१६ असार,कञ्चन
रुपन्देहीको गैडहवा गाउपालिकाको आ.ब. २०७८/०७९का लागि ६६ करोड ८१ लाख ४४ हजार रुपैया बराबरको बजेट सार्वजनिक भएको छ । उपाध्यक्ष सुभावती यादवले आगामी बर्षका लागि बजेट सार्वजनिक गर्दै पुंजीगत खर्च तर्फ ३१ करोड ६२ लाख ४४ हजार रुपैया,चालु खर्च तर्फ ७ करोड ३५ लाख रुपैया र आर्थिक, सामाजिक र पूर्वाधार विकास तर्फ १३ करोड २४ लाख रुपैया र विभिन्न अन्य शिर्षकमा १४ करोड ६० लाख गरी ६६ करोड ८१ लाख ४४ हजार रुपैया बराबरको बजेट विनियोजन गरेका हुन।
विनियोजित बजेट मध्ये कृषि, पशु तथा आय आर्जन कार्यक्रममा १ करोड ६४ लाख रुपैया विनियोजन भएको भने शिक्षा १ करोड १० लाख रुपैया र स्वास्थ्यमा ८० लाख रुपैया विनियोजन भएको छ। कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर ल्याइएको वजेटले गैडहवा गाउपालिकाले आर्थिक, सामाजिक र पूर्वाधार विकास तर्फ १३ करोड २४ लाख रुपैया वजेट विनियोजन गरेको छ।
उपाध्यक्ष सुभावती यादवले वजेट प्रतुत गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ५० लाख रुपैया बजेट विनियोज गरेका छन भने गैडहवाको भूमि सुकुम्बासी समस्या सम्बन्धी कार्यका लागि २० लाख रुपैया बजेट विनियोजन गरेका छन। यसैगरी सामाजिक बिकास अन्तर्गत बेटी बचाउ बेटी पढाउँ भन्ने सामाजिक अभियानलाई समेत आगामी बर्षमा पनि निरन्तरता दिदै उक्त अभियान संचालन गर्न २५ लाख रुपैया बजेट विनियोजन गरिएको छ।
उपाध्यक्ष यादवले पुर्वाधार बिकास अन्तर्गत गाउपालिकाको ९ वटै वडामा सडक कालो पत्रे गर्न २ करोड ७० लाख रुपैया बजेट विनियोजन भएको छ भने गाउपालिकाको गौरवको योजनाको रुपमा अगाडी सारिएको यशोधरा पार्क निर्माणका लागि १ करोड विनियोजन भएको छ। यस्तै उपाध्यक्ष यादवले सिंचाई र तार पोल तथा ह्युम पाइपका लागि ४० लाख रुपैया र गाउपालिकाको प्रशासनिक भवन निर्माणका लागि ३ करोड रुपैया विनियोजन गरेका छन।
सांस्कृतिक मेला र खेलकुद प्रतियोगिता संचालनका लागि ३७ लाख रुपैया विनियोजन हुंदा लैंगिक समानताका लागि १५ लाख रुपैया, खानेपानी तर्फ २० लाख रुपैया, आयुर्वेद तर्फ २० लाख रुपैया विनियोजन भएको छ । यसैगरी उपाध्यक्ष यादवले संस्थागत बिकासका लागि ६५ लाख रुपैया, विपद व्यवस्थापन र वातावरण तर्फ २५ लाख रुपैया, पूँजीगत निर्माणका लागि २५ लाख रुपैया, सामाजिक सहायता बिमामा १० लाख रुपैया र वडागत बजेटका लागि ९ करोड ९० लाख रुपैया विनियोजन गरेका छन।
उल्लेखित बजेट खर्चका लागि उपाध्यक्ष यादवले संघीय वित्तिय समानिकरणबाट १४ करोड ६१ लाख रुपैया, प्रदेश वित्तिय समानिकरणबाट ६९ लाख ३० हजार रुपैया, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ६७ लाख ९५ हजार रुपैया र प्रदेश राजश्व बाँडफाँडबाट ७७ लाख ५४ हजार २ सय १९ रुपैया गाउपालिकाको आम्दानी स्वरुप आउने अनुमान गरेका छन । यसैगरी शसर्त तर्फ संघिय सरकारबाट १८ करोड १७ लाख रुपैया, प्रदेश सरकारबाट २ करोड ९५ लाख ४४ हजार रुपैया र आन्तरिक श्रोत मध्ये नगद मौजदातमा रहेको ९ करोड ४३ लाख २० हजार ७ सय ८१ रुपैया समेत खर्चको श्रोतको रुपमा लिइएको छ।
बजेट माथी वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरी, वडा नं. २ का वडा अध्यक्ष तुल बहादुर पुन, वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र कुमी, वडा नं. ५ का वडा अध्यक्ष श्री कृष्ण शंकर प्रसाद गुप्ता, वडा नं. ६ का वडा अध्यक्ष रामबेलास यादव, ७ का वडा अध्यक्ष गोबिन्द कोहांर, ८ का वडा अध्यक्ष भुवन बहादुर राना, ९ का वडा अध्यक्ष टेक बहादुर बलाल, वडा नं. ४ का वडा सदस्य तुल बहादुर बि.क. लगायतले छलफलमा सहभागी भई आ आफ्नो बिचार ब्यक्त गरेका थिए ।