मैदानबाट ढोलीमारातर्फ बाईक गुडाउँदै गर्दा सिमसिमे पानी परिरहेको थियो। रनवीर भाइले मलाई बाईकमा बसालि गुडाउँदै थिए। अम्रिसो खेतीले बाँझो खोरिया हरियो बनाइरहेको देख्दा निकै आनन्द लाग्यो। रनवीर भाइले अम्रिसो खेतीबारे जानकारी गराइरहेका थिए।
हामी ढोलीमारा पुग्यौं। एकैछिन माया म्यामको दोकान अगाडि बाईक रोक्यौं। माया म्याम पनि मादले गुफासम्म हामीसँगै जाने हुनुभयो। वहाँले आफ्नो स्कुटी गुडाएर कहिले अघि कहिले पछि हुँदै जल्पा बजारबाट साकेनीतर्फ लाग्यौं।
साकेनी जाँदैगर्दा बाटोमा पर्ने जल्पा मन्दिरको अवलोकन गर्ने मौका मिल्यो। मन्दिर मास्थिर रहेको भलिवल खेल मैदान हुँदै साकेनीडाँडातर्फ हिड्दै गयौं। मलाई डाँडामा पुग्न उति जाँगर चलेको थिएन। रनवीर भाइले बल गरेपछि म उकालो चढें। शुरुमा डाँडामा जान हौसिएकी रीमाले साकेनीडाँडामा उक्लिन हिम्मत गर्नुभएन। वहाँ बीचैबाट ओरालो झर्नुभयो ।
ओके बाजेले पहिलोपटक हेलिकप्टर ओरालेको साकेनीडाँडामा पुग्यौं। त्यहाँ पुग्दा साकेनीका स्थानीयहरु हामी आउने थाह भएर अगाडि नै पुगिसकेका रहेछन्। डाँडाबाट चारैतिरका दृश्यहरु हेर्न पाइने रहेछ। तर धुँडी लागेका कारण तलको साकेनी गाउँ मात्र घुर्माइलो देखियो। माधव भाइले गाउँलाई देखाउँदै मादलेगुफा जान सकिने बताए।
माधवले डाँडामा सकेसम्म बिश्वकै ठूलो नेपालको झण्डा राखेर त्यहाँको पर्यटन प्रपर्द्धन गर्ने योजना सुनाए। डीवी दाईले वन, वातावरण र पर्यटनबारे स्थानीयहरुलाई अनुभव सुनाउनु भयो। त्यसपछि बाईकवालाहरु बाईक रोकेको स्थानतर्फ ओरालो लाग्यौं । माधव भाइ, डीवी दाइ, माया म्यामलगायत स्थानीयहरु उतैबाट मादलेगुफातर्फ ओरालो लागे। बेनु सर, हरि जी, रनवीर भाइ भएर हामी बाइकमा गाउँसम्म पुग्यौं। त्यसपछि हामी बारीको ढिक हुँदै मादले गुफा पुगिहाल्यौं।
गुफामा पुगेपछि मैले मोवाइलबाट फोटो खिचिहालेँ। मादले गुफाबारे केशव दाइले बताउनुभयो। गुफा छिर्नलाई सानो ढोका बनाइएको रहेछ। गुफामा छिर्न दुईवटा गेट रहेछन्। म र हरि जी माथिल्लो गेटबाट केशव दाइको ईशारामा गुफा छिर्यौं। हरि जीले गुफाभित्र रहेका आकृतिहरुमाथि नजर लगाउँदै हुनुहुन्थ्यो। मादले गुफामा मादल बजाउन पाईन्छ र भन्दै केशव दाइलाई सोधेँ। वहाँले मजाले बजाउन पाईन्छ भन्नुभयो। मैले मादल खोज्दै गुफा छिरेँ।
केशव दाइले, हामीलाई ईशारा लाउदै गुफाका कुनाकाप्चा छिराउनु भयो। गुफाको एउटा कुनामा मादल जस्तै बज्ने ढुङ्गा रहेछ। वहाँकै ईशारामा मादल भएको कप्चेरामा बल्ल बल्ल छिरें। दुई भाइले मादल बजाउँदै रेलै सलल भन्ने गीतमा भाका छोपेर गायौं । माया म्याम पनि गुफा छिर्नुभएको थियो। म्यामले बाहिरैबाट मोवाइलको लाइट बालेर गुफा छिर्न सघाउनु भयो। अनि वहाँलाई गुफा छिरेको भिडियो र फोटो खिच्न लगाएँ ।
करिब १ घण्टा जति गुफा भित्रभित्रै छिर्यौं। भित्र निकै उकुस मुकुस भएको थियो। तल्लो गेटबाट गुफा छिरेका बेनु सर, माधव, रनवीर, युवराज अनि स्थानीय पूर्णबहादुर सारु लगायत हामी छिरेको गेटतर्फ आउदै थिए। पूर्णबहादुर सारु, युवराज, माधव लगायत साथीहरु निस्किनु भयो। तर बेनु सर र रनवीर भाइले गुफाको एउटा कप्चेराबाट छिर्न नसक्दा करिब १५/२० मिनेट अलपत्र जस्तै पर्नुभयो। केशव दाइले उद्धारका लागि माथिकै गेटबाट वहाँहरु भएको कप्चेरा तर्फ जानुभयो। तर केशव दाइले पनि वहाँहरुलाई उद्धार गर्न सक्नु भएन। बाहिरै बस्नु भएका डीवी दाइभने बेनु सर बाहिर ननिस्किएकोमा छटपाइरहनु भएको थियो। ओठमा फिस्स हाँसो भएपनि अनुहारमा कुनै मुस्कान थिएन। बेनु सर गुफाभित्रै अड्किएको पीरले । रीमा त गुफामा छिर्नु नै भएन।
वहाँहरु दुईजनालाई उद्धार गर्न केशव दाइ तल्लो गेटबाट छिर्नुभयो। गुफा भित्र कुनै एक कप्चेरा बिराए त्यही भित्र अलाप्पिने अवस्था रहेछ। केशव दाइले बाटो देखाउन गुफाभित्र छिर्नु भयो। म पनि सँगसँगै छिरें। माथिल्लो गेटभन्दा साँघुरो रहेछ। म बल्ल बल्ल छिरें। म केहि पर पुगें तर अझ पर जाने आँट आएन। केशव दाइ गुफाको वारपार गरेका मान्छे सरसर्ती जानुभयो। अलिपर पुगेर वहाँहरुलाई ल्याउनु भयो। बेनु सर गुफाबाट बाहिरिए पछि मात्र डीवी दाइको ओंठामा रुन्चे मुस्कान देखियो। आफ्ना साथीलाई पर्दाको आपतमा मनमा कति चिसो पस्दो रहेछ भन्ने कुरा खास अनुभव सबैले गर्यौ त्यहाँ।
गुफाबाट बाहिर निस्केपछि मैले स्थानीय पूर्णबहादुर सारुसँग मादलेगुफाको बारेमा मोवाइलमा भिडियो रेकर्ड गरें। गुफाभित्र मादल जस्तै बज्ने भएकोले त्यसलाई मादले गुफा भनिएको रहेछ। उक्त गुफामा जोत्दै गरेको हल गोरु खसेपछि मात्र २०७६ साल तिर उक्त गुफाको पहिचान भएको रहेछ। उक्त गुफाको बारेमा स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समेत मुख्य चासो लिएर थप अनुसन्धान गर्न आवश्यक देखिन्छ। उक्त गुफालाई जल्पाको एकीकृत पर्यटन प्रवर्द्धनमा जोड्न सके त्यस क्षेत्रको पर्यटनमा थप बल पुग्ने देखियो।
गुफाको अवलोकन पछि पानको पातको आकारमा बनाइएको चौपारीलाई पृष्ठभूमी बनाएर सम्झना बिर्सना स्वरुप तस्विर खिच्यौं। त्यसपछि हामी अघि आएकै बाटो हुँदै गुफा छोड्यौं । माधवलगायतको समूह मुढाखर्क हुँदै जल्पा बजारतर्फ लागे।
माधवको घर अझ तल मुढाखर्क रहेछ। उनले "मेरो घर पसेर खाना खाएर जाउँला" भन्दै थिए। हतार भएकाले हामीले उनको आग्रहलाई निर्मम भएर अस्विकार गर्न बाध्य भयौं। तर मुढाखर्क हुदै जल्पा जाने रीमा, डीवी लगायत साथीहरुले भने माधव भाइको घरमा पसेर कागतीपानी खान भ्याउनु भएछ।
गुफाबाट गाउँ उक्लेपछि बेनु सरले माया म्यामलाई बाइकमा राखेर अगाडि बढ्नु भयो। म बिचमा अनि रनवीर पछाडि आउँदै थिए। माया म्यामले हामीलाई घरमा पसालेर घरमै बनाएको पुरी, आँपको अचार र मही खुवाउनु भयो । त्यसपछि हामी जल्पा बजारतर्फ लाग्यौं।
जल्पा बजार पुगेपछि मेरी भदैनी गौरीको याद आयो। उसको बिरकोट भर्सेबाट जल्पामा बिहे भएको थियो। यतै बजारतिरै हो भने, भदैनीलाई भेट्न भनेर मोवाइलमा उसको नम्वर हेरें । भेटिनँ। फेसबुक म्यासेन्जर खोलेँ। उनि अनलाइन थिइनन्। घरमा मायालाई फोन गरी उसको नम्वर मागेर फोन गरेँ। उसको घर जल्पा बजार, होइन रहेछ। तल्लो झेरुडी रहेछ। तर उनी घरमा भने रहेनछिन् । कामको शिलशिलामा बुटवल आएकी रहिछन्। प्यारी भदैनीलाई घरमै भेट्ने तिर्खा जल्पामै छोडें।
जल्पामा नास्ता खायौं । मैदानका मोहन सरको घरमा खाएको खानाले पचेकै थिएन। जल्पाको कान्छी दिदी (मिना डिस्वा) कहाँ माया म्यामले घरबाट ल्याउनु भएको रोटी, मटर र अण्डा नास्ता खाइयो । अण्डा भनेपछि म हुरुक्कै हुने। ३ वटा जति अण्डा कपाकप खाएँ। सायद कहिल्यै अण्डा खान नपाएको रहेछ भन्ने अनुभूति गराउने गरि।
साठीकोल, मैदान, ढोलीमारा र जल्पा बजारको घुमाईलाई विट मार्दै रनवीर, माया र माधवलाई जल्पाकै जिम्मा दिएर हामी त्यहाँबाट हिडियो । बुटवलबाट आएका मदन पोखराकी रीमा सोमैसहित ५ जनासँगै थियौं । बाटोको बिचबाटै डीवी दाईले बेसर्घातर्फ बाइक मोडाउनुभयो। मैले पनि "अव त नभुले हुन्थ्यो नि" भनेर खुनखुनाउँदै बाइक मोडें।
बेसर्घा पुगेपछि बेनु सरले मैले पढेको लसर्घा, फोटो खिच्न परो बेसर्घा भन्दै फोटो खिचाउन लगाउनु भयो मलाई। त्यसपछि कमलादेवी आधारभूत बिद्यालयको जिर्ण भवनलाई नजर लाइयो। हाम्रो केही उपाय थिएन त्यो बिद्यालयको उद्धार गर्न। तर बिद्यार्थीको जिवन भने निकै धरापमा रहेको महसुस भयो। सम्बन्धित निकायले अवस्य पनि ध्यान देला। त्यही स्कुल पल्तिर रहेछ पूर्वखोला गाउँपालिका वडा नं. ४ का वडा सदस्य तथा कार्यपालिका सदस्य रेवती घर्तीमगरको घर । हामीले वहाँलाई बाटैमा भट्यौं।
रेवती जीसंग केही छिनको भलाकुसारीपछि फेरि उकालो लाग्यौं । वडा नं. ४ को देवीनगर स्थित काफलडाँडासम्म हामी ५ जना सँगसँगै आयौं। हरि जी त्यतैबाट पाल्पाको रामपुर जाने योजना रहेछ। रीमा र मलाई त्यतै काफलडाडाँबाट विदा गरेर वहाँहरु देवीनगर हुँदै हुमिनतर्फ लाग्नु भयो । हिजोका बाँकी कुराकानी गर्दै अनि यात्राको केही समीक्षा गर्दै देवगीर, दमकडा हुँदै मदन पोखरा पुगेर रीमासँगको सहयात्रा टुंगियो । म फेरि एक्लै आफ्नै रफ्तारमा करिब ६ः३० बज्दा बुटवल झरें। पारि बुटवल पुगेपछि वर्कशपमा बाइकलाई सफाचट बनाइवरी झलुङ्गे पुलबाट केही काँक्रो किनेर घर पुग्दा साँझको करिव ७ः३० बजेको थियो । कञ्चन घरमा आइपुग्दा टिकुलीगढका मीना र पिपरीचापाकी सीता दिदीहरु पाहुना बनेर बस्नु भएका रहेछन् ।
यात्रा जीवनभरको साथी भयो । यात्रा नै जीवन रहेछ । जीवन नै यात्रा मानियो । यात्रामा सहभागी र भेटिएका सबैलाई सम्झिरहने छौं । यात्राको प्रवन्ध मिलाउनु हुने डीबी दाइप्रति कृतज्ञ छौं ।