२५ चैत्र,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको सबैभन्दा ठूलो क्षेत्रफलमा रहेको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा धार्मिक तथा बन बिज्ञान पर्यटन बिकासका लागि आकर्षक र अध्ययनयोग्य बनस्पती उधान सहितको ध्यानकेन्द्र निर्माण गरिने भएको छ।
रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,रुपन्देही तथा एम के आर्किटेक्ट,तिलोत्तमा,रुपन्देहीद्वारा बहुप्रतिक्षित तथा महत्वाकांक्षी योजनाको रुपमा तयार गरेको पर्यटन गुरुयोजनाको सार्वजनिक गर्दै कञ्चनलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउने उद्धेश्य सहित निर्माण गरिएको बिस्तृत गुरुयोजनाले कञ्चनलाई पर्यटनको हव बनाउने लक्ष लिएको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.ले बताउनु भएको छ ।करिब ३५.२० हेक्टर क्षेत्रफल ओगटेर निर्माण हुने रुद्रपुर सामुदायिक बन पर्यटन गुरुयोजनामा करिब १०.५ हेक्टर क्षेत्रफलमा बनस्पती उधान केन्द्र सहितको योग तथा ध्यान केन्द्र निर्माण हुने भएको छ भने जसको लागत करिब एक करोड रुपैया खर्च हुने अनुमान गरिएको छ।
यसैगरी करिब १ करोड ९७ लाख रुपैयामा बालबालिकाहरुको मनोरञ्जनका लागि तयार गरिने चिल्ड्रेन पार्क ५.७६ हेक्टर क्षेत्रफलमा निर्माण गरी सामुदायिक बनलाई अझ आर्कषक पर्यटकिय क्षेत्रको रुपमा बिकास गरिने भएको छ । समूहका कार्य समिति सचिव पुष्पा बलालको संयोजकत्वमा गठित पर्यटन गुरुयोजना निर्माण उपसमितिले बिस्तृत अध्ययन तथा अवलोकन गरी तयार गरेको सो गुरुयोजनाले सामुदायिक बनको बेलडाडा क्षेत्रमा फन पार्कको रुपमा चिल्ड्रेन पार्क बन्ने भएको हो ।
हरेक ब्लकमा बन्ने पर्यटकिय स्थलमा फरक फरक बिशेषता सहितको सेल्फी जोनको समेत अवधारणा लिइएको उक्त गुरुयोजनामा ५.५४ हेक्टर क्षेत्रफलमा बिभिन्न समयमा देश र जनताको लागि सहादत प्राप्त गर्ने बिभिन्न सहिदहरुको शालिक निर्माण स्थापनाका लागि करिब १ करोड ९६ लाख रुपैया अनुमानित लागत खर्चमा शहिद स्मारक बनाइएने छ ।उक्त सहिद स्मारकको निर्माणले भाबि सन्तति र अवलोकन भ्रमणमा आउने बिधार्थीहरुका लागि महत्वपुर्ण अध्ययन क्षेत्र र ऐतिहासिक स्थलको रुपमा बिकास गरिने समूहका अध्यक्ष नाम बहादुर के.सी.ले बताउनु भएको छ।
समूहको देउराली ब्लक क्षेत्रमा सामुदायिक बन भित्रै विहारयुक्त देउराली बन वाटिका तथा बनभोज स्थल निर्माण गरिने छ जसले ५.७१ हेक्टर बन क्षेत्रफल ओगट्ने छ। सामुदायिक बनको कुनै पनि जंगल तथा रुखहरुको संरचनामा कुनै असर नगरी बनाइएने बनभोज स्थलले रुद्रपुर सामुदायिक बनको आकृतिमा नयां र अध्ययन योग्य बनाउने छ ।
यसैगरी कपिलबस्तु र रुपन्देहीको सिमा नदीको रुपमा बग्ने कोठी खोलालाई तटबन्ध गरी वोटिंग सहितको सुन्दर कोठी ताल निर्माण गरी आकर्षक पर्यटकिय क्षेत्रको रुपमा बिकास गरिने भएको छ। करिब २ करोड अनुमानित लागत खर्च हुने उक्त कोठी तालको बिचमा ५५.५५ फिट उचाई भएको नेपालकै अग्लो त्रिशुल सहितको मन्दिर निर्माण गरिने छ। हरेक पर्यटन ब्लकहरुमा सुबिधा सम्पन्न पार्किंग,टिकट काउण्टर र शौचालय समेत निर्माण हुने गुरुयोजनामा इन्टरलक ब्लकद्वारा पदमार्ग निर्माण हुने छ।
रुद्रपुर सामुदायिक बन पर्यटन गुरुयोजना सार्वजनिक कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले कुनै पनि लक्ष्य निर्धारण गर्नु भनेको सुन्दर सपना देख्नु हो र उक्त सपनालाई साकार पार्न सामुदायिक बनका उपभोक्ता,जनप्रतिनीधि,संघसंस्थाका प्रतिनीधि,राजनैतिक दलहरुको एकयबद्धता र सामुहिक लक्ष्य हुनु पर्ने बताउनु भएको छ।यस्तै वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले पर्यटन गुरुयोजना आम कञ्चनवासीको सपना भएको र सपनालाई बिपनामा परिणत गर्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ।
सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दीनानाथ आचार्यले रुद्रपुर सामुदायिक बनले तयार गरेको गुरुयोजनालाई मुर्तरुप दिन आफुले आवस्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । समूहका उपाध्यक्ष भिम बहादुर थापा,भैर बहादुर थापा,समूहका पुर्व अध्यक्ष लक्ष्मीकान्त पौडेल,कार्यपालिका सदस्य लक्ष्मी परियार,एकता युवा क्लवका अध्यक्ष कुमार थापा लगायतले गुरुयोजनाले कञ्चनको पर्यटन प्रबद्र्धनमा केही आसा जगाएको र सो गुरुयोजनामा शान्तीका दुतको रुपमा परिचित बुद्धको शालिक सहितको विहार निर्माण गर्न सके अझ आकर्षक बन्ने सुझाव दिएका थिए ।
समूहका अध्यक्ष नाम बहादुर के.सी.को अध्यक्षता र कार्यलय सचिव तुलसी प्रसाद अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो भने एम.के. आर्किटेक्ट,तिलोत्तमाका इन्जिनियर मोहन के.सी.ले गुरुयोजनाको संरचना,निर्माण लागत र पर्यटन क्षेत्रबाट प्राप्त हुने महत्वको बारेमा जानकारी दिनु भएको थियो ।