कुनै पनि दल फुट्नु र जुट्नुमा आश्चर्य होइन । दलको सिद्धान्त र विचार नमिलेर या सिद्धान्त र विचारविपरीत काम भयो भने फुट्नु अस्वाभाविक होइन । तर, कुनै दल सत्ता, पद, पैसा र भागबन्डा मिलाउन फुट्यो भने त्यो विचारणीय छ । कति दलहरू दलको उद्देश्य र दलको विधानविपरीत लाग्दा फुटेका छन् । देशमा अधिकांश दल फुट्नुको कारण पद, पैसा र सत्तासित सम्बन्धित छ । यो राम्रो पक्ष होइन । मधेसकेन्द्रित दलहरू फुट्नुको कारण पनि सत्ता या पदसँग जोडिएको पाइन्छ । विगतदेखि हालसम्मको इतिहास हेर्दा देशमा सबभन्दा बढी विभाजित हुने या फुट्ने दलमा मधेसकेन्द्रित दलहरू रहेका छन् । मधेसकेन्द्रित दलले सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम, तराई मधेस फोरम, तमलोपा, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी जे नाम राखे पनि ती दलको उद्देश्य तराईका जनतालाई भ¥याङ बनाएर सरकारमा पुग्नु नै रहेको देखिन्छ† तराईका जनतालाई उत्पीडित बनाइराख्नु देखिन्छ ।
कुनै दल तराई या अरू कुनै जिल्लामा स्थापना गर्न सकिन्छ । दलको उद्देश्य र विचार व्यापक नेपाली जनताको हितमा हुनुपर्छ । मधेसी जनताको हित या स्वार्थमा मात्र दल खोल्नु सङ्कीर्ण विचार हो; त्यो क्षेत्रीय विचार हो । तराईमा खोलेका दलहरू मधेसकेन्द्रित भयो भन्ने जनगुनासो बढेपछि ती दलका नेताहरूले दलको नाउँ परिवर्तन गरेका हुन् । दलको नाम परिवर्तन गर्दैमा त्यो दल व्यापक जनताप्रति समर्पित हुन्छ या बहुमत जनताको सेवामा लाग्छ भन्ने कुरा भ्रम हो । मधेसकेन्द्रित ती दलका नेताहरू तराईका शोषितपीडित, उत्पीडित तथा मर्कामा परेका जनताको पक्षमा लागेनन् । त्यहाँका जनताले पुस्तौँदेखि खेत जोत्दै आए पनि जग्गामा उनीहरूको कुनै स्वामित्व छैन† उनीहरूलाई मोही हकबाट वञ्चित गरियो । द्वैधस्वामित्वको अन्त्य र कमैया मुक्त घोषणा त्यसको दृष्टान्त हो ।
तराईका शोषितपीडित जनता ‘बोक्सी’ को नाउँमा प्रताडित छन् । ‘बोक्सी’ ले दुःख दियो भन्दै दिसा खुवाउने, गाउँबाट निकाल्ने, आँगनमा बाँधी राख्ने, शारीरिक र मानसिक यातना दिने, अर्धनग्न बनाएर कुटपिट गर्ने काम अहिले पनि रोकेको छैन । जालीफटाहा, जमिनदारहरूकै कारण तराईका शोषितपीडित जनता अनेक मर्कामा छन् । मिटरब्याज पीडित त्यसको दृष्टान्त हो । नक्कली कागज बनाउने, लिइएको ऋण यथार्थभन्दा बढाउने काम पनि तराईमै बढी भएको देखिन्छ । त्यसको अर्थ त्यस्तो काम पहाडी क्षेत्रमा भएको छैन भन्ने होइन । श्रम शोषण पनि तराईमा बढी देखिएको छ । यस हिसाबले त्यहाँ खोलिएका अनेक नामका दलहरू तराई या मधेसी जनताको पक्षमा छैनन्† बरू ती दलका नेताहरू त्यहाँका जनतामाथि शोषण गर्छन्† दमन गर्छन् र दबाउँछन् । शोषक, सामन्त, जालीफटाहा, जमिनदार पुँजीपतिको विरोधमा तराईका जनता उठ्लान् र विरोध गर्लान् भनेर त्यहाँका जमिनदार र जालीफटाहाहरूलाई चिन्ता छ ।
