बिहानैदेखि मौसम सफा थियो। घाम देखिए पनि बिहान साँझ चिसो बढेको छ ।चिसो मौसममा तातो कुरा गर्दै मंसिर २६ गते त्रिवेणी सुस्ता धातानन्दको घरमा जान मन गर्दै थिए,काठमाडौं युनिभर्सिटीका सह-प्रध्यापक भुवन थापा "बहुवि"। फोन खबर अनुसार मणिग्राम ११:०० बजे जम्मा भइ भैरहवा हुँदै जाने थियो। म अरु दिनभन्दा गेम खेलेर छिट्टै घर फर्किएँ । कानुङ सहकारी १०ः३० बजे पुगेको थिएँ। कार्यालयमा केहि समय बसें ।कार्यालय प्रमुख कुसुम पुनलाई दाजुभाइ भेटका लागि सुस्ता जाने कुरा गरी बिदा भएँ।
मणिग्राम,अनिकराम निवास पुग्दा रुद्रपुरदेखि गिरी दाजु ,दिल भाइ आइसकेका थिए। ल्हुङपेक कुटडाँडामा बाघसंग लडेर बाघ मार्ने, धनपति सिंजापति पुसाजु पनि त्यहीं आएका रहेछन्।भेट्ने मौका मिल्यो।अहिले दाहिने खुट्टा फ्याक्चर भएको रहेछ । अप्रेसन पश्चात आराममा रहेको सुनाए।
गुल्मी, सत्यवति २, पाहादीबाट वडा अध्यक्ष खड्गवीर थापा बुटवल झरिसकेको खबर थियो । खड्गवीरलाई मणिग्राम चोकमा भेट्ने गरी हामी त्रिवेणी सुस्ताका लागि बाटो ततायौँ। खड्गवीर, भेट्ने ठाउँ भुलेर भलबारी पुगेछन्।तुरुन्तै मणिग्राम चोक फर्किहाले। तीनवटा बाइकमा छ जना जाने सल्लाह थियो। हामी त्यसै गरी गयौं। अन्य बिकास नभएपनि सडक बाटोको निकास धेरै भएकाले हामीलाई बरुवाचोक पुग्न निकै हम्मे भयो। सोधपुछ गर्दै बल्लतल्ल पुगियो।बाजे धातानन्द हामीलाई कुरेर बसेका थिए ।
बरुवाचोक, बाटोमै साइनो अनुसारको ढोगभेट भयो। लगत्तै भट्टीमा सात कप चिया पियौं ।भुवन बाजेले चियाको दाम तिरे। चिया पाक्दा पाक्दै खड्गवीरले पचास दाम तिरेर मोटोरसाइकल मर्मत केन्द्रमा बाइकलाई नुहाइदिए। बाजेको घर सुस्ता १, बरुवाचोकदेखि वनदेवी मन्दिर भन्दा केहि अगाडि रहेछ। त्रिवेणी आउँदा माछा नखाइ फर्किनु मजा नआउने बाजेको कुरो थियो। माछा किनमेल गरी बाजेले घरमा पुराए । पाहुना आउने भएसी बज्यैले प्लाष्टिकका पाँच कुर्सी मिलाएर राखेका थिए । बस्नुभन्दा अगाडि हामी बाजेका घर वरिपरी नियाल्यौं। जग्गाधनी पुर्जा प्राप्त नभएका १२/१५ कट्ठा कच्ची जग्गा रहेछ। छोरीको नाममा दर्ता गर्दिएको सुनाए ।
हुन त त्रिबेणी बजारमा आफ्नो पुरानो घर नभएकोपनि होइन बाजेको। तर एकान्तमा बस्ने चाहनाले २०६४ सालबाट त्यता बस्न थालेको बताए । वल्तिर, पल्तिर खोला जे त होला भनेर, बसेझैं लाग्यो । चार छोरा ,पाँच छोरी सन्तान पाएका उनीहरू अहिले भने ढुकुरका जोडी जस्तै घरमा बुढाबुढी मात्र छन्। टक्लक्क एक्लो घर ,चोरीको डर, हुने कुरा सोध्दा कहिले काँही हुने गरेको बताए । गोडाचार बाख्रो रहेछ। भैंसी पालेको भए पनि बिक्री गरेको सुनाए ।
