-सुरज थापा मगर-संचारकर्मी
लकडाउनले गर्दा केही पनि काम गर्न पाइएन,कति लामो हो यो लकडाउन?कति सुत्नु,कति उठ्नु यस्तै यस्तै कुरामा अभ्यस्त बनि सकेका कतिपयलाई संचारकर्मी सूरज थापा मगरको दिनचर्याले केही उर्जा दिन नसक्छ।लकडाउन अकस्मात प्राप्त भएको फुर्सदको समय हो ।प्रायले एक्कासी प्राप्त भएको यो फुर्सदको समयलाई शुरुका दिनहरुमा बेवास्ता गरे ।जव फुर्सदको समय लम्बिदै गयो तव सामान्य समयमा करिब करिब १८ घण्टा मोवाइल चलाएर बस्नेहरुका लागि मोवाइल देख्दा पनि दिक्क लाग्न थालेको बिभिन्न सामाजिक संजालहरुमा आउन थालेको छ।
एकाधमानिसहरुमा बाहेक अन्यमा पाएको समयलाई केही सृजनात्मक कार्यमा सदुपयोग गरौं भन्ने चिन्तन पटक्कै छैन ।तर संचारकर्मी सुरज थापा मगर लकडाउन हुनु भन्दा केही दिन अगडी गुल्मी जानु भएको थियो ।केही दिनमै फर्केर आइहाल्ने योजना साथ गुल्मी जानु भएका थापालाई लकडाउनको समय लम्बिदै गएपछि गाउमा मकैबारी खन्ने काममा ब्यस्त हुनुहुन्छ ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसलाई छल्न र छोरी मञ्जरी बार्षिक परिक्षाको बिदा छल्न म सपरिवार सहित जन्म ठाउँ गुल्मी आए । लकडाउनको समयमा आमा र बाको काखमा बस्न पाउनु सकरात्मक कुरा हो । यस्तो महामारीले धेरै कुरा सिकाएको छ र केही कुरा पुर्नताजिकी पनि भएको छ । सानो छदा खास्सै काम नगरेको म बिहे पछि अलि अलि काम गरेको थिए ।
त्यसपछि अहिलेको समयमा काम गरियो । हामी गुल्मी आई पुग्दा बारीमा तोरी पाकेको थियो । घर आएको ३ दिनमा तोरी उखेलियो । मल छरियो । मकै छरियो । अनि डल्ला पनि ठोकियो । लामो समय पछि काम गरेकाले होला । मेरो शरीर यति दुखेको छ कि मैले शब्दमा व्यक्त गर्न सक्दिन । आधुनिक समयमा नौलो अनुभव के भयो भने मकै बारीको काम गर्दा चामलको भात खाईयो । किनकि भातको खाजा सजिलो र छिटो हुन्छ । तर मकै बारीको काम गर्दा मकैको नै भात खानुपर्छ भन्ने पनि मेरो धारणा हैन ।
लकडाउनको सुरूका दिनमा ठीकै छ जस्तो लागेको थियो । तर जति जति लकडाउनको समय थपियो । अनि त साह्रै दिक्क लाग्न थाल्यो । किनकि गाउँमा ईन्टरनेट चल्दैन । कम्तीमा बुटवल बसेको भए ईन्टरनेट चलाउन त पाईन्थ्यो नि भन्ने महसुस पनि भयो । राष्ट्रको सञ्चार नेपाल टेलिकमले मेरो जन्मभुमि गुल्मीको लम्सराङ्गको दादाथोकमा काम नै गर्दैन । म मिडियाकर्मी भएको नाताले म गाउँमा भएतापनि समाचार सम्प्रेसन गर्नुपर्ने बाध्यता थियो । तर ईमेल गर्न सक्ने सहजता त थिएन तर म्यासेन्जरको माध्यमबाट आफ्नै गाउँ र कर्मभुमिको पनि केही समाचार सम्प्रेसन पनि गरे ।
लकडाउनकै समयमा नयाँ बर्ष २०७७ परेकाले केही साथीहरूलाई फोन गरेरै शुभकामना दिए । स्थानिय युटुब अनलाईन टिभीको लागि प्रदेश नं.५ का समाजिक विकास मन्त्री माननीय सुदर्शन बराल र परराष्ट्रमन्त्री माननीय प्रदिप कुमार ज्ञवाली संग टेलिफोनबाट शुभकामना आदान प्रदान गरियो । यो पनि मेरो नौलो अनुभव भयो । घरको काम सकिएपछि लकडाउनको समय बढेकाले हरेक दिन घाँस काट्ने र बस्ने बाहेक अरू जरूरी काम छैन । तर केही दिन पछि ठुलीआमाको घर रानीटोलामा काम गर्न पनि गईयो । हाम्रो घरको काम चैतमा नै सकियो । तर ठुलीआमाको बारीमा केराउ हरियो भएकाले बैशाखमा मात्र मकै छरियो ।
गाउँमा बस्दा हरेक कुराको अनुभव गरियो तर सबै अनुभव मेरो लागि नयाँ भने हैनन् । म गाउँमा जन्मेर गाउँकै अनुभव लिएको हुदाँ, यो अनुभव शेयर गर्नुपर्ने हो जस्तो त लागेको हैन तर केही न केही लेख्ने बानी भएकाले लेखेको मात्र हो । खाली समयको सदुपयोग मात्र गरेको हो ।
हाम्रो गाउँमा यस्तो महामारीको अवस्थामा लाहुरबाट कोही पनि नयाँ मान्छेको आगमन भएन । म नै गाउँको लागि नयाँ लाहुरे थिए । त्यसकारण सधै म गाउँ जादाँकै दिन सबैको घरमा पुगेर भेटघाट गर्थे । तर यो समयमा कतै म बाट अरूलाई कोरोना त सर्दैन भन्ने आाशकाले ३ दिन पछि बल्ल मात्र म गाउँ घुमे ।
बुटवल फर्केपछि लकडाउनको समयमा बनाएको केही भिडियोहरू मेरो युटुब च्यानलमा अपलोड गर्ने छु । रमाईलो भिडियोको लागि प्रतीक्षा गर्नुहोला । मेरो छोटो लकडाउनको अनुभव पढ्नु भएकोमा धेरै धेरै धन्यवाद । प्रतिक्रियाको लागि [email protected] मा ईमेल गर्न सक्नु हुने छ । अस्तु :