आक्रा सन्ध्या खबर
नयाँ राजनीतिक दल स्थापना गर्नुभन्दा पहिले ‘अगुवाहरूको समूह’, ‘प्रचार समूह’, ‘गतिविधि गर्ने समूह’, ‘सङ्गठनकर्ताहरूको समूह’ र ‘राजनीतिक शिक्षकहरूको समूह’ आवश्यक हुन्छ । यसकारण प्रचार, शिक्षण र गतिविधि गर्न पनि एउटा समाचारपत्र आवश्यक हुँदा एन्क्रुमा र अन्य ४–५ जना साथीहरू मिलेर ‘आक्रा सन्ध्या खबर’ १९४८ सेप्टेम्बरमा प्रकाशन गरे । त्यसको मुख्य उद्देश्य थियो, ‘मानिसको रूपमा बाँच्ने हाम्रो अधिकार छ’, ‘शासन गर्ने हामीसँग अधिकार छ’, ‘दासताको खतराको विरोधमा ‘स्वराज’ र ‘स्वराज नै आजको आवश्यकता’ हो ।
पत्रिका हातहातमा बिक्यो । सम्पादक मण्डलको कार्यालय अगाडि मानिसहरू झुम्मिन्थे । प्रेसको काम हातैले अक्षर मिलाउने र छाप्ने पुरानै शैलीको थियो । एन्क्रुमा र साथीहरू आफैले सबै काम गर्थे । पत्रिकाको भाषा अत्यन्त सरल र बुझ्ने खालको हुन्थ्यो ।
रुढीवादी नेतृत्वसँग अलग भएपछि एन्क्रुमाले राजनीतिकरूपले सचेत र सक्रिय युवाहरूलाई लिएर जून १९४९ मा तार्कवा (Tarkwa) भन्ने सहरमा एक सम्मेलन गरी ‘जनसभा दल’ (सीपीपी) भन्ने दल स्थापना गरे । ‘स्वराज’ को निम्ति सबै किसिमका संवैधानिक उपायद्वारा गोल्ड कोस्टका जनताको निम्ति सबै किसिमका दमनकारी रूपहरूलाई हटाएर सङ्घर्षशील सचेत राजनीतिक अगुवाहरूले जनताको सेवाको निम्ति एक प्रजातान्त्रिक सरकार स्थापना गर्ने उद्देश्य राखेका थिए ।
१९४९ जून १२ को दिन आक्राको रङ्गशालामा ६० हजार जनताको भेलामा एन्क्रुमाले पार्टीको स्थापना र उद्देश्यको घोषणा गरे । रातो, सेतो र हरियो रङ्गको झन्डामुनि अन्तिम साससम्म जनताको हितको निम्ति लड्ने उद्घोष गर्दा सहभागीहरू उनको वक्तृत्वकलाबाट मन्त्रमुग्ध भए । केही समयमै गाउँगाउँमा सङ्गठनहरू बने । उनी ४९ वर्षका प्रौढ थिए । ६ महिनाभित्र अर्थात् १९५० सम्ममा त्यस पार्टीको सदस्य सङ्ख्या १० लाखभन्दा बढी पुग्यो ।
जनवरी १९५० मा बेलायती सरकारको तर्फबाट रेजिनाल्ड सालोवेको नामक एक उच्चस्तरीय अधिकारी घाना पुग्यो । बेलायतीहरूले बनाएको संविधान लागु नगराएको र त्यसको विकल्पमा अर्कै प्रतिनिधिसभाको स्थापना गरी उपद्रव गरेको भनी उनले एन्क्रुमा र जनसभा दललाई दोष दियो । त्यसको विरोधमा एन्क्रुमाले बेलायती सामानको बहिष्कार, शान्तिपूर्ण प्रदर्शन र सभाहरूको आयोजना गर्न लगाए । साथै उनले जिल्ला जिल्लाको भ्रमण गरी मजदुर सङ्गठनहरूको महाधिवेशनमार्फत देशव्यापी हडताल गर्न लगाए । ११ जनवरीको दिन देश पूर्णरूपले बन्द भयो । सरकारले दमनको उपाय अपनायो ।
