अनुसा थापा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग समीकरण जोडेको दुई महिना बितिसकेको छ । अब तेस्रो महिना शुरु हुँदै छ । यो बीचमा सदनबाट एउटा पनि विधेयक पारित भएन् । न प्रधानमन्त्री प्रचण्डले केही काम गर्न सके न मन्त्रीहरुले । दुई महिना यत्तिकै खेर गयो ।
देशको प्रधानमन्त्रीलाई समयको कुनै महत्व नै छैन् । एउटै व्यक्तिसँग तीन घण्टा गफ ठोकेर बस्छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा गफिएर बस्नुभन्दा जनता र राष्ट्रको हितमा कुनै निर्णय गरेको भए हुन्थ्यो । रवि लामिछानेले गृहमन्त्रीको शपथ खानेबित्तिकै भनेका थिए,‘मैले खल्तीमा राजीनामा बोकिसकेको छु । काम गर्न सकिन भने म राजीनामा दिन्छु ।’
आफूसँग नाम जोडिएका जीबी राईलाई समेत उनले पक्राउ गर्न सकेनन् । सहकारीको ठगीको आरोप लागेका राईविरुद्ध इन्टरपोलबाट नोटिस् जारी हुँदासमेत समात्न सकिएको छैन् । जसका कारण लामिछानेमाथि प्रश्न उठेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि यो पटक कुनै काम गर्लान्जस्तो देखिँदैन् ।
दोस्रो पटक सोही मन्त्रालयको जिम्मा पाएका उनले न सिण्डिकेट हटाउन चासो देखाएका छन् न ट्याक्सी, फो स्टक टेम्पो र ढुवानी गाडीको । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको के कुरा गर्नु ? सहकारीमा व्यापक समस्या देखिँदा पनि उनलाई ‘हाइसञ्चो’ छ ।
सहकारीले करोडौं बचतकर्ताको खर्बौं रुपैयाँ खाइदिएको छ । तर, उनलाई मतलब नै छैन् । सहकारीमा देखिएको समस्या कसरी समाधान गर्ने ? बचतकर्ताको पैसा फिर्ता दिन पहल गर्ने, सहकारी सञ्चालकहरुलाई कारबाही गर्नेतिर उनको ध्यानै छैन् । बचतकर्ता पीडामा छन्, उनीचाँहि रमिता हेरेर बसेका छन् ।
यता, देशभरको सरकारी, सार्वजनिक, गुठी, तालपोखरी, मठमन्दिरलगायतको जग्गा संरक्षण गर्न पनि मन्त्रालय चुकेको छ । सरकारी सम्पत्ति सबै व्यक्तिहरुले आफ्नो नाममा लगिसके, सरकार रित्तै । त्यस्तालाई कानुनको दायरामा ल्याउनुको साटो मन्त्री मौनता साँधेर बसेका छन् ।
वर्तमान अर्थमन्त्रीमा वर्षमान पुन छन् । उनी आएपछि राजश्व उठ्नमा झनै कमी आएको बताइन्छ । सेयर बजार डामाडोल छ । बजारलाई आर्थिक मन्दीले छपक्कै छोपेको छ । सबै क्षेत्रमा मन्दी छ । घरजग्गा, सेयर र गाडीको कारोबार ठप्पजस्तै छ भन्दापनि कुनै फरक नपर्ला ।
यता, व्यापारीहरु व्यापार नै छैन् भन्छन् । पसल खोल्नु मात्र भएको व्यापारीहरुको गुनासो छ । व्यापारिक मलहरुमा पनि पहिलेजस्तो व्यापार छैन् । सटरबाहिर जताततै टु–लेट लेखिएको व्यानरहरु देखिन्छ । यता, कोठा र फ्ल्याट खाली हुने क्रम बढ्दो छ । बैंकबाट कर्जा लिने कोही छैन् ।
यता, बचतकर्ताले बैंकमा भएको आफ्नो पैसा निकालेर घरमा लुकाउन थालेका छन् । जसका कारण बजारमा पाँच सय र हजारको नोटको अभाव भएको छ । बैंकहरु घाटामा गएको खबरहरु बाहिरिरहेको छ । सेयर होल्डरहरुलाई बोनस दिन नसकेको पनि आइरहेको छ ।
सेयर होल्डर सेयर बेच्न तातिएका छन् तर कसले किन्ने ? सेयर बिक्रकिो सूचना निकाल्ने काम मात्रै भइरहेको छ । मन्दी झनझन् गहिरिँदै गएको छ । मालपोत र यातायात कार्यालय सुनसान छ । घरजग्गाको किनबेच शून्यजस्तै छ । गाडीको हालत पनि उस्तै । सेयरको मूल्य पनि निरन्तर ओरालो लागिरहेको छ ।
बैैंकबाट ऋण लिनेहरुले धितो खानु भनेर हात उठाइसकेका छन् । आफूहरु ऋण दिन असमर्थ रहेको भन्दै उनीहरुले हात उठाएका हुन् । निजी संघसंस्थामा कार्यरत कर्मचारीहरुले महिनौंदेखि तलब पाएका छैनन् । जता हेर्यो समस्यै समस्या छ । समाधान गर्ने सोच कसैसँग पनि छैन् ।
देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । जनतालाई खानै धौ धौ परेको अवस्था छ । बिहान खाए, बेलुका के खाने ? भन्ने चिन्ताले आम सर्वसाधारणलाई पिरोल्ने गरेको छ । काम नपाउँदा विदेशिने युवाको संख्या बढ्दो छ । सरकारी खर्च धान्न विदेशी ऋणकै भर पर्नुपर्ने अवस्था छ ।
सहकारीले पैसा खाइदिएर करोडौं बचतकर्ता सुकुमबासी बनेका छन् । देश समस्याले जकडिसकेको छ तर प्रधानमन्त्रीलाई वास्तै छैन् । बस् आफ्नो कुर्सी बचाउन पाए भयो । उनी न आफूले सकिन् भनेर मार्ग प्रशस्त गरिदिन्छन् न काम नै गर्छन् । अनि यस्तो पाराले कसरी हुन्छ ?
जनताले तिरेको करबाट सांसदहरुले तलबभत्ता खाइरहेका छन्, सेवासुविधा लिइरहेका छन् । तर, सांसदले कामचाँहि के गरेका छन् ? सांसदहरुको तलबभत्ता र सेवासुविधाको नाममा महिनौं अर्बौं रुपैयाँ खर्च हुन्छ । यद्यपि, प्रगति केही छैन् । राज्यको ढुकुटी सोत्तर बनाउने काम मात्रै भइरहेको छ ।
माधव नेपाल, रवि लामिछाने, उपेन्द्र यादव, प्रचण्ड र केपी ओलीले देशलाई खाल्डोमा लगेर हालिदिए । संघ भताभुङ्ग छ, प्रदेश सरकार लथालिङ्ग । प्रदेशमा सरकार गठन हुन सकेको छैन् । केन्द्र स्तरको किचलोले गर्दा प्रदेशमा पनि कुनै प्रगति हुन सकेको छैन् । काँग्रेस र राप्रपा पनि त्यस्तै भयो ।
न सदन अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग्न सक्छ न सडक तताउन नै । सरकारले जे सुकै गरोस्, टुलुटुलु रमिता हेरेर बस्छ । यही अवस्था रह्यो भने देशको अवस्था झनै नाजुक हुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको सरकारलाई बर्खास्त गर्न सक्दैनन् । सदन अवरोध हुन्छ भन्ने डरले सदन नै बन्द गरेर राखिएको छ ।
देश दलदलमा फसिसकेको छ, अब कसरी बाहिर निकाल्ने ? सबै ढोका बन्द छ, बाहिर निस्किने ठाउँ नै छैन् । राजाले शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनेर पदबाट बर्खास्त गरेको थियो । देशको प्रमुख राष्ट्रपति हुन्छन् । तर, हाम्रो देशको राष्ट्रपतिलाई कुनै मतलब नै छैन् ।
देशलाई कसरी उकास्ने ? भनेर राष्ट्रपतिले सबै राजनीतिक दलका नेता र कानुनविद्सँग छलफल गर्नुपर्ने हो । तर, उनले चासो दिएका छैनन् । राष्ट्रपति पौडेलले वैशाख २८ गते दुवै संसदको अधिवेशन आह्वान गरेका छन् । काँग्रेसले सदन चल्न नदिने घोषणा गरिसकेको छ ।
यसपटक पनि एउटा पनि विधेयक पारित हुँदैन् । पाँच वर्षको अवधि त्यतिकै सकिन्छ । निर्वाचन भएको १७ महिनामा बल्लतल्ल चार वटा विधेयक पारित भयो । यता, तलबभत्तामा चाँहि जनताले तिरेको खर्बौं रुपैयाँ कर खर्च भयो । जनताले दिनभर लाइन बसेर, घण्टौं हिँडेर मतदान गरे ।
निर्वाचन गर्दा पनि जनताले तिरेको अर्बौ रुपैयाँ खर्च भयो । तर, प्रगति के ? खर्च भइसकेको छ, उपलब्धि केही छैन् । सरकारको पारा देखेर जनता आजित भइसकेका छन् । वर्तमान प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादीलाई जनताले पत्याएको होइन् । जम्मा ३२ सीट प्राप्त पार्टीका अध्यक्षले जोडजाड गरेर प्रधानमन्त्री खाइरहेका छन् ।
आएदेखि उथलपुथल गर्छु भन्दै हिँडेका उनको भनाइ जनताले बल्ल बुझेका छन् । देशलाई लगेर खाल्डोमा हाल्नु नै उथलपुथल गर्छुको अर्थ रहेछ । जनताले काँग्रेसलाई देश चला भनेको तर जालझेल गरेर ३२ सीटेले प्रधानमन्त्री खाएको । यो सरकारलाई हटाउन आवश्यक देखिसकेको छ ।
किन कि देश बर्बादीको बाटोमा गइसकेको छ । काँग्रेसले कि हामी सरकार चलाउन सक्दैनौं त्यसैले ३२ सीटेलाई दिएको भन्नुपर्यो । कि त मैदानमा उत्रिनुपर्यो । रमिता हेरेर बस् भनेर जनताले भोट दिएका त होइनन् । विगतमा माओवादी सांसदले संसदमा टेबुल फुटायो, बजेट भाषणको सुटकेश नै लुट्यो ।
एमालेले सांसदले ९ महिना संसद अवरुद्ध गर्यो । विपक्षी दलका सांसद केही गर्नै सक्दैनन् । काँग्रेस, राप्रपालगायत दलका सांसदसँग बोल्ने हिम्मत पनि नभएकै हो ?