युजिन डोयल
मे २३ गते आर्माविर काण्ड भयो । रुसको आणविक प्रतिरक्षा प्रणालीको एउटा मुख्य भाग नष्ट भयो । यसको अर्थ संसार एउटा घनघोर रातभित्र पस्दै छ । धेरै मान्छेलाई युक्रेन अथवा नेटोको दूरमारक ड्रोनले जर्जियाको उत्तरमा राखिएको आर्माविर राडार स्टेसनमा हमला गरेर भोरोनेज–डिएम राडार नस्ट गरेको थाहा पनि पाएका छैनन् । त्यो राडारले ६ हजार किलोमिटर परसम्म आइपुगेको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलको सूचना दिन सक्थ्यो । पछिल्ला केही सातामा यसप्रकारका तीन हमला भइसकेका छन् ।
यी हमलामा ताली पड्काउँदै समाचार संस्था ‘न्युजविक’ ले महान् सफलता भन्यो । यो हमलाका कारण रुसी जनता युद्धको बेला केही मिनेटअघि नै कान चनाखो पार्ने मौकाबाट वञ्चित भएका छन् । खासगरी दक्षिणबाट हुनसक्ने हमलामा रुसी जनता सतर्क हुन नसक्ने बनेका छन् । उनीहरूको त्यो हक लुटिएको छ ।
न्युजविकले लेख्यो, “नक्सा हेर्दा युक्रेनले रुसी आणविक सतर्कता केन्द्रहरूमा कीर्तिमानी हमला गरेको छ ।” हर्षमिश्रित उक्त रिपोर्टमा एउटा मुख्य मुद्दा भने छुट्यो ः रुसले आणविक हतियार हान्ने निर्णय नै नगरेको अवस्थामा उसको निर्णय क्षमतालाई अठ्याउनु के पागलपन होइन ? युक्रेनमा आणविक क्षमतासहितका एफ–१६ हतियारहरू पुगिसकेको अवस्थामा, संरा अमेरिका र उसका भरौटे देशहरूले आगामी केही दिन वा सातामा रुसमाथि नै मिसाइल हान्ने घोषणा गरिसकेको अवस्थामा सतर्कता केन्द्रहरू नस्ट गर्नु कति जायज होला ? इतिहासमा यसअघि आणविक शक्तिमाथि यसरी हमला भएको थिएन । शीतयुद्ध चरमचुलीमा पुग्दा समेत कुनै पनि पक्ष यति विवेकहीन बनेका थिएनन्, जति आज पश्चिमा देशहरू बन्दै छन् । हुल्याहाले जस्तै आज पश्चिमा देशहरू एक आणविक शक्तिसम्पन्न देशका हमलाको जनाउ दिने पूर्वाधार वा मिसाइल प्रहारस्थलमाथि प्रहार गर्दै छन् ।
रुसी जनतासँग बलियो मिसाइल जनाउ प्रणाली हुनु अत्यन्त आवश्यक छ । यसले सारा संसारलाई सुरक्षित बनाउँछ । अमेरिकीहरूसँग रुसीहरूसँग भन्दा उत्तम जनाउ प्रणाली छ । उनीहरूसँग चौबिसै घण्टा चल्ने र विश्वको जुन कुनाबाट प्रहार गरिने मिसाइलको जनाउ दिने सटिक भूउपग्रहहरू छन् । आर्माविरस्थित भोरोनेज–डिएम जस्ता भुइँमा तैनाथ प्रणालीले आफूमाथि प्रहार भएको मिसाइलले निश्चित उचाइ नलिँदासम्म पर्खिनुपर्ने हुन्छ । हमलाकारी मिसाइल आकाशमा पुगेपछि मात्र (पनडुब्बीको स्वरयन्त्र बजेजस्तो) राडारको पङ्खा घुम्न थाल्छ । अमेरिकी आणविक वैज्ञानिकहरूको अनुमानअनुसार आफूमाथि हमला भएपछि कुनै सैन्य वा राजनीतिक निर्णय लिनका लागि रुसीहरूले अमेरिकाको तुलनामा एकतिहाइ समयमात्र पाउँछन् । एक कप कफी मात्र पिउन मिल्ने समयभित्र रुसीहरूले आफ्ना महत्वपूर्ण गठ्ठाघर खाली गर्नुपर्ने हुन्छ । त्यो समयसीमाभित्र बाँच्ने चाँजो मिलाएपछि मात्र उनीहरूले जवाफ दिने तयारी गर्न सक्छन् ।
