राजन
विगत केही वर्ष यता संयुक्त राज्य अमेरिका र चीनबिचको भूराजनीतिक र प्राविधिक प्रतिस्पर्धाले रोचक मोड लिएको छ । प्रमुख प्राविधिक क्षेत्रहरूमा आफ्नो प्रभुत्व कायम राख्न खोजिरहेको अमेरिकाले चीनमाथि विशेषगरी सेमिकन्डक्टर र कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) उद्योगहरूमा कडा प्रतिबन्ध र व्यापार प्रतिबन्ध लगाएको छ । यद्यपि, यी उपायहरूले चीनको प्रगतिमा बाधा पु¥याउनुको सट्टा चिनियाँ नवप्रवर्तनको लागि उत्प्रेरकको रूपमा काम गरेका छन्, जसले अभूतपूर्व स्तरको आत्मनिर्भरता र प्रतिभालाई बढावा दिएको छ । यस घटनाको सबैभन्दा उल्लेखनीय उदाहरणहरूमध्ये NVIDIA को AI चिप्समा अमेरिकी प्रतिबन्धप्रति चीनको प्रतिक्रिया हो । यी प्रतिबन्धसामु झुक्नुको सट्टा चिनियाँ इन्जिनियरहरू र प्रोग्रामरहरूले अत्याधुनिक हार्डवेयरको अभावलाई पूर्ति गर्न आफ्नो एल्गोरिदमलाई परिष्कृत गरे । यस दृष्टिकोणले एआईमा उल्लेखनीय प्रगति गरेको छ । चिनियाँ मोडेलहरू अब ओपनएआईका प्रणालीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् र केही अवस्थामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चीनको द्रुत प्रगति सफ्टवेयर विकासमा मात्र सीमित छैन; यसको हार्डवेयर क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । Huawei को AI चिप्सले अब घरेलु बजारमा NVIDIA लाई प्रतिस्थापन गर्दै छ । DeepSeek जस्ता फर्महरूले आफ्ना प्रणालीमा यी घरेलु उत्पादनलाई उपयोग गर्दै छन् ।
एआई र सेमिकन्डक्टरबाहेक चीनको फराकिलो औद्योगिक क्षमता विस्तार हुँदै गइरहेका छन् । चीनसँग विश्वको सबैभन्दा ठुलो उत्पादन क्षमता छ, जबकि अमेरिका राष्ट्रिय ऋण सङ्कटसँग सङ्घर्ष गरिरहेको छ । बुद्धिमत्ता र नवप्रवर्तनप्रतिको सांस्कृतिक दृष्टिकोणले दुई देशलाई अझ फरक पार्छ । अमेरिकामा खेलाडी र सिनेमाका कलाकारजस्ता मनोरञ्जनकर्ताहरूको ठुलो प्रशंसा गरिन्छ । तर, अत्यधिक बुद्धिमान व्यक्तिहरूलाई प्रायः ‘नड्र्स’ भनेर बेवास्ता गरिन्छ । यसको विपरीत कन्फ्युसियन मूल्यमान्यताहरूबाट गहिरोरूपमा प्रभावित चिनियाँ समाजले बौद्धिक उपलब्धिलाई सम्मान गर्छ, STEM (Science Technology, Engineering, and Math) मा उत्कृष्टता प्रतिष्ठा र प्रशंसाको स्रोत बन्छ ।
झ्याल ढोका थुनेर बिरालो कुटेजस्तो भएको छ अमेरिकाले चीनमाथि सेमिकण्डक्टरको निर्यातमा लगाएको प्रतिबन्ध । अहिले सेमिकन्डक्टर निर्माणमा चीनको प्राविधिक प्रगति व्यापक भएको छ । चीनमा EUV लिथोग्राफीमा पनि ठुलो सफलताको सङ्घारमा छ, जुन क्षेत्र पहिले पश्चिमी फर्महरूको प्रभुत्वमा थियो । चीनले यी उपलब्धिहरूको घोषणा गर्दा चिप उत्पादनको विश्वव्यापी परिदृश्य अपरिवर्तनीयरूपमा परिवर्तन हुनेछ ।
रमाइलो कुरा के छ भने चीनको विकासलाई रोक्न अमेरिकाको अथक प्रयासले चिनियाँ एकता र दृढ सङ्कल्पलाई अझ बलियो बनाएको छ । ऐतिहासिक सन्दर्भले एउटा शिक्षाप्रद पाठ प्रदान गर्दछ : अमेरिकी नीतिहरूले प्रेरित भूराजनीतिले गर्दा चिनियाँ कम्युनिस्ट पार्टीलाई (सीपीसी) राष्ट्रलाई एकताबद्ध गर्न झनै बल पुगेको छ । हालैका वर्षहरूमा लगाइएका व्यापक प्रतिबन्धहरूले चिनियाँ नवप्रवर्तन र उद्योगलाई मात्र प्रोत्साहन गरेको छैन, यसले राष्ट्रलाई आत्मनिर्भरतामा दोब्बर हुन बाध्य पारेको छ ।
