##बी. आर. प्रजापति
सन् १८१५ मा देउथलमा नेपाली मातृभूमिको रक्षार्थ नेपाली वीर योद्धाहरूको ब्रिटिश साम्राज्यवादसँग भीषण युद्ध भएको थियो । वीर योद्धा सरदार भक्ति थापाको नेतृत्वमा वीर योद्धाहरूले नेपाली वीरताको हतियारको प्रतीक खुकुरीले बेलायती सेनाहरूलाई छप्काएर वीरताको प्रदर्शन गरेका थिए । नेपाली देशभक्तहरूले अङ्ग्रेजहरूलाई थर्काएका थिए, ¥याख¥याखती पारेका थिए । युद्धमा आत्मसमर्पण गर्न रआत्मसमर्पण ग¥यो भने तिमीलाई नेपालको प्रधानमन्त्री दिन्छौँ भन्ने ब्रिटिश सैनिक मेजर डेविड अक्टरलोनीको प्रस्तावलाई अस्वीकार गरेका थिए । त्यसको जवाफमा भक्ति थापाले “तिम्रो निगाहाको देशद्रोही प्रधानमन्त्री पद हामीलाई चाहिँदैन, हाम्रो मातृभूमि नै हामीलाई प्राणभन्दा प्यारो छ, अन्तिम दम भएसम्म हामी मातृभूमिको रक्षार्थ वैरीसँग लड्न तयार छौँ ।” भनी हाँक दिएका थिए । अन्ततः युद्ध भयो । नेपाली वीर योद्धाहरूले अत्याधुनिक हात–हतियारले सुसज्जित हजारौँ ब्रिटिश सेनासँग बहादुरीका साथ लडे । सन् १८१५ अप्रिल १६ मा ७४ वर्षका योद्धा भक्ति थापाले ब्रिटिश अङ्ग्रेजको गोली छात्तीमा थापेर वीरगति प्राप्त गरेको इतिहासमा पढ्न पाइन्छ ।
नालापानीको युद्धमा ५–६ सय वीर योद्धाहरूको फौजको नेतृत्व गरेर मातृभूमिको रक्षार्थ वीर योद्धा बलभद्र कुँवरले खुकुरी–भालाको भरमा अत्याधुनिक हातहतियारसहितको हजारौँ ब्रिटिश सैनिकसँग लडेका थिए । उनले ब्रिटिश साम्राज्यवादको अगाडि आत्मसमर्पण गरेनन् । त्यस्तै वीर योद्धा भीमसेन थापा, अमरसिंह थापाले विशाल भारतलाई खाएर नेपाल खान आएका ब्रिटिश साम्राज्यवादलाई भारतबाटमात्र होइन एसियाबाटै भगाउन र लखेट्न भारतका राजा, महाराजाहरू, पाकिस्तान, अफगानिस्तान, तिब्बत, चीन र रूसलगायतका देशहरूलाई सङ्गठित गर्न, सङ्गठित भएर लड्न दूतहरू पठाएका थिए । त्यसको सुइको ब्रिटिश साम्राज्यवादले पायो । नेपाली विभीषणहरूका कारण, देशद्रोहीहरूका कारण ब्रिटिश साम्राज्यवादलाई एसियाबाटै भगाउने, लखेट्ने भीमसेन थापाको सपना पूरा हुन सकेन या सफल भएन । उनी पक्रिए । ब्रिटिश साम्राज्यवादले उनको टाउको काटेर बेलायत लगेको विश्लेषकहरू बताउँछन् । नेपालको इतिहासमा उनले जेलमै सिसाले घाँटी सेरिएर आत्महत्या गरेको भन्ने कुरा उल्लेख गरेको हामी पाउँछौँ । हाम्रा अग्रज वीर योद्धाहरू विदेशीको कुनै पनि लोभलालचमा फसेनन्, घुँडा टेकेनन् । बरू, उनीहरूले मातृभूमिको रक्षार्थ वीरगति प्राप्त गरेका थिए । फलतः विश्वको मानचित्रमा नेपाल भन्ने देश रह्यो । हामी नेपाली रह्यौँ । यी हाम्रा वीर योद्धाहरूको रगतले सिँचेको नेपाली माटोप्रति त्यसबेला सबै नेपालीको अगाध माया थियो, श्रद्धा थियो, देशभक्तिको भावना थियो । तर, आज त्यो मान्यता र भावनामा विदेशी डलरले बिस्तारै स्खलन ल्याउने काम गरिरहेको छ ।
