(स्तालिनका अ·रक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’(Next To Stalinm Notes of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक यस कञ्चन खवरमा धारावाही प्रकाशन गर्दै जानेछ । धाआशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
म त्यतिखेर २३ वर्षको थिएँ । सन् १९३१ मा सीमा रक्षकको तालिम सकेर म सरकारी नेताहरूको सुरक्षा दलमा खटाइएँ । युराल क्षेत्रको रेगच गाउँको म एकजना साधारण युवक । हिजोसम्म अखबारका पानाहरूका तस्वीरमात्र देख्ने गरेका नेताहरूलाई अब म दैनिकजसो सशरीर देख्न र सुन्न सक्ने भएको थिएँ । मैले आफूलाई निकै भाग्यमानी ठानेको थिएँ ¤ मेरो काँधमा कति सम्मानपूर्ण जिम्मेवारी आइलागेको थियो !
त्यसको केही समयपछि झगोर्निकोभ र गोरुन्दिएभसँगै म स्तालिनको लागि ग्रीष्मकालीन आवास बनाइँदै गरेको ठाउँमा खटियौँ । त्यहाँ स्तालिन प्रायशः पोलिटब्युरो बैठक बस्ने गर्नुहुन्थ्यो । स्तालिनको ग्रीष्मकालीन आवास कुन्टसेभ क्षेत्र नजिकै थियो । त्यो ठाउँ आराम वा मनोरञ्जनको लागि कदापि उपयुक्त ठाउँ थिएन । त्यसको उत्तरमा माझाइस्क राजमार्ग थियो, जहाँ सधैँ सामान ढुवानी गर्ने गाडी गुडिरहेका हुन्थे । पश्चिममा डेभिडकोभो गाउँ थियो, जहाँ हरेक साँझपख सुरु हुने नाचगान र रमझम भोलि बिहानसम्म चलिरहेको हुन्थ्यो । दक्षिणमा किभ रेलमार्ग स्टेसन थियो जहाँबाट रेल र अन्य सवारी साधन आवतजावत गरिरहेको ध्वनि लगातार आइरहन्थ्यो । त्यहाँका वरपरका वनका रुखहरूले पनि आराम गर्ने कुनै समय पाएका थिएनन् ।
स्तालिन बस्न बनाइएको त्यो आवास एक तलाको सातकोठे काठे टहरा (क्याबिन) थियो । त्यो टहरा बन्दै गर्दा स्तालिनको सुत्ने ठाउँ नजिकै बनाइएको थियो । टहराहरूमध्ये कुनैको छानो टिनको थियो भने कुनैको छाना परालले छाएको थियो । स्तालिनको लागि सिकर्मीहरूले कहाँबाट एउटा पुरानो खातको जोहो गरेका थिए । उनीहरूले त्यो खात कहाँबाट ल्याएका थिए, मलाई थाहा भएन । त्यो टहरामा न कुनै नुहाउने भाँडो (बाथटब) थियो न बाफले नुहाउने साउना कक्ष नै थियो । सबै कुरा जेनतेन पुग्ने खालको मात्र थियो । टहरा निकै बलियो गरी बनाइएको थियो । टहराको सबभन्दा सुविधाको पक्ष भने त्यसको भुइँमा पनि काठका फ्ल्याक (पार्केट) बिछ्याइएको थियो ।
स्तालिनसँग किरोभ
त्यो एक तले घर (‘डाचा’) हेर्न भोरोशिलोभ र ओर्डझोनिकिड्जसँग स्तालिन आफै आउनुभएको थियो । त्यसका वास्तुकार ज्येष्ठ नागरिक मेर्झानोभले जेभी स्तालिनलाई स्वागत गरेका थिए र बैठक कोठामा लिएर गएका थिए । सँगै यगोडा पनि गएका थिए । आफ्ना अङ्गरक्षकहरूसहित कमान्डर येफिमोभ त्यो ठिक्क खालको ग्रीष्मकालीन टहराको सुरक्षाका प्रमुख थिए । मोझुकिन सहायक अङ्गरक्षक थिए । गोरुन्दिएभ र मेरो जिम्मेवारी स्तालिनको व्यक्तिगत सुरक्षा गर्नु थियो । गर्मीयाममा स्तालिन प्रायशः क्रेमलिनका आफ्ना काम सकाएर त्यही ‘डाचा’मा आउने गर्नुहुन्थ्यो । कालो रङको ‘प्याकार्ड’ गाडीमा बसेर उहाँ क्रेमलिनबाट त्यहाँ आउनुहुन्थ्यो । कहिलेकाहीँ क्रेमलिनबाट फर्केर उहाँ घाम लाग्ने खुला कोठामा केहीबेर आराम गर्नुहुन्थ्यो । पानी परेको बेला उहाँ सबभन्दा सानो कोठामा बसेर काम गर्नुहुन्थ्यो ।
जुलाई महिनाको अन्त्यदेखि नोभेम्बरको ३ तारिखसम्म हामी प्रायशः सोचीमा हुन्थ्यौँ । मतसेस्टा नजिकैको पहाडमा ग्रीष्मकालीन आवास थियो । सन् १९३२ मा म स्तालिनको व्यक्तिगत अङ्गरक्षकको रूपमा त्यो ठाउँमा खटाइएँ । हामी सुरक्षाकर्मीहरू उहाँको टहरासँगैको अर्को टहरामा बस्थ्यौँ । सानो मतसिस्टामा स्तालिनले धेरै पटक नुनिलो पानीमा नुहाउनुभएको थियो । उहाँलाई हात–खुट्टा र जोर्नी दुख्ने र सुनिने (पोलिअर्थाइटिस)को गम्भीर समस्या थियो । खुट्टाको दुःखाइको कारण उहाँ लामो समय एकै ठाउँमा बसिरहन सक्नुहुन्नथ्यो । कहीँ उभिरहँदा पनि उहाँ सधैँ आलोपालो गरेर खुट्टा टेकेर उभिनुहुन्थ्यो । त्यसरी उभिँदा उहाँलाई केही सजिलो हुन्थ्यो । हिँड्दा उहाँलाई अझ सजिलो लाग्थ्यो । त्यही भएर कामको बेला अथवा बैठकहरूमा पनि उहाँ सधैँ यताउति हिँडिरहनुहुन्थ्यो । सुरु सुरुका क्रान्तिकारी गतिविधि, प्रवास जीवन, अभाव, चिसो र कठ्याङ्ग्रिँदो बसाइको कारण उहाँलाई यस्ता शारीरिक कष्ट भएको थियो ।
भोरोशिलोभ, किरोभ र कलिनिन उहाँलाई भेट्न आइरहनुहुन्थ्यो । पाहुना सत्कार गर्न स्तालिन निकै मन पराउनुहुन्थ्यो । तर, एक्लै बस्दा उहाँ कमैमात्र पिउनुहुन्थ्यो । उहाँ भोड्का छुनु पनि हुन्नथ्यो । कहिलेकाहीँ ब्रान्डी पिउनुहुन्थ्यो । उहाँ ‘सिननडली’ अथवा ‘तिलियानी’ नामको वाइनमात्र पिउनुहुन्थ्यो ।
साँझ ४ बजेतिर उहाँ चारैतिर तारबार लगाइएको मैदानमा आइपुग्नुहुन्थ्यो । त्यहाँ उहाँहरू विभिन्न खेल खेल्नुहुन्थ्यो । म स्तालिन वा भोरोशिलोभ जोसित पनि खेल्न सक्थेँ । खेलमैदानमा को अङ्गरक्षक र को सरकारी अधिकारी, कुनै भिन्नता हुन्थेन । त्यहाँ हामी सबैलाई समान व्यवहार गथ्र्यौँ ।
खेल हार्नेलाई टेबुलमुनि बस्न लगाइन्थ्यो । जित्नेहरूले हरूवाको टाउकोमाथि टेबुलमा कुनै पनि कडा चिजले बजार्थे । धेरैपटक स्तालिनले पनि खेल हार्नुभएको थियो । नियमअनुसार उहाँ पनि टेबुलमुनि बस्नुपरेको थियो । त्यसपछि जित्नेहरूले टेबुलमाथि बजार्दा हाम्रो कानै खान्थ्यो । यी सबै रमाइलो र मित्रताभावको लागि थियो ।
त्यत्तिबेला टेलिभिजन भन्ने कुरा थिएन । त्यसकारण साँझ हामी आफै मनोरञ्जनको लागि एकै ठाउँमा जम्मा भएर रमाइलो गथ्र्यौं । म बागरित्स्कीको कविता ‘ओपानासाबारे विचार’ वाचन गरेर सुनाउँथेँ । पनट्युसिन आफ्नो मुखले बजाउने बाजा बजाउँथे । स्तालिन हाम्रो टहरामा आउनुहुन्थ्यो, ध्यानपूर्वक हाम्रा कुरा सुन्नुहुन्थ्यो र चर्को आवाजमा ताली पिट्नुहुन्थ्यो । उहाँलाई रुसी लोकधुन असाध्यै मनपथ्र्यो । अनि, हामीलाई मनोरञ्जनको लागि मुरी मुरी धन्यवाद दिनुहुन्थ्यो । तर, जिप्सीहरूका भाका अझ बढी मनपराउनुहुन्थ्यो । इन्चार्ज भ्लासिकले पनट्युसिनलाई मुखले बाजा बजाउनमा रोक लगाएका थिए । स्तालिनले धेरै काम गर्न बाँकी रहेको र त्यो बाजाको आवाजले उहाँको ध्यान बिथोलिने भन्दै त्यस्तो रोक लगाइएको थियो । त्यही भएर एक साताजति मुखले बजाउने बाजाको धुन कतै सुनिएन । स्तालिनलाई एकदिन आएर सोध्नुभयो, “त्यो हाम्रो बाजा बजाउने साथी खोइ ? मस्को जानुभएको हो र ?”
