आर्यभट्टले धेरै अगाडि पाँचौँ शताब्दीमै यो सत्य बुझिसक्नुभएको थियो । तर, उहाँको सिद्धान्त वेदविरोधी हुनाले (वेदमा पृथ्वीलाई स्थिर भनिएको हुनाले) जान्नेसुन्ने मानिसहरूले उहाँको सिद्धान्तलाई स्वीकार गरेनन् । यति मात्र होइन, उहाँपछि आएका ज्योतिषार्चाले उहाँको विचारको खण्डन गरे र त्यसलाई मजाकको विषय बनाए । ब्रह्मगुप्त छैटौँ शताब्दीका प्रसिद्ध ज्योतिषाचार्य हुनुहुन्थ्यो । उहाँले आफ्नो ग्रन्थ ‘ब्रह्मस्फुटसिद्धान्तः’ आर्यभट्टको खण्डन गर्दै लेख्नुहुन्छ :
“उसले पृथ्वी एक प्राणमा एक कला हिँड्छ भन्छ । त्यसो भए उसले पृथ्वी कुन बाटो कता जान्छ भनी बताओस् ।”
वराहमिहिर पनि ब्रह्मगुप्तकै समयका ज्योतिषाचार्य हुनुहुन्थ्यो । उहाँ आफ्नो ग्रन्थ ‘पञ्चसिद्धान्तिका’ मा आर्यभट्टको खण्डन गर्दै लेख्नुहुन्छ :
“सूर्य आदि नक्षत्र नघुमी पृथ्वी घुम्छ भन्नेहरूलाई म के भन्छु भने उनीहरूले सोचेको सत्य भए चराचुरुङ्गी उठेर आफ्नो गुँडमा फर्किन सक्नेछैनन् । पृथ्वी तीव्र बेगले पूर्व दिशातिर फन्किन्छ भने सबै झन्डा–पताका पश्चिमतिर फहरिनुपर्छ । पृथ्वी सुस्तगतिमा घुम्छ भने एक दिनमा यसले आफ्नो चक्र पूरा गर्न सक्नेछैन ।”
आठौँ शताब्दीतिरका विद्वान लल्लाचार्यले आफ्नो रचना ‘शिष्यधीवृद्धिदतन्त्रम्’ पनि यस्तै कुरा लेख्नुभयो । उहाँ लेख्नुहुन्छ :
“पृथ्वी घुम्छ भने पन्छी आफ्नो गुँडमा फर्किन सक्नेछैनन् र आकाशमा हानिएको तीर सधैँ पश्चिम दिशामा गएर खस्नेछ र बादल पनि सधैँ पश्चिम दिशामै जानेछन् ।”
भास्कराचार्य आफ्नो ग्रन्थ ‘सिद्धान्तशिरोमणेः’ मा स्पष्ट लेख्नुहुन्छ :
“जसरी सूर्य र अग्निमा ताप, चन्द्रमामा शीतलता, पानीमा गति र ढुङ्गामा कठोरता हुन्छ, त्यसरी नै पृथ्वी स्वभावैले अचल छ ।”
आर्यभट्टको विचार खण्डन गर्नका लागि कतिसम्म गरियो भने उहाँको पुस्तकको कीर्ते संस्करण तयार पारी त्यसको खुब प्रचार गर्ने कुप्रयास गरियो । त्यो जाली किताब नै असली किताब हो र यसमा उनले धर्ती स्थिर छ भनी लेखेका छन् भनेर प्रचार गरियो ।
यहाँ एउटा कुरामा स्पष्ट हुनुपर्छ । ब्रह्मगुप्त, वराहमिहिर, भास्कराचार्यलगायत जति पनि पुराना विद्वान ज्योतिषाचार्य थिए ती सबैले धर्तीलाई स्थिर मानेका थिए । यो मान्यता राख्दैमा उनीहरूले गणितको क्षेत्रमा दिएका योगदानलाई कम भन्न मिल्दैन । जसरी आधुनिक विज्ञानमा आइन्स्टाइनको योगदान हेरेर पुराना वैज्ञानिक न्युटनको योगदानलाई कम भन्न मिल्दैन । खासमा त्यो युगमा संसारभरि नै मानिसहरू त्यसरी सोच्थे । इतिहासमा ध्यान दिएर हेर्ने हो भने ज्ञानको धारा यसरी नै अगाडि बढ्छ । हामी समयसँगै नयाँनयाँ कुरा पत्ता लगाउँदै जान्छौँ र गलत कुरा बिस्तारै छोड्दै जान्छौँ । हुन त बेलाबेला नयाँ ज्ञानको धेरै विरोध पनि हुन्छ । कतिपय बेला त नयाँ कुरा पत्ता लगाउने व्यक्तिहरूले आफ्नो ज्यान गुमाएरसमेत ज्ञानको मूल्य चुकाउनुपर्छ । किनभने, नयाँ ज्ञानले हाम्रा आस्था र मान्यतालाई चुनौती दिन्छन् । यो प्रवृत्ति हिजो मात्र होइन, आज पनि जारी छ । आज पनि धेरै धर्मान्धहरूले विज्ञानका केही सिद्धान्तको विरोध गर्नुको मुख्य कारण यही हुन्छ । आफ्ना आस्था र मूल्यमान्यतामा चोट परेकैले तिनीहरूले विज्ञानको खेदो खन्छन् ।
थप अनर्थ
यसअघि हामीले स्वामी दयानन्दले कसरी वेदका मन्त्रहरूको अर्थ हेरफेर गरी पृथ्वी घुमिरहेको र यसले सूर्यको चक्कर लगाइरहेको कुरा ‘सिद्ध गर्नुभएको’ थियो भनी चर्चा ग¥यौँ । आफ्नो पुस्तक ‘ऋग्वेदादिभाष्त्ूमिका’ को एउटा पाठ ‘प्रकाश्यप्रकाशक’ मा उहाँले सूर्य आफ्नो धुरीमा घुमिरहेको र चन्द्रमा सूर्यको प्रकाशले प्रज्ज्वलित भएको कुरा वेदका मन्त्र देखाएर सिद्ध गर्न खोज्नुभएको छ । यहाँनिर यजुर्वेदको अध्याय २३ को ९ औँ र १० औँ मन्त्र देखाएर त्यसको अर्थ उहाँ यसरी लगाउनुहुन्छ –
मन्त्र : कः स्वि।देकाकी च।रति कऽउ। स्विज्जायते पुन।:।
किथ्ंऽ स्वि।सिद्धिमस्य।भेषजं किम्वावप।नं महत् ।।३।।
सूर्य।ऽएकाकी च।रति चन्द्रमा। जायते पुन।:।
अग्निर्हिमस्य।भेषजं भूमि।रावप।नं महत् ।।४।।
– य.अ. २३ । मं. ९, १० ।।
भाष्य (अर्थ) : “(पहिलो प्रश्न) को एक्लै हिँड्छ र आफ्नै प्रकाशले प्रकाशमान हुन्छ (वा अरूलाई प्रकाश दिन्छ) ? (दोस्रो) को अरूको प्रकाशले प्रकाशमान हुन्छ ? (तेस्रो) को शीतको औषधी हो ? (चौथो) को ठूलो वा स्थूल पदार्थ राख्ने सबैभन्दा ठूलो ठाउँ कुन हो ?”
