-एन ग्यारिसन
‘यो सत्तापलटको लागि तारो बनेको देशका जनताका लागि एउटा चेतावनी हो । भविष्यमा हुनसक्ने ‘सत्तापलट युद्ध’ विरुद्ध सङ्गठित हुनुपर्ने आह्वान हो । तर, यो सङ्घर्षमा हामी पोख्त बनिसकेका छैनौँ ।’ चर्चित फिल्मकार ओलिभर स्टोनका शब्द हुन् यी । हालै प्रकाशित पुस्तक ‘सिरिया : सत्तापलटको चिरफार’ को भूमिकामा स्टोनले माथिको विचार राखेका हुन् ।
सन् २०२४ डिसेम्बरमा सिरियामा बशर अल–असादको सत्ता ढल्यो । आज उनको सत्ता ढलेको एक वर्ष बितेको छ । यसबिच अमेरिकी सेनाको कमान्डो टोली ‘डेल्टा फोर्स’ ले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नी एवम् राष्ट्रिय सभाकी अध्यक्ष सिलिया फ्लोरेसको अपहरण ग¥यो । अमेरिकाको विदेश मन्त्रालयकाअनुसार अमेरिकी सरकारले अहिले ‘अमेरिका, भेनेजुयला र आफ्ना साझेदारहरूको हितमा भेनेजुयाली कच्चा तेललाई विदेशमा बजारीकरण गर्न थालिसकेको छ । अझै अपमानजनक तथ्य के छ भने क्युबा पठाउने भनिएको २ लाख ब्यारेल कच्चा तेल इजरायल पठाइयो । अमेरिकी जनताको दिमागमा ‘मिडिया ड्रोन’ चलाइयो । उनीहरूबिच ‘मादुरो तानाशाह र लागुऔषध तस्कर हुन्’ भनी झूटो प्रचारबाजी गरियो ।
त्यसपछि ट्रम्पले क्युबाविरुद्ध कठोर नाकाबन्दी लगाए । क्युवाली जनताले घुँडा नटेके क्युवालाई ‘साथीले झैँ कब्जा गर्न सकिने’ धम्कीसमेत दिए उनले । त्यसपछि इजरायलको भाउँतोमा लागेर उनले इरानविरुद्ध युद्ध सुरु गरे । ‘एमआइटी’ मा कार्यरत एक प्रसिद्ध हतियारविद् थियोडोर पोस्तोलले इरान युद्ध पश्चिम एसियाभरि फैलिन सक्ने बनाए । यो युद्ध आणविक युद्धसम्म जान सक्ने उनले चेतावनी दिए । साँच्चै ओलिभर स्टोनको भनाइ सत्य प्रमाणित भएको छ । ‘सत्तापलटको लागि तारो बनेको देशका जनता’ ले कति सास्ती भोग्नुपर्छ भन्ने प्रस्ट हुँदै छ ।
सिरियाको पतनबारे धेरै कुरा बाहिर आइसकेको छ । तिनै कुरालाई बारम्बार दोहो¥याइएको पनि छ । ‘सिरिया : सत्तापलटको चिरफार’ को सातौँ पाठको शीर्षक छ – टोन्किन खाडीको छाया : रासायनिक हतियारको झूट’ । यसमा लेखकद्वयले पश्चिमाहरूले लगाउँदै आएको रासायनिक हतियारको ठगीबारे बताइएको छ । कुनै बेला टोन्किन खाडीको विषयमा यस्तै छलछाल गरेर अमेरिकाले भियतनामविरुद्ध युद्ध थालेको थियो । त्यस्तै, नरसंहारकारी हतियार राखेको छलछाम गरेर अमेरिकाले इरान युद्धलाई उचित ठह¥याएको थियो । सिरियामा ‘हस्तक्षेप’ गर्न ओबामाले त्यही तर्क दो¥याउन खोजेका थिए । तर, पछि रासायनिक हतियारको कुरा उठ्यो । यही निहुँमा अमेरिकाले सिरियामाथि हवाइ हमला ग¥यो, धेरै पश्चिमाहरूले अमेरिकी आक्रमणलाई सही माने । कोभालिक र कुजमारोभले ओबामाको भनाइ उध्दृत गरेका छन्, “एउटा तानाशाहले सयौँ बालबालिकालाई ग्यासमा हालेर मार्छ र उसले कुनै मूल्य चुकाउनुपर्दैन भने हामीले दिएको सन्देश कस्तो होला ?”
