१७ पुस,भक्तपुर
भक्तपुर जिल्ला इँटा उद्योग सङ्घको तीसौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न भयो ।
सभाको उद्घाटन समारोहमा अतिथि सुवालले मानव समाजको विकासको सिलसिला अध्ययन गर्दा परिवार र व्यक्तिगत सम्पत्तिको बन्दोबस्तसँगै समाजमा वर्ग देखिएको चर्चा गर्दै
ठुलो पुँजीले सानो पुँजीलाई खाने, विदेशी पुँजीले नेपालको पुँजीलाई खाने तथा देश उपनिवेश हुनेतर्फ व्यवसायीहरू सबै सचेत हुनु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हालै प्रकाशित ‘विश्व असमानता प्रतिवेदन’ मा संसारका ७ अर्ब मानिसमध्ये ६० हजार मानिससँग साढे तीन अर्ब जनतासँगको स्रोत–साधनको तीन गुणा भएको उल्लेख छ । प्रतिवेदनमा विस्फोटको अवस्थामा रहेको अहिलेको असमानतालाई उल्ट्याउन साझा समृद्धि ल्याउने राजनीतिक प्रतिबद्धता जरूरी भएको उल्लेख छ ।”
स्रोत–साधन भएका बुझ्ने मानिसहरूले दैनिक गुजाराको कामबाहेक शिक्षा, स्वास्थ्य क्षेत्र जस्तै पुस्तकालय, विद्यालय स्थापनामा सहयोग गर्ने काम पनि गर्नु जरूरी भएको आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “सोभियत सङ्घले सामाजिकीकरणलाई जोड दिएको थियो । रूसको निर्वाचन पर्यवेक्षणमा परेका एक सरकारी अधिकारीले रूसभन्दा नेपाल विकासमा ५ सय वर्ष पछि परेको उल्लेख गरेको थियो ।”
उहाँले भन्नुभयो, “व्यवसायीहरूको सामाजिक उत्तरदायित्व पनि हुन्छ । समाजको चिन्ता लिनु सामाजिक उत्तरदायित्व लिनु हो ।”
समाजका केही व्यक्तिमात्र स्रोत–साधन सम्पन्न हुने र बाँकी जनता शिक्षा, स्वास्थ्य, रोजगारी, आवासको अभावमा बाँच्नु परेसम्म समाजमा शान्ति कायम नहुने भएकोले मानिसले जति बाँचे पनि समाज र देशको लागि काम गर्नु जरूरी भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “साझा समृद्धि नहुँदा अहिले सरकारको सार्वजनिक ऋण २८ खर्ब पुग्यो । ५ महिनायता सरकारको सार्वजनिक ऋण थप १ खर्ब बढ्यो । सरकारहरूले ऋण तिर्न ऋण थप्दै छन् । कर्मचारीको तलब र पेन्सनसमेतको लागि विदेशीसँग ऋण ल्याएका सरकारहरूले वार्षिक व्यापारघाटा १५ खर्ब पु¥याए ।”
उहाँले थप्नुभयो, “सन् १९५० को भारतसँगको सन्धिले नेपाललाई भारतको नवउपनिवेशजस्तै बनायो । यो सन्धि खारेज गर्नु जरूरी छ ।”
सचिव सुवालले भन्नुभयो, “सरकारहरूले आफ्ना मातहतका उद्योग–व्यापार सार्वजनिक संस्थानहरू जानाजान घाटामा पठाउने र निजीकरणको नाममा विदेशीलाई समेत बेच्ने काम गर्दै छन् । विश्वव्यापार सङ्गठन (डब्लूटीओ) को सदस्य भएपछि नेपाल विदेशी सामानको बजार बन्यो र यहाँका उद्योगीहरूसमेत विदेशी सामानको व्यापारीमा परिणत हुँदै छन् । सरकारले युवा र ऊर्जा दुवै निर्यात गर्दै छ । ती दुवै नेपालको उद्योग र व्यापार चलाउन जरूरी छ । सरकारले ऊर्जा विकास मानचित्र २०८१ मा विसं २०३५ सम्म १५ हजार मेघावाट बिजुली निर्यात गर्ने दाबी गरे । बिजुली सस्तोमा नेपालीलाई दिने र ग्यास र तेल आयात घटाउने काम हुनुपर्दछ । ”
अमेरिकी सरकारले इराक, लिबिया, सिरिया, प्यालेस्टिन, युक्रेनमा रहेको तेल र ग्यास कब्जा गर्न यहाँ हस्तक्षेप र आक्रमण गर्दै सरकारसमेत उल्टाउने काम गरेको विषयमा पनि सचेत हुनु जरूरी रहेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “भदौ २३ र २४ गते भएको नेपालको घटनामा पनि अमेरिकी सरकारको प्रजातन्त्रको लागि राष्ट्रिय सशक्तीकरण र अन्तर्राष्ट्रिय ऐतिहासिक धरोहर तथा पूर्वाधारहरू तोडफोड एवम् आगजनी गर्नु परिवर्तन र आन्दोलन होइन । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने र ठुला भ्रष्टाचारीहरूलाई जेल सजायसहित कडा कारबाही हुने कानुन आवश्यक छ ।”
चुनावमा देश र जनतालाई सही बाटो देखाउने पार्टी र उम्मेदवारहरू निर्वाचित नभए समाजमा शान्ति सुरक्षा कायम नहुने स्पष्ट पार्दै पार्टी सचिव सुवालले भन्नुभयो, “राजनीति देश र जनताको निःस्वार्थ सेवा हो । नेमकिपा यही राजनीतिमा समर्पित छ । नेमकिपाको घोषणापत्रअनुसार निर्वाचित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले २६ वर्षयता ख्वप कलेजहरू सञ्चालन गरी ७७ जिल्लाका जनताको सेवा गर्दैै छन् ।”
भदौ २३ र २४ गतेको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले वक्तव्यमा सरकारमा गएकाहरूले देश र जनताको समस्या समयमा समाधान नगरेको र सम्भावित दुर्घटनाको पूर्वानुमान गर्न असफल भएको उल्लेख गरेको उहाँले जानकारी दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “फागुन २१ गतेको निर्वाचनपूर्व नै प्रधानमन्त्री र पार्टी सभापति भाग लगाउनेहरू एक भएर देश र जनतालाई धोका दिँदै छन्† यसबारे नेपाली जनता सचेत हुनु पर्दछ । यस्ता दल र उम्मेदवारलाई दिएको मतले देशसमेत नरहने अवस्था आउन सक्छ । नेपाली जनताले विदेशीसामु घुँडा टेक्ने दल र उम्मेदवारलाई मत दिनुहुँदैन । सिद्धान्तहीन चुनावी मोर्चालाई नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।”
राजस्व कार्यालय भक्तपुरका प्रमुख उषा पोखरेलले कर प्रशासन र व्यवसायी एक अर्काको सहयोगी भएको बताउनुभयो ।
भक्तपुर जिल्ला इँटा उद्योग सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा भएको उक्त सभामा उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा, इँटा व्यवसायी विश्वराम कवां, आशाकाजी त्वानावासु, ट्रक व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष लक्ष्मीप्रसाद गोरा, वातावरणविज्ञ भूषण तुलाधार, इँटा व्यवसायी सङ्घ केन्द्रका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रजापति र उद्योग वाणिज्य सङ्घ भक्तपुरका रोशनीमैया धौबन्जारलगायतले बोल्नुभएको थियो ।
उक्त सभामा सचिव आशराम वैद्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।