हिन्दू धार्मिक ग्रन्थ महाभारतका विभिन्न महत्वपूर्ण पात्रहरूमा द्रोणाचार्य पनि एक थिए । भारद्वाज मुनि र अप्सरा घृताची मातापिता भनिए तापनि उनको जन्म एउटा द्रोण अर्थात् पात्र वा भाँडाबाट भएकोले द्रोण भनी उनको नामकरण गरियो । बाल्यकालदेखि नै उनी तीक्ष्ण बुद्धि, भएका एक तेजस्वी थिए । पिता भारद्वाजबाट उनले धनु विद्या सिक्दै गर्दा उनीसँग पाञ्चाल देशका राजकुमार द्रुपद पनि अर्को शिष्यको रूपमा थिए । यी दुवैबिच त्यसबेलादेखि नै आपसमा घनिष्ट मित्रता थियो । राजकुमार द्रुपदले आफू राजा भएपछि धेरै धनराशी र आधा राज्य पनि द्रोणलाई दिन्छु भनेका थिए । दिन बित्दै गयो । उनीहरू भारद्वाज मुनिबाट धेरै ज्ञान, शिक्षा र धनुर्विद्याका साथै युद्धसम्बन्धी धेरै सीप एवं कला प्राप्त गरी उत्कृष्ट योद्धा हुन सफल भए ।
युवा अवस्थामा द्रोणले अर्का गुरु ऋषि अग्नीवेश र परशुरामबाट शस्त्रअस्त्रसम्बन्धी थुप्रै ज्ञान प्राप्त गरी द्रोण अति शक्तिशाली भएपछि मुनी शारद्वानकी पुत्री कृपीसँग विवाह बन्धनमा बाँधिए । त्यसपछि उनीहरूको एक पुत्र जन्म्यो । त्यो पुत्र जन्मिनेबित्तिकै घोडाको जस्तो आवाज गरी रुन–कराउन थालेकोले अश्वत्थामा भनी उनको नामकरण गरियो । अश्वत्थामा पछि एक वीर योद्धा एवं अष्टचिरञ्जीवीमध्ये एक चिरञ्जीवीको रूपमा गनिए । आफूसँग प्रचुरमात्रामा शक्ति ज्ञान, भए पनि द्रोण पैसा कमाउनतिर लागेनन् । त्यसो हुँदा उनी र उनको परिवार गरिबी अवस्थामा बाँच्न बाध्य भए । एकदिन आफ्ना साथीहरूले दूध पिइरहेको दृश्य देखेर अश्वत्थामालाई पनि दूध पिउने इच्छा भयो तर द्रोण र उनकी पत्नी कृपी आफ्नो छोराको इच्छा पूरा गर्न असमर्थ थिए । यसले गर्दा द्रोणलाई धेरै हीनताबोध भयो, आफ्नो गरिबी अवस्थाप्रति । त्यतिखेर उनले बाल्यकालको आफ्नो मित्र राजकुमार द्रुपदलाई सम्झे । उनले दिएको वचनलाई सम्झे । तत्कालै उनी आफ्नो मित्र द्रुपदलाई भेट्न पाञ्चाल देशतिर लागे । द्रुपद त त्यतिबेला पाञ्चाल देशका राजा भइसकेका थिए । द्रोणले आफ्नो घनिष्ट मित्र राजा भएकोमा खुसी हुँदै मित्रलाई भेट्न पुगे । द्रोणले राजा द्रुपदलाई बाल्यकालमा सँगै पढ्दा दिएको वचनको याद दिलाउँदै उनीसँग एउटा गाई र केही धन दिई एक मित्रले अर्को मित्रलाई सहयोग गर्न आग्रह गरे । तर, द्रुपद अब राजा भइसकेको हुँदा द्रोणलाई आफ्नो मित्र मान्न र उसलाई मित्रको रूपमा सहयोग गर्न इन्कार गरे । द्रोणलाई नचिनेको जस्तै व्यवहार गरे । बरु, केही दान दिनसक्ने बताई राजा द्रुपदले द्रोणको बेइज्जती गरे । सत्ता, पद, प्रतिष्ठा, धन प्राप्त भएपछि प्रायः मानिसहरूको बोली–व्यवहार