एकदिन नचिनेका मान्छे घरमा आएछ। "बाख्रो कहाँ बाँध्नु हुन्छ" भनी सोधेंछन् । "ऊ त्यहीं भैंसी पछाडि बाँध्ने" गरेको जवाफ दिए। "स्याल कराउने कुखुरो हराउने" भनेझै रातिनै बाख्रो हराएछ । बिहान उठेर पाईला (डोब) पच्छाउॅदै जॉदा चोरकै घरमा पुगेछन्। बाख्रोले बज्यैलाई चिनेर म्या म्या गरेछ, त्यसपछि बाख्रो लिएर फर्केको कुरा गरे ।
घर पछाडि कागती प्रसस्त फलेका रहेछन। दिल भाइले बाजेको अनुमतिमा एक झोला कागती टिपे । थोरै बाजेबज्यैलाई राखदिएर बाँकी पाहुर पारे । त्यतिवेलासम्म बज्यैले माछा पकाएर खानलाई तैयार गरिसकेकी थिइन् ।"कानो गोरुलाई औँशी न पूर्णे" हामीले भुजा सहित माछा, आच्छा तरीकाले खायौं। भुवन साहाकारी, बाजे अनिकराम एकादशी भनेर खानु भएन। कोक, स्प्राइट, बिस्कुटमा चित्त बुझाए । बिदाइ हुने बेला काठमाडौं लगनखेल निवासी, ताङनामी थापा वंशावली र कूलायन पूजा, प्रकाशक अ.क्या. भद्रे थापाद्वारा प्रकासित "जीवन भोगाइ" पुस्तक र ढोलाहिटी निवासी समाजसेवी लाल बहादुर थापाले बनाएका पुस्ता छुट्याउने मेटल ब्याच, एक खुकुरी भुवन थापाले उपहार स्वरूप प्रदान गरे । हामी साइनोले छ पुस्ता सम्म आइपुगेका छौं। बदेल, धनुष र खुकुरी पुस्ता छुट्याएको छ । एक खुकुरीवाला बाजेबज्यै जीबित पुस्तामा जम्मा ११ जना मात्र बाँकी रहेको बाजे अनिकरामले कन्ठष्ट सुनाए । अनुभवका तीतामीठा गफगाफ पछि सामूहिक फोटो सेसन चल्यो।
उतै बास बस्न हामीलाई बाजेबज्यैले कर गरेका थिए। आगामी नयाँ ०८२ सालमा निमन्त्रणा गरेका छन् । यति टाढा धेरैले दुःख पाउँनु भन्दा बरु, हजुरले एक्लै दुख पाउँने गरी बुटवलतिरै भेट्न जाति हुने खड्गवीरले सुनाउँदा केहिबेर हाँसो चल्यो। रुद्रपुर पुग्न ढिलाइ भैरहेकोले, गिरी दाजुको आत्तिएको चेहेराले बताइरहेको थियो। सुनवल पूर्ण दाजीको घरमा पस्ने कुराले झनै आत्तिएका थिए।हामी बाजेबज्यैसंग बिदावारी भयौं। बर्दघाट हुँदै सुनवल आउँदा बीच बाटोमा मूर्तिकार चमबहादुर पुलामीको कला पसलमा, भेट भयौं । छोटो कुराकानी पछि हामी सुनवल बनाहा, सत्यवति टोल पूर्ण दाजीको घरमा आयौं । भाउजूले पानी, चिया बिस्कुट टक्र्याइन् । पहिल्यै खबर गरेको भए राम्रो हुने दाजुको गुनासो थियो। सायद खानपिन ब्यवस्थाको लागि गुनासो होला । हामीले दुःख दिन चाहेनौं । केहि छिनको बसाईपछि मंसिरको २९ गते शनिबार, प्रतिनिधिमूलक सुदीप होटल लुम्बिनी, भाइभेलामा भेट हुने कुराकानी गरी बिदा भयौं ।
धुलाम्मे बाटो, खाल्टाखुल्टी छिचोल्दै भ्यागुतो उफ्रराइमा मणिग्राम पुग्दा सात बज्यो ।आधाघण्टा गफिए पछि म बुटवल बदेलपोखरी हानिंदा साँझको आठ बजेर, घडी सुई फट्टी सकेको थियो। दाजुहरू रुद्रपुर कतिबेला पुगे कुन्नि ?