक अपराधी हुन् । राज्यले त्यस्ता अपराधीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्दछ । कानुन सबैको लागि बराबर छ भने कुनै पनि अपराधीले उम्किने ठाउँ पाउनुहुँदैन । कति ठुलाबडाहरु ठुलो जातको हुनुमा गर्व र घमण्ड गरी सानो जातका मानिसलाई हेप्ने, तुच्छ ठान्ने, उसले छोएको पानी नखानेजस्ता अमानवीय व्यवहार गर्न अतिकति पनि सङ्कोच मान्दैनन् । त्यतिमात्र नभई दलित महिला चेलीहरूसित दुव्र्यवहार गर्ने, तिनीहरूको इज्जतसित खेल्ने, बलात्कार गरी हत्या गर्नेसम्मको जघन्य अपराध गर्ने घृणित पात्रहरू नेपाली समाजमा अनगिन्ती पाइन्छन् । यसबाहेक नेपाली समाजमा अर्काको रूप, रङको बखान गर्न, तारिफ गर्न निकै समय खेर फाल्ने प्रवृत्ति पनि उत्तिकै निन्दनीय छ । दलित, आदिवासी, सम्पूर्ण व्यक्तिहरूको यो देशका नागरिक हुन् । यदि देशमा साँचो गणतन्त्र आएको हो भने सबै नेपाली नागरिकहरूले समान अधिकार उपभोग गर्न पाउनुपर्दछ । अनिमात्र आम नागरिकले स्वतन्त्रताको वास्तविक अनुभूति गर्न पाउनेछन् । अनेकतामा एकता र धार्मिक, सांस्कृतिक सहिष्णुता कायम रहेको नेपाल विश्वकै उत्कृष्ट देश बनाउन सकिन्छ । त्यसका लागि चेतनाको मूल फुट्नु आवश्यक छ । जातीय भेदभावले आपसमा फूट ल्याउने र पराइले राज गर्ने सम्भावना भएकोले जातीय नारा दिनुभन्दा वर्गीय भावनाले एकजुट भई काम गर्नसके देशले छिट्टै काँचुली फेर्ने निश्चित छ । आज देशको सार्वभौमिकता बचाउन सबै नेपाली एकजुट भई विस्तारवादीहरूसित लड्नुपर्ने बेला छुवाछूत, जातभातजस्ता सामाजिक विभेदलाई चिरेर राष्ट्रियता, स्वाधीनता र भू–अखण्डता रक्षाको लागि सङ्घर्ष गर्नु जरुरी भइसकेको छ । जातीय र क्षेत्रीय भावनाले विभाजनको रेखा कोर्ने, आपसमा द्वेष र कलह निम्त्याउने, मानवलाई दानवतुल्य बनाउने कट्टरता त्यागी युगअनुसार समाजको रूपान्तरण हुनु आवश्यक छ । वर्गीय हितलाई ध्यानमा राखी उँचो मनोबलका साथ अगाडि बढ्ने हो भने यस्ता सामाजिक कुरीति तथा खराबीहरूबाट मानवतालाई जोगाउन सकिन्छ ।