सरकारले सेना र प्रहरीमार्फत सङ्कटकाल लागु ग¥यो । धेरै नेता र कार्यकर्ताहरू पक्राउ परे । पत्रपत्रिका बन्द गरियो तर दमनले जनतामा झन् राजनीतिक चेतना बढ्यो । एन्क्रुमालाई आक्राकै जेम्स किल्लामा ३ वर्षको जेल सजाय भयो । सरकार समर्थक पत्रपत्रिकाहरूले एन्क्रुमा र उनको पार्टीलाई ‘कम्युनिस्ट’, ‘विध्वंशात्मक तत्वहरू’ र ‘हुल्याहाहरू’ जस्ता लाञ्छना लगाए तथा पार्टी फोर्ने कोसिसहरू गरे । उनी एक वर्ष बिनाकलम–कापी थुनिए ।
१ जनवरी १९५१ को दिन बेलायती सरकारले घानामा अर्को संविधान (Coussey Constitution) स्वीकार भयो । फेब्रुअरी ८ को दिन नयाँ संविधानसभाको निर्वाचनको घोषणा ग¥यो । जनसभा दलका नेताहरूले कारागारमै बसेर महानिर्वाचनमा भाग लिने वा बहिष्कार वा संसदीय बन्दोबस्तको निन्दा वा सङ्घर्ष के गर्ने भन्नेबारे छलफल गरे । निर्वाचनलाई उपयोग नगर्दा प्रतिगामीहरूले फाइदा उठाउने हुनाले निर्वाचनमा भाग लिने र एन्क्रुमालाई आक्राको केन्द्रीय जिल्लाबाट उम्मेदवार बनाउने पार्टी बैठकले निर्णय ग¥यो ।
एन्क्रुमाले कारागारबाटै चुनावी घोषणापत्र तयार पारे । त्यसमा देशलाई औद्योगिकीकरण गर्ने, बेरोजगारी उन्मूलन गर्ने, शिक्षा र स्वास्थ्यलाई प्रजातान्त्रिक गर्ने, पुरुष र महिलालाई समान अवसर दिई समाजवादी राज्य निर्माण गर्ने विषय उल्लेख गरियो । अन्तमा, शोषित र पीडित घानावासीहरूलाई आह्वान गरियो, ‘आफ्नो देश जोगाउने मौका जनताकै हातमा छ । जनसभा दललाई मत देऊ ¤’ ५ देखि १० फेब्रुअरी १९५१ को बिहान निर्वाचन सुरु भयो ।
९ फेब्रुअरी १९५१ को बिहान जेलका अधिकारीहरूले एन्क्रुमालाई उनको निर्वाचन क्षेत्रमा ९८ प्रतिशत जनताले उनलाई मतदान गरेको तथा ३८ ओटा विधानसभाको स्थानमा उनको दलले ३४ स्थान प्राप्त गरेको बताए । कोम्ला आग्बेदी गेदमाह निर्वाचन प्रचारका नायक थिए ।
१२ फेब्रुअरीको दिन एन्क्रुमा जेलबाट छुटे । १३ फेब्रुअरीको दिन गभर्नरले सरकार बनाउन आमन्त्रण ग¥यो । २० फेब्रुअरीको दिन विधानसभा बस्यो । त्यसको अध्यक्ष इसी क्विस्ट थिए । मार्च १९५२ को दिन एन्क्रुमाले प्रधानमन्त्रीको रूपमा संविधान संशोधन गर्न ‘भाग्यको प्रस्ताव’ राखे । ४५ मध्ये ३१ जनाको बहुमत थियो र ८ जना अनुपस्थित रहे । १० जुलाई १९५३ मा त्यो प्रस्ताव बेलायती राष्ट्रमण्डलबाट स्वीकार गरियो ।
पहिलो अफ्रिकी प्रधानमन्त्री