आज चीनले विद्युतीय सवारी साधन (EV), आणविक ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा, जहाज निर्माण, उच्च–गतिको रेल, रोबोटिक्स, विद्युत् वितरण, बन्दरगाह निर्माण र आपूर्ति श्रृङ्खला व्यवस्थापनजस्ता धेरै महत्वपूर्ण उद्योगहरूमा विश्वको नेतृत्व गर्दछ । उड्डयन र सैन्य प्रविधिमा पनि प्रगति तीव्रगतिमा अगाडि बढिरहेको छ । अमेरिका र चीनबिचको आधारभूत भिन्नता अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको उनीहरूको दृष्टिकोणमा निहित छ : चीनले सहयोग र पारस्परिक लाभलाई जोड दिन्छ, जबकि अमेरिकाले ऐतिहासिकरूपमा द्वन्द्व र प्रभुत्वलाई प्राथमिकता दिएको छ । यो स्पष्ट भिन्नता टेस्लालाई आफ्नो सिमानाभित्र सञ्चालन स्थापना गर्न आमन्त्रित गर्ने चीनको इच्छुकतामा स्पष्ट छ, यो कदमले दुवै पक्षलाई फाइदा पु¥यायो । अर्कोतर्फ अमेरिका स्वस्थ प्रतिस्पर्धालाई अँगाल्न हिच्किचाउँछ र प्रतिबन्धात्मक नीतिहरूमार्फत प्रतिद्वन्द्वीहरूलाई बाधा पु¥याउन खोज्छ ।
चीनको शैक्षिक प्रगति यसको प्राविधिक प्रभुत्वको अर्को स्तम्भ हो । यो देशले प्रत्येक वर्ष सबै पश्चिमी राष्ट्रहरूले कुल उत्पादन गर्नेभन्दा बढी STEM स्नातकहरू उत्पादन गर्छ । यी उच्च दक्ष पेशेवरहरू चीनमै बस्छन् र विदेशमा अवसर खोज्नुको सट्टा घरेलु नवप्रवर्तनमा योगदान पु¥याउँछन् । अन्य देशहरूमा बसाइँ सर्ने धेरै पश्चिमा–शिक्षित विज्ञहरूको विपरीत, चिनियाँ स्नातकहरू अत्यधिक देशभक्त छन् र आफ्नो मातृभूमिको प्राविधिक दृश्यलाई अगाडि बढाउन प्रतिबद्ध छन् ।
चीनको प्रगतिको छलफलमा प्रायः बेवास्ता गरिने एउटा क्षेत्र अन्तरिक्ष अन्वेषण हो । पश्चिमी राष्ट्रहरूद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष सहयोगबाट बहिष्कृत भएपछि, चीनले आफ्नै स्वतन्त्र अन्तरिक्ष कार्यक्रम सिर्जना ग¥यो, जसको परिणति टियाङगोङ अन्तरिक्ष स्टेसनको सफल प्रक्षेपण भयो । यसको विपरीत, अमेरिकाको अवस्था धेरै खराब छ । हालै भारत र अमेरिकाले आफ्ना अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षबाट सुरक्षितरूपमा फिर्ता ल्याउन चुनौतीहरूको सामना गर्नुपरेको छ ।
चीनको रचनात्मकता र उदारताले यसको विश्वव्यापी प्रभावलाई झनै बलियो बनाएको छ । ज्ञान बाँडफाँड र सहकारी विकासप्रति चीनको प्रतिबद्धताका कारण धेरै विकासशील देशहरूले चीनको प्राविधिक र पूर्वाधार विशेषज्ञताबाट लाभ उठाएका छन् । भूराजनीतिक लाभका लागि आफ्नो प्राविधिक फाइदाको शोषण गर्ने केही पश्चिमी शक्तिहरूभन्दा फरक चीनले रचनात्मक संलग्नतालाई प्राथमिकता दिने गर्दा अन्य राष्ट्रहरूलाई पनि आधुनिकीकरण र विकास गर्न सक्षम बनाएको छ ।
विकासशील देशको रूपमा वर्गीकृत भए पनि, चीन प्रमुख क्षेत्रहरूमा विकसित देशहरूभन्दा अगाडि छ । यसको उच्च–गति रेल नेटवर्क, नगदरहित भुक्तानी पूर्वाधार र हरित ऊर्जा पहलहरू विश्वव्यापीरूपमा अद्वितीय छन् । लेजर कम्युनिकेसन, क्वान्टम कम्प्युटिङ, ६–जी स्याटेलाइट नेटवर्क र हाइपरसोनिक प्रविधिमा अग्रणी उपलब्धिहरूका साथ चीनले धेरै अत्याधुनिक प्रविधि क्षेत्रमा अग्रणी स्थान ओगटेको छ । प्राविधिक विकासको लागि अनुकूल वातावरण निर्माण गरेर चीनले परम्परागत विकास ढाँचालाई चुनौती दिइरहेको छ र आधुनिक संसारमा आफूलाई नेतृत्वकर्ताको रूपमा स्थापित गरिरहेको छ ।
सङ्क्षेपमा चीनलाई असफल बनाउन अमेरिकी सरकारले गरेका प्रयासहरू विफल भएको छ । प्रतिबन्धहरूमार्फत चीनलाई पछि पार्ने प्रयासहरू नराम्रोसँग असफल भएका छन् । यी उपायहरूले चीनको विकासलाई रोक्नुको सट्टा यसको प्राविधिक प्रभुत्वलाई तीव्र बनाएको छ । कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर, अन्तरिक्ष अन्वेषण वा औद्योगिक उत्पादनको क्षेत्रमा चीनले निरन्तर नयाँ मापदण्डहरू स्थापित गरिरहेको छ र लचिलोपन, नवीनता र रणनीतिक दूरदर्शितामार्फत सबैभन्दा कठिन अवरोधहरू पनि पार गर्न सकिन्छ भनेर प्रमाणित गरिरहेको छ । विश्वले चीनको उदय हेरिरहेको बेला एउटा कुरा स्पष्ट छ : ‘भविष्य’ इष्र्या, डर र अवरोधवादीको नभई ‘भविष्य’ प्रतिस्पर्धा र सहकार्यलाई अँगाल्नेहरूको हुनेछ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)