र सोचमा पहिलेभन्दा फरक हुँदोरहेछ । द्रोणले द्रुपदसँग मित्रवत् सहयोग मागेका थिए दान हैन । अतः स्वाभिमान द्रोणले राजा द्रुपदसँग यसको बदला लिन मनमनै प्रण गरी त्यहाँबाट रित्तो हात फर्के । त्यसपछि उनी र उनको परिवार हस्तिनापुरमा आफ्ना जेठान कृपाचार्यको घरमा आई बसे । कृपाचार्य हस्तिनापुरका शासक कुरु वंशका राजगुरु भइसकेका थिए । अष्टचिरञ्जीवीमा गनिने कृपाचार्य पनि एक महान् योद्धा थिए । कुरु राजवंशका राजकुमारहरू अर्थात्, पाण्डव एवं कौरव राजकुमारहरूमार्फत द्रोणको पितामह भीष्मसँग भेट भयो । द्रोणको योग्यता र रणकुशलताबाट प्रभावित भए र भीष्मपितामहले उनलाई पाण्डव–कौरव राजकुमारहरूलाई युद्ध विद्या, शस्त्रास्त्र आदिबारे शिक्षा प्रदान गर्ने काममा नियुक्त गरे । यो काम पाएपछि द्रोणको गरिबी अवस्था हट्दै गयो । भीष्मपितामह र हस्तिनापुर राज्यले यसरी आफूलाई लगाएको गुण द्रोणले कहिले पनि बिर्सेनन् । तिनीहरूप्रति जीवनभर बफादार रहे । त्यसैले, उनले भीष्मले जस्तै हस्तिनापुर र त्यहाँको राजगद्दीको उत्तराधिकारीप्रति नतमस्तक भई तनमन दिई पाण्डव कौरव राजकुमारहरूलाई शिक्षा, तालिम, ज्ञान आदि दिन थाले । शस्त्र शास्त्र युद्धका सम्बन्धमा ती राजकुमारहरूलाई बेजोड पारे । त्यस युगमा शिक्षकलाई गुरु अथवा आचार्य द्रोण भनी सम्बोधन गरिन्थ्यो । त्यसैले, अब द्रोणलाई द्रोणाचार्य वा आचार्य द्रोण भनियो । हुन त अचेल स्नातकोत्तर तहको उपाधिलाई पनि आचार्य भनिन्छ ।
युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव, दुर्योधन, दुःसासन आदि पाण्डव कौरव राजकुमारहरूलाई विभिन्न युद्धकला, शस्त्र, शास्त्र र अन्य आवश्यकीय ज्ञान र तालिमहरू दिई योग्य बनाएपश्चात् गुरु दक्षिणास्वरूप पाञ्चाल नरेश द्रुपदलाई पक्रेर ल्याई आफूलाई सुपुर्द गर्न द्रोणाचार्यले आदेश दिए । ती राजकुमारहरूले राजा द्रुपदलाई पराजित गरी पक्री आफ्नो गुरु द्रोणाचार्यलाई बुझाइदिए । अब पाञ्चाल नरेशमात्र हैन उनको सम्पूर्ण राज्य नै द्रोणाचार्यको अधीनमा आयो । द्रोणाचार्यको अगाडि पाञ्चाल नरेश लज्जित भएर चुपचाप बसे । द्रोणाचार्य र द्रुपद कुनै समय अति मिल्ने साथी थिए । यसलाई द्रोणले भुलेका थिएनन् । द्रुपदले जस्तै घमण्ड र अभियान देखाउन चाहेनन् द्रोणले । किनभने, द्रोणाचार्य एक गुरु, शिक्षक, आचार्य जे भनौँ एक जिम्मेवार र नैतिकवान व्यक्ति थिए । अतः उनी द्रुपदजस्तै मतलबी, निष्ठुर हुनसकेका थिएनन् । त्यसैले पाञ्चाल राज्यको आधा भागमात्र आफूले लिई आधा भाग द्रुपदलाई नै फर्काइदिए । अर्थात्, बाल्यकालमा द्रुपद आफू राजा भएपछि आधा