अशरफ जैनबी
युद्ध कहिल्यै हतियारको बारेमा मात्र हुँदैन । हरेक युद्धभूमिको पछाडि एउटा विचार रहेको हुन्छ, शक्ति, मानव स्वभाव र महत्वाकाङ्क्षाको सीमासम्बन्धी एउटा दर्शन हुन्छ । सेनापतिहरूले फौजलाई त चलाउँछन् तर अक्सर पृष्ठभूमिमा रहेर युद्धको गहिरो परिकल्पनालाई आकार दिने काम दार्शनिकहरूले गरिरहेका हुन्छन् । उनीहरू कठिन प्रश्नहरू सोध्छन्ः विजय के हो ? पराजय के हो ? अनि वास्तविकतामा शक्ति कुन हदसम्म जान सक्छ ? इतिहासभरि दर्शन र रणनीति दुवैमा एउटा दुविधा बारम्बार देखा पर्छ, यथार्थभन्दा ठुला युद्ध–लक्ष्यहरू पछ्याउनुको खतरा । यो अप्राप्य युद्ध–लक्ष्यहरूको एउटा शास्त्रीय समस्या हो ।
प्रसियाली रणनीतिकार कार्ल भोन क्लाउजविट्जले एकपटक लेखेका थिए—युद्ध अन्य माध्यमबाट राजनीतिको निरन्तरता हो । यो वाक्य प्रसिद्ध छ र अक्सर दोहो¥याइन्छ । तर यसको अर्थ देखिएभन्दा गहिरो छ । यदि युद्ध राजनीतिको अर्को रूप मात्र हो भने, युद्ध सधैँ राजनीतिक यथार्थसँग बाँधिएर रहनुपर्छ । युद्धका उद्देश्यहरू भूगोल, समाज र इतिहासले अनुमति दिएको परिधिभन्दा धेरै टाढा जानु हुँदैन । जब त्यसो हुन्छ, युद्धले बिस्तारै आफ्नो रणनीतिक अर्थ गुमाउँछ । सरल शब्दमा भन्नुपर्दा, तब युद्ध सम्भाव्यताभन्दा बढी कल्पनाद्वारा निर्देशित हुन थाल्छ ।
प्राचीन चिनियाँ विचारक सन जुले धेरै पहिले ‘द आर्ट अफ वार’ मा यसबारे चेतावनी दिएका थिए । उनले सङ्केत गरेका थिए कि सर्वश्रेष्ठ सेनापतिहरूले सीमालाई बुझ्दछन् । विजय सधैं सबैथोक विनाश गरेर प्राप्त हुँदैन† यो त राज्यलाई नथकाइकन वास्तविकतामा के प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानबाट आउँछ । यहाँ शक्तिको एउटा पुरानो विरोधाभास छः शक्तिले महत्वाकाङ्क्षा जन्माउँछ तर महत्वाकाङ्क्षाले सजिलै शक्तिलाई उछिन्न सक्छ । आधुनिक इतिहासले यस तनावका धेरै उदाहरणहरू दिन्छ ।
भियतनाम युद्धलाई नै हेरौँ । संयुक्त राज्य अमेरिकासँग विशाल सैन्यशक्ति थियो । यसको प्रविधि, हवाई शक्ति र स्रोतहरू विपक्षीको तुलनामा धेरै गुणा बढी थिए । धेरै युद्धभूमिमा अमेरिकाले रणनीतिक विजयहरू हासिल ग¥यो । तैपनि, भियतनामको राजनीतिक भविष्यलाई आकार दिने बृहत्तर राजनीतिक उद्देश्य निकै कठिन साबित भयो । सैन्य श्रेष्ठताले सुरुमा कल्पना गरिएको राजनीतिक परिणाम दिलाउन सकेन । इरानको हकमा पनि यस्तै भइरहेको देखिन्छ ।
दशकौँपछि अफगानिस्तानको युद्धमा पनि यस्तै खालको तनाव देखियो । सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछिको सुरुवाती उद्देश्य सीमित थियो, तालिबान सरकारलाई हटाउने र आक्रमणका लागि जिम्मेवार लडाकू सञ्जाललाई ध्वस्त पार्ने । सुरुमा त्यो लक्ष्य धेरै हदसम्म प्राप्त भयो । तर, बिस्तारै अभियान विस्तार गरियो । यो एउटा शासन व्यवस्था हटाउने कामबाट अघि बढेर एक स्थिर लोकतान्त्रिक राज्य निर्माण गर्नेतर्फ मोडियो । बीस वर्षको युद्धपछि तालिबान फेरि सत्तामा फर्कियो । जुन आन्दोलनलाई हटाइएको थियो, अन्ततः त्यही पुनः स्थापित भयो ।
सन् २००३ को इराक युद्धले पनि यस्तै केही कुरा देखायो । सद्दाम हुसेनको सरकार सैन्य दबाबमा चाँडै ढल्यो । तर, त्यसपछिको स्थिर राजनीतिक व्यवस्था निर्माण गर्ने कार्य शासन सत्ता हटाउनुभन्दा धेरै जटिल साबित भयो । सरकारको पतनले स्वतः नयाँ राजनीतिक प्रणाली पैदा गर्दैन । लिबियामा, अन्तर्राष्ट्रिय हस्तक्षेपले मुअम्मर गद्दाफीको सरकार हटाउन मद्दत ग¥यो । तर, उनको पतनपछि देश वर्षौंसम्म राजनीतिक खण्डीकरण र आन्तरिक सङ्घर्षमा फस्यो । नेतृत्व हटाउनु एउटा स्थिर राजनीतिक संरचना निर्माण गर्नुभन्दा सजिलो देखियो । सिरियामा, अमेरिकी सैन्य कारबाहीले हवाई आक्रमण र सीमित हस्तक्षेपमार्फत चरमपन्थी समूहहरूलाई कमजोर त बनायो, तर यी कार्यहरूले राज्यको गहिरो राजनीतिक संरचनालाई पुनः आकार दिन सकेनन् ।
भेनेजुयलामा संयुक्त राज्य अमेरिकाले फरक विधि अपनायो । प्रत्यक्ष सैन्य आक्रमणको सट्टा आर्थिक प्रतिबन्ध र विपक्षी शक्तिहरूलाई राजनीतिक समर्थन दिएर दबाब सिर्जना गरियो । यो रणनीतिको उद्देश्य युद्धमार्फत परिवर्तन थोपर्नु भन्दा पनि बिस्तारै राजनीतिक परिवर्तनलाई प्रभाव पार्नु थियो । यो सफल भयो या भएन भन्ने कुरा एकातिर छ तर यो युद्धभूमिमा हुने विजत्न्दा दबाबमा बढी निर्भर थियो ।
यी सबै घटनाहरूले एउटा महत्वपूर्ण यथार्थलाई उजागर गर्छन्ः सैन्य शक्तिले चीजहरू चाँडै नष्ट गर्न त सक्छ तर यसले सजिलै नयाँ राजनीतिक व्यवस्था निर्माण गर्न सक्दैन ।
समाज मेसिन जस्ता होइन जहाँ एउटा पार्टपुर्जालाई सजिलै अर्कोले प्रतिस्थापन गर्न सकियोस् । राष्ट्रहरूको आफ्नै स्मृति, पहिचान, संस्थाहरू र ऐतिहासिक निरन्तरता हुन्छ । यी तत्वहरूले नै लचिलोपन र प्रतिरोध गर्ने क्षमता (Resilience) पैदा गर्छन् ।
यो विचार संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको वर्तमान टकरावलाई विचार गर्दा विशेष महत्वपूर्ण हुन्छ । राजनीतिक भाषणबाजीमा कहिलेकाहीँ ‘विनासर्त आत्मसमर्पण’ को कुरा गरिन्छ । युद्धको भाषामा यो सबैभन्दा निरपेक्ष लक्ष्यहरूमध्ये एक हो । यसको अर्थ सेनालाई पराजित गर्नु मात्र नभई, सम्पूर्ण राजनीतिक प्रणालीलाई विघटन गर्नु, नेतृत्व प्रतिस्थापन गर्नु र देशको भविष्यको दिशालाई पुनः आकार दिनु हो । यस्ता उद्देश्यहरू रणनीतिका तुलनामा कल्पनामा बढी आधारित हुन्छन् ।
इरान एक आधुनिक राज्य मात्र होइन, बरु गहिरो ऐतिहासिक निरन्तरता बोकेको एउटा सभ्यता पनि हो । यसको राजनीतिक प्रणाली बहुआयामिक छ । धार्मिक प्राधिकार, निर्वाचित संस्थाहरू, सैन्य सङ्गठनहरू र प्रशासनिक संयन्त्रहरू—यी सबैले सङ्कटमा पनि टिकिरहन सक्ने गरी एउटा संरचना निर्माण गरेका छन् । यस्तो प्रणालीमा शक्ति कुनै एक व्यक्तिमा मात्र निहित हुँदैन ।
नेतृत्वलाई हटाउनाले संरचनालाई हल्लाउन त सक्छ तर यसले विरलै मात्र सम्पूर्ण जगलाई नष्ट गर्छ ।
युद्धका दार्शनिकहरूले अक्सर एउटा अर्को आयामबारे पनि चर्चा गरेका छन् । बाह्य दबाबको सामना गरिरहेका समाजहरू कहिलेकाहीँ आन्तरिक रूपमा बढी एकजुट हुन्छ । सामान्य समयमा हुने राजनीतिक मतभेदहरू तब अस्थायी रूपमा हराउन सक्छन्, जब मानिसहरूलाई आफ्नो राष्ट्र बाह्य खतरामा छ भन्ने विश्वास हुन्छ । इतिहासले यस्ता धेरै उदाहरणहरू सम्झाउँछ ।