यसकारण, हालै रुसी राष्ट्रपति पुटिनले रुसको तयारीका लागि सबै आवश्यक निर्णय लिइसकेको र आदेश गइसकेको भनेर वक्तव्य जारी गरेका हुन् । यसको अर्थ समय कुर्नु नपर्ने निर्णय संरचना तयार भइसकेको छ र राजनीतिक नेतृत्वलाई सोधिरहनुपर्दैन । किनभने, हमला भइहाले फुर्सद हुनेछैन ।
के पुटिन फत्फताइरहेका हुन् ? जर्नेल हजेज र जर्नेल पेट्रेयसजस्ता अमेरिकी सैन्यविद्हरू यस्तै ठान्छन् । युक्रेन, इराक र अफगानिस्तानको युद्धमा पनि उनीहरूले यस्तै गल्ती गरेका थिए । यहाँनिर सम्झिनुपर्ने अर्का अमेरिकी जर्नेल मार्क मिले हुन् । मिले अमेरिकी सेनाको संयुक्त चीफ अफ स्टाफका अध्यक्ष हुन् । उनी ‘आणविक विरोधाभाष’ को कुरा गर्छन् । युक्रेनमा रुसीहरू जति–जति पराजयको मुखमा पुग्छन्, उति–उति आणविक जोखिम बढ्ने जर्नेल मिलेको धारणा छ । यहाँतिर सवाल उठ्छ – त्यसो भए के अमेरिकीहरूलाई आफ्नै चलखेलबारे हेक्का छैन ? के यी हिंसा र भड्काउपूर्ण क्रियाकलापका पछाडि कुनै उचित वा सुसङ्गत रणनीति छ ? कि उनीहरू भियतनाम, इराक वा अफगानिस्तानमा जस्तै अघि बढ्दै छन् ? राष्ट्रपति निर्वाचनभन्दा अगाडि नै मुख खोलेर भन्न नसकेर हार्छु भन्ने थाहा पाउँदा–पाउँदै पनि लड्दै त छैनन् ?
यसमा प्रस्ट हुन जरुरी छ । हामीले भनिरहेका पुरानै हतियार पनि निकै घातक छन् । अहिले युक्रेनमा जर्मन टोरस मिसाइल, फ्रान्सेली स्काल्प मिसाइल, बेलायती स्टोर्म मिसाइल र अनेकथरी अमेरिकी मिसाइलहरू छन् । यिनै हतियार पनि लाखौँ रुसीहरूको हत्या गर्न काफी छन् । त्यो त राम्रै हो भनेर कसैले भन्छ भने पनि एउटा प्रश्न खडा हुन्छ – ती मिसाइलको जवाफमा जर्मनी, फ्रान्स, बेलायत वा अमेरिकामाथि यसैप्रकारका मिसाइल प्रहार भए के होला ?
आज बिहान मैले रुसका सैन्य विश्लेषकहरूका कुरा सुनेँ । उनीहरू बेलायतको स्टोर्म मिसाइलले रुसी भूभागमा हमला गरे तुरुन्तै बेलायती सैन्य अखडाहरूमाथि प्रहार गर्नुको अपरिहार्यताबारे छलफल गर्दै थिए । राष्ट्रपति पुटिनले पनि रुसमाथि मिसाइल हमला भए तुरुन्तै प्रत्याक्रमण हुने चेतावनी दिइसकेका छन् । यी कुरा के पश्चिमा पर्यवेक्षकहरूले भनेजस्तो खोक्रा धाकधम्कीमात्र हुन् ? कि हामी सबैलाई खतरातिर धकेल्ने घटनाक्रम हुन् ?
