८ माघ, कञ्चन
रुपन्देहीको कञ्चनमा आदीवासी जनजाती आयोगका सदस्य डा मिन श्रीसले कञ्चनका आदीवासी जनजाती अगुवाहरुसंग भेटघाट गर्नु भएको छ। कञ्चन गाउँपालिकाको सभाहलमा भएको भेटघाट कार्यक्रमको क्रममा डा. मिन श्रीसलाई कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले स्वागत गर्नु भएको थियो।
आदीवासी जनजाती आयोगका सदस्य डा. श्रीसलाई स्वागत गर्दै अध्यक्ष ढकालले कञ्चन बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समुदाय सहितको मिश्रणले बनेको सबै जातीको साझा स्थानीय तह भएको बताउनु भयो। कञ्चनका बिभिन्न जाती र समुदायको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको लागि पालिकाले पालिकाको क्षमता अनुसार सहयोग र लगानी गर्दै आइरहेको र आगामी दिनहरुमा पनि पालिकाले सबै जाती, धर्म, संस्कृति र समुदायले समेत आफ्नो पालिका भएको अनुभूत गर्नेगरी कार्य गर्ने प्रतिवद्धता समेत अध्यक्ष ढकालले व्यक्त गर्नुभयो।
कार्यक्रममा आयोगका सदस्य डा. श्रीसले नेपालमा रहेका सबै जाती धर्म तथा सम्प्रदायको फरक फरक भाषा, साहित्य, कला संस्कृति रहने ती सबैको संरक्षण र सम्बर्द्धन गर्नु राज्यको कर्तब्य र जिम्मेवारी भएको बताउनु भयो। देशमा जात र समुदाय अनुसार बिकास हुदै आइरहेको रहनसहन, परमपरा, भाषा र संस्कृतिको संरक्षणमा सबैको बरोबर दायित्व समेत रहेको बताउदै आयोगका सदस्य डा. श्रसिले कञ्चनमा प्रचलित कला, संस्कृति र परमपरालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्नु सोही स्थानका रैथाने जाती र समुदायको कर्तब्य भएको बिचार व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचनले स्थानीय तहहरुले स्थानीय तहमा रहेका आदीवासी जनजाती समुदायको लागि वार्षिक नीति, कार्यक्रम तथा योजनाहरुलाई प्राथमिकता दिदै आइरहेको जानकारी दिनुभयो। कञ्चनमा पनि मगर, थारु र नेवार जातीको जातीय कला र संस्कृतिको संरक्षणका लागि मगर, थारु र नेवार संग्राहलय निर्माणका लागि आवस्यक बजेट व्यबस्थापन गर्दै आइरहेको समेत परिषदका अध्यक्ष तुलाचनले बताउनु भयो।
कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्ग, थारु कल्याणकारी सभा, कञ्चनका अध्यक्ष पुर्णवासी थारु, नेवा देव दबुःका हिरामान श्रेष्ठ, नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचा मगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य सुस्मा थापा, जिल्ला सदस्य लिल बहादुर दर्लामी, नेपाल मगर बौद्ध सेवा समाज, लुम्बिनीका अध्यक्ष पार्वती घर्ति मगर लगायतको उपस्थिति रहेको थियो।