आज नेपालका शासक दलका देशघाती नेताहरू आफ्नो बुद्धिले होइन, नेपाली जनताको मतले होइन, कसैको निगाहामा प्रधानमन्त्री पद पाउन, प्रधानमन्त्री बन्न दिनलाई रात पार्ने प्रयास गरिरहेका छन्, आफूले थुकेको थुक फेरि निल्ने प्रयास गरिरहेका छन् । पूर्वप्रम ओलीलाई गैरसंवैधानिक, प्रतिगामी भनी आरोप लगाउने वर्तमान शासक दलहरूले राजनीतिक मूल्य–मान्यता, नैतिकता र आदर्शलाई काखी च्यापेर जसरी पनि प्रधानमन्त्री हुन, मालदार मन्त्रालयहरू पाउन गाईजात्रा देखाइरहेका छन् । देशी, विदेशी शक्तिको प्रभाव र दबाबमा संविधानमै व्यवस्था नभएको गैरसंवैधानिक अधिकार प्रयोग गरी संवैधानिक सर्वोच्चतालाई मिचेर राष्ट्र प्रमुखलाई बार, समय र व्यक्ति नै तोकेर देउवालाई सर्वोच्चले प्रमको टीका लगाइदिएको आरोप प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लागेको थियो । वीर योद्धा भीमसेन थापाले झैँ ब्रिटिश साम्राज्यवादलाई एसियाबाटै लखेट्न, भगाउन होइन शासक दलका पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, झलनाथ खनाल, माधव नेपाल, खड्ग ओली र शेरबहादुर देउवाहरू विकासका नाममा अमेरिकी साम्राज्यवादलाई रातो कार्पेट बिछ्याएर साम्राज्यवादविरोधी वीर योद्धाहरूको रगतले सिंचिएको शान्त र सुन्दर नेपालमा स्वागत गर्दै छन् । विकासको नाममा एसियामा युद्ध भड्काउन नेपाली भूमि अर्पण गर्दै छन् । एमसीसीको नाममा अमेरिकी साम्राज्यवाद नेपालमा पस्ने र अड्डा जमाउने प्रयास गर्दै छ । इराक, लिविया, चिल्ली, इन्डोनेसियालगायतका विश्वका अन्य देशहरूलाई खाने बाघ अमेरिकी साम्राज्यवादले भारत, नेपाल, चीनलगायतका एसियाली मुलुकहरूलाई पनि आक्रमण गर्ने सम्भावना छ । त्यसैले एसियाका सबै देशहरू मिलेर उसलाई एसियाबाटै लखेट्नुपर्छ ।
अमेरिकी साम्राज्यवाद संसारका विभिन्न देशहरूमा विकासको नाममा पसेको छ, प्रजातन्त्र र शान्तिको नाममा पसेको छ । यसरी विभिन्न बहानामा पसेर ती देशहरूमा अमेरिकाले आक्रमण गरेको छ, नाकाबन्दी गरेको छ । इराक, लिविया, चिल्ली, दक्षिण कोरिया, अफगानिस्तान, इन्डोनेसिया, कङ्गो आदि यसका उदाहरण हुन् । संसारको ७० भन्दा बढी देशमा ८०० भन्दा बढी अमेरिकी साम्राज्यवादका सैनिक अखडाहरू तैनाथ छन् । जापान, इराक, लिविया, कतार, साउदी अरब, अफगानिस्तान, सिङ्गापुर, फिलिपिन्सलगायत ७० भन्दा बढी देशमा अमेरिकी सैनिक परेड खेल्दै छन् । देशभक्त अफगानी लडाकु जनताले सङ्घर्ष गरेर भियतनामी जनताले जस्तै अमेरिकी साम्राज्यवादलाई लखेटेर पठाएका छन् ।
विसं २०४६ को जनआन्दोलनबाट नेपालमा लोकतन्त्र आएपछि यहाँ प्रजातन्त्र, मानव अधिकार, विकास र शान्तिका नाममा थुप्रै विदेशी सहयोगहरू ओइरिए । एनजीओ, आईएनजीओहरू भित्रिए । हाल नेपालमा करिब ३९ हजार एनजीओ र आईएनजीओहरू भित्रिएका छन् र विद्वान, बुद्धिजीवीहरूलाई डलरले किनेका छन् । उनीहरूले एमसीसीलगायतका अमेरिकी साम्राज्यवादको पश्चिमी मुलुकको समर्थनमा भजन गाइरहेका छन् । यी एनजीओ, आईएनजीओहरूले नेपालीलाई नेपाल भक्त होइन अमेरिका भक्त बनाइरहेका छन् । तिनीहरूले देशभक्तिको कुरा कहिले पनि गर्दैनन्, कसैलाई पनि सिकाउँदैनन् ।
अमेरिकालगायत पश्चिमा मुलुकले नेपालमा पनि अरू क्षेत्रमा भन्दा कम तर शिक्षा क्षेत्रमा बढी लगानी गरेका छन्, सहयोग गरेका छन् । यसको प्रभाव र दबाबमा नेपाली काङ्ग्रेसको पुँजीवादी सरकारले शिक्षामा नवउदारवाद नीति लागू गरेको छ । शिक्षालाई निजीकरण र व्यापारीकरण गरेको छ । कम्युनिस्ट भनिएका एमाले, माओवादी सरकारहरूले पनि यसमा मलजल गरेका थिए । शिक्षा गरिबको पहुँचमा छैन । यस प्रकारको व्यापारिक शिक्षामा देशको माटो पढाइँदैन, देशभक्ति र माया पढाइँदैन, भूगोल, इतिहास पढाइँदैन, संस्कृति