समाजवादले विजय प्राप्त गरेको राज्य वा देशको अर्थ हो – उत्पादनका मुख्य मुख्य साधन र सेवामा तेरोमेरो नहुनु र हरेक नागरिकले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउनु, व्यक्तित्व विकास गर्न समाज वा राज्यले सबै नागरिकलाई समान अवसर प्रदान गर्नु, स्वास्थ्य उपचार सेवा र शिक्षालाई पाइला पाइला गरेर निःशुल्क गर्नु, आवास, यातायात आदि जीवनका हरेक क्षेत्रको बन्दोबस्तमा समाज वा राज्यले अगुवाइ गर्नु ।
अहिले प्रजग कोरिया, चीन, भियतनाम, लावस, कम्बोडिया, क्युवा आदि देशलाई समानरूपले समाजवादी व्यवस्थाले आ–आफ्नो देश र छिमेकसँगको परिस्थिति र सम्बन्धअनुसार साम्यवादतिर लम्किँदै गरेको देशको रूपले लिने गरिन्छ ।
समाजवादी देश घोषणा भएका मुलुकहरूमा समेत त्यहाँका कामदार जनता र देशभक्तहरू साम्राज्यवादी र उपनिवेशवादी देशहरूका थिचोमिचोको बाँकी–बक्यौता र पुँजीवादी भावना, प्रवृत्ति र दृष्टिकोणसँग सङ्घर्ष गरिरहेका हुन्छन् । पुँजीवादी तत्वहरूले सोभियत सङ्घ (सोभियत सङ्घका पूर्व १४ वटा गणतन्त्रहरूसमेत) र पूर्व युरोपेली समाजवादी देशहरूमा पनि साम्राज्यवादी, फासीवादी र पुँजीवादी तत्वहरूले खुला र गुप्तरूपले गतिविधि गर्दै थिए । ती देश हुन् – पूर्वी जर्मनी, पोल्यान्ड, चेकोस्लोभाकिया, हङ्गेरी, रोमानिया, युगोस्लाविया, बुलगेरिया र अलवानिया ।
राजनैतिक सङ्घर्ष र लडाइँमा कहिले एक पक्षले जित्छ भने पछि अर्काे पक्षले पुरानोलाई पराजित गर्छ । त्यस्तै, राज्य व्यवस्था र समाज व्यवस्थामा पूर्णतः फरक देशहरूको भिन्न क्रान्तिमा पनि जय र पराजय हुँदै पुरानो पक्ष पुनः स्थापित हुन्छ । उदाहरणको निम्ति बेलायतमा पुँजीवादी क्रान्ति भयो, राजतन्त्रले पराजय भोग्यो, खेत–खलिहान, राजा–रजौटा र सामन्तवर्गको अनेक अधिकार समाप्त भयो । पुँजीपतिवर्गको शासन कायम भयो, उद्योगधन्दा र व्यापारले स्वतन्त्रता पायो । समाजको तल्लोवर्ग पनि उठ्यो । तर, १० वर्षभित्र कामदारवर्गको सेनालाई अरु देशमा पठाइयो र विद्रोहहरू दबाउन खटाइयो । क्रान्तिको मुख्य नेता क्रामवेलको मृत्यु भयो । उनको छोरोलाई गद्दीमा ल्याइयो । तर, उनी राजनैतिक नेता पनि थिएनन् र सैनिक नेता पनि थिएनन् । त्यसको अर्थ हो – उनले कुनै क्षेत्रमा पनि नेतृत्व दिन सकेनन् र राजीनामा दिए ।
हिजोका शत्रु राजा–महाराजा सामन्त र पुँजीपतिवर्ग मिले । संसद्ले भनेको अर्थात् पुँजीपतिवर्गको बहुमतले भनेको मान्ने सर्तमा पुँजीपतिवर्ग र सामन्तवर्ग मिले । बेलायतमा राजतन्त्रको पुनः स्थापना भयो । मजदुर–किसान आन्दोलनहरू दबाइए ।
यही कुरो फ्रान्समा दोहोरियो । फ्रान्सेली राज्य क्रान्ति भयो, पुँजीपतिवर्गले राजालाई ग्यालोटिन भन्ने मानिस मार्ने मेसिनमा राखेर ज्यान सजाय दियो । पुँजीपतिवर्गको शासन स्थापना भयो । पछि पुनः पुँजीपतिवर्ग र सामन्तवर्ग मिले र नेपोलियनलाई राजा घोषणा गरे । बेलायतमा भएजस्तै फ्रान्समा पनि राजतन्त्रको पुनः स्थापना भयो ।
त्यस्तै, रुस र पूर्व युरोपेली समाजवादी देशहरूमा समाजवादको विरोधमा विद्रोह र अनेक सङ्घर्ष भयो । समाजवादको ठाउँमा पुनः पुँजीवादको स्थापना भयो ।
यसरी क्रान्ति र प्रतिक्रान्तिहरू भइरहन्छन् । समाजवादी व्यवस्थाले आफ्नो राम्रो जग नहालेसम्म, सैनिक, आर्थिक, कूटनैतिक, सामाजिक, सांस्कृतिक एवम् छिमेकी देशहरूमा समेत समाजवादको विजयको निम्ति सकारात्मक पक्ष बलियो नभएसम्म समाजवादी देशहरूमा पनि प्रतिक्रान्ति, बाहिरी आक्रमण र समाजविरोधी विद्रोह र सङ्घर्षको सम्भावनाहरू हुन्छ जसरी सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरूमा भयो । त्यसो हुनुमा साम्राज्यवादी देशहरू र पुँजीवादी विचारको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
समाजवाद के हो ?