राज्य दिनेछु भनी द्रोणाचार्यसमक्ष गरेको वाचाअनुसार गरे उनले । यसले गर्दा एकातर्फ द्रोणाचार्यलाई ठुलो सन्तोष मिल्यो । उनी हस्तिनापुर राजगद्दीप्रति समर्पित हुन बाध्य भए । साथै राजा द्रुपदमा पनि द्रोणाचार्यसँग बदलाको भावना जागृत भयो । भारतको इतिहासमा पनि यस्तो घटना पाइन्छ । आचार्य गुरु विष्णुगुप्त ‘चाणक्य’ लाई सत्ताको मात लागेर मगधका नन्दवंशी सम्रात धनानन्दले धेरै बेइज्जत गरेका थिए, दरबारबाट निकालेका थिए । चाणक्यले पनि मगध राज्यबाट नन्दवंशी राजाहरूको सत्ताच्युत गर्ने प्रण गरे । अन्ततः ई.पू. ३२२ सम्ममा मगधका नन्दवंशी राजा धनानन्दलाई सत्ताच्युत गरी चन्द्रगुप्त मौर्यलाई सम्रात बनाउन चाणक्यले अनेकौँ प्रयास गरी अन्ततः सफलता प्राप्त गरी छाडे ¤ त्यसैले सत्ता, शक्ति र धन आदि पाएँ, सम्पन्न भएँ भनेर विपन्नहरूलाई कहिले पनि हेला, शोषण, दमन गर्नुुहुँदैन । यदि गरेमा त्यसको परिणाम भोग्नै पर्दछ भन्ने तथ्यलाई हामीले बुझ्नुपर्दछ ।
अर्काेतर्फ राजा द्रुपदले पनि आफूलाई गरिएको बेइज्जतीलाई भुल्न सकेका थिएनन् । द्रोणाचार्यसित बदला लिन उनी केही पनि गर्न तयार थिए । द्रोणाचार्यलाई मार्न सक्ने पुत्र जन्माउने योजनामा द्रुपद लागे । यही शिलशिलामा उनले एउटा ठुलो यज्ञ गरे र यज्ञ कुण्डबाट हातमा खड्ग र धनुष लिएको देवतुल्य बालक र एउटी सुन्दरी बालिका उत्पन्न गर्न गराउन द्रुपद सफल भए । बालकलाई धृष्टद्युम्न र बालिकालाई कृष्णा (पछि द्रोपदी) भनियो । तिनै द्रोपदी पछि पाँच पाण्डवहरूको पत्नीको रूपमा प्रख्यात भए । सत्य, न्याय, अधिकार र सत्ताको लागि कुरु क्षेत्रमा पाण्डव तथा कौरवहरू तिनीहरूका समर्थक अन्य राजा एवम् सेनाहरूको बिचमा ठुलो युद्ध भयो । त्यही युद्धलाई महाभारत भनियो, जुन अठार दिनसम्म भएको थियो । पाण्डव पक्षका सेना, सेनापति, राजा द्रुपदका छोरा धृष्टद्युम्न थिए । कौरव पक्षका सेनाको सेनापति भने कहिले पितामह थिए, कहिले द्रोणाचार्य त कहिले कर्ण तथा अन्य योद्धाहरू सेनापति बने । किनभने, कौरव पक्षका सेनापतिहरू कहिले मारिने, कहिले घाइते हुने, युद्धमा भागै नलिने त कहिले युद्ध गरेर छोड्ने गर्थे । महाभारतको एघारौँ दिनदेखि पन्ध्रौँ दिनसम्म कौरव पक्षका सेनापति भई द्रोणाचार्य युद्धमा सहभागी थिए । द्रोणाचार्यको रणकौशलताको अगाडि पाण्डव पक्षलाई टिक्न गा¥हो थियो । पाण्डव पक्षका राजा विराट, राजा द्रुपद तथा अर्जुनका अति प्रिय पुत्र वीर अभिमन्यु तथा अन्य थुप्रै सेनाले वीरगति पाइसकेका थिए । त्यसैले, पाण्डवहरू निकै हतासिँदै थिए । युद्धमा आफू लगभग पराजित हुने डर पाण्डवहरूलाई