१२ फेब्रुअरीको दिन एन्क्रुमा जेलबाट छुटे । १३ फेब्रुअरीको दिन गभर्नरले सरकार बनाउन उनलाई आमन्त्रण ग¥यो । एन्क्रुमा बेलायती गभर्नरको दरबारजस्तो क्रिश्चियनवर्ग किल्ला कहिल्यै पुगेका थिएनन् । नामै ‘सुनको किनार’ (Gold Coast) नाम भएको देशको गभर्नरको निवास सेतो ढुङ्गाले बनाएको र भित्रभित्र सजाइएको भवन थियो । बुर्जामा बेलायती राष्ट्रिय झन्डा फहराइएको थियो । गभर्नर आर्डेन क्लार्क र एन्क्रुमाको पहिलो भेट थियो । त्यो भेट जोगी देखी भैँसी डराउने र भैँसीदेखि जोगी डराउने खालको थियो । वार्तामा ७ जना मन्त्रीहरू र एन्क्रुमाको जनसभा दलका ५ जना प्रतिनिधि बसेका थिए ।
संयुक्त गोल्ड कोस्ट सम्मेलन (UGCC) का बेलायत समर्थक नेताहरूले गभर्नरद्वारा आफूहरू ठगिएको अनुभव गरे । एन्क्रुमाको दलले ठुलो विजय हासिल गरे पनि उनी विनम्र थिए र प्रेस सम्मेलनमा उनले भने, “म बेलायतकै मित्र भएको छु भनेर प्रस्ट्याउन चाहन्छु । हामी बेलायती राष्ट्रमण्डलकै सदस्यको हैसियतमा रहन्छौँ । गणतन्त्रको मैले कल्पनै गरेको होइन ।” तर, घानाको स्थितिले पश्चिमी देशमा भुइँचालो गएको थियो ।
२० फेब्रुअरी १९५१ को दिन आक्रा बेलायती शैलीले सजिएको थियो । विधानसभाको चारैतिर सेनाको पहरा थियो । उद्घाटन समारोहमा गभर्नर घोडचढी सेनाद्वारा सवारी चलाइएको थियो । हरियो र रातो रङ्गको पोशाक र कालो रङ्गका घोडसवारी सबै बेलायती ढङ्गले नै सजाइएको थियो । सैनिकको ब्यान्डले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्ने राष्ट्रिय गान बजायो । आयोजकहरू र जातीय प्रमुखहरू सुनचाँदीका गहना र लुगाले सजिएका थिए । विधानसभाको अध्यक्ष पनि सोहीअनुसार सजिएका थिए ।
एन्क्रुमा र उनको पार्टीका नेताहरूलाई त्यसबेला ‘जेलका स्नातक’ भनिन्थ्यो । तिनीहरू आफ्नै संस्कृतिअनुसारको घरेलु लुगा र टोपीमा थिए । देशविदेशबाट शुभकामना र बधाईहरू आउँदै ग¥यो । तर, उनलाई थाहा थियो, बाटो सजिलो छैन । नागरिक प्रशासन, प्रहरी, सेना, अदालत र विदेश विभाग गभर्नरको हातमा थियो । देशको प्रशासनिक कर्मचारीहरूमा ४ भागको ३ भाग बेलायतीहरू र तिनीहरूका पिछलग्गूहरू थिए ।
बेलायती उपनिवेशवादीहरूले एन्क्रुमा र उनका मन्त्रीहरूका निम्ति राम्रा राम्रा भवनमा आवास र महँगा गाडीहरूको बन्दोबस्त गरेको थियो । तर, शत्रुको ‘चास्नी पोतेको गोली’ बाट बच्न एन्क्रुमा र उनका मन्त्रीहरूले दुई तले साधारण भवनलाई नै आफ्नो प्रधानमन्त्री र मन्त्रीहरूको निवास बनाए । उपनिवेशवादीहरूले दामी रात्रिभोज र रक्सी पार्टीहरूमा एन्क्रुमा र उनका साथीहरूलाई फसाउन खोजे । तर, तिनीहरूले आफूहरूलाई आफ्ना गाउँ, नगर र बस्तीका साधारण महिलाहरू, किसान र मजदुरहरूसँगको भेटघाटमै व्यस्त राखे ।