यसपछिका मन्त्रमा यी प्रश्नको जवाफ दिइएको छ । यिनको भाष्य दयानन्दजी यसरी गर्नुहुन्छ :
“एक, यो संसारमा सूर्य मात्र एक्लै हिँड्छ र आफ्नै किलोवरिपरि घुम्छ तथा प्रकाशमान भएर सबै लोकलाई प्रकाशित गर्छ । दुई, सोही सूर्यको प्रकाशले चन्द्रमा प्रकाशमान हुन्छ । तीन, शीतको औषधि अग्नि हो । चार, पृथिवी नै साकार चीज राख्ने थलो हो र सबै चिजबीज रोप्ने ठूलो खेत हो ।”
सुरुमा पुराना भाष्यकारहरूले यी मन्त्रको के अर्थ निकालेका छन्, जाँचौँ । आचार्य उवटको यी मन्त्रको अर्थ यसरी निकाल्नुभएको छ :
“कृपया बताइदिनुस् को एक्लै हिँड्छ ? को बारम्बार उत्पन्न हुन्छ ? शीतको औषधि के हो ? बीउ रोप्न कुन ठाउँ सबैभन्दा ठूलो हो ?” (९)
यसपछिको मन्त्रमा यसको जवाफ दिइएको छ :
“सूर्य एक्लै हिँड्छ । चन्द्रमा बारम्बार उत्पन्न हुन्छ । अग्नि शीतको औषधि हो । भूमि बीउ रोप्ने सबैभन्दा ठूलो ठाउँ हो ।” (१०)
यहाँनिर सूर्यले आफ्नो किलोवरिपरि घुम्ने, चन्द्रमा सूर्यको प्रकाशले प्रकाशमान हुने कुरा यहाँ छैन । यही आचार्य सायणको भाष्य पनि एकचोटि जाँचिहेरौँ । माथिको मन्त्रको सायणले यसरी अर्थ लगाउनुभएको छ :
“एक्लै कसले विचरण गर्छ ? कसले फेरिफेरि प्रकाश पाउँछ ? हिउँको औषधी के हो ? बीउ रोप्ने महान् क्षेत्र के हो ? जवाफ दिनुस् ।” (९)
त्यसपछिको मन्त्रमा यसको जवाफ यसरी दिइएको छ :
“सूर्यरुपी ब्रह्म एक्लै विचरण गर्छ । चन्द्रमाले फेरिफेरि प्रकाश पाउँछ । हिउँको औषधी अग्नि हो । बीउ रोप्ने महान् क्षेत्र पृथिवी हो ।” (१०)
यहाँ पनि सूर्य आफ्नो किलोवरिपरि घुम्ने र चन्द्रमा सूर्यको किरणले उज्यालो हुने चर्चा छैन ।
केही मानिस यी हरफ पढेर अल्मलिन सक्छन् । चन्द्रमाले फेरिफेरि प्रकाश पाउँछ भन्नुको तात्पर्य सूर्यको किरण परावर्तन गर्नु होइन, बरु विविध चन्द्रकला हो । चन्द्रमा प्रतिदिन घट्दै गएर औँसीमा पूरै अलप हुन्छ अनि फेरि बिस्तारै बढ्दै पूरै प्रकाशले चम्किन्छ । अर्थात्, चन्द्रमाले बिस्तारै आफ्नो प्रकाश गुमाएर फेरि त्यसलाई पाउँछ । यही कुरा माथिको मन्त्रमा व्यक्त गरिएको हो ।आचार्य उवटको भाष्यमा पनि चन्द्रमा बारम्बार विभिन्न कलामा उत्पन्न हुने र सूर्यले एक्लै विचरण गर्ने कुरा छ । सूर्य एक्लै हिँड्छ किनभने रातको समयमा आकाशमा चन्द्रमासँगै अन्य ग्रह–नक्षत्र हुन्छन् तर घामसँग कोही पनि हुन्न† सबै अदृश्य हुन्छन्; आकाशमा घाम एक्लो देखिन्छ ।
फेरि यो मन्त्रको भाषा पनि सरल नै छ । विद्यालयमा अलिकति संस्कृत भाषा पढेको मान्छेले समेत यसको अर्थ पहिल्याउन सक्छ । ‘कः स्विदेकाकी चरति, कऽउ स्विज्जायते पुनः’ मा ‘कः’ को अर्थ हो ‘को’ । ‘स्विदेकाकी’ शब्द दुई शब्द मिलेर बनेको छ – स्वित र एकाकी । स्वितलाई वितर्कको अर्थमा प्रयोग गरिएको छ । ‘कः’ मा ‘स्वित’ जोड्दा ‘को’ हुन्छ । एकाकीको अर्थ सजिलो छ । यसको अर्थ हुन्छ ‘एक्लो’ । अर्को शब्द ‘चरति’ को अर्थ चलफिर गर्नु, हिँड्नु वा विचरण गर्नु हुन्छ । समग्रमा यहाँ ‘को एक्लै हिँड्छ’ भनी सोधिएको छ । अर्को पङ्क्तिमा ‘कः’ को अर्थ ‘को’ हुन्छ । स्विज्जायते दुई शब्द मिली बनेको छ – स्वित र जायते । ‘स्वित’ को अर्थ अघि नै भनियो । ‘जायते’ को अर्थ ‘उत्पन्न हुनु’ हुन्छ र ‘पुनः’ को अर्थ ‘फेरिफेरि’ हुने भइहाल्यो । समग्रमा यहाँ ‘को फेरिफेरि उत्पन्न हुन्छ’ भनी सोधिएको छ । यसको जवाफमा जुन संस्कृत भाषा प्रयोग गरिएको छ, त्यो झन् सरल छ । ‘सूर्यऽएकाकी चरति चन्द्रमा जायते पुनः’ मा । यसको अर्थ यहाँ बताउनै नपर्ला । माथिको चर्चाबाट यसको अर्थ ‘सूर्य एक्लै हिँड्छ र चन्द्रमा फेरिफेरि उत्पन्न हुन्छ’ सजिलै निकाल्न सकिन्छ ।
यति गरेपछि स्वामी दयानन्दको भाष्यलाई केलाऔँ । विज्ञान निकाल्न उहाँले भाष्यमा कति गडबडी गर्नुभयो भन्ने सजिलै ठम्याउन सकिन्छ ।
नयाँ भक्तहरू
आजभोलि उहाँका केही भक्तले यसमा अर्को दाबी गर्न थालेका छन् । दाबी के भने दयानन्दजीले यी भाष्य लेख्ने बेला (सन् १८७५) सूर्य पनि आफ्नो धुरीमा घुम्छ भन्ने थाहा थिएन भन्छन् । सूर्यले आफ्नो धुरीमा घुम्ने कुरा पहिल्याउन त्यतिबेला उन्नत उपकरण थिएनन् भनी आजका दयानन्दजीका युवा भक्तहरू भन्दै छन् । यो दाबी पनि झूटो छ ।
सूर्य आफ्नो धुरीमा घुम्न सक्ने सम्भावना बेलायती वैज्ञानिक थोमस हेरियटले सत्रौँ शताब्दीको आरम्भमै देखाइदिएका थिए । पछि सत्रौँ शताब्दीमै ग्यालिलियोलगायत वैज्ञानिकले व्यवस्थित अवलोकनबाटै प्रमाणित गरेका थिए । आज पनि यो कुरा प्रमाणित गर्न हाइटेक उपकरण चाहिन्छ भन्ठानिन्छ । तर, यसको अवलोकन गर्न सजिलो छ । सूर्यका काला धब्बा (सन स्पोट्स) लाई दिनहुँ हेर्दै जाने हो भने यो कुरा सजिलै ठम्याउन सकिन्छ । सूर्यको सतहमा चुम्बकीय प्रवाह (म्याग्नेटिक फ्लक्स) का कारण काला धब्बा देखिन्छ । यी धब्बा केही दिनदेखि धेरै महिनासम्म सूर्यको सतहमा ज्यूँकात्यूँ रहन्छन् । यीमध्ये केही धब्बा त कति ठूला हुन्छन् भने सूर्योदय र सूर्यास्तको बेला यिनलाई दूरबिनबेगर पनि देख्न सकिन्छ । यद्यपि, खुला आँखाले सूर्यलाई नहेर्नू भनिन्छ । इतिहासमा दूरबिनको आविष्कार हुनुभन्दा अघि पनि सूर्यका काला धब्बा अवलोकन गरिएका धेरै प्रमाण भेटिएका छन् । केही प्रमाण त इपू. ८०० का पनि छन् । यी धब्बालाई दिनदिनै अवलोकन गरेका खण्डमा हरेक दिन यी धब्बा आफ्नो ठाउँबाट एकातिर सरिरहेको, सूर्यको एउटा कुनामा गएर हराएको र केही समयपछि पल्लो कुनामा फेरि देखापरेको ठम्याउन सकिन्छ । यो सरल अवलोकनबाट सूर्य आफ्नो धुरीमा घुम्छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । यही अवलोकन ग्यालिलियोलगायत कतिपय वैज्ञानिकले गरिसकेका थिए । स्वामी दयानन्दले भाष्य लेख्नुभन्दा धेरै अगाडि पनि संसारमा धेरैलाई यो तथ्य थाहा थियो ।
‘ऋग्वेदादिभाष्त्ूमिका’ को यही अध्यायमा स्वामी दयानन्दले अथर्ववेदका दुई मन्त्र उल्लेख गर्नुभएको छ । छोटकरीमा तिनलाई पनि जाँचौँ । यी मन्त्रमा स्वामीजीले गर्नुभएको गोलमाल उच्च कोटीको छ । यी मन्त्रमा पनि उहाँले चन्द्रमाले सूर्यको प्रकाश परावर्तन गर्छ भनी सिद्ध गर्न खोज्नुभएको छ । यति कुरा साबित गर्न उहाँले श्लोकका देवतामाथि पनि दया गर्नुभएको छैन । यी श्लोकका देवता सोम हुन् । चन्द्रमासँग जोडिएका सोम होइनन्, बरु सोमलताका सोम । यही सोमलताबाट सोमरस (एकप्रकारको रक्सी) बनाइन्थ्यो । यो पूरै श्लोकमा सोमको स्तुति गाइएको छ† सोमलता पिसेर रस पिउने कुरा गरिएको छ । चन्द्रमालाई पिसेर पिउन त सकिन्न नै । तर, स्वामीजीले विज्ञान निकाल्ने चक्करमा सोमलाई नै चन्द्रमा बनाइदिनुभयो । यति गोलमाल गरेपछि पनि एउटा ठूलो विज्ञानजन्य गल्ती अझै पनि भइराखेको छ । उहाँ लेख्नुहुन्छ :
“त्यसैले ईश्वरले नक्षत्रलोकनिर चन्द्रमालाई स्थापित गरिदिनुभएको छ ।”
आजभोलि माध्यमिक तहका विद्यार्थीलाई पनि थाहा भएको कुरा हो, पृथ्वीबाट सबैभन्दा नजिक चन्द्रमा छ, त्यसपछि शुक्र र मङ्गल ग्रह आउँछन् । चन्द्रमा नक्षत्र वा तारानजिक छँदै छैन । सूर्यलाई तारा मान्ने हो भने पनि यो कुरा गलत नै हुन्छ । स्वामी दयानन्दले आफ्नो भाष्यमा कसरी गडबडी मच्चाउनुभएको छ भन्ने कुरा स्पष्ट देखिन्छ । तैपनि आजभोलि उहाँका चेलाचपेटाले यिनै भाष्य देखाएर कतिसम्म दाबी गर्छन् भने स्वयम् स्वामीजीले यो हदसम्म सोच्नुभएको थिएन होला । आजका उहाँका चेलाहरूले यहाँभन्दा पनि पर गएर विज्ञान निकालिरहेका छन् । जस्तो उनीहरू सूर्यले हाम्रो तारापुञ्ज आकाशगंगाको केन्द्रलाई फन्को मार्छ भन्ने कुरा स्वामीजीले आफ्नो भाष्यमार्फत सिद्ध गरिसकेको बताउँछन् ।