रासायनिक हतियारको जाली कथाका कारण धेरै पश्चिमा वामपन्थीहरू निरास भएर र सरकारको भाउँतोमा लागे । आफ्ना देशवासीको दुःखप्रति असाद यति उदासीन हुन्थे भने पनि उनले विदेशी आक्रमणकारीहरूका लागि हमला गर्ने बहाना दिन क्रूरता किन देखाउँथे ? कोभालिक र कुजमारोभले यसको कारण खुलाएका छन् । खासमा पश्चिमका सबै कर्पोरेट मिडियाले पूर्वका शासकहरू तानाशाह हुन्छन् र तिनले दासप्रथा चलाउँछन् भन्ने ‘पूर्ववादी’ (ओरियन्टालिस्ट) धारणा भट्याइरहे । यही भट्याइले काम ग¥यो । पश्चिमा शासक वर्ग र भ्रमप्रसारकहरूलाई अर्को साम्राज्यवादी युद्ध गर्न सजिलो भयो ।
आफ्नै देशवासीलाई कसले ग्यासमा हालेर मार्ला ? गैरगोराहरूले गर्न सक्छन्, अरबीहरूले गर्न सक्छन् ¤ यो कुतर्कलाई पश्चिमका उदार बुद्धिजीवीहरूले पत्याइहाले । जब कि उनीहरू आफूलाई जातिवादविरोधी र पहिचानको राजनीतिका पक्षधर भन्न रुचाउँछन् ।
‘सिरिया : सत्तापलटको चिरफार’ को आठौँ पाठको शीर्षक छ – फरक तरिकाको युद्ध : आर्थिक प्रतिबन्ध र सत्तापलट कारबाहीहरू’ । यसले आफ्नो जब्बर आर्थिक शक्ति लगाएर अमेरिकाले अपनाउने व्यापारिक घाँटीथिचाइ नीतिको कथा भन्छ । अमेरिकाले प्रतिबन्धले पीडित देशहरूलाई आधारभूत उपचार दिन पनि अस्वीकार गर्दै आएको छ । आफूले आर्थिक प्रतिबन्ध लगाएको देशको आर्थिक विकास रोक्नका लागि उसले व्यापारमा बन्देज लगाउँछ । यसले गर्दा जीवन कष्टकर बन्छ भने बेराजगारी ह्वात्तै बढ्छ । आर्थिक प्रतिबन्ध लगाएर अमेरिकाले कमजोर देशहरूलाई ‘बढी नै झुक्न’ धम्की दिन्छ । यसले गर्दा ती देशले आर्थिक प्रतिबन्ध लागेका देशहरूसँग व्यापार गर्न अस्वीकार गर्छन् । किनभने, उनीहरू अमेरिका चिढिन्छ कि भनेर डराउँछन् । जस्तो, उनीहरू अमेरिकी बजारमा पाइने पहुँच गुमाउन चाहँदैनन् ।
कोभालिक र कुजमारोभ लेख्छन्, “सन् २०२३ मा पाँच वर्षमुनिका ६ लाख ९ हजार सिरियाली बालबच्चा कुपोषणबाट ग्रस्त थिए† १ करोड २० लाख सिरियालीहरूसँग भरपेट खाना थिएन† ९० प्रतिशत सिरियाली जनता गरिबीमा पिल्सिरहेका थिए ।” रासायनिक हतियारको जालमा पर्ने उदार बुद्धिजीवीहरूले आर्थिक प्रतिबन्धले जनताको डाढ भाँचिएको विषयमा धेरै कुरा जान्न खोज्दैनन् । त्यसैले उनीहरूलाई ‘सिरिया, भेनेजुयला, क्युवा वा इरानका नेताहरू अक्षम, कठोर र लोभी हुनाले त्यहाँका जनताले कठिनाइ भोगिरहेका छन्’ भनी मनाउन सजिलो हुन्छ ।
सिरिया, भेनेजुयला, क्युबा र इरानबिच के त्यस्तो साझा चीज छ ? किन आर्थिक प्रतिबन्ध, झूटो प्रचारबाजी र सैन्य बलले तिनको घाँटी थिचिएको छ ?
कोभालिक र कुजमारोभ लेख्छन्, “सत्तापलटको तारो त्यस्ता नेताहरू बन्छन् जो स्वतन्त्र र देशभक्त हुन्छन्, जसले अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूलाई आफ्नो देशमा घुस्नबाट रोक्ने सोच राख्छन्, जसले अमेरिकाको विश्व वर्चस्वलाई चुनौती दिन्छन् ।” बशर अल–असद ठिक यस्तै नेता थिए । उनले प्यालेस्टिनका प्रतिरोधी समूहहरूलाई सहयोग गरेका थिए । उनी इजरायलविरुद्ध उभिएका थिए । उनले इरान र रुससँग नजिकको सम्बन्ध राखेका थिए । उनले देशभक्तिपूर्ण अर्थनीति अपनाएका थिए । असादले चीनसँग आर्थिक सहकार्य बढाइरहेका थिए । उनले सिरियाको भूमि हुँदै जाने भनिएको अन्तर–अरब कतारी पाइपलाइन निर्माण गर्न दिएनन् । बरु उनले रुसले स्वीकार गरेको ‘इस्लामिक’ पाइपलाइनमा सहमति जनाए । यो पाइपलाइन इरानबाट ग्यास लिएर सिरिया हुँदै लेबनन पुग्ने गरी बिछ्याइने सोचिएको थियो ।”
पाइपलाइनको विषयमा अनेक कुरा आएका छन् । तर, पाइपलाइन पनि एउटा महत्वपूर्ण मुद्दा थियो । तथापि, एक अमेरिकी कलाकारले भने जस्तो साम्राज्यवादविरुद्ध शिर उठाउने कुनै पनि स्वाधीन देश ‘भूरणनीतिक’ बनिहाल्छ । यसकारण, सन् १९८३ मा क्यारिबियाली टापु देश ग्रेनाडाले विकासको समाजवादी बाटो अपनाउँदा अमेरिकाले भाँजो हाल्यो । ग्रेनाडाको जनसङ्ख्या १ लाख १५ हजार छ । यसले जाइफल मात्र निर्यात गर्छ । तर, त्यसलाई बेचेर आउने नाफा त्यहाँका जनताको हातमा जाँदैन ।
सिरिया, भेनेजुयला, क्युबा र इरानबिच अर्को समानता छ । उनीहरूले विश्वमा बसोबासी उपनिवेशवादको अन्तिम किल्ला इजरायल र उसको यहुदीवादी विस्तारवादको कडा प्रतिवाद गरेका थिए । इजरायलको विस्तारवादी योजनालाई आज हामी ‘अखण्ड इजरायल’ भनी बुझ्दै छौँ ।
कोभालिक र कुजमारोभले सिरियाका नयाँ शासक अहमद अल–शाराबारे पनि लेखेका छन् । शाराले आफूले ‘इजरायललाई माया गर्ने’ दाबी गरेका छन् । उनले राजधानी सहर दमास्कसमा एउटा ‘ट्रम्प टावर’ निर्माण गर्न चाहेको बताए । उनले सिरियाको तेल र ग्यास उद्योग अमेरिकी कम्पनीहरूको लागि खुला गर्ने पनि बताएका छन् । उनी राष्ट्रपति हुनुभन्दा अगाडि सिरिया अल–अल–असादको हातमा थियो । अल जोलानी आतङ्ककारी समूह अल–कायदासम्बद्ध सङ्गठन तहरिर अल–शामका नेता थिए । अल–जोलानीलाई टर्की, कतार, साउदी अरब, बेलायत, फ्रान्स, क्यानडा, अमेरिका र इजरायलको पूर्ण समर्थन थियो ।
ट्रम्पले भनेका थिए, “सिरियाका राष्ट्रपतिले एकदम राम्रो काम गर्दै छन् । खासमा उनलाई मैले नै सत्तामा बसालेको थिएँ ।”
(यो लेख डान कोभालिक र जेरेमी कुजमारोभको पुस्तक ‘सिरिया : सत्तापलटको चिरफार’ मा आधारित छ ।
स्रोत : ब्ल्याक एजेन्डा रिपोर्ट । सम्यक)