इयान एङ्गस
(इयान एङ्गस ‘क्लाइमेट एन्ड क्यापिटलिज्म’ नामक अनलाइन जर्नलका सम्पादक हुन् । उनी बहुचर्चित पुस्तक ‘एन्थ्रोपोसिनको सामना गर्दा’ (२०१६) तथा ‘सर्वसाधारणविरूद्ध युद्ध’ (२०२३) का रचनाकार पनि हुन् । यो अन्तर्वार्ता ब्राजिलमा एकसाथ ‘एन्थ्रोपोसिनको सामना गर्दा’ को पोर्चुगेली, स्पेनी र अङ्ग्रेजी संस्करण प्रकाशित भएपछि लिइएको हो ।
यस अन्तर्वार्तामा इयान एङ्गसले ‘एन्थ्रोपोसिनको सामना गर्दा’ पुस्तकका मूल विचार र तिनको जन्मबारे प्रकाश पारेका छन् । अन्तर्वार्ता सन् २०२४ मार्चको अन्त्यतिर लिइएको हो । त्यसबेला भूगर्भ विज्ञानहरूको विश्व सङ्घको अङ्गको रूपमा रहेको ‘उप–आयोग’ ले हामी नयाँ भौगर्भिक युग ‘एन्थ्रोपोसिन’ मा छौँ भन्ने विचारलाई औपचारिक रूपमै अस्वीकार गरेको थियो । ‘एन्थ्रोपोसिन’ शब्द ग्रीक भाषाको ‘एन्थ्रोस’ बाट बनेको छ । यसको अर्थ मानव जाति हुन्छ । वैज्ञानिक तथा वातावरणविद्हरूले यसको व्यापक प्रयोग गर्दै छन् । पृथ्वीको संरचना र जलवायु परिवर्तनको तीव्रतामा ठाडो हस्तक्षेप गर्ने मानव क्रियाकलापको युगलाई उनीहरू ‘एन्थ्रोपोसिन’ भन्दै छन् । सम्पादक)
क्लाउदिया एन्तुनिस : ‘भूगर्भ विज्ञानहरूको विश्व सङ्घ’ को उपसमितिले हामी ‘एन्थ्रोपोसिन’ युगमा प्रवेश नगरेको बतायो । धेरैले यसमा प्रश्न उठाएका छन् । के यस निर्णयले ‘जलवायु परिवर्तन अफवाह हो’ भन्नेहरूलाई टेवा पुग्ला ?
इयान एङ्गस : बुझ्नुपर्ने कुरा हो भने यो औपचारिक प्रक्रिया भूगर्भ संस्थाभित्र चलेको हो । यो संस्थाको विगत केलाउँदा यो निकै रूढीवादी रहँदै आएको छ । एन्थ्रोपोसिनबारे बहस सुरू भएदेखि नै पुरानो पुस्ताका धेरै भूगर्भविद्हरू यसको विरोधमा आक्रामक देखिए । यसका दुई कारण छन् । पहिलो, यो बहस भूगर्भविद्हरूबाट सुरू भएको थिएन । ‘पृथ्वी प्रणाली’ विषयका वैज्ञानिकहरूले यसको थालनी गरेका थिए । त्यसैले भूगर्भविद्का लागि यो बहस बाहिरिया थियो । दोस्रो, यो प्राकृतिक सङ्कट मात्र नभई सामाजिक र आर्थिक सङ्कट पनि हो । एन्थ्रोपोसिन अवधारणका धेरै विरोधीहरूले आफ्नो सारा जीवन इन्धन वा खनिज कम्पनीहरूमा बिताएका थिए । धेरै भूगर्भविद्ले यिनै काम गर्ने हुनाले यथास्थितिमा परिवर्तन गर्ने कुरामा उनीहरू विमति जनाइहाल्छन् । एन्थ्रोपोसिन अवधारणामा पनि उनीहरूको यही आनाकानी देखिएको हो । साथै, सामाजिक परिवर्तन गर्नै हुन्न भन्ने राजनीतिक धारले पनि यसमा तगारो हाल्दै छ । त्यसैले ‘भूगर्भ सङ्घ’ को निर्णय अस्वाभाविक होइन ।
क्लाउदिया : राजनीतिमा यो निर्णयले केकस्ता प्रभाव छोड्ला ?
