“भ्रष्टाचारबाट सबभन्दा बढी गरिब मुलुक पीडित छन् – जहाँ दुःख र असमानता हाबी छ । यस्ता मुलुकमा सरकारी अधिकारीबाट हुने भ्रष्टाचारले गरिबको भाग खोस्ने गरेको छ ।” – डा. ओस्कार एरिस सान्जेन
वाल्मिकी रामायणअनुसार, दानव राजा रावणका दस टाउकामध्ये नौ वटाले भ्रष्ट र खराब आचरणको प्रतिनिधित्व गथ्र्याे भने दसौँ टाउकोले सर्वसत्य ज्ञान, आत्मा, दैवीय प्रवृत्तिको । लङ्का लडाइँमा रामले रावणको एउटा टाउको काट्नासाथ रावण मरेजस्तै अभिनय गरी अर्को टाउको लिएर देखापथ्र्याे । तसर्थ, भ्रष्टाचारको पनि एउटा टाउको काटेर हुँदैन, रावणका जस्तै नौ वटै टाउको काटी ज्ञान र गुणले भरिएको दसौँ टाउको देखानपरेसम्म ।
समाजका हरेक पेसा तथा गतिविधिमा भ्रष्टाचार र घुसको तोड्न नसकिने चक्रव्यूह निर्माण भएको छ । नेपाली समाजमा त्यस्तो क्षेत्र छैन–जहाँ भ्रष्टाचारको गन्ध नमिसिएको होस् । यतिखेर भ्रष्टाचार जङ्गलमा लागेको आगोजस्तै फैलिएको छ । समाजभित्रका सबै सदस्य नैतिक मूल्य–मान्यताको ख्याल गर्न नसक्ने स्थितिमा छन् । यस्तो स्थितिमा समाजका केही विद्वत्वर्ग र सुधारकले त्यसविरूद्ध उठाएको झीनो आवाज हावाहुरीमा परेको पतिङ्गरसरह बनेको छ । सडक–बजार, सरकारका अङ्गहरू, शक्ति केन्द्रका बार्दली, समाज सुधारका नाममा खुलेका गैरसरकारी संस्थाहरूलगायत हरेक क्षेत्रमा भ्रष्टाचारले कवाज खेलिरहेको छ ।
भ्रष्टाचार नयाँ रोग होइन । यो समाजको निर्माणसँगसँगै उब्जिएको पुरानो रोग हो । नत्र समाजको निर्माणकालदेखि यसले ठाउँ र चर्चा पाउने थिएन । घुस र भ्रष्टाचारको चर्चा प्राचीनकालदेखि हुँदै आएको छ । पुराण, वेद, उपदेशका ठेलीहरूमा ‘अन्याय गर्ने, घुस ख्वाउने, गुप्त धन लिनेलाई देश निकाला गर्नुपर्छ’ भनी लेखिएका छन् । बाइसे चौवीसे राज्यकालमा पनि काठमाडौँका राजा जयप्रकाश मल्लले आफ्नी महारानीलाई भ्रष्टाचारको अभियोग लगाएर कैदमा राखेको इतिहास छ ।
मानव उत्पत्ति जत्तिकै पुरानो छ, भ्रष्टाचार र घुस । बाइबलअनुसार ईश्वरिया बगैँचा (इडेन गार्डेन) मा पहिलो मानव जातिको प्रतिनिधित्व गर्ने आदम र त्ले भ्रष्टाचार गरेका थिए । ईश्वरले यी दुई मानवलाई बगैँचामा फलेका फलफूल खान बर्जित गरेका थिए, तर उनीहरूले शैतानको उक्साहटमा लागेर त्यो खाए । फलतः मानव जातिले ईश्वरसँगको सामीप्यता गुमाए ।
के हो भ्रष्टाचार ?