हुन थाल्यो । अब सहारा केबल कृष्ण भए उनीहरूका लागि । अर्जुनका सारथी, मित्र, सहयोगी, जेठान जे भने पनि कृष्ण नै थिए पाण्डवहरूका लागि । अब कृष्णको चालबाजी सुरु भयो । हातमा हतियार छउञ्जेल द्रोणाचार्यलाई पराजित गर्न असम्भव थियो । ब्राह्मणको मर्यादाअनुरूप आचरण नगरेमा द्रोणाचार्य आफ्नो पुत्रको मृत्युको शोकले मर्नेछ भनी सृष्टिकर्ता ब्रह्माले श्राप दिएको कृष्णलाई थाहा थियो । द्रोणाचार्यका पुत्र अश्वत्थामा अष्टचिरञ्जीवीहरूमध्ये एक थिए । उनी शुरवीर र कुशल योद्धा पनि थिए । अब त्यस्तो अवस्थामा द्रोणाचार्यको मृत्यु त सम्भवै थिएन । त्यतिखेरको वर्णाश्रम व्यवस्था अनुरूप वेद, शास्त्र, नीति, ज्ञान आदि अध्ययन गर्नु र त्यसअनुरूप अरुलाई शिक्षा ज्ञान दिनु ब्राह्मणको कर्तव्य, धर्म र कर्म थियो । देश, जनता र समाजलाई दिशा निर्देश गर्नु उनीहरूको दायित्व थियो । युद्ध गर्नु देश, जनता र समाजको रक्षा गर्नु शासन चलाउने क्षेत्रीहरूको दायित्व थियो । तर, महाभारत युद्धमा कौरव पक्षको सेनापति भई एक जना ब्राह्मण द्रोणाचार्य सहभागी हुनुबाट ब्रह्माजीको श्राप साकार हुने सम्भावना कृष्णले देखे । युद्ध त चलिरहेकै थियो । त्यही क्रममा भीमसेनले कौरव पक्षको अश्वत्थामा नामको एउटा हात्तीलाई मारे । यही बेला कृष्णको इसारामा ठुलठुलो स्वरमा अश्वत्थामा मारिए भनी हल्ला चल्यो । द्रोणाचार्यले पनि यो हल्ला सुने तर सत्यवादी युधिष्ठिरले यो कुरा नभनेसम्म आफूले नपत्याउने भनी उनी युद्धमा लागी नै रहे । यस्तो स्थितिमा कृष्णकै योजनाअनुसार युधिष्ठिरले अश्वत्थामा म¥यो भन्दाभन्दै चिच्याउँदा वातावरण एकदमै शान्त पारियो ताकि द्रोणाचार्यले सुनून् । तत्पश्चात् युधिष्ठिरले हात्ती हो कि मान्छे हो थाहा छैन भनी बोल्दा भीमसेनले जोडले नगरा बजाए, अरुले पनि चर्काे स्वरमा बाजा बजाउँदा युधिष्ठिरको दोस्रो वाक्य द्रोणाचार्यले सुनेनन् । यसरी युधिष्ठिरलाई झूट बोल्नबाट जोगाए भने द्रोणाचार्यलाई मृत्युवरण गर्ने कारण पनि निर्माण गरियो । त्यसपछि पाण्डवहरूसित युद्ध गर्दागर्दै आफ्नो पुत्रको मृत्यु भएको खबर सुनेर द्रोणाचार्यले हातहतियारहरू फ्याँकी युद्ध भूमिमा नै प्राण त्याग गर्न पद्मासनमा बसी ऊँ.. कारको उच्चारण गर्दै समाधि लिए । समाधि लिएकै अवस्थामा राजा द्रुपदका छोरा तथा पाण्डव सेनाका सेनापति धृष्टद्युम्नले आफ्नो तरबारद्वारा द्रोणाचार्यको शिर काटी कौरव सेनातर्फ फ्याँकी दिए । यसपछि कौरब सेना पक्षमा ठुलो हाहाकार मच्चियो ।