युद्धमा तपाईँलाई शत्रुले गोली हाने के गर्नुहुन्छ ? जवाफी गोली हान्नुहुन्छ, होइन ? अमेरिकाले रुसमाथि मिसाइल हाने के होला ? तिनीहरूले सिधै मिसाइल हान्नेछन्, होइन ? त्यसो भए पश्चिमा देशहरूले किन रुसजस्तो आणविक हतियारसम्पन्न देशमाथि मिसाइल हान्न तयार भएका ? के आफूले मिसाइल हानेपछि जवाफी प्रहार हुनेछैन भनेर ढुक्क हुने ठाउँ छ ?
युद्ध मैदानमा युक्रेन हार्दै गएको र मुख्य गढहरू ढल्दै जाने जोखिममा पुगेको देखेपछि नेटोले रुसमाथि नै मिसाइल हान्ने निर्णय गरेको छ । पश्चिमा विश्लेषकहरू युक्रेनमा तालिम प्राप्त सैनिकहरूको अभाव भएको बताउँदै छन् । त्यसैले युक्रेनले अहिले नाम मात्रको तालिम लिएका औसत उमेर ४३ भएका सिपाही भर्ती गर्दै युद्धको मोर्चामा पठाउँदै छ । सिपाहीको अनुपात सात रुसी बराबर एक युक्रेनी छ भने गोलाबारुद दसको एक अनुपातमा छ । वायु सेना, मिसाइल, ट्याङ्क, ड्रोन र विद्युतीय युद्धकलामा युक्रेन रुसको अगाडि केही पनि होइन ।
आफ्नो युक्रेन नीति विफल हुन थालेकोले संरा अमेरिका जोरजबरजस्तीमा उत्रेको हो । आर्थिक प्रतिबन्धहरू लगाएरै रुसलाई घुँडा टेकाउने, खरबौँ डलरको हतियारको थुप्रो लगाउने, पूर्वी युक्रेन कब्जा गर्ने, सेभास्तोपोललाई नेटोको बन्दरगाहमा फेर्ने र मस्कोमा सत्ता परिवर्तन गराउने अमेरिकी योजना थियो । युद्धमा युक्रेन हारिरहेको हुनाले यी सबै योजनामा तुषारापात भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एफ–१६ जस्ता आणविक हतियार चलाउने आदेश नदिने र यसकारण तेस्रो विश्वयुद्ध छेड्ने गोली नचलाउने घोषणा गरेका थिए । तर, के त्यसमा परिवर्तन आएको हो ? हामी इतिहासमा विगतमा देखिएजस्तै उन्मादको स्थिति देख्दै छौँ । तर, यसपालि आणविक हतियार प्रयोग हुने सम्भावना पनि देखिन्छ ।
‘न्युयोर्क टाइम्स’ अमेरिकी रक्षामन्त्रालय पेन्टागनको मुखपत्र हो भन्दा हुन्छ । उसले लेख्यो, “अहिलेसम्म राष्ट्रपति बाइडेनले जस्तोसुकै उक्साहटको अवस्थामा पनि युक्रेनी सरहदबाहिर अमेरिकामा निर्मित हातहतियार प्रयोग गर्नबाट युक्रेनलाई रोकेका थिए । रुसी भूमिमाथि हमला भएको खण्डमा निर्वाचनमा आफूले दिएको ‘तेस्रो विश्वयुद्ध रोक्नेछु’ भन्ने वाचा तोडिने जोखिम रहेको उनले बताएका थिए ।”
न्युयोर्क टाइम्सले लेख्यो, “बाइडेनले आफैले कोरेको रातो रेखा पार गरे ।” एउटा आणविक शक्तिसम्पन्न देशमाथि मिसाइल हान्ने अनुमति दिने अमेरिकी इतिहासकै पहिलो नेता हुन् बाइडेन । उनले खार्किभको उत्तरमा केही निश्चित क्षेत्रसम्म हमला गर्ने आदेश दिएको खबर छ । लगत्तै जर्मनी, बेलायत र फ्रान्सका नेताले पनि उनकै शैलीमा बोले । उनीहरूले ‘युक्रेनीहरू’ ले रुसको कुनै पनि भूभागमाथि हमला गर्न सक्ने बताए ।