इयान एङ्गस : जलवायु परिवर्तन झूटो हो भन्नेहरूले यसलाई प्रयोग गर्लान् । तिनले भन्ने छन्, “ऊ हेर, भूगर्भविद्हरू तिमीहरूसँग सहमत छैनन् ।” तथ्य त के हो भने एन्थ्रोपोसिनको अवधारणालाई भूगर्भविद्हरूले औपचारिक नस्वीकारे पनि पृथ्वी विज्ञानको दुनियाँमा व्यापक रूपमा स्वीकार गरिएको छ । विज्ञानका अन्य क्षेत्रका साथै धेरै भूगर्भविद्ले पनि एन्थ्रोपोसिनको अवधारणालाई स्वीकारिसकेका छन् ।
क्लाउदिया : एन्थ्रोपोसिन कति बेला सुरू भयो भन्ने प्रश्नमै कुरा अल्झिएको छ । कतिपयले अलि व्यापक अर्थमा ‘पृथ्वी प्रणाली’ कृषि युगसँगै बदलिन थालेको तर्क गर्छन् । के यो तर्क सही हो ?
इयान एङ्गस : यो तर्कले कुनै प्रणालीमा हुने सामान्य परिवर्तन र गुणात्मक परिवर्तनबिचको भिन्नतालाई बेवास्ता गर्छ । मानव जातिले हजारौँ वर्षदेखि आफ्नो वातावरणमा परिवर्तन गर्दै आएको कुरामा शङ्का छैन । हामीले सत्तरी वर्षदेखि पृथ्वी प्रणालीमा जसरी उथलपुथल ल्याएका छौँ यस्तो परिवर्तन विगतमा कहिल्यै भएको थिएन । बा¥ह हजार वर्षदेखि पृथ्वी जुन लयमा थियो, त्यो बिथोलिएको छ ।
मेरो विचारमा (कृषि युगदेखि एन्थ्रोपोसिन सुरू भयो भन्ने) यी बुद्धिजीवीमध्ये धेरैले जलवायु परिवर्तन झूटो हो भन्दैनन् । तिनीहरू ‘हो, जलवायु परिवर्तन भइरहेको छ, तर प्रविधिले त्यसलाई सुल्झाइहाल्नेछ’ भन्छन् । तिनको मूल तर्क यस्तो छ – हामीले पहिले पनि पृथ्वीमा बदलाव ल्याएका थियौँ ! हामीले नयाँ–नयाँ काम गर्ने तरिका आविष्कार गरेका छौँ ! हामीले त्यो काम जारी राख्नेछौँ । एक हदसम्म तिनीहरूले (ग्रीस भाषाको ‘मान्छे’ बाट बन्ने) ‘एन्थ्रोपोसिन’ शब्द मात्र टिप्छन् र त्यो काम मान्छेले सुरूदेखि नै गर्दै आएका हुन् भन्छन् । नयाँ युग (पृथ्वीलाई नै बदल्ने) मानव समाजमा आएको आमूल परिवर्तनको परिणाम हो भन्ने विचार अस्वीकार गरेका छन् ।
क्लाउदिया : ‘एन्थ्रोपोसिनको सामना गर्दा’ पुस्तकमा यहाँले वायुमण्डलमा कार्बनको पुरानो भूमिकाको विषयमा स्पष्ट व्याख्या गर्नुभएको छ । साथै, मानव क्रियाकलापका कारण पछिल्ला दसकहरूमा कार्बनको भूमिकामा कस्तो परिवर्तन आएको छ भनी सविस्तार चर्चा गर्नुभएको छ । सारमा यसबारे बताइदिनुहुन्छ कि ?
इयान एङ्गस : (पृथ्वीको इतिहासमा) दुई अर्ब वर्षअघि जाने हो भने पटक–पटक पृथ्वीभरि बरफ जम्ने गरेको पाइन्छ । बिच–बिचमा पृथ्वीभरि उष्णता छाउने वा पृथ्वी तात्ने गरेको पाइन्छ । यी हेरफेर प्रकृतिले आफै गथ्र्यो । पृथ्वीको परिभ्रमण र अन्य तत्वले यी हेरफेर ल्याउँथे । विगत बीस–तीस वर्षयता वायुमण्डलमा कार्बन डाइअक्साइडको तहमा सीमित परिवर्तन मात्र आएको छ ।
कसैकसैले कार्बन डाइअक्साइडलाई हाम्रो थर्मोस्टाटको रूपमा पनि व्याख्या गरेका छन् । (थर्मोस्टाटले कुनै पनि मेसिनको तापक्रम स्थिर राख्छ । अनु.) यसलाई माथि सारे तातो हुने ! तल सारे चिसो हुने स्वीच जस्तो ठान्छन् । हामी कार्बन डाइअक्साइडको विगतको उतारचढाव हेर्न सक्छौँ । अन्टार्टिका र ग्रिनल्यान्डका बरफहरूमा यसको इतिहास संरक्षित छ । विगत हेर्दा कार्बन डाइअक्साइडको मात्रा तलमाथि हुनेबित्तिकै पृथ्वीको जलवायु फेरिएको पाइन्छ । यो बदलावको दायरा निकै थोरै हुन्थ्यो । सबैभन्दा पछिल्लो हिमयुग बा¥ह हजार वर्षअघि आएको थियो । पृथ्वीको इतिहासमा यसलाई छोटो समय मानिन्छ । पछिल्लो हिमयुगका दौरान वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा केही दशक अघिको भन्दा उति फरक थिएन । (वर्तमान) होलोसिन युग आउने बेला कार्बन डाइअक्साइडको अलिकति मात्र फेरबदल भएको थियो ।
पछिल्लो ११ हजार ७ सय वर्षमा पृथ्वीको जलवायु तुलनात्मक रूपमा स्थिर छ । सबै महान् मानव सभ्यता यही अवधिमा विकसित भएको थियो । खेतीपातीका लागि चाहिने न्यानो हावापानी यही अवधिमा थियो । हिमयुगको हिउँ पृथ्वीको केही भागमा मात्र सीमित थियो । जलवायुमा तलमाथि भयो तर अलिकति मात्र ।
बीसौँ शताब्दीमा आएर (र यसमा पनि पछिल्लो चालिस–पचास वर्षमा) वायुमण्डलमा कार्बन डाइअक्साइड ह्वात्तै बढ्यो । लामो समयसम्म वायुमण्डलमा जति कार्बन डाइअक्साइड थियो, त्यो दोब्बर भयो । यसका असर हामीले देख्न थालिसकेका छौँ । प्राकृतिक कारणले हावापानी जसरी फेरिन्थ्यो त्यो एकदम तीव्र बन्न थालेको छ । विगतमा लाखौँ वर्षमा हुने परिवर्तनहरू हिजोआज केही वर्ष वा दसकमै भइरहेका छन् ।
क्लाउदिया : केही मानिसले यो समस्यासँग लड्न मानव जातिले प्रविधि आविष्कार गर्ने तर्क राखिरहेको बताएका थिए । तर, एकतीस सदस्य देश तथा ते¥ह सहयोगी देश मिलेर बनेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले समेत त्यो तर्कमा विश्वास गर्दैन । सो एजेन्सीको भनाइमा विश्वव्यापी तापमान वृद्धि तथा अचाक्ली मौसम परिवर्तनलाई नियन्त्रण गर्न कार्बन सोस्ने प्रविधिहरू हात्तीको मुखमा जिरा साबित हुने देखिन्छ ।
इयान एङ्गस : त्यही त । पुँजीवादी विचार राख्ने एउटा कित्ता जस्तोसुकै समस्याको पनि कुनै न कुनै प्राविधिक उपचार हुने ठान्छ । कुनै प्राविधिक उपचार छैन भन्ने हो भने समाजमा नै कतै खोट खोज्नुपर्ने हुन्छ । वर्तमान समाजका पक्षपातीहरू यो कुरामा विश्वास गर्न चाहन्नन् ।
भोलि हामीले कार्बन सोस्ने प्रविधि आविष्कार नै ग¥यौँ रे । त्यसले चमत्कारी गतिमा वायुमण्डलबाट कार्बन डाइअक्साइड सोस्यो रे । त्यो अवस्थामा समेत पर्याप्त कार्बन सोस्न त्यो प्रविधिलाई सयौँ वर्ष लाग्न सक्छ । आज पनि सानो सङ्ख्यामा कार्बन सोस्ने परियोजनाहरू सञ्चालनमा छन् । तिनले वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाउँदै छन् । तर, त्यसको मात्रा भनेको केही सय गाडीले फाल्ने धुँवा बराबर मात्र छ । समस्याको जुन आकार छ त्यसमा ती प्रविधिले गर्ने सफाइ नगण्य हुन आउँछ ।
क्लाउदिया : यहाँनिर तपाईंले आफ्नो पुस्तकमा अघि सार्नुभएको पर्यावरणमैत्री समाजवाद (Ecosocialism) को विचारलाई जोडौँ । तपाईंले पुँजीवादविरोधी चिन्तनको इतिहासमा मेटाबोलिक फाटोको अवधारणामा जोड दिनुभयो । तपाईंको विचार निर्माणको सिलसिला के हो ? तपाईंका अग्रज को हुन् ? कोबाट प्रभावित हुनुभयो ?
इयान एङ्गस : सन् १९६० र १९७० को दशकमा म समाजवादी आन्दोलनमा होमिएको हुँ । त्यसबेला हामी समाजवादले सबै समस्याको हल दिनुपर्छ भन्थ्यौँ । जस्तो, आजभोलि पुँजीवादी विचार राख्नेहरूले प्रविधिले सबै समस्या हल गर्नेछ भन्दै छन् । त्यस्तै थियो हाम्रो सोचाइ । वातावरणीय मुद्दालाई ठुलो समस्या नै मानिन्थेन । तर, सबै समाजवादीहरू त्यस्तो नसोच्दा रहेछन् । जोन बेलमी फोस्टरको पुस्तक छ – प्रकृतिको घरफिर्ती : समाजवाद र पर्यावरण । त्यसमा कार्ल माक्र्सको पालादेखि २० औँ शताब्दीको अन्त्यसम्म यस क्षेत्रमा काम गर्ने परिवर्तनकारी वैज्ञानिकहरू रहेछन् भन्ने लेखिएको छ । ती वैज्ञानिकले यो समस्यालाई गम्भीरतापूर्वक हेर्दै आर्थिक तथा पर्यावरणीय परिवर्तन आपसमा जोडिएका र तिनलाई सगोलमै समाधान गर्नुपर्ने बताएका थिए । सन् १९८० को दशकपछि वातावरणीय विनाशमा ध्यान दिनुपर्छ भन्ने समाजवादी विचारकहरूको सङ्ख्या बढ्दै गयो । सुरूमा उनीहरूले विश्वव्यापी तापमान वृद्धिबारे कम बोल्थे । उनीहरू प्रदूषण, जैविक विविधतामा ¥हास र प्रकृतिको चरम दोहनमाथि जोड दिन्थे ।
क्लाउदिया : माक्र्सले आफ्नो रचनामा यसबारे केही बोल्नुभएको थियो कि ?
इयान एङ्गस : यसबारे माक्र्सवादले केही पनि भनेको छैन भनिन्थ्यो उतिबेला । मान्छेहरूले माक्र्सका तीन–चारवटा किताब मात्र पढ्ने हुनाले यस्तो सोच आएको होला भन्ने लाग्छ । तर, फ्रेडरिक एङ्गेल्सले जस्तै माक्र्सले पनि प्रशस्तै लेख्नुभएको छ । यो बहसमा मलाई औधी प्रभावित गर्न दुई अमेरिकी विद्वान छन् । एकजना त फोस्टर नै भए । उनी अरेगन विश्वविद्यालयका प्रोफेसर र ‘मन्थली रिभ्यू’ का सम्पादक हुन् । अर्का हुन् पाउल बर्केट । उनी इन्डिया राज्य विश्वविद्यालयमा प्राध्यापक थिए ।
दुवैले एकै समयमा अलग्गै अध्ययन गरेर दुइटा सशक्त पुस्तक प्रकाशित गरे । फोस्टरको ‘माक्र्सको पर्यावरण : भौतिकवाद र प्रकृति’ छापियो । बर्केटको ‘माक्र्स र प्रकृति : एक लाल र हरित कोण’ छापियो । यी किताबमा अरूले माक्र्सको बुझाइबारे के सोच्छन् भन्दा पनि माक्र्स आफैले साँच्चै के भन्नुभएको रहेछ भनी ती विद्वानले खोजबिन गरे ।
भुल्न नहुने कुरा के भने पर्यावरणबारे माक्र्सले के सोच्नुभएको थियो भनी जान्न मानिसहरू सोभियत सङ्घलाई हेर्छन् । तिनको बुझाइमा सोभियत सङ्घको सघन उत्पादन नीतिको प्रतिबिम्ब देखिन्छ । खासमा त्यो नीति पुँजीवादी देशहरूकै नक्कल जस्तो लाग्छ । वातावरणबारे सचेत मानिसहरूले त्यसलाई नियाले अनि पुँजीवाद र समाजवादमा कुनै भिन्नता नभएको निष्कर्ष निकाले । माक्र्सवादीहरूको समूह विशेषका क्रियाकलाप हेरेर माक्र्सवादलाई तिलाञ्जली दिइयो ।
बर्केट र फोस्टर दुवैले धेरै कोणबाट माक्र्सका रचनामा गहिरो पर्यावरणीय विश्लेषण छ भनी प्रस्ट पारे । त्यसबेला ‘पर्यावरण’ भन्ने शब्द बनेकै थिएन । माक्र्सले कतै पनि ‘म पर्यावरणवादी हुँ’ भनेर लेख्नुभएन ।
माक्र्स भौतिकवादी हुनुहुन्थ्यो । उहाँको सुरूवाती बिन्दु नै केही गर्नुअघि मान्छेले खानुपर्छ भन्ने सवाल थियो । हामीले खानुपर्छ, हामीले शारीरिक आवश्यकता पूरा गर्नुपर्छ । यसो गर्न हामीले उत्पादन गर्नुपर्छ र अर्थतन्त्रले नै मोटामोटी अर्थमा मानव जातिको रचना गर्छ । प्रकृतिसँगको हाम्रो अन्तक्र्रियाले यो सबै सम्भव हुन्छ । यी सबथोक माक्र्स र एङ्गेल्सका रचनामा पढ्न पाइन्छ । तर, मानिसहरू यतातिर हेरेनन् किनभने तिनले वातावरणीय मुद्दाबारे सोचिरहेका थिएनन् । फोस्टर, बुर्केट र पछि तिनकै बाटो हिँड्ने अन्य अध्येताले यतातिर हेरे ।
त्यो अनुसन्धानबाट पत्ता लागेको सबैभन्दा महत्वपूर्ण कुरा के भने माक्र्सले आफ्नो समयको सबैभन्दा नौलो विचार अर्थात ‘मेटाबोलिज्म’ को अवधारणाको भरपुर प्रयोग गर्नुभएको थियो । खासगरी फोस्टरले यसमा विशेष जोड दिए ।
सन् १८१५ मा यो शब्द जर्मनीमा पहिलोपल्ट देखापरेको थियो । जर्मन भाषामा मेटाबोलिज्मलाई यसलाई ‘स्टफवेक्सल’ भनियो । सन् १८४० को दशकतिर मेटाबोलिज्म विज्ञान जगतमा ठुलो विषय बन्यो । वैज्ञानिकहरूले जीवकोष पत्ता लगाए ! माटोले कसरी काम गर्छ भनी खोजबिन गरे । वैज्ञानिकहरूले चराचर जीवन ऊर्जा र पदार्थको नियमित लेनदेन एवम् अन्तक्र्रियामा निर्भर हुन्छ भनी महसुस गरे । प्रकृतिबाट पदार्थ र ऊर्जा नलिई लिएको पदार्थ र ऊर्जा अन्य रूपमा प्रकृतिमै नफर्काई जीवन सम्भव थिएन । यी प्रक्रिया एउटा चक्रजस्ता थिए । प्रकृतिले सबथोकलाई लगातार एउटा चक्रमा नघुमाई जीवन टिक्ने थिएन ।
क्लाउदिया : के माक्र्स यी बहस पढ्नुहुन्थ्यो ?
