पृथ्वी मोटामोटी साढे चार अर्ब वर्षको भयो । पृथ्वीको प्राकृतिक इतिहासलाई विज्ञानले जियोलोजिकल टाइम स्केल (GTS) नामक सारिणी अन्तर्गत क्रमबद्ध गरेको छ । यो सारिणीमा समयको मापन गरिन्छ इयोन, इरा, पिरियड, इपोक र एजको नापोमा । मानव जाति हाल फेनेरोजोइक इयोन, सिनेजोइक इरा, क्वाटर्नरी पिरियड र होलोसिन इपोकमा छ । होलोसिन इपोक पछिल्लो हिमयुगको अन्त्यलगत्तै ११ हजार ७ सय वर्षअघि शुरु भएको थियो । स्थीर र तुलनात्मक रूपमा न्यानो जलवायु यस इपोकका विशेषता हुन् । तर पर्यावरणमा मानव गतिविधिहरूले पारेका प्रभावका कारण भूगर्भविदहरू नयाँ इपोकको प्रस्ताव गर्न बाध्य भएका छन् । एन्थ्रोपोसिन त्यहीँ नयाँ इपोक हो ।
एन्थ्रोपोसिनको शाब्दिक अर्थ हो मानव जाति अर्थात् होमो स्यापियन्सको इपोक । खासगरी २० औँ शताब्दीमा मानव जाति जल्दोबल्दो भौगर्भिक शक्तिको रूपमा उदायो । पृथ्वीको तापमान आश्चर्यजनक रूपमा बढिरहेको छ । जलवायुमा असाधरण परिवर्तन आएका छन् । संसारभरका हिउँ पग्लिनाले समुद्री सतह माथि उठ्दो छ । र उल्लेख्य मात्रामा जीवजन्तु लोप भइरहेका छन् । यी परिवर्तनलाई औँल्याउने पहिलो व्यक्ति थिए नोबेल पुरस्कार विजेता जलवायुविद् पाउल क्रुजेन । उनले २० औँ शताब्दीको अन्त्यतिर सूर्यका हानीकारक परावैजनी किरणलाई पृथ्वीसम्म आउनबाट छेक्ने ओजोन तह पातलिँदै गरेको पुष्टि गरेका थिए । र यसले मानव जीवनमा पार्न सक्ने घातक असरहरूबारे सचेत पारेका थिए । उनी भन्छन्, “कुरा छ्याङ्गै छ, मानवीय गतिविधिहरू यतिसम्म बढेका छन् कि यिनले प्राकृतिक प्रक्रियाहरूमा पूर्णतः हस्तक्षेप गर्नसक्छन् । आजभन्दा अगाडि पृथ्वीमा यस्तो कहिल्यै भएको थिएन । पछिल्लो ५ लाख वर्षसम्म पृथ्वीको जुन स्वाभाविक प्राकृतिक गति हो, पृथ्वी अहिले त्यस गतिभन्दा बाहिर गइसकेको छ ।”
यस्तो परिवर्तन कहिले शुरु भयो त ? हाल वैज्ञानिकहरू यसकै खोजीमा लागिपरेका छन् । छलफल र विचार विमर्शहरू जारी छन् । एन्थ्रोपोसिनको समय निर्धारण गर्ने क्रममा विभिन्न बाझिएका स्वार्थ सतहमा आएका छन् । एन्थ्रोपोसिनको सुरुवातबारे खासगरी दुईथरी विचार छन् ।
एकथरी भन्छन्, यसको सुरुवात १० हजार वर्षपहिले भएको हो । मानव जातिले खेतीपाती गर्न थालेपछि त्यसले पृथ्वीलाई फेरि अर्को हिमयुगमा फर्किन नसक्नेगरी न्यानो बनाएको हो । पुरातत्ववेत्ताहरूको मत अर्को छ । उनीहरूको विचारमा, ५० हजार वर्षपहिले मानव जाति संसारभर छरिएकाले त्यसलाई यसको सुरुवात मानिनुपर्छ । भूगोलविद्हरूको रायमा, सन् १६१० लाई नयाँ इपोकको थालनी मानिनु पर्छ । किनभने त्यसबेला दक्षिण अमेरिका महादेशको चर्को दोहन शुरु भएको थियो । यसले गर्दा त्यहाँका रैथाने जातिको संहार भयो, युरोपेली आप्रवासीहरूले अनेक रोगव्याधी भित्राए, जंगली भूभाग बढ्यो, अन्तरमहादेशीय व्यापारमा वृद्धि भयो र विभिन्न प्रजातिको साटफेर भयो । यसले गर्दा युरोपको वातावरणमा परेको मानवीय प्रभावलाई कम गर्न सघाउ पुग्यो । माटो विज्ञहरूको विचार फेरि बग्लै छ । उनीहरूको विचारमा, पृथ्वीको माटोको बनोटमा आएको परिवर्तनका हिसाबले १ हजार वर्षपहिले शुरु भएको मान्नुपर्छ । यी सबै विचारको सार हो – एन्थ्रोपोसिन धेरैपहिले शुरु भइसकेको हो, अत्तिनुपर्दैन । यसको उल्टो दोस्रोथरी विचार देखियो । यसको सार हो, एन्थ्रेपोसिन हालसालैको घटना हो ।
दोस्रोथरी भन्छन्, १८ औँ शताब्दीको उत्तराद्र्धमा आएको औद्योगिक क्रान्ति एन्थ्रोपोसिनको सुरुवाती बिन्दु हुनसक्छ । यसले जीवाश्म इन्धनहरूको प्रयोग ह्वात्तै बढाइदियो र आधुनिक उद्योगधन्दाको विस्तारले वायुमण्डलमा भारी मात्रामा ग्रीनहाउस ग्यास उत्सर्जन गरिरहेको छ । कोही भन्छन्, १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा खसालिएको आणविक बमले वातावरणमा अत्यन्तै घातक रेडियोधर्मी तत्वहरू छरेको हुनाले यसैलाई नयाँ इपोकको सुरुवाती बिन्दु मानिनुपर्छ । यी विचारलाई ध्यानमा राख्दै १९५० आसपास समाज र वातावरणमा आएका अत्यन्तै व्यापक फेरबदललाई समेट्दै प्रकट भयो एउटा शब्दावली ‘ठूलो फड्को’ (The Great Acceleration) । यो शब्दावलीको पहिलो प्रयोग विल स्टेफेन, क्रुजेन र वातावरणीय इतिहासकार जोन म्याक्नीलले २००५ मा गरेका थिए । तल १७५० देखि २०१० सम्ममा पृथ्वीको वातावरणीय र आर्थिक–सामाजिक क्षेत्रमा आएका परिवर्तनहरूको तुलनात्मक ग्राफ देखाइएको छ । यसले ‘ठूलो फड्को’ को अवधारणालाई अझ बलियो बनाएको छ । ती तीन विज्ञहरूको निष्कर्ष छ, “बितेको ५० वर्षमा, मानव जातिले विश्वको पर्यावरणमा इतिहासमै कहिल्यै नदेखिएको तीव्र र व्यापक हेरफेर गरेका छन् ।”
GTS अध्यावधिक गर्ने अधिकार भौगर्भिक विज्ञानहरूको अन्तर्राष्ट्रिय संघ International Union of Geological Sciences (IUGS) नामको संस्थालाई छ । यस संघले एन्थ्रोपोसिनको सुरुवाती बिन्दु निर्धारण गर्न एन्थ्रोपोसिन कार्यवाहक समूह (Anthropocene Working Group, AWG) को गठन गरेको छ । यो समूह सर्वमान्य किसिमका वैज्ञानिक तथ्यप्रमाणको संकलन र अनुसन्धानमा क्रियाशील । यस समूहको वेबसाइटमा प्रकाशित आलेखहरूले पनि यसले एन्थ्रोपोसिनलाई हालसालैको परिघटना मान्ने विचारमा जोड दिएको देखिन्छ । Nature नामक जर्नलमा प्रकाशित ग्राइम सुइन्डल्स नेतृत्वको एक अनुसन्धान समूहको अनुसन्धानअनुसार मानव बसोबास क्षेत्रमा मात्र नभएर दुर्गम अन्टार्टिका र आर्कटिक क्षेत्रमा पनि भेटिएको एक विशेष प्रकारको कार्बन Spheroidal Carbonaceous Particles (SPCs) एन्थ्रोपोसिनको आजसम्म भेटिएकामध्ये सबैभन्दा भरपर्दो प्रमाण हुनसक्ने देखाएको छ । संसारभर संकलन गरिएको यो अतिशय कालो कार्बनका नमूनाले पनि ‘ठूलो फड्को’ अवधारणालाई बल दिएको छ । यो मानवसिर्जित निर्धारक तत्वलाई IUGS ले अनुमोदन गरेको खण्डमा एन्थ्रोपोसिनको सुरुवाती समय २० औँ शताब्दीको मध्य (१९६०–१९६५) तय गरिने निश्चित छ ।
यस विषयमा विश्वका बडेबडे पूँजीपतिहरूको कर्के आँखा परिसकेको छ । माथि चर्चा गरिएको पहिलो विचार, अर्थात् ‘आत्तिनु नपर्ने’ विचारले पृथ्वीका प्राकृतिक स्रोतसाधनको अचाक्ली दोहनलाई ढाकछोप गर्छ । यसले साम्राज्यवादी स्वार्थपूर्ति गर्छ । त्यसैले साम्राज्यवादको नून खाएका वैज्ञानिकहरू यो मतलाई बलियो बनाउन लागि परेका छन् । जलवायु परिवर्तनलाई मिथकको रूपमा प्रस्तुत गर्ने उनीहरूको कोसिस विश्वका खर्बपतिहरूको आडमा अझै उभिरहने देखिन्छ । अर्कातिर सत्यको पक्षमा लड्ने वैज्ञानिकहरू पनि छन् । उनीहरू सकेसम्म ‘ठूलो फड्को’ को विचारमा अडान लिइरहेका छन् ।
अब यो विषय विशुद्ध वैज्ञानिक विषय नरहेर एक आर्थिक र राजनीतिक विषय बनेको छ । मानवअधिकारकर्मी, वातावरणविद् र अन्य वैज्ञानिकहरू एक इमान्दार पृथ्वीबासीको रूपमा पूँजीवादी र साम्राज्यवादी शक्तिको विरोधमा उत्रेका छन् । यो वातावरण आन्दोलनमा वामपन्थी बुद्धिजीवीहरू पनि सुरुदेखि नै संलग्न छन् ।
वास्तवमा वामपन्थी बुद्धिजीवीहरूले नै दोस्रो विश्वयुद्धपछिका वातावरणीय हेरफेरहरूलाई पहिलोपल्ट पहिचान गरेका थिए । साठी र सत्तरीको दशकमा उनीहरूले उत्पादन प्रविधिको विकासले प्राकृतिक प्रक्रियामाथि उल्लेख्य असर गरेको निष्कर्ष निकालेका थिए । पछि यहीँ विचारलाई पछ्याएका थिए अमेरिकी वामपन्थी बुद्धिजीवी जोन बेलामी फोष्टरले ।IUGS मा संलग्न वैज्ञानिकहरूले ‘ठूलो फड्को’ सम्बन्धी अनुसन्धान गर्नुभन्दा धेरै पहिले उनले यसका सामाजिक र आर्थिक कारणबारे माक्र्सवादी अध्ययनको थालनी गरेका थिए । उनले यी पर्यावरणीय परिवर्तनलाई एकाधिकार पूँजीवादको विकाससंग जोडेर हेरेका थिए ।
वातावरण आन्दोलनले जनताको ध्यान वर्गसंघर्षको मूल मुद्दाबाट मोड्ने पो हो कि भन्ने विचारले विश्व कम्युनिष्ट आन्दोलनमा घर गरेको देखिन्छ । त्यसैले पनि फोष्टरहरू किनारमा परिरहे । वातावरण आन्दोलनलाई कमजोर बनाउन साम्राज्यवादीहरू सक्रिय हुँदै गर्दा र आन्दोलनले वर्गीय रूप लिँदै गर्दा श्रमजीवी वर्ग यस आन्दोलनबाट अछुतो रहन सक्दैन, रहनु हुन्न ।
स्रोत
निम्न प्रकाशनमा प्रकाशित ‘एन्थ्रोपोसिन’ बारेका आलेखहरू :
१. नेचर
२. मन्थ्ली रिभ्यू
३. ICS sf को वेभसाइट