
२ चैत्र, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले लिशा इङ्गलिस सेकेन्डरी स्कूलको ३६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा अतिथि बिजुक्छेँले विद्यालयमा शिक्षिकाको बाहुल्यता राम्रो पक्ष भएको उल्लेख गर्दै महिलाहरू सचेत, सङ्गठित भएमा समाजमा छिटो परिवर्तन हुने विचार व्यक्त गर्नुभयो ।
विभिन्न भाषाभाषी र जनजातिहरूको समाजमा विभिन्न भाषा बोल्दा भाषा परिमार्जित हुने र विभिन्न भाषा सिक्ने अवसरले समाजमा गतिलो सन्देश दिने विचार व्यक्त गर्दै उहाँले उद्देश्य राम्रो भएमा सन्तानहरू राम्रा हुन्छन्† यसले समाज परिवर्तनमा सहयोग पु¥याउँछ भन्नुभयो ।
विद्यालयमा अभिभावक र शिक्षकहरूको उपस्थितिमा विद्यार्थीहरूको बरोबर स्वास्थ्य परीक्षण भए बिरामीको कारण थाहा हुने र स्वच्छ भएमा विद्यार्थीले बढी सिक्ने र त्यसले समाजमै राम्रो सन्देश जाने बताउनुभयो ।
विद्यार्थीहरूलाई हप्काउने, तर्साउने भन्दा पनि विद्यार्थीको मनस्थिति बुझेर सम्झाइबुझाइ गरेर सही ठाउँमा ल्याउनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “अभिभावकले आफ्ना सन्तानलाई इन्जिनियर, चिकित्सकमात्र बनाउने सपना नदेखाई देशका लागि आवश्यक सबै जनशक्ति तयार गर्नेतर्फ अभिभावक, शिक्षक र स्वयं विद्यार्थीको पनि ध्यान पुग्नुपर्छ ।”
खेलकुद पनि एक प्रकारको सङ्घर्ष या लडाइँ भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले राम्रा खेलाडीहरू देशको निम्ति आवश्यक छ भन्नुभयो ।
देशको लागि राम्रा, असल, देशभक्त, विद्यार्थी मात्र होइन खेलाडी, लेखक, कलाकार, कवि, सिपाहीँ, विद्वान आदि पनि आवश्यक छन्, उहाँले भन्नुभयो ।
संसारलाई बाटो देखाउने नेताहरूको सङ्घर्षमय जीवनी अध्ययन गरेर विद्यार्थीहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “देशलाई सही ठाउँमा लैजान सही राजनीति आवश्यक छ । असल, योग्य, सक्षम र जानकार भएको मान्छे राजनीतिमा लागेन भने राजनीति अपराधीहरूको नेतृत्वमा जानेछ र देश बर्बाद हुनेछ । सही नेताहरूको नेतृत्वमा देश नरहेकोले बर्बाद भएको हो ।”
विदेशी सहयोगको लोभलालचमा फसेरै देशको अर्थतन्त्र दयनीय हुँदै गएको उल्लेख गर्दै उहाँले कूटनीतिज्ञहरूको कमीले देश परनिर्भरमात्र होइन भारत र अमेरिकाजस्ता विदेशी राष्ट्रहरूको उठबसमा परेर नेपालका प्राकृतिक स्रोत साधन विदेशीको हातमा गएको हो भन्नुभयो ।
वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले जस्तोसुकै सङ्कट र आपत्मा पनि निरास नभइकन समस्स्या समाधान गर्दै अघि बढेको लिशा स्कूलले सङ्ख्यात्मक र गुणात्मकरूपमा विकास गरिरहेको बताउनुभयो ।
अभिभावक, शिक्षक, विद्यार्थीले आ–आफ्नो कर्तव्य निर्वाह गरेमा असल, योग्य र सक्षम विद्यार्थी तयार हुने विश्वास व्यक्त गर्दै उहाँले शिक्षाको स्तर बढाउन शिक्षक–शिक्षिकालाई उत्प्रेरित गरेर क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीलाई समुदायमा घुलमिल गराउन सके प्रत्यक्ष या अप्रत्यक्षरूपमा त्यसले परिवारमात्र होइन सिङ्गो देश र समाजकै सेवा गर्ने विचार व्यक्त गर्दै उहाँले समाजमा व्याप्त बेथिति अन्त्य गर्न अभिभावक, विद्यालय, शिक्षक क्रियाशील हुनु आवश्यक छ भन्नुभयो ।
विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्ने कार्यक्रम गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले अग्रज राजनीतिकर्मीहरूको देनले गर्दा नै संस्थागत र सामुदायिक विद्यालय उत्कृष्ट स्थानमा पुगेको विचार व्यक्त गर्दै शिक्षाको माध्यमबाटै देशमा परिवर्तन हुने बताउनुभयो ।
किताबी ज्ञानबाहेक विद्यार्थीलाई नैतिक र व्यवहारिक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले ज्ञानसहितको सुसंस्कार पनि आवश्यक छ भन्नुभयो ।
लाखौँ युवाहरूको विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा र विकास निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले शैक्षिक जग बलियो बनाउन शिक्षासित सम्बन्धित सबै सरोकारवालाहरूको महत्वपूर्ण देन हुने उल्लेख गर्दै हरेकले आ–आफ्नो कर्तव्य निर्वाह गरे अपेक्षाकृत परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।
देशविरोधी र जनविरोधीहरू देश र जनताको सेवामा लागेका राजनीतिज्ञहरूको विरोधमा झूटा कुरा फलाकिरहेकोमा निन्दा गर्दै जनताको राम्रो शासन ल्याउन समाजवादी व्यवस्था आवश्यक छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, पूर्वविद्यार्थीहरू रोशनी प्रजापति र सङ्गीतकार सुरज कपालीले पनि विद्यालयको प्रगतिको कामना गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल लिशा प्रजापतिले विद्यालयको प्रतिवेदन र कक्षा ८ का विद्यार्थी जिज्ञासा कोजुले स्वागत मन्तव्य दिनुभएको थियो । समारोह अघि र समारोहपछि सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।
समारोहमा विद्यालयका उत्कृष्ट विधाका विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो, विद्यालय सञ्चालकलाई कदरपत्र र १० वर्षभन्दा बढी कार्यरत शिक्षक र दिदीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
स्मरणीय छ, उक्त विद्यालय ०४५ साल कार्तिक २५ गते स्थापना भएको थियो ।