इयान एङ्गस : जीवनसम्बन्धी विज्ञानहरूको तीव्र विकास सन् १८४० र ५० को दशकमा भयो । त्यही बेला माक्र्स पनि लेखनीमै हुनुहुन्थ्यो । सम्भवतः उहाँले रोनाल्ड डेनियल्सबाट ‘मेटाबोलिज्म’ शब्द पाउनुभएको थियो । डेनियल्स कम्युनिस्ट थिए र उनले जर्मनीमा सन् १८४८ मा उर्लेको विद्रोहमा भाग लिएका थिए । डेनियल्स एक डाक्टर र वैज्ञानिक थिए । उनले ‘माइक्रोकोस्मोस’ नामक किताब लेखे । त्यो किताबमा मेटाबोलिज्मको अवधारणालाई समाजमा लागु गरिएको थियो । ‘मेटाबोलिज्म’ शब्दको प्रयोग नगरी माक्र्सले अघिबाटै यो अवधारणाको प्रयोग गर्दै आउनुभएको थियो । सन् १८५० को दशकमा माक्र्सले यस अवधारणालाई समाज र अर्थतन्त्रसम्बन्धी आफ्नो सामान्य विश्लेषणमा जोड्न थाल्नुभयो । सन् १८५० को दशक, आफ्नो कृति ‘ग्रुनड्रिसे’ र खासगरी ‘पुँजी’ लेख्दै गर्दाको सन् १८६० को दशकमा यसखाले रचना देखापरे ।
माक्र्स विशेषगरी जस्टस भोन लिबिगबाट प्रभावित हुनुहुन्थ्यो । लिबिग जर्मन रसायनविद् थिए । उनलाई जैविक रसायनशास्त्रका पिता पनि मानिन्छ । त्यतिबेला बेलायतका कृषिविद्हरूले एउटा समस्या भोग्दै थिए । कृषिको उत्पादकत्वमा ¥हास आइरहेको थियो । समस्याको जाँचबुझ गर्न उनीहरूले लिबिगलाई बोलाए । तिनीहरूसँग लिबिगले भने, “हामीले माटोका सबै पोषकतत्व बाहिर झिक्दै छौँ र त्यसलाई फिर्ता पठाइरहेका छैनौँ । तपाईं सधैँ भरि यस्तो गर्न सक्नुहुन्न । यहाँनिर मेटाबोलिज्म छ र यसलाई तपाईंले चालु राख्नुपर्छ ।” आफ्नो कृति ‘पुँजी’ कै काम गरिरहँदा सन् १८६० को दशकमा माक्र्सले ध्यान दिएर लिबिगका विचार पढ्नुभयो । त्यसपछि उहाँले एङ्गेल्सलाई पत्र लेख्नुभयो । पत्रमा उहाँले सबै अर्थविद्हरूबाट सिकेको भन्दा बढी कुरा लिबिगको विचार पढेर सिकेको बताउनुभयो ।
क्लाउदिया : आफ्ना कृतिमा उहाँले लिबिगको विचारलाई कसरी उपयोग गर्नुभयो त ?
इयान एङ्गस : उहाँले ‘सर्वव्यापी मेटाबोलिज्म छ’ भन्नुभयो । कृषिले मात्र होइन, समस्त चराचर प्रकृतिले यसरी नै काम गर्छ र कृषिमा जे देखियो त्यो त मेटाबोलिज्ममा फाटो आएको मात्र हो भन्नुभयो माक्र्सले । यसको अर्थ हामीले जति पोषक तत्व लिन्छौँ र जति फिर्ता दिन्छौँ, त्यसमा अन्तर आएको छ भन्नुभयो । प्रकृति जगतमा रूखबिरूवा उम्रन्छन्, मर्छन्, जीवजन्तुले रूखबिरूवा खान्छन्, मर्छन् र तिनको शरीर जमिनमा मिसिन्छ, जमिनले त्यसलाई फेरि अरू बोटबिरूवा उमार्न प्रयोग गर्छ । तर, कृषिकर्म औद्योगिक स्तरमा हुन थालेपछि यो चक्र चुँड्यो । खानालाई जहाजमा राखेर ठुल्ठुला सहरमा लगियो र पछि सबैको (छिल्का, दिसापिसाब आदि) नदीमा फालियो । यी सबै पोषक तत्व जमिनमा फर्किनुको साटो प्रदूषित नदी हुँदै समुद्रमा थुप्रियो ।
हिजोआज ‘मेटाबोलिक फाटोको सिद्धान्त’ कहलिएको अवधारणाको जन्म यसरी भएको थियो । यो सिद्धान्त भन्छ – पृथ्वीमा जीवन सम्भव बनाउने सामान्य चक्रहरू चुँड्नु वा बिथोलिनु नै हाम्रा धेरै वातावरणीय समस्याहरूको कारक हो । करोडौँ वर्षसम्म हामीले अक्सिजन लियौँ र कार्बन डाइअक्साइड फाल्यौँ । रूखबिरूवाले यसको ठीकविपरीत गरे । त्यो एकदम स्थिर चक्र थियो । तर, अहिले हामी प्राकृतिक प्रक्रियाहरूले सोस्न सक्ने भन्दा कैयौँ गुणा बढी कार्बन डाइअक्साइड प्रकृतितिरै ठेल्दै र पेल्दै छौँ । केही त बदलिनै पथ्र्यो । परिणाम, आज पृथ्वीको तापक्रम बढ्दै छ ।
(स्रोत : क्लाइमेट एन्ड क्यापिटलिज्म । सम्यक)