संविधानसभाको निर्वाचनको बेला तराईमा खोलेका दलका नेताहरूले एक मधेस एक प्रदेश माग राखे । एक मधेस नभए देशै नहुने चुनौती दिने, राजधानीलाई नाकाबन्दी गर्ने र तराईका जिल्लाहरू टुक्राउने चेतावनी दिने मधेसी दलका नेताहरू हुन् । यो देशविरोधी नारा या माग हो । उनीहरूको अर्को माग भनेको जन्मको आधारमा विदेशीलाई पनि वंशजको आधारमा नेपाली नागरिकता दिनु हो । जन्मेको आधारमा विदेशीलाई पनि वंशजको आधारमा नेपाली नागरिकता दिएपछि देशको भविष्य के हुन्छ ? अहिले नै विचार गर्ने कि नगर्ने ? नेपाल–भारत खुला सीमा छ । हरेक दिन नेपाल–भारत सीमामा मानिसहरू ओहोरदोहोर भइरहन्छन्; व्यापार व्यवसाय गरिरहेका हुन्छन् । नेपालको सीमामा जोडेका भारतका प्रान्त या जिल्लाहरूमा करोडौँको जनसङ्ख्या छ । अहिले नै लाखौँ भारतीय नागरिकहरू नेपाली बनिसकेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । कति दलका नेता, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूसँग दुइटा नागरिकता छन्, कति उनीहरू भारतीय नागरिक हुन् । भारतीय नागरिकले एकपछि अर्को नेपाली नागरिकता पाएमा के भोलि नेपालीहरू अल्पमतमा पर्दैनन् ? त्यसबेला देशको स्थिति के होला ? के यो चिन्ताको विषय होइन ? वैशाख २६ गतेको अन्नपूर्ण पोस्टमा ‘सत्ताको लोभमा यसरी टुक्रिए मधेसका दलहरू’ शीर्षक दिएर सुरूदेखि हालसम्मको मधेसवादी दल टुक्रिएको विवरण नै दिइएको छ ।
मधेसवादी दल टुक्रिनुमा मधेसी जनताको सेवा गर्न होइन† देश र व्यापक जनताको सेवा गर्न होइन† यसको कारण सरकारमा सामेल भएर मन्त्री हुन, प्रदेशमा सरकारको नेतृत्व गर्न या भागबन्डा पाउन या दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न नै भएको देखिन्छ । यही कारण एक समय देशको चौथो ठुलो दल बनेको मधेसवादी दल अहिले दर्जनौँ दलमा विभाजित भएको छ र दलको स्थिति दयनीय बनेको छ । तराईलाई स्वायत्त राज्य बनाउने, हिन्दी भाषालाई क्षेत्रीय भाषा बनाउने, एक मधेस एक प्रदेश बनाउने, विदेशी नागरिकलाई पनि नेपाली नागरिक बनाउने मधेसकेन्द्रित दलहरूको मूल उद्देश्य भएको देखिन्छ । के त्यो उद्देश्य देश र व्यापक जनताको पक्षमा छ ? उनीहरूको त्यो उद्देश्यले देशलाई दूरगामी असर पु¥याउँछ । नेपालको अस्तित्व मेटाउने त्यो चालको के देशभक्त दल र जनताले विरोध गर्नुपर्दैन ?
देशका अरू ठुला दलझैँ मधेसकेन्द्रित दलका नेताहरू पनि सत्तालोलुप बनेका छन् । दल टुक्रा टुक्रा हुनुको पछाडि दलगत र व्यक्तिगत स्वार्थ रहेका छन् । दल खोल्नुको पछाडि तराईका पीडित जनताको आन्दोलन सेलाउन हो या सङ्गठित गर्न नदिन हो । कुनै पनि अवसरवादी नेताहरूले मधेसको मात्र होइन व्यापक जनताको हित खोज्दैनन्; हित चाहँदैनन् ।