आजभोलि ‘ऋग्वेदादिभाष्त्ूमिका’ को ‘पृथिव्यादिलोकभ्रमण’ अध्यायमा दिइएका मन्त्रहरूको भाष्य देखाएर स्वामीजीले ‘उतिबेलै’ त्यसमा सूर्यले तारापुञ्जको केन्द्रको चक्कर लगाउँछ भनी लेख्नुभएको दाबी गरिँदै छ । उतिबेला भन्नुको अर्थ जतिबेला वैज्ञानिकले पनि यो कुरा थाहा पाएका थिएनन् । अर्थात्, स्वामीजीले वेदबाटै यो जानकारी निकाल्नुभएको थियो । आजका उहाँका एक भक्तको दाबी छ, “सूर्यले पृथ्वी र चन्द्रमासहित आकाशगंगामा एक्लै विचरण गर्छ । सूर्यले आकाशगंगाको केन्द्रको चक्कर लगाउँछ । टेलिस्कोपबाट अवलोकन नगर्दासम्म हामीलाई यो कुरा थाहा थिएन । उहाँले वेदका मन्त्रहरूमा जबर्जस्ती यी कुरा घुसाउनुभएको थियो भनी मान्ने नै हो भने पनि उहाँले टेलिस्कोप लगाएर त हेर्नुभएको थिएन होला नि । किनभने यो डिस्कभरी उहाँको हो भनेर उहाँले र मैले कसैले पनि दाबी गरेका छैनौँ । उहाँले त यी कुरा आफूले वेदमा पढेको बताउनुभएको छ ।”
यी दाबी उहाँ कहाँ र कसरी गर्नुहुन्छ भनी हेरौँ । उहाँ यी दाबी यजुर्वेदको ‘आयं गौ’ मन्त्रको भाष्यमा गर्नुहुन्छ । यहाँ स्वामीजी ‘गौ भनेको पृथ्वी, सूर्य, चन्द्रमा आदि लोकको नाम हो र यी सबै आ–आफ्नो परिधिमा रहेर अन्तरिक्षबीच सदा घुमिरहन्छन्’ भन्नुुहुन्छ । ऋग्वेदको एउटा मन्त्रको भाष्यमा उहाँ लेख्नुहुन्छ :
“परमेश्वरले जोजसलाई घुम्नका लागि जुनजुन बाटो निश्चित गर्नुभएको छ, तीती बाटामा सबैलोक घुम्छन् (पयो दुहना) ।”
यहाँ आकाशगंगाको केन्द्रलाई चक्कर लगाउने कुरा कहाँ छ ? अन्तरिक्षमा घुम्ने कुरा छ । आकाशगंगा कहीकतै छैन । ऊबेला तारापुञ्जलाई अर्कै नाम दिइएको थियो कि ? त्यसो हो भने माथिको मन्त्रमा त्यो शब्द कुन होला ? हामी त त्यस्तो कुनै शब्द भेट्दैनौँ । यहाँ अन्तरिक्षको केन्द्रमा घुम्ने कुरा छ । तर, अन्तरिक्षको केन्द्र र आकाशगंगाको केन्द्र (ग्यालेक्टिक सेन्टर) बीच आनकातान फरक छ । सूर्यले आकाशगंगाको केन्द्रको परिक्रमा गर्ने कुरा २० औँ शताब्दीको आरम्भमा पत्ता लागेको थियो । तर, सूर्य अन्तरिक्षमा चलफिर गर्छ भन्ने कुरा धेरै पहिले प्रमाणित भइसकेको थियो । यसको सम्भावनाबारे न्युटनको समयपछि नै कुरा चलेको थियो । किनभने, गुरुत्व बलका कारण विभिन्न ग्रह र तिनका उपग्रहले सूर्य र आआफ्ना ग्रहलाई फन्को मार्ने कुरा थाहा भएपछि सूर्य एकै ठाउँ नचली अडिएको होला भन्ने सम्भावना घटेको थियो ।
वास्तविकता सन् १७८३ मा बेलायती खगोलशास्त्री विलियम हर्शेलले पत्ता लगाए । उनले धेरै ताराहरूको अध्ययन गरेर हाम्रो सूर्य अन्तरिक्षमा एकै ठाउँमा अडिएको छैन बरु लाम्डा हर्कुलस नाउँको तारातिर सरिरहेको छ भनी साबित गरे । यो कुरा स्वामी दयानन्दले भाष्य लेख्नुभन्दा धेरै अघि संसारले थाहा पाइसकेको थियो । त्यसैले स्वामीजीले जे लेख्नुभएको छ, त्यो स्पष्ट छ । उहाँले ग्यालेटिक सेन्टरको चक्कर लगाउने कुरा लेख्नुभएन । आशङ्का लागे स्वामीजीकै किताबको एउटा सन्दर्भ पढौँ । उहाँ आफ्नो प्रसिद्ध किताब ‘सत्यार्थप्रकाश’ को ‘अष्टम समुल्लास’ मा एक प्रश्नको जवाफमा यजुर्वेदको एउटा मन्त्र उद्धृत गर्दै लेख्नुहुन्छ :
“जो सविता अर्थात् सूर्य… सबै लोकका साथ आकर्षणसहित बस्छ; आफ्नो परिधिमा घुमिरहन्छ तर यसले अरू कुनै लोकको फन्को मार्दैन ।”
स्वामीजीले सूर्यले ग्यालेक्टिक केन्द्रको चक्कर लगाउँछ भनी लेख्नुभएको छ भनी दाबी गर्नेहरूले यी वाक्य पढ्नुपर्छ । यहाँ उहाँले सूर्यले कुनै पनि लोकको फन्को नमार्ने स्पष्ट पार्नुभएको छ । आफ्नै परिधिमा घुम्ने प्रसङ्ग किन लेखियो भन्ने विषयमा स्वामीजीले सोही किताबको अर्को पानामा प्रस्ट्याउनुभएको छ । उहाँ लेख्नुहुन्छ :
“जोजसले सूर्यलाई स्थिर भन्छन्, तिनीहरू पनि ज्योतिर्विद् होइनन् । किनभने सूर्य घुम्दैनथ्यो भने एउटा राशि अर्को राशिमा सर्दै सर्दैन ।”
ज्योतिष विद्यामा सूर्यले महिनैपिच्छे राशि फेर्छ भनिन्छ । सूर्य घुम्दै नघुमे त्यो सम्भव नै हुन्न भन्ने स्वामीजीको तर्क छ । यहाँनिर स्वामीजीले गल्ती गर्नुभयो । किनभने, सूर्यले राशि फेर्नुको कारण सूर्यको आफ्नो गति होइन, बरु पृथ्वीले आफ्नो कक्षमा सूर्यलाई परिक्रमा गर्नु यसको कारण हो । तैपनि, यसबाट स्वामीजीले सूर्य घुम्ने कुरा केकति कारणले लेख्नुभएको रहेछ भन्ने थाहा पाइहालियो ।
यसै पनि वेदमा सूर्यको गतिलाई नकार्न असाध्यै मुस्किल छ किनभने सूर्यको गतिबारे वेदमा धेरै मन्त्र पाइन्छन् । ज्योतिष ग्रन्थहरूमा पनि यो कुरा धेरै ठाउँमा उल्लेख छ । यो कुरा कतिसम्म दोहो¥याइएको छ भने शब्दका बदलिरहने अर्थ हेरेर वाक्कदिक्क भइन्छ । तर, वेद र ज्योतिष ग्रन्थहरूमा सूर्यको गतिबारे जेजति लेखिएको छ, त्यो अन्तरिक्षमा अथवा ग्यालेक्टिक केन्द्रवरिपरिको चक्करबारे लेखिएको होइन । बरु, धर्तीबाट हामीले हेर्दा सूर्य जसरी सूर्योदयदेखि सूर्यास्तसम्म चलायमान देखिन्छ त्यसबारे लेखिएको हो; अर्को, राशि परिवर्तनबारे लेखिएको हो । यी दुवै गति र अन्तरिक्षमा सूर्यको घुमाइबीच कुनै साइनो छैन । वेदमा सूर्य सुनको रथमा चढेर हिँड्छ र त्यस रथलाई घोडाहरूले तान्छन् भनी लेखिएको छ । ऋग्वेदको प्रथम मण्डलमा नै हामी यसप्रकारका अनेक मन्त्र पढ्न पाउँछौँ । यसबाहेक अन्य वेदमा पनि यसखाले धेरै मन्त्र भेटिन्छन् ।
हिन्दीबाट नेपालीमा उल्था : सुरेश