भियतनाम युद्धको समयमा, चरम सैन्य दबाबका बाबजुद राष्ट्रवादले प्रतिरोधलाई टिकाइराख्न मद्दत ग¥यो । इराक र अफगानिस्तानमा, बाह्य योजनाहरू भन्दा स्थानीय राजनीतिक यथार्थले दीर्घकालीन परिणामहरूलाई बढी शक्तिशाली रूपमा आकार दिए ।
वर्तमान द्वन्द्व पनि एउटा बृहत्तर विश्वव्यापी परिवेशभित्र अवस्थित छ । इरान पूर्ण रूपमा एक्लिएको छैन । रुस र चीनजस्ता प्रमुख शक्तिहरू बृहत्तर भू–राजनीतिक वातावरणको हिस्साका रूपमा रहेका छन् । उनीहरूको भूमिका प्रत्यक्ष सैन्य हस्तक्षेपमा नहुन सक्छ, तर आर्थिक सम्बन्ध, कूटनीतिक समर्थन र रणनीतिक साझेदारीले शक्ति सन्तुलनलाई प्रभावित पार्छ । युद्धहरू विरलै मात्र एक्लोपनमा हुन्छन्; ती त गठबन्धन र प्रतिद्वन्द्विताको एउटा ठुलो प्रणालीभित्र विकसित हुन्छन् ।
यो व्यापक सन्दर्भले ‘विनासर्त आत्मसमर्पण’ जस्ता निरपेक्ष लक्ष्यहरूलाई झन् जटिल बनाउँछ । जब अन्य शक्तिशाली पक्षहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नजिकै उभिन्छन्, तब निर्णायक विजयको मार्ग झन् अनिश्चित बन्छ । तर, रणनीतिभन्दा पर एउटा गहिरो दार्शनिक प्रश्न छः युद्धमा होमिँदा नेताहरूले कस्तो परिकल्पना गर्नुपर्छ ? के उनीहरूले पूर्ण आधिपत्यको कल्पना गर्नुपर्छ वा सीमित र यथार्थपरक परिणामहरूको ? युद्धमा कल्पनाशीलता आवश्यक हुन्छ किनभने नेताहरूले यस्तो भविष्यको चित्र कोर्नुपर्छ जुन अझै अस्तित्वमा छैन । तर कल्पनाले खतरा पनि बोकेको हुन्छ । यदि नेताहरूले इतिहास, सामाजिक पहिचान र भू–राजनीतिक अवरोधहरूलाई बेवास्ता गर्ने परिणामहरूको कल्पना गर्छन् भने, उनीहरूले प्राप्त गर्न नसकिने लक्ष्यहरू पछ्याउने जोखिम उठाउँछन् ।
त्यसैले दार्शनिकले एउटा अन्तिम प्रश्न सोध्छन्ः के कुराको कल्पना गरिनुपर्छ र के कुरा कल्पनाबाहिर रहनुपर्छ ? युद्धमा विजयको कल्पना गर्नु स्वाभाविक हो । तर, अर्को समाजको पूर्ण पुनर्संरचनाको कल्पना गर्नुले रणनीति र भ्रमबिचको रेखा नाघ्न सक्छ ।
इतिहासले यो ढाँचा धेरै पटक देखेको छ । शक्तिशाली राज्यहरू कहिलेकाहीँ आफ्नो शक्तिले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो इच्छाअनुसार झुकाउनेछ भन्ने विश्वासका साथ युद्धमा प्रवेश गर्छन् । तर समाजले अक्सर यस्तो तरिकाले प्रतिरोध गर्छन् जुन सेनाले सजिलै अनुमान गर्न सक्दैन । त्यसैले त युद्धको दर्शन पटक–पटक एउटै पाठमा फर्किन्छ ।
सबैभन्दा खतरनाक युद्धहरू सधैँ ती हुँदैनन् जुन शक्तिशाली हतियारले लडिन्छन् । सबैभन्दा खतरनाक युद्धहरू ती हुन् जुन अवास्तविक लक्ष्यहरूद्वारा निर्देशित हुन्छन् । सैन्य शक्तिले सहरहरू ध्वस्त पार्न सक्छ, सेनालाई कमजोर बनाउन सक्छ र क्षेत्रीय सञ्चालनलाई बदल्न सक्छ । तर, कुनै राष्ट्रको आन्तरिक राजनीतिक आत्मालाई पुनः आकार दिनु धेरै जटिल काङ्कार्य हो । जब महत्वाकाङ्क्षाले यथार्थलाई उछिन्न थाल्छ, विजय र भ्रमबिचको दूरी झन् फराकिलो हुँदै जान्छ । त्यही बढ्दो दूरीमा युद्धको पुरानो दुविधा पुनः प्रकट हुन्छ—यो शाश्वत प्रश्न कि केही युद्धहरूले के हासिल गर्न सक्छन् र अन्य युद्धहरूले के कुरा कदापि हासिल गर्न सक्दैनन् ।
स्रोत : काउन्टरकरेन्ट डटओआरजी