१८ असोज, बुटवल
तिलोत्तमा नगरपालिका–१५, कोटिहवा रुपन्देहीमा मुख्य कार्यलय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा तिलोत्तमा स्थित ड्रिमल्याण्ड पार्टी प्यालेस मणिग्राममा शनिबार सम्पन्न भएको छ ।
४५ हजारभन्दा बढी शेयर सदस्य सहित नेपालबाट नियमित रुपमा अन्तराष्ट्रिय स्तरको व्राण्डमा आफुलाई अब्बल संस्थाको रुपमा स्थापित हुदै आइरहेको जनउत्थानले सेवा केन्द्र स्तरीय एकाइगत साधारणसभा सम्पन्न गर्दै शनिवार एकिकृत सभाको रुपमा उक्त २१ औं साधारण सभा सम्पन्न गरेको हो।

करिब ४ अर्ब रुपैयाँ बचत र ४ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कुल सम्पत्ति सहित रुपन्देहीभरी कार्यक्षेत्रको रुपमा विस्तार गर्दै आएको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सभाबाट आफ्ना शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ। निर्णय प्रमाणीकरण सभाको रुपमा समपन्न उक्त एकिकृत सभाबाट जनउत्थानले पत्रकारिता मार्फत सहकारीको प्रबर्द्धन गर्नमा महत्वपूर्ण भूमिका खेलेको भन्दै फोनिजकर्मी तथा नेपाल टेलिभिजनका रुपन्देही सम्वाददाता मिलन गाहालाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ।

हरेक बर्ष आफ्नो साधारण सभामा संस्थाले प्रदान गर्दै आएको जनउत्थान उत्कृष्ट पत्रकारिता पुरस्कारबाट वित्तीय क्षेत्रका विषयमा निरन्तर कलम चलाउँदै पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार गाहालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

समुदायमा आधारित जनउत्थान साकोसले पुनः एक्सेस ब्राण्ड प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।

संस्थाको एकिकृत साधारण सभालाई सम्बोधन गर्दै संस्थाका निवर्तमान अध्यक्ष तथा प्रतिनीधि सभा सदस्य ज्ञानु पौडेलले जनउत्थान सहकारीले तिलोत्तमाको मात्रै नभएर देशकै नाम उचो बनाउन सफल भएको उल्लेख गर्नु भएको थियो। सहकारीको क्षेत्रमा फरक पहिचान कायम गर्दै कतिपय सहकारीहरुको संकटग्रस्त भइरहेको अवस्थामा एक सत्य ध्रुवताराको रुपमा हजारौं सदस्यहरुका बिचमा उदाउदै उदाहरणीय सहकारीको रुपमा निरन्तर चलायमान बन्नमा यसका सञ्चालक, कर्मचारी र सदस्यहरुको अहम भूमिका रहेको पौडेलले बिचार व्यक्त गर्नु भएको थियो।

सभाको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष गिरिप्रसाद पुनले सहकारी प्रतिको माया सद्भाव र त्याग अनि समर्पणले जनउत्थानको यो अवस्था आएको बताउनु भएको थियो । सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन र शेयर सदस्यहरुको मन र विश्वास जित्न जनउत्थान साकोसले निरन्तर उत्कृष्ट कार्य गरिरहेको समेत साकोसका पुनले बताउनु भएको थियो।

हाल १० सेवा केन्द्र, ८ संकलन केन्द्र र एक पहुँच सेवा केन्द्र रेहको जनउत्थान साकोसले एशियाली ऋण महासंघको फोरम २०२६ (अकु) बाट पुनः एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । त्यसैगरी साकोसले आफ्नो योजनाअनुरुप यसबर्ष पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिँदै सम्मान तथा अक्षयकोषलाई अगाडी बढाएको छ ।

साकोसकी उपाध्यक्ष सरु रानाले सभामा आएका सबै सदस्यहरुलाई स्वागत गर्दै समाजमा रहेर जनउत्थानले समजोपयोगी कार्य गर्दै जनता र यसका सदस्यहरुको मन जितेको बताउनु भएको थियो। संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक वर्षमा पनि धेरै सदस्य लाभान्वित भएको बताउनु भएको थियो। संस्थाको तर्फबाट कोषाध्यक्ष निलप्रसाद पुनले आर्थिक वर्ष २०८२-०८३ को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको सभामा प्रस्तुत गर्दै गत वर्षको मुनाफाबाट सदस्यलाई १० प्रतिशत लाभांश वितरणका लागि सभामा प्रस्ताव गर्नु भएको थियो।
सभामा सचिव अन्जु जैसी सुवेदीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।