##जिवराज पौडेल
बालबालिकाहरुको सर्वाङ्गिण विकासका साथै बालबालिकाहरुको बाल अधिकारकारको सुनिश्चतताका लागी बालबालिकाहरुको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ । बालबालिकाहरुको आवश्यकताको पहिचानका साथमा बाल सहभागिता तथा बालमैत्री वाताबरण तयार गरी बाल मनोविज्ञानको आधारमा बालबालिकाको चौतर्फी क्षेत्रहरुको विकास गर्न सकेमा मात्र बाल दिवसको औचित्य पुष्टी हुन सक्छ ।
नेपालकामा वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते लाई मनाउने गरिन्थ्यो । उक्त सालमा आएको राजनैतिक परिर्वतन सगं संगै अन्तराष्ट्रिय बालअधिकार महासन्धीलाई नेपालले अनुमोदन गरेको दिन सेप्टेम्बर १४ बालदिवसको रुपमा मनाइदै आइएको छ । “सामान्य अबस्था वा कोभिड महामारी बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने मूल नाराका साथ ५७ औं राष्ट्रिय बालदिवस मनाउन गइरहेका छौ । नेपालमा बालदिवसको पुनित दिनमा मात्र बालबालिकाको सरोकारका विषयमा चर्चा, गोष्ठी, सेमिनार र कार्यक्रम आयोजना गरेर बालबालिकाको समग्र अवस्थामा परिर्वतन ल्याउने कल्पनारुपी कागजी दस्तावेज तयार गर्ने एंव पेश गर्ने, भाषण तथा बालबालिका सगंको बस्तुनिष्ट भन्दा बाहिर रहेका तथ्याङ्क प्रस्तुत गर्ने र प्रक्षेपणका विषयवस्तु ल्याउने बाहेक उल्लेखनिय रुपमा बालबालिकाको सर्वाङ्गिण विकासका योजना, कार्यक्रम, निति नआउनु हाम्रो देशको बिडम्बना भन्नु पर्दछ ।
बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरुको चौतर्फी क्षेत्रमा सर्वाङ्गिण विकास बिना देश विकासको कल्पना गर्नु निरर्थक मात्र हो । देश विकासका भविष्य निर्माता बालबालिकाहरुले अनिवार्य प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्य, पौष्टिक आहार तथा अनुकुल वाताबरण बिनाको देश विकासको परिकल्पना गर्नु दिवा सपना मात्र हो ।
नेपालमा गरिबी, बेरोजगारी, सामाजिक विभेद, लैड्ढिक असमानता, सामाजिक बहिस्करण, सामाजिक मुल्य मान्यता तथा संस्कार, नैतिक र चारित्रिक पक्षको कमि, बालमैत्री वातावरण हरेक क्षेत्रमा नहुनु, अभिभावक शिक्षाको व्यवस्था नहुनु, बालबालिकाको वृद्धि र विकासका लागि प्रर्याप्त बजेटको कमि तथा बालबालिका सम्बन्धी बनेका निति योजना र कार्यक्रम यथार्थपरक र बस्तुनिष्ट नहुनु लगायत बिविध कारणहरुले बालबालिकाको वृद्धि र विकासमा अबरोध सृजना गरेको अबस्था देखिन्छ ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या १८ बर्ष मुनिका बालबालिका र किशोरकिशोरी रहेको देखिन्छ । नेपालमा अझै पनि लाखौ बालबालिका विद्यालय बाहिर रहेका छन् । ५ वर्ष देखि १२ वर्षका बालबालिकामा करिब ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेको अबस्था देखिन्छ । हजारौ बालबालिकाहरु सडक बालबालिका रुपमा चित्रित छन् । नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र बनाउने नेपाल सरकारले अभियान चलाएता पनि बिगत ५ वर्षमा १७ सय ८८ जना बालबालिकाको मात्र उद्धार गरिएको जानकारी दिइएको छ । यी उल्लेखित अवस्थाबाट हाम्रो देशमा बालबालिकामा प्रर्याप्त ध्यान सम्बन्धित पक्षबाट नभएको कुरा घाम जस्तै छलङ्ग भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिडबाट ११ प्रतिशत बालबालिका वा २० वर्ष मुनिका किशोरकिशोरी रहेको अबस्था छ । यस विषम परिस्थितिमा विद्यालय संचालनका उपयुक्त मापदण्ड के हुने र कसरी संचालन गर्ने ? भन्ने कुरामा शिक्षा तथा बाल सरोकारका निकाय तथा संस्थाबाट ध्यान नदिएको कुरामा कुनै शंका कसैमा छैन होला ।
यी र यस्तै तमाम समस्याका बावजुद पनि सरोकारवालाहरुले उचित ध्यान दिन सकेमा र उपयुक्त कार्यक्रम सृजना गरि संचालन गर्न सकेमा बालबालिकाको चौतर्फी विकास भई देश विकासको मेरुदण्ड बाल उमेर समूहलाई भविष्यमा राष्ट्र निर्माणमा उपयोग गर्न सकिएला ।
बालबालिकाको चौतर्फी विकास गर्न निम्न उपायबाट सहजता हुन् सक्ला :
१ बालमैत्री विद्यालयका लागि योजना र कार्यक्रम ब्यबहारिक रुपमा प्रयोग गर्नुपर्नेछ।
२ छात्रवृत्ति आबश्यक्तामा आधारित हुनुपर्दछ ।
३ अभिभावक शिक्षालाई अनिवार्य गराउनु पर्दछ ।
४ नैतिक र चारित्रिक शिक्षामा जोड दिनुपर्नेछ ।
५ सामाजिक बहिस्करणलाई निरुतसाहित कार्यक्रम संचालन गर्नु अनिवार्य रहेको छ ।
६ बालबालिकाको रुची, आवस्यक्ता, क्षमता आदिको पहिचानका आधारमा सिकाईमा जोड दिनुपर्नेछ ।
७ राष्ट्रिय तथा स्थानिय रुपमा बालबालिका सम्बन्धी कार्यक्रम ल्याउदा बालमुखी र प्रत्यक्ष बालबालिकालाई सम्बोधन हुने गरी बस्तुनिस्ट तथा यर्थातपरक कार्यक्रम ल्याउन जरुरी छ ।
यी लगायत अन्य उपायहरुको खोजी गरी ब्यबहारिक रुपमा अवलम्बन गर्न सकेमा बालबालिकाको ससर्वाङ्गिण विकास हुन् सक्नेछ । सुखी र खुसी बालबालिका हुनु नै बालदिवसको पुष्टाई हो । सबै बालबालिकाहरुलाई अबसरको सुनिश्चित्ता भएमा मात्र बाल दिवसको अर्थ र महत्व बढने छ । अन्यथा बाल दिवस केबल औपचारिकतामा मात्र सिमित रहने कुरामा दुईमत हुनेछैन् ।
(लेखक पौडेल प्रगती नमुना माध्यमिक बिधालयका निवर्तमान प्रधानाध्यापक हुनुहुन्छ)