एन्क्रुमा ठुलाबडा कर्मचारीहरूको चाकरी र चुक्लीबाट बच्न चाहन्थे । दिनको झन्डै चार घण्टा मात्र सुत्थे । बिहान सबेरै उठ्थे र काममा अल्छी गरेको उनी हेर्न पनि चाहँदैनथे । पार्टी केन्द्रीय कार्यालयमा पनि अति व्यस्त रहन्थे । उनी विधानसभा, जनसभा र कार्यकर्ताहरूको बिचमा छलफल र भाषण दिन व्यस्त रहन्थे ।
एन्क्रुमा घानाका नदी–नालाहरूमा जलविद्युत् उत्पादन गरेर देशलाई झिलिमिली पार्न र उद्योगधन्दालाई अगाडि बढाउन चाहन्थे । कोका रुखमा लागेको रोग निर्मूल गर्न चाहन्थे र जनता पनि छिट्टै देशको द्रूततर विकास गर्न चाहन्थे । तर, उपनिवेशवादीहरू भित्रभित्रै देशलाई विध्वंश गर्ने प्रतिपक्षलाई उचाल्थे । एन्क्रुमा र उनको पार्टी सबैसँग मिलेर काम गर्न चाहन्थे । जातीय नेताहरू आफ्नो प्रभाव क्षेत्र गुमाउन चाहँदैनथे र एन्क्रुमाका साँचो एकीकृत बन्दोबस्तका विरोधी थिए । पुरानो संस्कार र प्रभावलाई कायमै राखेर ती जाति र जनजातिहरूलाई उचाल्दै समाजमा अशान्ति चाहने तत्वहरूले राष्ट्रिय मुक्ति मोर्चाजस्ता खाइलाग्दो नामको दल खोलेर घानालाई ४ राज्यको सङ्घीय व्यवस्थाको वकालत गरे ।
उपनिवेशवादीहरूले देशको विघटनकारी गतिविधि चर्काउँदै गए । ठाउँठाउँमा एन्क्रुमाका पार्टी कार्यकर्ताहरूमाथि हमला, विरोध र हत्यासमेत गरियो । एक साँझ प्रधानमन्त्री निवासकै बार्दलीमा थिए । एउटा बम विष्फोट भयो तर कोही हताहत भएन । राजनीतिक उपद्रव र हत्याहरू हुँदै गयो । घानामा त्यसबेला ७ लाख मुसलमानहरू थिए । तिनीहरूले पनि मुसलमान समुदाय दल, घाना काङ्ग्रेस पार्टीजस्ता अनुदारवादी दलहरू खोल्दै गए ।
जून १९५२ मा बेलायती अनुदारवादी सरकारको उपनिवेशमन्त्री ओलिभर लिटलेल्टन आउँदा एन्क्रुमाले माथिल्लो सदन बनाउन संविधान संशोधन गराउन राजी गराए ।
सन् १९५३ मा घानाको मुक्ति आन्दोलनलाई दबाउन साम्राज्यवादीहरूले ‘शीतयुद्ध’ कै सिलसिलामा ‘कम्युनिस्ट विचार’ दबाउन एन्क्रुमालाई दबाब बढाउन थाले । उनले विश्व मजदुर फेडरेसन र युवा फेडरेसनको गतिविधि र साहित्यमा प्रतिबन्ध लगाउने ‘व्यावहारिक’ पाइला चाले । उनले आफूलाई कम्युनिस्ट होइन एक क्राइश्चेली र माक्र्सवादी समाजवादी बताए । घानालाई ४ भागमा विभाजित गर्न खोज्ने राष्ट्रिय मुक्ति आन्दोलनका नेता कोफी एब्रिफा बुसिया एक अमेरिकी परोपकारी संस्थाबाट छात्रवृत्ति पाएका र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेका व्यक्ति थिए । उनी बेलायतीहरूलाई घाना छोड्नु हुन्न भन्थे ।