पढाइँदैन । राजनीति त परको कुरा भयो । त्यसको फल आज देखिरहेको छ । कक्षा दश जोड दुई र स्नातक सकिएपछि नेपाली युवा विद्यार्थीहरू यहाँ भविष्य छैन भनी बाहिरिन थालेका छन् । नेपाली माटोको माया र लगानीलाई बिर्सेर सुन्दर भविष्यको नाममा युवाहरू विदेश जान थालेका छन् । उनीहरूले सस्तो नेपाली कामदार पाएका छन् । राम्रा–राम्रा युवा–विद्यार्थी ग्रिनकार्ड, डीभीडीका नाममा आकर्षक लोभ देखाएर लागिरहेका छन् । पहिले पहिले अफ्रिकाबाट बलिया दासहरूलाई सिक्रीले बाँधेर अमेरिकालगायतका पश्चिमी मुलुकमा लगेजस्तै अहिले नेपालबाट डलरको सिक्रीले, लोभ सुविधाको सिक्रीले बाँधेर नेपाली दासहरू ती देशहरूमा लगिरहेका छन् । दास बन्न बाध्य पारिरहेका छन् । यसमा दास मनोवृत्तिका देशघाती शासक दलहरू जिम्मेवार छन् ।
आजका युवा–विद्यार्थीहरू शिक्षामा नवउदारवाद र व्यापारीकरणका कारण नेपाली माटो, भूगोल, इतिहास, संस्कृतिको मतलब राख्दैनन् । उनीहरू जसरी पनि कमाउन, ऐस–आराम र मनोरञ्जन गर्न लागेका हुन्छन् । उनीहरूले सुते पनि, बिउँझे पनि अमेरिकाको सपना देखिरहेका हुन्छन् । अस्ट्रेलिया, युरोपको सपना देखिरहेका हुन्छन् । यसले देश कमजोर बनाउँछ र विदेशीलाई नेपालमाथि आक्रमण गर्न पुल बनाउने काम गर्दछ । त्यसैले देशलाई जोगाउन, विदेशी आक्रमणबाट बचाउन, देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न देशभक्त, इमानदार शिक्षक, प्राध्यापकहरूले युवा–विद्यार्थीलाई देशभक्ति भावना जगाउनुपर्छ
नेपालको शिक्षा क्षेत्रमा विदेशी सहयोग, एनजीओ, आईएनजीओको लगानीको प्रभाव र दबाब देखिन थालेको छ । अब नेपालको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तकमा राख्ने विषयवस्तु नेपाल र नेपालीले होइन, विदेशीले बनाउँछन् । विदेशीहरूको आदेशमा बन्छन् भन्ने आरोप शिक्षासँग सम्बन्धित देशभक्त कर्मचारी, बुद्धिजीवी, विश्लेषकहरूले लगाइरहेका छन् । हिजोका हावापानी माटो सुहाउँदो नेपाली स्वाभीमान, आत्मगौरव, भूगोल, संस्कृतिप्रति माया जगाउने शिक्षा नीति, देशको उन्नयन हुने शिक्षा नीति, त्यसअनुसारको पाठ्यक्रम, पाठ्यपुस्तक, विषयवस्तुलाई डलरले क्रमशः पाखा लगाइरहेको छ । हिजोको पाठ्यक्रम, पाठ्यपुस्तकहरूमा भीमसेन थापालगायतका वीर योद्धाहरूको जीवनी, त्यससँग सम्बन्धित भावना, मर्मका पाठहरू हटाइएकोमा देशभक्त जनताको विरोध भइरहेको छ ।
विदेशी सहयोगले मुलुक बन्दैन र देश पनि रहँदैन । नेपाल पनि छिमेकी देश सिक्किमजस्तै हुनेछ । अहिले नेपालको सांस्कृतिक क्षेत्रमा पनि विदेशी सहयोगको प्रभाव बढ्न थालेको छ । त्यसैले नेपाल र नेपाली आफैले आफ्नो बल, बुद्धि, ज्ञान, सीपको प्रयोग गरेर देशभक्तिको भावना जगाउनुपर्छ । आफ्नै बुद्धिले सांस्कृतिक सम्पदा, विद्यालय, अस्पताल, बाटो बनेका नेपालका थुप्रै उदाहरणहरू छन् । शासक दलका नेताहरूको रगतमा पनि देशभक्तिको भावना बग्नुप¥यो । यसको लागि सरकारले, विभिन्न सङ्घ–संस्थाले देशलाई जोगाउन, विकास गर्न सरकार अघि बढ्नुपर्छ । देशभक्तिको भावना मुख्य हो । यसले देशको सुरक्षा र विकास गर्ने दिशाबोध गर्दछ । युद्ध हतियार, पैसा र लडाकुको सङ्ख्याले मात्र जितिँदैन । देशभक्ति भावनाले जितिन्छ । देशभक्तिको भावना सबैमा हुनुपर्छ ।
यो लेख मजदुर अनलाइनमा प्रकाशित छ।