भ्लासिकले भने, “त्यो बाजाको आवाजले तपाईंको ध्यान बिथोलिन्छ कि भन्ठानेको हामीले त ।”
“अहँ ! होइन नि । म त रुसी गीत र वाल्जहरू सुन्न रुचाउँछु । बाजा बजाउने साथीलाई निसञ्कोच बाजा बजाउन भन्नुहोला”, स्तालिनले भन्नुभयो ।
स्तालिनका यस्ता कुरा सुनेर पनट्युसिन गौरवले झन्डै नाचेनन् । अनि खुबसँग त्यो बाजा धक फुकाएर बजाउँदै हिँडे ।
एकदिन म ड्युटीमा तैनाथ रहेको बेला स्तालिन म भएको ठाउँमा आउनुभयो र भन्नुभयो, “म सधैँ तपाईंको हातमा यो राइफल देख्छु । तपाईंले यता आएर राइफल चलाउने अवसर पाउनुभएको छ कि छैन ?”
“अहँ ! कमरेड स्तालिन, मैले कहिल्यै त्यस्तो अवसर पाएको छुइनँ”, मैले भनेँ ।
“त्यसो भए तपाईंले यसको कहीँ पनि प्रयोग गर्नुभएको छैन ?”
“बास्मची इब्राजिम बेकाको लडाइँमा पड्काएको छु कमरेड ।”
“तपाईंलाई बारुदको गन्ध थाहा छ त्यसो भए ?”
“थाहा छ कमरेड ।”
स्तालिन त्यहाँबाट अङ्गुरको बगैँचातिर जानुभयो । उहाँ अङ्गुरको बोटमा काम गर्न मन पराउनुहुन्थ्यो । उताबाट भ्लासिक हतार–हतार दौडिएर आएको देखेँ । उनको जीउडाल अलि मोटो थियो । त्यसकारण उनको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । स्तालिनलाई नदेखेर उनले मलाई चर्को स्वरमा सोधे :
“खोइ कमरेड स्तालिन कहाँ हुनुहुन्छ ?”
“उहाँ अङ्गुर बगैँचामा जानुभएको छ ।”
भ्लासिक हतार–हतार अङ्गुरको बगैँचामा पसे । झपक्क अङ्गुर फलेको थियो । तरकारी हलक्क हुर्केको थियो । खर्बुजा पनि फलेको थियो । भ्लासिक ती तरकारी र फलफुलमा विषादी हालिएको हुनसक्ने सम्भावनाप्रति सजग थिए । स्तालिन भने त्यहाँ काम गरिरहेका मजदुरहरूको विषयमा बढी उत्सुक हुनुहुन्थ्यो । आफ्ना अङ्गरक्षकहरूमार्फत उहाँले आराम गरिरहेका मजदुरहरू कहाँदेखि आएको, खाँचो परेका सबै कुरा पुग्दो छ÷छैन आदिबारे चासो राख्नुभयो । यस्ता विषयमा स्तालिन निकै उत्सुक र अनुभवी भएकाले हामीले उहाँलाई कुनै हचुवा जानकारी दिन सक्दैनथ्यौँ ।
निकै व्यस्त दिनको थकान मेटाउन उनी कहिलेकाहीँ खरायोको शिकार खेल्न मन पराउनुहुन्थ्यो । बगैँचामा खरायो जति पनि थिए । भ्लासिक राइफल उठाएर निशाना ताक्थे । उनी आफ्नो निशानामा चुक्थे । स्तालिनको अट्टाहास छुट्थ्यो ।
“खरायो ज्यादै बाठो रहेछ । कहाँ गएर लुक्नुपर्ने हो, सब थाहा रहेछ”, स्तालिन भन्नुहुन्थ्यो ।
किरोभ स्तालिनलाई हरेक वर्षको झन्डै एउटै समयमा भेट्नुहुन्थ्यो । उहाँहरू दुवै निकै मिल्ने साथीहरू हुनुहुन्थ्यो । एकदिन उहाँहरू एउटा टेबुल वरपर बसेर पानीसँगै जर्जियन वाइन सुस्तसुस्त घुट्काइरहनुभएको थियो । स्वेतलाना (स्तालिनकी छोरी) र भासिली (स्तालिनका छोरा) का चालक लुकाएनोभ, एन्टोनोभ, कुज्नेत्कोभ र म नजिकै थियौँ । स्तालिनले कुज्नेत्कोभ र लुकाएनोभलाई खानपिनमा सहभागी बन्न आग्रह गर्नुभयो । कुज्नेत्कोभले आफ्नो पदअनुसार दायित्व पूरा गरिरहेको बताए ।
“कमरेड स्तालिन ! हामी अहिले ड्युटीमा छौँ । हामी हाम्रो कमान्डरले दिनुभएको आदेशको उल्लङ्घन गर्न सक्दैनौँ ।”
“त्यो त हो । तर, तपाईंहरू आत्तिनुपर्ने कुनै कारण छैन । म तपाईंका कमान्डर भ्लासिकलाई केही भन्दिनँ । आउनुस् थोरै पिऔँ र केही खाऔँ”, स्तालिनले भन्नुभयो । किरोभ हाँस्नुभयो ।
तर, कुज्नेत्सकोभ आफ्नो ठाउँबाट टसको मस भएनन् । अनि स्तालिनले भन्नुभयो, “खानपिनको लागि आमन्त्रण गर्नु हाम्रो कर्तव्य हो । तर, आउने नआउने त तपाईंहरूको निर्णय हो !”
स्तालिन माछा मार्न जान, खानपिन गर्न सधैँ आफ्ना अङ्गरक्षक, मित्र र घरमा काम गर्नेहरूलाई बोलाउनुहुन्थ्यो । त्यहाँ सबै कुरा सद्भावपूर्ण हुन्थ्यो । न कुनै आदेश हुन्थ्यो, न कुनै पालना ।
एउटा घटना । नादेज्दा एल्लिल्युएभा (स्तालिनकी श्रीमती) ले आफैले आफैलाई गोली हान्ने निर्णय लिइन् ? सोलोभोभको व्याख्याअनुसार एक साँझ सरकारका पदाधिकारी र उनीहरूका श्रीमतीहरू खानपिनको लागि भेला भएका थिए । खानपिनको क्रममा अरू बेलाजस्तै त्रोत्स्की र अरू सरकारविरोधी शक्तिहरूको लगातारको विरोधबारे छलफल चलिरहेको थियो । ती शक्तिहरूको शीघ्र पराजयको कामना गर्दै सबैले वाइनको टोस्ट प्रस्ताव गरे । सबैले वाइन घुट्काए । तर नादेज्दाले भने पिइनन् । तिनताक उनी राजनीतिशास्त्र एकेडेमीमा पढ्दै थिइन् । त्यहाँ लेनिनवादी र बुखारिनवादी, टोम्स्की र उखानोभबीच गहन र चर्काचर्की बहस हुन्थ्यो । नादेज्दा सोभियत सरकारसँग सहमत थिइनन् । स्तालिनले उनलाई सोध्नुभयो, “किन तिमी खाइरहेकी छैनौ ?”
नादेज्दा कोठाबाहिर गइन् । मोलोतोभकी श्रीमती उनलाई सम्झाउन सँगै बाहिर निस्किन् । तर, तनावमा नादेज्दाले कोठामा गएर पिस्टोलले आफूले आफैलाई गोली हानिन् । आफ्नी श्रीमतीको निधनले स्तालिनलाई ज्यादै गहिरो चोट प¥यो । आफ्नी जहानको शवयात्रामा स्तालिन नोभोदेभिचीको समाधिस्थलसम्म पैदल हिँड्नुभयो । धेरै लामो समयसम्म स्तालिन श्रीमतीको सम्झनामा राति समाधिस्थल जानुहुन्थ्यो । सुरक्षाकर्मीहरू उहाँ त्यहाँ श्रीमतीको सम्झनामा एक्लै भुनभुनाइरहेको देखेको भन्थे । स्तालिन एक्लै एक पछि अर्को पाइप सल्काइरहनुहुन्थ्यो ।
ए. टी. रेबिन
अनुवादः बर्बरिक श्रोत : मजदुर दैनिक