नेपाली कानुनले ‘कानुनमा लिनु÷दिनु÷खानु’ भनी तोकिएबाहेकको सुविधा लिनलाई भ्रष्टाचार मानेको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोषा परिभाषामा :
भ्रष्टाचार – पतीत आचरण, दुषित मर्यादा । नियम वा कानुनविरूद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम ।
घुस – अड्डा आदिमा परेको काम आफ्नो पक्षमा गराउन त्यस्तो गरिदिने कर्मचारीलाई अवैधरूपमा दिइने धनमाल, रिश्वत ।
कानुनी शब्दकोषमा – राष्ट्रसेवकले कानुनबमोजिम लिन खान हुनेमा बाहेक रकम, दै–दस्तुर, सलामी, इनाम, बकस र नगदी वा जिन्सी जुनसुकै आर्थिक लाभ गर्ने, लिने वा खाने कामलाई भ्रष्टाचार भनिन्छ ।
विश्व बैङ्कको परिभाषामा – व्यक्तिगत फाइदाका लागि सार्वजनिक कार्यालय तथा कोष दुरूपयोग गर्नु भ्रष्टाचार हो ।
रिग्वेदअनुसार, भ्रष्टाचार भनेको सार्वजनिक कोष दुरूपयोग गर्नु, राज्यको ढुकुटी तथा राज्यअधीन कोषबाट घुस लिनु, कोषको सञ्चालक रहेका व्यक्तिको व्यक्तिगत कार्यका कारण राजस्वमा कमी आउनु हो । घुस लिनेहरू चोर हुन् ।
सामवेदका अनुसार, घुसखोरी एउटा त्यस्तो ढोका हो जसबाट पसेपछि भ्रष्टाचारको नदीमा पुगिन्छ, जुन मान्छेको दिमाग प्रभावित भइरहेको हुन्छ । त्यसले पछि अङ्ग र सबै इन्द्रियलाई ढाक्छ । फलतः मस्तिष्कमा रहेको असल र खराब, गुण र अवगुणको भेद छुट्याउने शक्तिलाई कमजोर बनाउँछ । जसले सत्य र असत्य छुट्याउन सक्दैन । सही सल्य छानबिनद्वारा भ्रष्टाचार समयमै नियन्त्रण गरिएन भने यो राजनीतिक, आर्थिकलगायत समाज र राज्यका सबै अङ्गमा फैलन्छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्थाअनुसार
१. कुनै राष्ट्रसेवकले आफूलाई वा अरूका निम्ति रिसवत लिएमा वा लिन मन्जुर गरेमा वा सोको निम्ति भनी कसैले रिसवत दिएमा वा दुरुत्साहन गरेमा,
२. कुनै व्यक्तिले कुनै राष्ट्रसेवकलाई उपर्युक्त कुराको निम्ति मनाउन भनी आफूलाई वा अरूका निमित्त रिसवत लिएमा वा लिन मन्जुर गरेमा,
३. कुनै राष्ट्रसेवकले श्री ५, श्री ५ को सरकार वा सार्वजनिक संस्थाको स्वीकृतिबिना आफू वा अरूको निम्ति निम्न व्यक्तिहरूबाट कम्ती वा बिनामूल्यमा कुनै माल वस्तु लिएमा, लिन मन्जुर गरेमा वा लिन उद्योग गरेमा,
४. कुनै राष्ट्रसेवकले पदीय दायित्वमा असर पर्नसक्ने गरी श्री ५, श्री ५ को सरकार वा सार्वजनिक संस्थाको स्वीकृतिबिना आफैले आफ्नो परिवारको कुनै सदस्य वा अरूमार्फत कुनै प्रकारको दान, दातव्य, उपहार, कोसेली, चन्दा स्वीकार गरेमा,
५. कुनै राष्ट्रसेवकले सरकार वा सार्वजनिक संस्थाको कोषबाट उपहार वा कोसेली खरिद गरी सो आदानप्रदान गर्दा प्राप्त गरेको उपहार वा कोसेली आफ्नो कार्यालयमा दाखिल नगरेमा,
६. कुनै राष्ट्रसेवकले कमिसन, पारिश्रमिक, दलाली–दस्तुर, सुविधा वा लाभ पाएको मितिले ७ दिनभित्र सम्बन्धित कार्यालयमा दाखिल नगरेमा,
७. राजस्व उठाउने कुनै राष्ट्रसेवकले निम्न काम गरी वा नगरी राजस्व चुहावट गरेमा, सो गर्न कसैलाई मद्दत पु¥याएमा वा दुरूत्साहन दिएमा
– नगदी जिन्सी रकम, दस्तुर, इनाम, बकस वा अन्य कुनै किसिमको लाभ स्वीकार गरी, लाभ वा सुविधा लिई वा नलिई श्री ५ को सरकार वा सार्वजनिक संस्थालाई हानि–नोक्सानी पु¥याई,