यी मिसाइल युक्रेनीहरूले नै हान्नेछन् भन्ने कथा झूटो हो भनी सैन्यविद्हरूले भनिसकेका छन् । जर्मन टोरस मिसाइल, फ्रान्सेली स्काल्प मिसाइल, बेलायती स्टोर्म मिसाइल र अन्य अमेरिकी मिसाइल प्रहार गर्नका लागि अत्यन्त सूक्ष्म निर्देशन तथा पर्यवेक्षण प्रणालीको आवश्यकता पर्छ । भूगोल मिलाउन, खतरा छल्न र तारो तय गर्नको लागि पश्चिम युरोप अथवा अमेरिकामा रहेका नियन्त्रण केन्द्र वा कमान्डसँग समन्वय गर्नुपर्ने हुन्छ । यी सबै काम ती देशका उच्च तालिम प्राप्त अधिकारीहरूले मात्र फत्ते गर्न सक्छन् । यस्तो स्थितिमा नेटो र रुसबिच युद्धको आगो बल्न सक्छ ।
पश्चिमा देशहरूले आफ्नै भूमिमा मिसाइल प्रहार हुनसक्ने गरी आगो कोरिरहेको विषयमा मिडियाले के भने ? केही समाचारका शीर्षक हेरौँ, ‘ओलम्पिकमा आशा जगाउने अन्तिम मौका’, ‘तीन नगरमा मेट्रो रेल पुग्नसक्ने’, ‘ताजा खबर : अस्ट्रेलिया भ्रमणप्रति उत्साहित मिडिया कुवेर रूपर्ट मर्डककी नयाँ पत्नी’, ‘सुपर रग्बी खेलमा बोनस दिनुको के अर्थ ?’, ‘२ हजार पाउन्ड कर वृद्धिले गर्दा चिसिए सांसद स्टार्मर’ आदि ।
कुरोको चुरो बुझ्नुभयो होला । मूलधारे मिडियाले हामीलाई गहिरो निद्रामा सुताउन चाहन्छ । तर, हामीलाई तथ्य, विश्लेषण र ढिलो हुनुभन्दा अगावै संवाद र कूटनीतिमाथि जोड चाहिएको छ । (बेलायती लेखक) जर्ज अर्वेलले यस्तो स्थितिबारे लेखेका थिए । दोस्रो विश्वयुद्ध हुनुभन्दा एक वर्षअघि नै ‘क्याटालोनिया पुग्दा’ शीर्षकको निबन्ध टुङ्ग्याउँदै यात्रा सकेर रेलमा लन्डन फर्केको दृश्य वर्णन गर्दै उनले लेखेका थिए, “यहाँ त्यही इङल्यान्ड छ । मैले बाल्यकालमा चिनेको इङल्यान्ड । जङ्गली फूल र फराकिला घाँसे मैदान चिर्दै बिछ्याइएको छ रेलमार्ग । घाँसे मैदानमा गजबका चम्किला घोडाहरू विचरण गर्दै छन्† घुमघाम गर्दै छन् । खोलानालाका छेउमा झुप्प परेका लहरेदार रुख छन्, पाखुरा फैलाइरहेका । गाउँले बारी र बगैँचाहरूमा निला फूल फुलिरहेछन् । त्यसपछि आउँछन् – बाहिरी लन्डनको विपत्तै शान्त वन, हिलाम्मे नदीमा तैरिरहेका नाउहरू, परिचित गल्ली, क्रिकेट खेल र शाही विवाहका विज्ञापनसितका पोस्टरहरू, खेलाडी टोपी लगाइरहेका मान्छेहरू । ट्राफलगार चोकमा देखिन्छन् परेवाहरू । देखिन्छन् राता बस, निला प्रहरीहरू । सबैजना सुतिरहेछन् बेलायतको गहिरो, औधि गहिरो निद्रा । कहिलेकाहीँ डर लाग्छ यो निद्रा देखेर । कतै बमबारीको गर्जन सुनेपछि मात्र हामी ब्युँझिने त होइन भनी कताकता डर लागेर आउँछ ।”
– ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक