असोज ९,कञ्चन ।
यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २८१२.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.२७ अंक बढेर २८१९.६५ विन्दुमा बन्द भएको छ।
साताका ४ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढ्दा नेप्सेले सो अंक कमाएको हो। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११४.०२ अंक घटेको थियो। असोज महिनाको शुरुवातमा बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको नयाँ ब्याजदरका कारण सो दिन बजारमा दबाब सिर्जना भएको थियो। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको सूचना सार्वजनिक गरेका थिए जसले गर्दा नेप्से उच्च अंकले घटेको थियो। तर, त्यसपछिका दिनमा भने नेप्सेमा क्रमिक सुधार हुँदै गएको छ।
यस साता सेन्सेटिभ इण्डेक्स ४.२४ अंक बढेको थियो भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।
यस साता नेप्से सामान्य अंक बढेपनि कारोबार रकम भने केही घटेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ४४ करोडको शेयर कारोबार भएको छ।
नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साता ३९ खर्ब ३५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ११ अर्ब रुपैयाँ बढेर ३९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
समग्र नेप्सेमा सुधार देखिएपनि यस साता दुई उपसमूहबाहेक अन्य सबै उपसमूहका परिसूचक घटेका छन्। यस साता बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अन्य सबै उपसमूहका परिसूचक घटेका छन्। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.१८ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको ०.१५ प्रतिशत बढेको छ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.७७ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस दिन साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८१.०६ अंक घटेको छ।
यस साताको फ्लोरसिट विश्लेषण गर्दा साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, किसान लघुवित्तको साधारण शेयर र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेका छन्। त्यसैगरी, यस साता मोस्ट पपुलर सेल स्टकको सूचीमा भने यस साता सिटिजन्स म्युचुअल फण्डका दुई म्युचुअल फण्ड तथा सनराइज म्युचुअल फण्डको एक योजना रहेका छन्।