शक्तिशाली वीर योद्धा एवम् ज्ञानी द्रोणाचार्यको कथा यतिकैमा टुङ्गिँदैन । त्यस्तो व्यक्तिले चुपचाप समाधि लिई मुत्युवरण गर्न किन तयार भए भन्ने प्रश्न यहाँनिर तेर्सिन आउँछ । यस प्रश्नको उत्तर पाउन उनका केही महत्वपूर्ण क्रियाकलाप एवम् घटनाहरूलाई ध्यान दिनुपर्दछ । उनले कुरुवंशी राजकुमारहरू र आफ्ना छोरा अश्वत्थामालाई विभिन्न शास्त्र शस्त्र र युद्धविद्याहरू सिकाइरहँदा उनीहरूसँगै पढ्न भनी कर्ण आएका थिए । तर, कर्ण क्षत्री पनि होइन राजकुमार पनि होइन भनी उनलाई आचार्य द्रोणले इन्कार गरे । कर्णले पनि तत्कालै अश्वत्थामा को त ? क्षेत्री कि राजकुमार भनी प्रश्न गर्दा द्रोणाचार्य निरुत्तर भएका थिए । त्यस्तै, एकलब्यलाई पनि निशाद समूहको भनी उनले आफ्नो शिष्य बनाएका थिएनन् । तर, कर्णले परशुरामबाट शिक्षा पाए भने एकलब्यले आफू स्वयम्को स्वअध्ययन, प्रयास र परिश्रमबाट धनुर्विद्यामा निपुणता पाएपछि गुरु दक्षिणाको रूपमा उनको दाहिने हातको बुढी औँला कटाएर द्रोणाचार्यले लिएका थिए । द्रोणाचार्यले यस्तो कर्म उनको प्रिय शिष्यको प्रतिस्पर्धामा उनीहरू आउन नसकून् भनी गरेका थिए । महाभारत युद्ध चलिरहँदा द्रोणाचार्यको योजनाअनुसार रथ हातहतियार सबै गुमाइसकेका निःशस्त्र भएका अर्जुन र शुभद्राका १६–१७ वर्षका कलिलो पुत्र अभिमन्युलाई तत्कालीन युद्धका नियमहरू र मानवता सबै नियमलाई बिर्सी कर्ण, कृपाचार्य, कृतवर्मा, अश्वत्थामा, सकुनी र द्रोणाचार्यजस्ता महारथीहरूले संयुक्तरूपमा घेरा हाली मारेका थिए । वीर अभिमन्यु निःशस्त्र भएर पनि एक्लै यी महारथीहरूसित बहादुरीका साथ युद्ध गर्दागर्दै वीरगति प्राप्त गरे । पुत्रमोहमा परेर ब्रह्माश्त्र प्राप्त गर्न त्यति योग्य नभए पनि छोरा अश्वत्थामालाई द्रोणाचार्यले त्यो अस्त्र प्रदान गरे । यी सबै क्रियाकलापहरू द्रोणाचार्यको गल्ती वा अपराध थियो । यी क्रियाकलापहरूले द्रोणाचार्यलाई अपराधबोध गराउँदै थियो । उसलाई भित्रभित्रै छटपटी थियो आफ्ना गल्तीहरूप्रति । तर, उनी केही भन्न र गर्न सक्दैनथे किनभने उनको असहाय अवस्थामा कुरुवंश राज्य हस्तिनापुर र कुरुवंशी भीष्म पितामहले साथ दिएर कुरुवंशी राजकुमारहरूकै सहयोगमा राजा द्रुपदसँग उनले आफूलाई गरेको बेइज्जती र अपमानको बदला लिन पाएका थिए द्रोणाचार्यले । यो गुणले थिच्दाथिच्दै द्रोणाचार्य आन्तरिकरूपमा खोक्रो भइसकेका थिए । दुःशासनले द्रोपदीको चीर हरण गर्दा भीष्महरू जस्तै द्रोणाचार्यजस्तो विद्वान् तथा महान् योद्धा पनि चुपचाप बसी रमिते बनेका थिए । यी सबै घटनाहरूले गर्दा द्रोणाचार्यलाई धेरै ग्लानी भयो आफ्नो लाचारीप्रति । तर, कौरवहरूप्रतिको आफ्नो निष्ठालाई त्याग्न पनि सकेको थिएन । उनी यसरी किंकर्तव्यविमूढ अवस्थामा थिए । उनलाई यस्तो जीवन त्याग्न एउटा निहुँ चाहेको थियो । अन्याय, अनैतिक र असत्यको पक्षमा आफू युद्ध गर्दागर्दै थाकिसकेका थिए । तैपनि, उनले आफूलाई कुरु राज्य हस्तिनापुर र भीष्मपितामहले रक्षा गरेको इज्जत बढाएको र द्रुपदसित बदला लिन सकेको सबैको ऋण तिर्दातिर्दै द्रोणाचार्य दिक्क मानिसकेका थिए ।