समाजवाद पुँजीवादको असफलतापछि आउने प्रगतिशील राज्य व्यवस्था हो । तर, समाजवाद साम्यवादमा जाने एक सङ्क्रमणकालीन अवस्था हो । समाजवादको विजयपछि मात्रै हरेक देशको समाजवादी देश साम्यवादी समाजमा सङ्क्रमण हुनेछ ।
साम्यवादी समाज कस्तो हुन्छ ?
साम्यवादी व्यवस्थामा उत्पादनका सबै साधन, कलकारखाना, खेतीपाती, भूमि–पोखरी, यातायातका सबै साधन, हवाई सेवा सबै समाजको भइसक्नेछ । त्यसबेला सबैले योग्यताअनुसारको काम र आवश्यकताअनुसारको ज्याला प्राप्त गर्नेछन् । समाजका हरेक व्यक्तिको खान लाउने, काम र घरको बन्दोबस्त वा प्रसूतिदेखि एवं जन्मेदेखि मृत्यु वा चिहानसम्मको सबै व्यवस्था समाजले गर्छ । साम्यवादी समाज वर्गविहीन समाज हुन्छ । वर्गविहीन हुँदा त्यहाँ दबाउनुपर्ने कुनै वर्ग हुँदैन । त्यसकारण, त्यो व्यवस्था दमनकारी राज्यविहीन हुन्छ । यसरी वर्गविहीन, शोषणविहीन र राज्यविहीन हुन्छ, गाउँ र सहरको भेद हट्नेछ, शारीरिक र बौद्धिक श्रमको पनि भेद हटेको हुन्छ ।
त्यो समाज स्थापना गर्न एक ऐतिहासिक समय लाग्नेछ । ऐतिहासिक समयको अर्थ – ५० देखि १०० वर्ष लाग्नेछ वा त्योभन्दा बढी पनि लाग्नेछ । समाजवाद र साम्यवाद एकै देशका मात्र होइन विश्वकै बन्दोबस्तसँग जेलिएको हुन्छ ।
समाजवाद साम्यवादमा पुग्नुभन्दा पहिलेको अवस्था एवम् सङ्क्रमण काल हो । हाम्रो किशोर अवस्थाबाट युवा अवस्था र युवा अवस्थाबाट प्रौढ अवस्थाजस्तै हो । यस अर्थमा युवा अवस्थालाई समाजवादबाट साम्यवादी समाजमा जाने सङ्क्रमण काल हो ।
सङ्क्रमणकाल कति लामो होला ?
समाजवाद पुँजीवादबाटै उत्पत्ति भएको व्यवस्था हो अर्थात् समाजवादमा पुँजीवादको गर्भबाट जन्मेको शिशु हो । जसरी भर्खर जन्मेको शिशुमा गर्भको रगत वा फोहर बाँकी हुन्छ । त्यस्तै, समाजवादी व्यवस्थामा पनि पुँजीवादका अनेक राम्रा नराम्रा प्रभाव पनि बाँकी रहन्छ । त्यसको अर्थ हो, पुँजीवादका दागहरू समाजवादी समाजका मानिसहरू – भ्रष्टाचार, नाफा लिने प्रवृत्ति, लोभ, व्यक्तिगत स्वार्थ, भेदभाव आदि नकारात्मक प्रभावहरू हुन्छन् ।
सबै समाजवादी देशहरूको क्रान्तिभन्दा पहिले र पछि एउटै परिस्थिति हुने गर्दैन, सोभियत सङ्घमा १९१७ को बेला कति कलकारखानाहरू विदेशी थिए र मजदुर आन्दोलन व्यवस्थित थियो । सन् १९०५ र १९१२–१५ तिर पनि बरोबर मजदुर आन्दोलन भइरहेको थियो र मजदुर कार्यकर्ता र नेताहरू पनि शिक्षित हुँदै थिए । जार सरकारले त्यहाँका बोल्शेविक (कम्युनिस्ट) हरूलाई देशबाट निकाला गथ्र्याे, देशबाट निकालिएका मजदुर र कम्युनिस्टहरू विभिन्न देशमा काम गर्दै ती देशहरूको मजदुर र किसान आन्दोलनबाट शिक्षाबाट शिक्षित हुन्थे । बोल्शेविकहरूले अनेक बैठकहरूमार्फत शिक्षित हुन्थे र क्रान्तिपछि विभिन्न देशका कम्युनिस्ट विचार र प्रभावलाई समेत प्रयोग रुसमा गर्थे । तिनीहरूसँग तुलना गर्दा नेपाली कम्युनिस्टहरूमा त्यस्ता सोच देखिन्न । लाखौँ युवाहरू विदेशमा श्रमिक भएर विदेश गएका छन् । तर, १००० जनामध्ये एकजनालाई पनि ती देशहरूको बारे पुस्तक लेखेर जनतालाई जानकारी दिएनन् । जबकि कम्युनिस्ट भनिएका नेताहरू बरोबर चन्दा उठाउन जान्थे ।
यसकारण, समाजवादी समाजमा युवा–विद्यार्थी, किसान–मजदुर, महिला, शिक्षक, प्राध्यापक र ज्येष्ठ नागरिकहरूसमेत सङ्गठित भएका हुन्छन् । देश र विदेशबारे जानकारी राखेका हुन्छन् । आफू र आफ्ना परिवारलाई भन्दा सङ्गठन, देश र जनताको कामलाई प्राथमिकता दिन्छन् ।
समाजवादी देशको साहित्य अध्ययन गर्दा त्यहाँ पनि आफ्नै आमाबुबासमेत सामूहिक सम्पत्तिभन्दा व्यक्तिगत सम्पत्तिलाई ध्यान दिन्छन् । छोराछोरीहरूले बैठकहरू राखेर अभिभावकहरूको पुँजीवादी विचारलाई सहयोग दिन्छन्, समाजवादको सुरुका दिनहरूका सबै पेसामा पनि ज्यालामा समानता हुँदैनन्, आर्थिकरूपले कमजोर केटासँग आमाबुबा आफ्नो छोरीलाई विवाह गर्न बाधा दिन्छन्, अनि नयाँ पुस्ताले समाजवाद र पुँजीवादबारे अभिभावकहरूलाई सम्झाउँछन् । नेपालका ‘कम्युनिस्ट’ नेताहरूले जोताहा किसानलाई मोहियानी हकसम्म दिएका छैनन् । बरु आफू मन्त्री हुँदा सरकारी जग्गाको पुर्जा दिन्छन् । के यसरी नेपालमा समाजवादको विजय होला ?
अत्यन्त बहुमत जनतामा समाजवादबारे प्रस्ट जानकारी नभई तथा त्यसलाई आत्मसात नगरेसम्म समाजवाद अगाडि बढ्दैन । समाजवादविरोधी शक्तिले बहुमत प्राप्त सरकारलाई भङ्ग गर्नेछन् र दबाउने छन् । जसरी भारत, चिली र अन्य पुँजीवादी व्यवस्था पुनः स्थापना भए । यसकारण, समाजवादबाट साम्यवादमा पुग्न २–३ पुस्ता लाग्नेछ । ३३ वर्षको एक पुस्ता हो । चुनाव जित्नु नै समाजवाद होइन । पुँजीवादी व्यवस्थामा मन्त्रिमण्डलमा जानुको अर्थ ती पार्टीको नेतृत्व स्वयम् पुँजीवादी व्यवस्थाका समर्थक हुनु हो । विदेशी गैर–सरकारी संस्थाका डलर स्वयम् गोलीले जित्न नसकेका कम्युनिस्टहरूको निम्ति ‘चास्नी पोतेको गोलीले जित्ने’ उपाय हो । यसबाट शिक्षक, प्राध्यापक, वकिल, डाक्टर, सबै बुद्धिजीवी र श्रमिक जनता सचेत भएर अगाडि बढ्नु आवश्यक छ ।