संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष जनु ५ मा विश्व वातावरण दिवस मनाउदै आइएको छ । यस बर्ष पनि ५ जुन २०२१का दिन मा नेपाल लगायत बिश्वभर विश्व वातावरण दिवस भव्यताका साथ मनाइदै छ। 'पारिस्थतिकिय प्रणालीलाई पुन:स्थपना गरौं ।’ भन्ने नारा सहित मनाउन लागिरहेको यस बर्षको बिश्व वातारण दिवसको सन्दर्भमा वातारण,पृथ्वी र प्राणी जगत बिचको सम्बन्ध र बिश्व वातावरण दिवसले दिने सन्देशका वारेमा कञ्चन खवरका लागि जगिलाल थापाले नेपाल पंक्षी संरक्षण संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापासंग गरिएको कुराकानी प्रस्तुत गरिएको छ।
प्रश्न : 'पारिस्थतिकिय प्रणालीलाई पुन:स्थपना गरौं ।’भन्ने नारा सहित मनाउन लागिएको यस बर्षको विश्व वातारण दिवसले के अर्थ राख्दछ ? र पारिस्थतिकिय प्रणालीलार्ई कसरी पुनस्र्थापना गर्न सकिन्छ ?
उत्तर : पारिस्थितिकीय प्रणालीले नै पृथ्वीमा जीवन रहनलाई सहयोग गरेको हुन्छ । पारिस्थितिकीय प्रणाली जति स्वस्थ भयो त्यतीनै हाम्रो पृथ्वी र मानव जीवन स्वस्थ रहन सक्छ । यी सबै कारणले हामीले गरिबी निवारण गर्न, जलवायु परिवर्तनसँग जुध्न र ठुलै मात्रामा प्रजाति लोप हुनबाट जोगाउन सक्छौं । पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना भन्नाले अहिलेसम्म जति पनि मानवजातिले गरेको प्रकृतिको विनाशका कारणले भएको पारिस्थितिकीय प्रणालीको क्षति छ जसले गर्दा मानव जातीको सम्बृद्धिमा नै असर गरेको छ, त्यस प्रकारको क्षतिलाई रोक्न र पहिलेकै अवस्थामा फर्काउन प्रयास गर्नु हो । 'पारिस्थतिकिय प्रणालीलाई पुन:स्थपना विभिन्न तरिकाले गर्न सकिन्छ जस्तै रुख रोपेर, शहरी क्षेत्रलाई हरियाली बनाएर, खानपानकै व्यवहारलाई बदलेर, नदी नालाहरुलाई तथा तटीय क्षेत्रहरुलाई सफा गरेर आदि ।
प्रश्न : दिगो आर्थिक तथा सामाजिक विकासका लागि वातावरणीय पक्ष अभिन्न अंगको रुपमा लिने गरिएता पनि दिगो आर्थिक बिकासकै नाममा वातावरणिय प्रभावलाई बेवास्ता गरिएको छैन र ? यसमा तपाईको राय के छ ?
उत्तर : आर्थिक र सामाजिक विकास मानव जातिको अभिन्न अंग हो र यो प्राकृतिक वातावरणसँग र्निभर रहन्छ । तर प्रकृतिको चरम दोहनले गर्दा पारिस्थितिकीय प्रणाली नै ध्वस्त हुने अवस्था र यसले दिने सेवाहरु नै रोकिने अवस्थामा पुगेको अवस्था छ । त्यसैले हामीले यसलाई अहिले नै रोकेनौं भने मानव जातिले अहिले जुन प्राकृतिक प्रकोपहरु भोग्न परेको छ त्यो अवस्था अझै विकराल हुने छ ।
प्रश्न : पारिस्थितिकिय प्रणली विनाशको कारण के वातारणको सुन्दरता र स्वस्थतामा खतरा उत्पन्न हुदै गएको हो ?
उत्तर : पारिस्थितिकीय प्रणालीको विनाशको कारणले गर्दा प्रकृतिको सुन्दरता नाश त गरेको नै छ अझ ठुलो समस्या भनेको पर्यावरणको स्वस्थतामा असर गर्दछ र वातावरणीय सेवाहरु नै वन्द हुन गई पृथ्वीको अस्तित्वमा नै खतरा पैदा हुन्छ । वन, नदी नाला, ताल तलैयाहरु भएता पनि यिनीहरु मृत अवस्थामा जस्ता रहन्छन् र यिनीहरुले दिने सेवाहरुमा पुरै ह्रास आउँछ ।
प्रश्न : तपाई चरा तथा जैविक विविधता सरक्षणकको क्षेत्रमा कार्य गरिरहनु भएको छ । चराले वातारण संरक्षणमा के कस्तो भूमिका निर्वाह गर्दछन र पछिल्लो महिना नवलपरासीमा धेरैको संख्यामा गिद्धहरु मृत अवस्थामा भेटिए ती गिद्धहरु मर्नुको खास कारण के थियो ? चरा संरक्षणका प्रमुख चूनौतीहरु के के हुन ? यस्ता घटनाहरु न्यूनिकरण गर्न के गर्नुपर्छ ?
