१० माघ कञ्चन
खो खो विश्वकप प्रतियोगितामा उप विजेता बनेर स्वदेश फिर्ता भएका पुरुषतर्फका खेलाडी भरत सारुलाई आफ्नो गृहनगर कञ्चन र गैडहवामा स्थानीयहरुद्वारा भव्य स्वागत गरिएको छ। पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवै उपविजेता बनेका थिए ।
विश्व उपविजेता भरत सारु आज घर फर्किँदा रुपन्देहीको कन्चन गाउपालिका वडा न ३ हरैयामा स्थानीयहरुले बाजागाजा सहित फुलमाला स्वागत गरेका हुन। सारुलाई स्वागत गर्नका लागि खेलाडी, विद्यार्थी, शुभेच्छुक, स्थानीय तथा आफन्तहरु बाजागाजा सहित कञ्चनको हरैया बजारमा पुगेका थिए। सारुलाई कञ्चन र गैडहवाका बिभिन्न स्थानहरुमा र्याली सहित परिक्रम गराउदै गैडहवा गाउँपालिकाको कार्यलयमा पालिकाका अध्यक्ष सुरेन्द्र पौडेल सहित जनप्रतिनीधि, कर्मचारी र स्थानीयहरुले स्वागत गरेका थिए।
खो खो खेलाडी भरत सारुलाई गैडहवा गाउँपालिकाको कार्यलयमा स्वागत सहित सम्मान गर्दै सारुले गैडहवाको नाममात्र नभई देशको नामलाई खो खो खेलको माध्यमबाट परिचित गराउन सफल भएको बिचार व्यक्त गर्नुभयो। अध्इक्ष पौडेलले खो खो खेलको माध्यमबाट विश्वकप खेलेर उपविजेता बन्न सफल नेपाली टिम र सारुको उच्च सम्मान गर्दै सारुलाई पालिकाको तर्फबाट पुरस्कार स्वरुप नगद १ लाख रुपैया प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।
सारुलाई सम्मान तथा स्वागतका लागि रुपन्देही जिल्ला खो खो सघका अध्यक्ष राजकुमार थापा, लुम्बिनी प्रदेश खो खो सघका अध्यक्ष तुल बहादुर थापा, लुम्बिनी प्रदेश खो खो सघका कोषाध्यक्ष यम बहादुर थापा, जिल्ला भलिबल सघका उपाध्यक्ष राम बहादुर थापा, कन्चन गाउपालिका वडा न ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, पालिका प्रबक्ता चित्रलाल तुलाचन, कार्यपालिका सदस्य खगीसरा शर्मा, सुकमाया दर्जी, खो खो खेलका प्रशिक्षक तथा खेलाडी, स्थानिय क्लब, समाजसेवी, खेलप्रेमी लगायतको सहभागिता रहेको थियो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको थियो । कुनै पनि नेपाली टोली विश्वकपको फाइनलमा पुगेको यो पहिलो इतिहास हो ।
खो खो विश्वकपमा नेपाली टिमका लागि भरत सारु सहित हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, गणेश विश्वकर्माले प्रतिस्पर्धा गरेका थिए। टिमको प्रशिक्षक बिक्कीराज महर्जन, सहायक प्रशिक्षक कयामुद्दिन मन्सुर र टिम म्यानेजरको रुपमा छत्र बहादुर शाही रहेका थिए।
यस्तै नेपाल महिला खो खो टिममा सरस्वती कठाययत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले रहेका थिए। महिला टिमका लागि भने प्रशिक्षक लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षक उषा कवर मगर र टिम म्यानेजमा कृष्ण पनेरु सहभागि भएका थिए।
खो खो विश्वकपका लागि नेपालबाट जुरी शंकर महर्जन, सुशिलमान व्यन्जनकार चिफ दि मिसन, कपिलदेव यादव अफिसियल, दिलिप कुमार महर्जन, देव बहादुर महर्जन, राम कुमार चौधरी, धिरेन्द्र कुमार यादव निर्णायकको रुपमा सहभागि भएका थिए।
हाल भरत सारु स्थानीय पोहवा माध्यमिक विद्यालयमा खेल प्रशिक्षकको रुपमा कार्यरत छन ।