यस्तैमा आफ्नो व्यक्तित्व र जीवनमा लागेका कलङ्कबाट मुक्ति पाउन आत्महत्याबाहेक उनले अर्का उपाय देखेनन् । यस्तैमा अश्वत्थामा मारिए भन्ने खबर युधिष्ठिरबाट पाएपछि उनलाई प्राण त्याग्न समाधि लिन उपयुक्त अवसर प्राप्त भयो । वास्तवमा अश्वत्थामाको मृत्यु हुनै सक्दैन भन्ने द्रोणाचार्यलाई थाहा थियो । तैपनि, जीवन बाध्यता आफ्नै क्रियाकलापबाट द्रोणाचार्यलाई दिक्क भइसकेको थियो । त्यसैले, समाधिमा उनी बसे । त्यस्तो बेला धृस्टद्युम्नले तरबारले काटिदिए । द्रोणाचार्यजस्तो विद्वान्, साहसी अद्वितीय वीर योद्धाका अन्त यति सरल ढङ्गबाट हुनुमा को दोषी ? त्यसको कारण के ? हामीले विचार गर्नुपर्दछ । यो सब कुराको कारण वा दोषी भनेको घमण्डी राजा द्रुपद थिए । उनले द्रोणाचार्यजस्तो गरिब भिखारी ब्राह्मण मेरो मित्र हुनै सक्दैन भनी द्रोणाचार्यसितको पहिले मित्रतालाई बिर्से । उनलाई शक्ति, सत्ता र धनको मात लागेको थियो । त्यसको आडमा उनी अन्धो भएका थिए । त्यसैले, इखमा विष खानको लागि द्रोणाचार्य कुरुवंश र हस्तिनापुर राज्यसित तौसिन पुगेका थिए । नीति, नियम, नैतिकता, आदर्श, सत्य सबलाई तिलाञ्जली दिन विद्वान् एवम् वीर योद्धा द्रोणाचार्य मर्न बाध्य भएका थिए । त्यसैले, नभएकाहरूले भएकाहरूसित सम्बन्ध गाँस्दा धेरै सतर्क हुनुपर्दछ । कतै हामीलाई आवश्यक भएको बेला प्रयोग गरेर पछि फ्याँक्ने त होइन भनी सतर्क हुनुपर्दछ । तर, सबैखाले मानिस एकनासका हुँदैनन् । कथाअनुसार यी राजाले ऋषि विश्वामित्रलाई आफूले दिएको वचन पूरा गर्न हरिश्चन्द्र राजाले आफ्नो धनसम्पत्ति राज्य, आफ्नो परिवार गुमाए । आफूलाई आफैले बेचे । जो पछि गएर सत्यवादी राजा हरिशचन्द्र भनी प्रख्यात भए !
अन्तमा, जो कोही पनि गुरु, शिक्षक, आचार्य मात्र होइन विद्वान्, विशेषज्ञ, बुद्धिजीवीहरूले आफ्नो बुद्धि, विवेक, सीप, दक्षता, ज्ञान, शक्ति सबथोक देश, गरिखाने विपन्नवर्ग, जनता र मानवताको हितलाई सर्वाेपरि राखी प्रयोग गरेमा तारिफयोग्य हुनुका साथै अमर हुन्छ । तर, क्षणिक आवेशमा आएर वा फाइदामा लोभिएर आफ्नो सीप र बुद्धिलाई प्रयोग गरेमा द्रोणाचार्यको जस्तो आफ्नो पनि मूल्यहीन पश्चातापले भरिपूर्ण मृत्युवरण गर्नुपर्ने छ ।