१९५४ अप्रिलमा जातीय नेताहरूलाई पनि राख्न मिल्ने गरी माथिल्लो सभासहितको नयाँ वा एन्क्रुमा संविधानअनुसार नयाँ निर्वाचन भयो । निर्वाचनमा जनसभा दल (CPP) को नारा थियो ‘साधारण जनतासँग अगाडि बढ’ र निर्वाचन चिह्न थियो ‘विजयको चिह्न रातो भाले’ । तर, निर्वाचनमा एन्क्रुमाले जनताको हितलाई बेवास्ता गरेको, उपनिवेशवादीहरूसँग मिलेको जस्ता भूmटा प्रचारहरू गर्न बेलायती प्रेस नै लागिपरे । त्यस्ता झूटा आरोपहरूका कारण एन्क्रुमाले आफ्नै दलका ८० जना उम्मेदवारहरूलाई अनुशासन भङ्ग गरेकोमा निकाला गरे । तिनीहरू सबै विरोधीहरूसँग मिल्न गए । निर्वाचनमा एन्क्रुमाको पार्टीले १०४ स्थानमध्ये ७२ स्थानमा विजय प्राप्त ग¥यो । उत्तरी जनता पार्टीले १२ स्थान प्राप्त ग¥यो र अन्य दलहरू एक दुई स्थानहरूमा विजयी भए । एन्क्रुमाको नेतृत्वमा नयाँ सरकार बन्यो ।
सन् १९५१ देखि १९५७ सम्मको त्यो औपनिवेशिक द्वैधशासनमा एन्क्रुमाले प्राथमिक शिक्षा निःशुल्क गरे । उनले विद्यालय जाने विद्यार्थी सङ्ख्या दोब्बर बनाए । साथै माध्यमिक विद्यालय र शिक्षक तालिम कलेज र संयन्त्रहरू पनि व्यापक बनाए । उनले प्रौढहरूमा निरक्षरता उन्मूलन अभियान चलाए । स्थानीय भाषाहरूमा समेत साहित्य र समाचारपत्रहरू प्रकाशित गर्न उनले उत्साहित गरे । उनले नौ ओटा अस्पताल स्थापना गरे भने १५ ओटा अस्पताललाई आधुनिक बनाए । पछि परेको उत्तरी क्षेत्रमा स्वास्थ्य सेवालाई ध्यान दिए ।
स्वतन्त्रताको घोषणा
एक सय ते¥ह वर्ष पहिले बेलायती उपनिवेशवादीहरूले घानाको फान्टी (Fanti) जातिको मुखिया या प्रमुखसँग एक असमान सन्धि गरी उपनिवेश बनाएका थिए । ६ मार्च १९५७ को दिन गाउँगाउँबाट एक लाखभन्दा बढी जनता राजधानीमा राष्ट्रिय पोशाकमा भेला भए । मध्यरातमा बेलायती झन्डा तल झारियो र रातो, पहेँलो र हरियो तीन रङ्ग र कालो रङ्गको पाँचकुने ताराको झन्डा विस्तारै फहरियो । रगतको रातोले स्वतन्त्र र गौरवको अभिव्यक्ति दिन्थ्यो भने पहेँलो रङ्ग त्यस देशको सुनको प्रचुरताको प्रतीक थियो र हरियो रङ्गले त्यहाँको कोका उत्पादनलाई तथा ठुलो कालो रङको पाँचकुने ताराले उपनिवेशवादको विरोधमा अफ्रिकी जनताको एकतालाई प्रतिनिधित्व गथ्र्यो ।
समारोहमा ६५ देशका प्रतिनिधिहरू उपस्थित थिए । झन्डोत्तोलनपछि ‘स्वतन्त्रता ! स्वतन्त्रता !’ भन्ने राष्ट्रिय गीत बजाइयो । सारा जनताले एक आपसमा अँगालो हाली हर्षको आँसु झारे । एन्क्रुमाले बोले, “अन्तमा स्वतन्त्रताको सङ्घर्ष विजयमा टुङ्गियो । हामी अब स्वतन्त्र र स्वाधीन जनता भयौँ । अब हामी उपनिवेश होइनौँ । …. तर, अहिले हामीले कठिन काम सुरु गर्दै छौँ । हामी तपाईँहरूको समर्थन चाहन्छौँ ।”