– राजस्व निर्धारण गर्दा हेर्नुपर्ने वा परीक्षण गर्नुपर्ने कागजात नहेरी वा परीक्षण नगरी,
– राजस्व निर्धारण गर्दा वा वस्तुको मूल्याङ्कन गर्दा पेस भएको वस्तुको बीजक, गुणस्तर वा परिमाणमा फरक पारी,
८. कुनै राष्ट्रसेवकले निम्न काम गरेमा,
– आयोजनाको सम्भाव्यता अध्ययन वा नम्र्स तयार गर्दा गलत ढङ्गबाट बढी काम वा लागत देखाएमा,
– कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरेमा, गर्न दिएमा वा सो ठीक छ भनी प्रमाणित गरेमा वा स्वीकृत दिएमा,
– लागत इस्टिमेट अस्वाभाविक बढाई, संशोधन गरी काम गरे गराएमा,
– अस्वाभाविक तवरबाट बढी सामान खरिद गरे गराएमा,
– गुणस्तरहीन, म्याद नाघेका वा अस्वाभाविक मूल्य तिरी मालसामान खरिद गरे गराएमा, पदीय हैसियतले प्राप्त साधन वा सुविधा सो समाप्त भएपछि मनासिव कारणबिना निर्धारित समयभित्र फिर्ता नगरेमा,
– आफ्नो वा अरूको नाममा वा साझेदारीमा व्यापार गरेमा, लिलाम बढाबढ वा ठेक्कापट्टामा भाग लिएमा, कुनै फर्म, कम्पनी वा सहकारी संस्थाको हिस्सेदार भएमा,
९. कुनै राष्ट्रसेवक वा अन्य व्यक्तिले –
– सरकारी वा सार्वजनिक सस्थाको कागजात अनाधिकार वा गैरकानुनी तरिकाले सच्याएमा, केरमेट गरेमा, थपघट गरेमा वा हेरफेर गरेमा, नपाएको ओहदा अधिकार, हैसियत वा सुविधा पाएँ भनी भनेमा वा प्रयोग गरेमा ।
नेपालमा घुस र भ्रष्टाचार
नेपालमा हरेक क्षेत्रमा भ्रष्टाचार र घुसले व्याप्त छ । विकास निर्माण तथा सरकारी सामान खरिदमा ठुलाखाले भ्रष्टाचार हुन्छ । आयोजनाको वास्तविक लागतभन्दा बढीको लगत इस्टिमेट बनाउनेदेखि सीमित ठेकेदारबिच प्रतिस्पर्धा गराई कार्टेलिङ गरिन्छ । एकमुस्ट टेन्डर नगरी खण्ड–खण्डमा परिणत गरी वार्ता वा कोटेसनबाट सम्झौता गरी नियम मिलाएर भ्रष्टाचार हुन्छ । आयोजनाका निम्ति सामान खरिद गरी अन्यन्त्र बिक्री गर्नेदेखि हुँदै नभएको कामलाई भएको देखाई काल्पनिक कागज तयार गरेर भ्रष्टाचार हुँदै आएको छ ।
सडक तथा जलस्रोतसम्बन्धी ठुला आयोजनाको टेन्डर आह्वान भएपछि भ्रष्टाचार र कमिसनका कुरा बाहिर आउन थाल्छन् । शक्ति केन्द्रका बार्दलीहरूमा ‘ठेकेदार’ भेटिने गर्छन् । आर्थिक प्रशासन कानुनले निर्णय गर्ने अधिकार तल्ला तहलाई प्रदान गरे पनि निर्णयमा मन्त्रीहरू सलग्न हुने प्रवृत्ति वढेको छ । त्यतिमात्र होइन, भ्रष्टाचारसम्बन्धी अनुसन्धानको दायराभन्दा बाहिर पार्न मन्त्रिपरिषद्मा लगेर ‘नीतिगत’ निर्णय गराउने प्रवृत्ति भित्रिएको छ ।
भ्रष्टाचार–सत्ता तथा शक्तिसँग जोडिएको हुन्छ । भ्रष्टाचारको मूल जरो भनेको राजनीति हो भन्ने मान्यता विकास भएको छ । राजनीतिक भ्रष्टाचारले व्यापकता पाउनुको कारण खर्चिलो निर्वाचन प्रणाली पनि एक हो । निर्वाचन खर्चका निम्ति राजनीतिक नेता तथा तिनका उम्मेदवारको अनैतिक तत्वसँगको साँठगाँठ हुन जान्छ । त्यस्ता व्यक्तिहरू सत्तामा पुगेपछि आफूअनुकूल र गैरकानुनी निर्णय गर्न बाध्य हुन्छ ।
