८ मंसिर, कञ्चन
आज कार्तिक पूर्णिमा। पाल्पा र गुल्मी जिल्लामा रहेका सत्यवती बजैका मन्दिरमा पुगेर चिच्याउँदै वर माग्ने दिनका रूपमा यस दिनलाई विशेष महत्त्वका साथ लिने गरिन्छ। आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ दुवै जिल्लाका सत्यवती मन्दिरमा हजारौँ भक्तजनको घुइँचो लागेको छ।
विशेषगरी पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्र र गुल्मीको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेकस्थित माथिल्लो तथा तल्लो सत्यवती बजैका मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। सत्यवती बजैप्रतिको आस्था र विश्वासका साथ विभिन्न स्थानबाट भक्तजनहरू पूजाआजा तथा दर्शनका लागि पुगेका छन्।
धार्मिक जनविश्वासअनुसार सत्यवती बजैलाई चिच्याएर आफ्नो मनोकामना सुनाउँदा वर प्राप्त हुने विश्वास छ। विशेषगरी सन्तान प्राप्ति, पारिवारिक सुख, स्वास्थ्य, समृद्धि तथा मनले चिताएको इच्छा पूरा होस् भन्ने कामनासहित भक्तजनहरूले रातभर जाग्राम बसेर पूजाआजा गर्ने परम्परा रहिआएको छ।
सत्यवती बजैको मन्दिरमा पुगेर चिच्याउँदै वर माग्ने परम्परा यस क्षेत्रको विशिष्ट धार्मिक तथा सांस्कृतिक पहिचान बनेको छ। यस अवसरमा विभिन्न जिल्ला तथा टाढाटाढाबाट भक्तजनहरू आउने भएकाले स्थानीय क्षेत्रमा धार्मिक चहलपहलसँगै व्यापारिक गतिविधिसमेत बढ्ने गरेको छ।
यसैबीच, कार्तिक पूर्णिमाकै अवसर पारेर गुल्मीको ठूलो लुम्पेकस्थित माथिल्लो सत्यवती बजैको मन्दिर परिसरमा भगवान् गणेशको मूर्ति स्थापना गरिएको छ। तरामु मगर परिवारले लामो समयसम्म अथक रूपमा पूजारीको जिम्मेवारी निर्वाह गर्दै सत्यवती बजैको पूजा आराधना गर्नुभएका क्षेत्रबहादुर तरामुको सम्मानमा गणेशको मूर्ति स्थापना गरेको हो।
तरामु मगर समाजका अध्यक्षसमेत रहनुभएका बेदबहादुर तरामु मगरका अनुसार पूजारी क्षेत्रबहादुर तरामुले लामो समयसम्म मन्दिरमा रहेर पूजा आराधना तथा धार्मिक परम्पराको निरन्तरतामा योगदान पुर्याउनुभएको थियो। उहाँको योगदानको सम्मानस्वरूप परिवारले मन्दिर परिसरमा गणेशको मूर्ति स्थापना गरेको हो।

हिन्दू धार्मिक परम्पराअनुसार कुनै पनि शुभकार्य तथा पूजाआराधना सुरु गर्नुअघि भगवान् गणेशको पूजा गर्ने प्रचलन रहिआएको छ। गणेशको मूर्ति स्थापना तथा मन्दिर निर्माणका लागि पूजारी क्षेत्रबहादुर तरामुकी बुहारी लीला तरामुले आर्थिक सहयोग गर्नुभएको जनाइएको छ।
यस्तै, गुल्मीको ठूलो लुम्पेकस्थित तल्लो सत्यवती बजै मन्दिर परिसरमा सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्र (साक्टेक) नेपालले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उता, पाल्पाको कोलडाँडास्थित सत्यवती क्षेत्रमा भने मंसिर ४ गतेदेखि नै विशेष मेलाका रूपमा धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुँदै आएका छन्।

धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक विविधताले भरिपूर्ण सत्यवती क्षेत्र पछिल्लो समय धार्मिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा समेत परिचित हुँदै गएको छ। विशेषगरी गुल्मीको ठूलो लुम्पेकस्थित सत्यवती क्षेत्रमा लुम्पेक सामुदायिक सिकाई केन्द्रले साँस्कृतिक पोशाक घरको व्यबस्था गरेर प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र स्थानीय सांस्कृतिक पहिचानले यस क्षेत्रको पर्यटन विकासको सम्भावनालाई थप उजार गरेको छ।