उत्तर : वातावरण सन्तुलनमा चराको निक्कै ठुलो भूमिका हुन्छ । यसले सबै किसिमको वातावरणीय सेवा प्रदान गर्नमा भुमिका खेलेको हुन्छ तर सबै भन्दा महत्वपूर्ण भूमिका भनेको यसले बोट विरुवाहरुको बिउ विजनहरुलाई टाढा टाढासम्म पुर्याएर प्राकृतिक रुपले नै उम्रिनमा सहयोग गर्नुका साथै पराग सेचनमा पनि सहयोग पुर्याएको हुन्छ । गिद्ध प्रजातिका चराहरुले वातावरणमा दुर्गन्ध फैलाउने सिनोहरुलाई खाएर वातावरण सफा गर्दिन्छन् । चरा वातावरणको अवस्थाको जानकारी दिने एउटा सुचक पनि हो । पछिल्लो समयमा नवलपरासीमा भएको घटना जसमा ठुलो सँख्यामा दुर्लभ अवस्थाका गिद्धहरु मृत फेला परेका थिए , तिनीहरु विष सेवन गरेर मरेको आशंका गरिएको छ तर पुष्टी हुन बाँकी छ । यसरी अरु जनावरहरुलाई लक्षीत गरी राखिएको विष अथवा पासोमा परी धेरै चराहरु मर्ने गरेको घटनाहरु छन् तर लोप हुने अवस्थामा पुगेका चराहरु ठुलो सँख्यामा मर्नु भनेको एकदमै ठुलो क्षति हो ।चरा संरक्षणका प्रमुख चुनौतिहरु भनेको बासस्थानको ह्रास, अबैध शिकार, किटनाशक औषधिको अधिक प्रयोग तथा जलवायु परिवर्तन हुन । चरा संरक्षणको लागि व्यापक जनचेतना र कडा निति नियम र यसको पालनाको आवश्यकता पर्दछ ।
प्रश्न : भौतिक विकासको नाममा जसरी मानिसले प्रकृतिको अस्तित्वलाई अस्वीकार गरी अन्धाधुन्ध दोहन गरेकै कारण आज कोरोना नामक अदृष्य सुक्ष्म जीवाणु भाइरसको सङ्क्रमण फैलिरहेको समेत कतिपय बिज्ञहरुले उल्लेख गरेका छन। यस भनाइलाई कसरी लिनु भएको छ ?
उत्तर : प्राकृतिक दोहन जसमा वन्यजन्तुको अबैध शिकार र ओसार पसार पनि एक मुख्य गतिविधि हो जसले गर्दा यस्ता संक्रमणहरु फैलन मद्दत पुर्याएको हुन्छ । त्यसैले हामीले आफ्नो आनिबानीमा पनि परिवर्तन ल्याउन जरुरी छ । जसले गर्दा यस्ता क्षतीहरु बाट बच्न सकिन्छ ।
प्रश्न : नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघ–संस्थाहरूले वातावरण दिवसका अवसरमा विविध कार्यक्रम गर्नु कर्मकाण्डी मात्र हो भन्छन ? यसमा तपाई राय के छ ?
उत्तर : जन चेतनाका लागि यस्ता दिवशहरु मनाउँदा धेरै नै प्रभावकारी हुन्छ । वातावरणमा काम गर्ने संघ संस्थाहरुले आफ्नो क्षमता अनुसार वर्षै भरि नै विभिन्न कृयाकलापहरु गरेका हुन्छन् तर जुन रफ्तारमा वातावरणमा क्षती भइराखेको छ त्यसलाई रोकथाम गर्ने क्षमतामा कमि छ । यसमा विभिन्न कारणहरु छन् जस्तै श्रोत साधनको अभाव र निति नियमको कडा रुपमा पालना नहुनु आदि ।
प्रश्न : अन्तमा ‘पृथ्वी, जल, अग्नि, वायु अनि आकाश । यी पाँच तत्वको कारण भएको मानिसको उपस्थितिलाई उसैले नै तिनै पांच तत्वका बिरुद्ध कार्य गरिएको अवस्थामा तपाई र तपाई संस्थाको भुमिका कस्तो रहनेछ ?
उत्तर : हामी विशेष गरेर चरा तथा यसको बासस्थानको संरक्षणमा कार्यरत सँस्था भएको हुनाले हामीले यिनीहरुको सँरक्षणबाट नै पर्यावरणमा क्षती हुन नदिन रोकथाम गर्ने र पुनस्र्थापना गर्न लागि परेका छौं । यसमा साधारण चरा अवलोकन गराउने र यसको प्रकृतिसँगको संवन्धको बारेमा बुझाउने, त्यस्तै प्रकृतिसँग संवन्धित व्यवस्थापन योजनाहरुमा जैविक विविधता र वातावरणीय सेवाको मुल्याकंन गरी निति निर्माता सम्म पुर्याउने भुमिका निर्वाह गरेका छौं ।
धन्यबाद ।