‘हामी सबै देशसँग मैत्रीपूर्ण र हार्दिक सम्बन्ध स्थापना गर्न इच्छुक छौँ । संयुक्त राष्ट्र सङ्घमा हामीले पूर्ण भूमिका खेल्न सक्नेछौँ र हामी त्यसका प्रतिनिधिहरूप्रति सम्मान प्रकट गर्दछौँ ।’
यसरी अफ्रिका विश्व इतिहासको मोर्चामा अगाडि बढ्यो । एन्क्रुमा ‘मुक्तिदाता’ र ‘उद्धारक’ मानिए ।
एन्क्रुमा ५० वर्षका प्रौढ भए । जीवनको एउटा उद्देश्य पूरा भयो । सन् १९५७ को अन्ततिर उनले २७ वर्षकी एक इजिप्टेली युवती फातिया हेलेन रिजसँग विवाह गरे । यो विवाह राजनीतिक ढङ्गको थियो । इजिप्टका राष्ट्रपति नासिरले नवदम्पत्तिलाई बधाई स्वरूप केही उपहारहरू पठाए । विवाह समारोहमा एन्क्रुमाकी आमा र केही नातेदारहरू मात्रै थिए । विवाहको शैली ग्रीसेली चर्च र इजिप्टेली क्रिश्चियन शैलीको थियो ।
यस समारोहमा गिनीका राष्ट्रपति सेकु तुरे (Fanti) पनि उपस्थित थिए ।
कता जाने ?
सन् १९५७ को नोभेम्बरमा जातीय, क्षेत्रीय र धार्मिक सङ्गठन र पार्टीका विपक्षीहरू मिलेर संयुक्त पार्टीका ४३ सक्रिय सदस्यहरूलाई पक्राउ गरी सरकार फाल्न खोजेको आरोपमा मुद्दा चलाइयो । कोफी बुसिया विदेश भागेर गतिविधि चालु राख्यो ।
घाना स्वतन्त्र र स्वाधीन घोषणा भए पनि बेलायती राष्ट्रमण्डलको सदस्य थियो । बेलायती महारानी नै त्यसको सार्वभौमिकताको प्रतीक थिइन् । बेलायती महारानीले गभर्नर जनरललाई राज्य प्रमुखमा नियुक्त गरिन् । पूर्वगभर्नर आर्डेन क्लार्कको ठाउँ लिस्तोवेलको रजौटाले लिए । उनलाई नै घानाको प्रधानसेनापति बनाइयो र बेलायती जनरल एचटी अलेक्जेन्डरलाई सेना नायक बनाइयो । घानाको सरकारले बेलायती गद्दीको शपथ लिनुपथ्र्यो । ६०–७० को दशकमा साम्राज्यवादीहरूले निर्वाचित स्वाधीन सरकारहरूलाई अपदस्थ गर्न हरेक तीन महिनामा एउटा सैनिक विद्रोह गराउँदै गए ।
घानाले स्वतन्त्रता पायो । त्यहाँकै जनताको सरकार बन्यो । त्यहाँको अर्थतन्त्र विश्व पुँजीवादी बजारले गाँजेको थियो । सियोदेखि खानेकुरा समेत बेलायतबाट आउँथ्यो । त्यहाँको खेती जातीय मुखियाको सामन्तवाद र सामुदायिक खेती बन्दोबस्तमा थियो । वर्षको एउटै मात्र बाली लगाइन्थ्यो । कोकाको निर्यात नै देशको ७० प्रतिशत निर्यात थियो । हीरा, सुन, म्याङ्गनिज, बाक्साइट, काठ आदि खनिज र प्राकृतिक उत्पादन सिधै बेलायत जान्थ्यो । ससाना साहुमहाजन, कालिगड र हाते उद्योगपति मात्रै थिए । औद्योगिक कारखानाहरूको सुरुआत मात्रै भएको थियो । रक्सी भट्टी, साबुन कारखाना, चुरोट कारखाना, चिसो पेय पदार्थको कारखाना, केही लुगा सिउने कारखानाजस्ता ससाना कारखाना मात्रै थिए । नत्र खल्ती रुमालदेखि सलाई बट्टासमेत बेलायतबाट आउँथ्यो । आलु, काउली, गाजर, सखरखण्ड, दूध, नौनी आदि पनि त्यहीँबाट आउँथ्यो ।
