जेठ ८,सुनवल
कोभिड–१९ महामारीको दोस्रो लहर फैलिएसँगै देखिएको अक्सिजन अभाव व्यवस्थापन गर्न राधा पौडेल फाउन्डेसनले सहयोगीको अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत संस्थाले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको कोभिड अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
राधा पौडेल फाउन्डेसनले अक्सिजन कन्सन्ट्रेटर २ थान, पल्स अक्सिमिटर ५ थान, पीपीई ५ थान, फेस सिल्ड ५० थान र महिनावारी प्याड २५ थान एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राधा पौडेल फाउन्डेसनका तर्फबाट मर्यादित महिनावारी अभियानकर्ता तथा गिफ्ट फर गल्स अभियानका संयोजक समीर परियारले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख दघिराम अर्याल, वडा नम्बर ५ का वडाअध्यक्ष थमन सिंह नेपाली, उघोग वाणिाज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, सुनवल स्वास्थ शाखा प्रमख कृष्णप्रसाद न्यौपाने, सामाजिक अभियान्ता सौरभ न्यौपाने लगाएको उपस्थिति रहेको थियो ।
फाउन्डेसनले विभिन्न अस्पतालमा गरि हाल सम्म अक्सिजन कन्सन्ट्रेटर २० थान, पल्स अक्सिमिटर १सय थान, पीपीई १ सय थान, फेस सिल्ड १ हजार, महिनावारी प्याड ९ सय २० र मास्क ५ हजार वितरण गरेको जनाएको छ । फाउन्डेसनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी सुर्खेतको नगर कोभिड अस्पताल, बाँकेको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पताल, चितवनको माडी अस्पताल र परासी अस्पताल, धादिङ गजुरी स्थित गजुरी स्वास्थ्य केन्द्र, वीरगञ्जको नारायणी उप क्षेत्रीय अस्पताल, गोर्खाको जौबारी स्वास्थ्य केन्द्र र आँपपिपल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको संस्थाकी कार्यक्रम संयोजक अनुपा रेग्मीले जानकारी दिनुभयो।
रेग्मीले अस्पतालहरुमा अक्सिजनको अभावका कारण संक्रमितको मृत्यु हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न अस्पतालहरूसँगको समन्वयमा परामर्श सेवा, अस्पतालहरुमा बेड व्यवस्थापन र अक्सिजन व्यवस्थापन कार्य पनि संस्थाले गर्दै आएको बताउनु भएको छ । राधा पौडेल फाउन्डेसन र दक्षिण गोलार्दिय मर्यादित महिनावारी संजाल संसारभर छरिएर रहेका सदस्य, सल्लाहकार, शुभचिन्तकहरुलाई सामाजिक संजाल तथा अन्य माध्यमबाट परिचालन गरी स्वास्थ्य संस्थाहरुमा विभिन्न स्वास्थ्य उपकरण वितरण गरिएको संस्थाले जनाएको छ ।