भ्रष्टाचार, व्यापक आर्थिक अनियमितता, साधन–स्रोत दुरूपयोग र सरकारी हस्तक्षेपका कारण सरकारी संस्थानहरू एकपछि अर्को डुब्ने बाटोमा लागेका छन् । सरकारी स्वामित्वका सस्थानमा गरेको लगानीको प्रतिफल निराशाजनक छ । संस्थानहरू रूग्ण हुनुको कारण विश्लेषण गरी त्यसको निदानका उपाय खोज्नुको साटो विदेशीसँग ऋण लिएर विदेशी परामर्शदाता भित्याउने चलनसमेत सुरू भएको छ । विदेशी दाताबाट आर्थिक तथा भौतिक पूर्वाधार दान पाएर सञ्चालित साझा यातायात, ट्रली बस, रोपवे सेवा, नेपाल यातायातजस्ता सस्थान चरम घाटामा पुगेपछि विघटन भए । सरकारी अर्धस्वामित्वमा नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्क डुब्ने क्रममा छन् र शाही नेपाल वायु सेवा निगम पनि डुब्ने स्थितिमा पुगेको छ ।
सरकारको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने महत्वपूर्ण स्थायी संयन्त्र प्रशासन हो । मुलुकलाई असल शासनतर्फ डो¥याउन यिनैको भूमिका महत्वपूर्ण हुन्छ । तर, भ्रष्टाचार तथा घुसखोरी बढाउन यही संयन्त्र बढी सक्रिय छ । नेता तथा व्यापारीबिच अवैध गठबन्धन गराई अनुचित आर्थिक लाभ हासिल गर्न प्रशासनयन्त्र लागेको छ । मन्त्री–नेता, प्रशासनयन्त्र र उद्योग–व्यवसायीहरूबिच अवैध गठबन्धनका कारण भ्रष्टाचार बढेको हो । प्रशासनमा नातावाद, कृपावाद, ढिलासुस्ती, असक्षमता, जोखिम लिन नचाहने, सुविधाभोगी, भ्रष्ट प्रवृत्ति हाबी छ र सेवामूलक दायित्वबाट प्रशासनतन्त्र पन्छिरहेको छ ।
आस्थाको केन्द्र अदालतमा समेत घुस र भ्रष्टाचारका प्रसङ्ग जोडिएका घटना प्रशस्त आउन थालेका छन् । सर्वसाधारणले न्यायालयलाई घुस चल्ने र भ्रष्टाचार हुने क्षेत्रका रूपमा लिएको जनमत सर्वेक्षणसमेत सार्वजनिक भइसकेको छ । धेरै हदसम्मको सजाय हुने डर देखाएर घुस लिनेदेखि कानुनको गलत व्याख्या गरी एक पक्षलाई जिताएर भ्रष्टाचार गरिन्छ । जनसम्पर्क बढी हुने मालपोत, भूमिसुधार, यातायात व्यवस्था, वन, सिँचाइ कार्यालय, जिल्ला विकास समितिमा हुने भ्रष्टाचारले सर्वसाधारण दिक्क छन् । सरकारी स्वामित्वका संस्थानहरू भ्रष्टाचारकै कारण एकपछि अर्को बन्द भइरहेका छन् । कुनै त्यस्तो क्षेत्र छैन– जहाँ भ्रष्टाचार र घुसबिना काम हुन्छ । समाजका सबै पक्ष भ्रष्टाचार र घुसबाट पीडित छन् ।
सार्वजनिक पदमा बहाल रही भ्रष्टाचार गरेर कमाउनेहरूले अर्कै नामबाट जग्गा जमिन खरिद गर्ने, शेयर लगानी गर्ने र ठुला रेस्टुरेन्ट तथा होटलमा लगानी गर्ने प्रवृत्ति छ । त्यस्ताले पदबाट बाहिरिएपछि आफ्नै नामबाट कारोबार सञ्चालन गरेको पाइन्छ । व्यक्तिले वित्तीय संस्थासँग गरेको कारोबार गोप्य रहने गरेको छ, जसले शङ्कास्पद कारोबारबारे कसैलाई जानकारी गराउनुपर्ने कानुन नहुँदा भ्रष्टाचार तथा घुसको रकम सजिलै बैङ्कमा जम्मा हुने गर्छ ।
नयाँ टेलिफोन लाइन लिन घुस खुवाउनुपर्ने स्थितिदेखि प्राविधिक त्रुटिका कारण पाइप फुटेर धारामा पानी नआएको अवस्थामा पानी उपलब्ध गराइदिएबापत घुस खुवाउनुपर्छ । जिल्ला प्रशासन कार्यालयमा अनागरिकलाई नागरिकता दिएर, पासपोर्टमा ढिलाइ गरेर, नाता प्रमाणितमा दुःख दिएर समेत घुसको खेल हुन्छ । मालपोत कार्यालयमा जग्गा किनबेचमा घुस खुवाउनुपर्छ भने नगरपालिकामा नक्सा पास गर्न घुस बुझाउनुपर्छ । प्रहरी गैरकानुनी तवरमा हप्तावारी तथा महिनावारी असुल गर्छन् । प्रहरीले पक्राउ गर्न आवश्यक नभएको व्यक्तिलाई पक्राउ गरी तर्साउँछन् र घुस लिएर छाड्छन् ।