८० प्रतिशत जनता निरक्षर थिए । खेत र भूमि बाँझो थियो । सडकहरू साँघुरा थिए । छोटो दूरीका ससाना रेलका बाटा मात्रै थिए । बन्द–व्यापार सबै विदेशीको हातमा थियो । सारमा, अर्थतन्त्र सा¥है पिछडिएको थियो । सहरहरू फोहोर र अव्यवस्थित थिए । उपनिवेशवादीहरू ‘स्वाधीन र सार्वभौम घाना’, ‘गणतन्त्र घाना’ को तमासा हेर्न चाहन्थे । पुराना सबै प्रशासन गभर्नरको निवासमा सरे तथा सबै कागजपत्र बेलायत पठाइए । अलपत्र परेका, भाँचिएका मेचकुर्सी लथालिङ्ग र नाम मात्रका कार्यालयहरू राज्यले पायो ।
त्यसबेला अफ्रिकी नेताहरूलाई पुँजीवाद र समाजवादबारे सैद्धान्तिक जानकारी थियो । समाजवाद मन पराउँथे तर त्यसलाई आआफ्नो देशमा ल्याउन आवश्यक परिस्थितिबारे जानकारी थिएन । बेलायतमा ‘प्रजातान्त्रिक समाजवाद’ जस्ता शब्दावली प्रचलित थियो । भर्खर स्वतन्त्र भएका देशहरूको कच्चा सामान उपनिवेशवादी देशहरूमा पठाइएन र तिनीहरूका तयारी सामान आफ्नो बजारमा प्रवेश दिइएन भने उपनिवेशवादीहरू बदला लिन वा नयाँ लडाइँकै निम्ति तयार हुन्छन् भन्ने थाहा थिएन । यसकारण, एन्क्रुमा र उनको दल आर्थिक विकासको कार्यक्रमबारे प्रस्ट थिएन । तिनीहरू शोषण रुचाउन्नथे र समाजवाद मन पराउँथे तर मन परेको वस्तु त्यसै आउँदैनथ्यो । उनी ‘आर्थिक उदारवाद’ र पश्चिमी युरोपको दोस्रो युद्धपछिको योजना ‘मार्शल प्लान’ बाट प्रभावित थिए । तर, पश्चिमी युरोप र अफ्रिकाको परिस्थिति फरक थियो ।
सन् १९६० फेब्रुअरी महिनामा संसद्बाट गणतन्त्रको प्रस्ताव अगाडि बढाइयो । त्यसको विरोधमा ‘एन्क्रुमाले बेलायती महारानी ऐलिजावेथ दोस्रोको विरोधमा ‘विद्रोह’ गरेको र ‘निर्वाचित राजतन्त्र चलाएको’ भन्दै बेलायती प्रतिक्रियावादी प्रचारमाध्यमहरू खनिए ।
१९, २३ र २७ अप्रिल १९६० मा घानाको पहिलो राष्ट्रपतिको निम्ति निर्वाचन घोषणा गरियो । एन्क्रुमाको विरोधमा संयुक्त दलको उम्मेदवार जेबी डनक्वाह थिए । एन्क्रुमाले ८९ प्रतिशत मत पाए भने प्रतिपक्षले ११ प्रतिशत मात्रै मत पायो । घानाको पहिलो राष्ट्रपति निर्वाचित हुँदा उनी ५१ वर्षका थिए ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा