का. रोहित
पहिलो भ्रमण
असोज १०–२६, २०४८ (26 Sept. – 12 Oct., 1991)
राष्ट्रिय अर्थतन्त्रको विश्वविद्यालय
दिउँसो खाना खाइसकेपछि कार्यक्रमअनुसार हामी राष्ट्रिय अर्थतन्त्रको विश्वविद्यालय हेर्न गयौँ । ४ वर्षे, २ वर्षे र ६ महिने पाठ्यक्रमको बन्दोबस्त भएको यस विश्वविद्यालयको स्थापना १ जुलाई १९४६ मा भएको थियो । स्नातकोत्तर छात्रछात्राहरूको एकमहिने तालिम समेत भएको यस विश्वविद्यालयको मुख्य उद्देश्य राज्य र आर्थिक व्यवस्थापनका कार्यकर्ताहरू तयार पार्नु हो ।
राज्य र अर्थतन्त्रको व्यवस्था, औद्योगिक प्रशासन, कृषि प्रशासन, योजना, तथ्याङ्क, कानुन, व्यवसायिक, प्रशासन, व्यापार, आर्थिक वा वित्तीय, मौद्रिक आदि विभिन्न विषयका फरक फरक विभाग र पाठ्यक्रमको अध्ययन यस विश्वविद्यालयमा हुन्छ । राज्य र अर्थतन्त्रको विषयमा अध्ययनको निम्ति यस विश्वविद्यालयमा कम्प्युटर र अन्य अत्याधुनिक साधनहरूको राम्रो बन्दोबस्त छ ।
१५०० विद्यार्थीहरू अध्ययन गर्ने यस विश्वविद्यालयमा माथिका विभिन्न विषयमा अनुसन्धान र अन्वेषणको पनि बन्दोबस्त छ, छात्रावास, भान्छाकोठा, पुस्तकालय र अध्ययनको अवधिसम्म राज्यबाट खर्चको समेत बन्दोबस्त गरिएको छ । वास्तवमा यो राष्ट्रिय अर्थतन्त्रको जगलाई बलियो बनाउन भौतिक र प्राविधिक शक्ति तयार गर्ने ठाउँ हो ।
मजदुर र व्यवस्थापकहरूको हितको बन्दोबस्त, उत्पादकहरूले व्यवस्थापनमा पनि प्रवेश पाउने, सामूहिक निर्देशन, पार्टी सदस्य, मजदुर व्यवस्थापन, प्राविधिकहरूसमेत भएको समितिले निर्देशन गर्ने, उत्पादकहरूको इच्छा र मागहरूलाई समेत ध्यान दिएर पार्टी समितिले निर्णय गर्ने बन्दोबस्तलाई कोरियाली भाषामा ट्यान पद्धति भनिन्छ । १९६१ को डिसेम्बरमा सबभन्दा पहिले कारखानामा लागु गरिएको एक आदर्श पद्धतिबारे यहाँ अध्ययन, अनुसन्धान र लागु गर्न प्रोत्साहित गर्छ ।
यस विश्वविद्यालयका विभिन्न कोठाहरू र स्थलहरूको अध्ययन गर्दा बजेट बनाउने प्रणाली, योजना आयोग, उद्योग, कृषि र अन्य अर्थ र आर्थिक मन्त्रालयहरूसमेत एउटै क्षेत्रमा गाँसिएको र हाम्रो धेरै फरक अनुभव भयो । हुनसक्छ, एउटा पद्धतिबारे मात्रै जानकारी भएको हुँदा नयाँ पद्धतिबारेको जानकारी अलि जटिल जस्तो लागेको पनि हुनसक्छ ।
प्रजग कोरियाको योजना आयोगको अध्यक्ष उपप्रधानमन्त्री हुन्छ अनि अर्थमन्त्री र अन्य मन्त्रालयका मन्त्रीहरू त्यसमा समावेश हुन्छन् । तर, अन्तमा स्थानीय वा केन्द्रीय स्तरको योजनामा पार्टीको निर्देशन र नियन्त्रण हुन्छ ।
उद्योग, खानी, विद्युत्, रेल्वे, यातायात र मेसिनरी उद्योगबाट देशको अर्थतन्त्रमा ८० प्रतिशतको योगदान छ भने कृषिको २० प्रतिशतमात्रै ।
कक्षा र प्रदर्शन कक्षहरू विभिन्न विभागका सा¥है आकर्षक र दर्शनीय छन् । धान, मकै, आलु, जौ, गहुँ, फलफुल, रेशम आदि कोरियाको मुख्य कृषि उत्पादन मानिन्छ । कृषिको निम्ति सिँचाइलाई नै प्राथमिकता दिइएको देखिन्छ । देखाइएको चित्र, नक्सा र ठुलठुला मोडेलहरूबाट के थाहा हुन्छ भने साधारण पानी पोखरी, नहर, बाँधबाहेक जमिनमुनि, पहाडमा पानी पोखरी बनाउने र त्यहाँबाट फेरि वितरण गर्नेजस्ता अनेक प्रकारका सिँचाइका प्रविधिहरू प्रयोग गरिएका छन् । आँधी आउने ठाउँमा बिरुवा स–साना हुने बालीमा जोड दिने, माटो र हावापानीअनुसारको बाली लगाउने र वैज्ञानिक खेतीमा जोड दिइन्छ । फलफुलमा त्यहाँ स्याउ, अङ्गुर, नासपाती, खुर्पानी, हलुवाबेद, आरु आदि छन् ।
उद्योगको कक्षमा जाँदा सबैजसो चार्ट, तथ्य तथ्याङ्क र रिपोर्टहरू आधुनिक वा विभिन्न किसिमका कम्प्युटर र रिमोट कन्ट्रोलले दिइरहेका थिए । सैद्धान्तिक शिक्षालाई व्यवहारिक शिक्षासँग जोड्न अर्थात् शिक्षार्थीहरूलाई कारखानामै पठाएर काम गर्न पठाउने, अभ्यास र फेरि व्यवहारिक काममा लगाउँदै दक्ष आर्थिक कार्यकर्ता बनाउनु नै यस विद्यालयको उद्देश्य देखिन्छ ।
त्यहाँका निर्देशकहरूको भनाइअनुसार का. किम इल सङ त्यस विश्वविद्यालयमा २० पटक पुग्नुभयो र प्रिय नेता का. किम जोङ इल ७ पटक पुग्नुभयो ।
यस विद्यालयको भ्रमण र जानकारीबाट हाम्रो देशमा पढाइने अर्थशास्त्र र आर्थिक प्रशासनमा धेरै फरक भएको अनुभव मैले गरेँ ।
का. किम इल सङबाट उपहार
त्यसै साँझ कोरियाली कामरेडहरूले का. किम इल सङको तर्फबाट एक सुन्दर सेरामिकको फूलदान र उहाँसँग खिचाइएको एक फोटो पनि उपहारको रूपमा प्राप्त गरेँ । सेरामिक प्रविधिमा कोरियाली जनताको लामो इतिहास र अनुभव छ । त्यस सेरामिकका सामानले मेरो ध्यान आफ्नै देशमा पुग्यो ।
हाम्रो देशमा केही पश्चिमेली मित्रराष्ट्रका संस्थाहरूले सेरामिकको कारखाना निर्माणमा सघाए । तर, हाम्रा कामदारहरूलाई आफ्नो सामानको गुण वृद्धि गराउन र आवश्यक रङ्ग र प्रविधि भने प्रदान गरेनन् ।
मालसामानको भाउ
त्यसै दिन हामी बजार पनि हेर्न गएका थियौँ । डलरसँग कोरियाली पैसा साटिन्छ तर डलरको हिसाबले हेर्दा हामीलाई महँगो अनुभव हुन्छ । कोरियाजस्तै संरा अमेरिकी साम्राज्यवादविरोधी देशमा समेत डलरको साम्राज्य देख्दा अचम्मै लाग्यो । हो, १९५० पछिको अर्थात् कोरियामा आक्रमण गरेको बेलादेखिको डलर भने त्यहाँ स्वीकारिन्न ।
खाद्य सामग्री घर–घरमा पु¥याउने बन्दोबस्त हुँदा त्यहाँको बजार भाउको ठीक ठीक अन्दाज गर्न हामीलाई गा¥हो भयो । तर, २–४ दिनसम्म दोभाषे र अन्य कोरियाली मित्रहरूसँग पटकपटक सोधेर वा केही पसलमा सोधेर सामानको मूल्य टिपेँ । ती सामान र परिणामको सालाखाला मूल्यसूची यसप्रकार छ–
१ किलो चामलको कोरियाली पैसा – ०.८
१ सीसी बियरको कोरियाली पैसा – १.२०
१ बट्टा माछाको कोरियाली पैसा – १.४०
१ बट्टा फलफुलको कोरियाली पैसा – १.८०
१ सीसी रातो रक्सीको कोरियाली पैसा – १.५०
१ सीसी फलफुलको रसको कोरियाली पैसा – १.५०
१ साधारण गम बूट एकजोरको कोरियाली पैसा – २.८०
१ वटा फूटबलको कोरियाली पैसा – १८
१ बट्टा सलाईको कोरियाली पैसा – ०.५
१ बट्टा चुरोटको कोरियाली पैसा – १.३०
(नोट : सटही दर २ कोरियाली रुपिया (वन) बराबर १ अमेरिकी डलर हुन्छ । त्यस हिसाबले १ कोरियाली रुपियाँ (वन) को सालाखाला हाम्रो ने. रु. २५।– पर्छ ।)
कोरियामा खानेकुरा र लुगाफाटो सबै सरकारले वितरण गर्ने, शिक्षा र उपचार निःशुल्क हुने, घर सरकारले नै दिने र एक–दुई रूपैयाँ मात्रै बहाल लिने बन्दोबस्त आदिले बजार भाउ र तिनीहरूको तलबले जीवनस्तरको तुलना सजिलैसँग गर्न गा¥हो भएको अनुभव गरेँ ।
राष्ट्रपति किम इल सङको जन्मस्थानमा (२४ असोज, ०४८/10 Oct 1991)
बिहान हामी राष्ट्रपति किम इल सङको जन्मथलो म्याङयोन्दे गयौँ । हामी बसेको कोरियो होटलबाट दक्षिण पश्चिम कुनामा पर्ने म्याङयोन्देलाई पहिलेदेखि रमणीय दृश्य देखिने ठाउँ भनिन्थ्यो । तायडोङ नदी र सुनह्वा नदीको किनारमा रहेको शान्त ठाउँ हो ।
अहिले त्यो ठाउँ एक प्रदर्शनी स्थलको रूपमा विकास गरिएको छ । किम इल सङका हजुर बा र हजुर आमा बस्ने कोठा, भान्छा घर, गर्मीमा बस्ने घर र उहाँको बुबा बस्ने कोठालाई पहिले जस्तै परालको छाना, इँट र माटोले बनाइएको गाउँले घर सुरक्षित राखिएको छ ।
त्यहाँ निर्देशकहरूले हामीलाई हजुर बाले प्रयोग गर्नुभएको हलो, कोदाली र अन्य खेतीका ज्यावलहरू, लेख्ने कन्तुर, हजुर बा–बज्यै, आमा, बुबा र काकाहरूका फोटोहरूसमेत देखाए । धागो काट्ने चर्खा, फेलु र तान अनि चाउचाउ बनाउने सामान र भान्छाका अन्य सामानहरू, गुन्द्री, चटाई, घरको काममा प्रयोग गरिने घ्याम्पो, हजुर बाले रोप्नुभएको सुर्ती आदि राम्रोसँग प्रदर्शित थिए ।
किम इल सङको परिवार गरिब किसानवर्गमै पर्दथ्यो भन्ने कुरा प्रस्ट थियो । त्यसपछि निर्देशकले म्याङयोन्दे पहाडमा लगी हामीलाई सानोमा किम इल सङ खेल्ने, कुस्ती खेल्ने, पढ्ने र रमाइलो गर्ने ठाउँहरू पनि देखाए । साथै अमेरिकीहरूले हमला गर्दा किम इल सङका हजुर बाले सबै गाउँलेहरूलाई जम्मा पारी आक्रामकहरूलाई भगाएको कथा सुनाए । गरिब भए पनि किम परिवार पहिलेदेखि देशभक्त परिवार हुन् भन्ने उनले बताए ।
आज म्याङयोन्दे कोरियाको एक दर्शनीय र पवित्र स्थलको रूपमा लिइन्छ । त्यहाँ दिनमा सयौँ र हजारौँ देशी र विदेशी दर्शकहरू, क्रान्तिकारीहरू र देशभक्तहरू आउँछन् तथा किम इल सङको बाल्यकाल र परिवारबारे जानकारी लिन्छन् । कति आगन्तुकहरू एउटा गरिब परिवारमा जन्मेको व्यक्तिले पनि देश र जनताको निम्ति ठुलो योगदान गर्न सक्छ भन्ने उत्साह लिएर जान्छन् भने कति मानिसहरू त्यहाँको सुरम्य वातावरण र प्रदर्शनीको कुरा सुनेर श्रद्धाले शिर झुकाउँदै गम्भीर भएर फर्कन्छन् ।
हामीले निर्देशकहरूलाई का. किम इल सङ र उहाँका परिवारबारे जानकारी दिएर मद्दत गरेकोमा धन्यवाद दियौँ । बडो विनम्र भएर निर्देशकहरूले फेरि आउनु होला भनेर बिदा दिए ।
केटाकेटीहरूको मनोरञ्जन स्थल
राष्ट्रपतिको जन्मस्थानबाट बिदा भएर हामी केटाकेटीहरूको मनोरञ्जन गर्ने ठाउँ अर्थात् ‘फन फेर’ (स्थायी रमाइलो मेला) हेर्न गयौँ । (तर, नेपालमा यस्तो कुनै मनोरञ्जन स्थल बनिसकेको छैन । गएको साल एक इटालियन कम्पनीले भक्तपुरमा बनाउने कुरो भएको थियो तर त्यो अहिले सुन्नमा आएको छैन ।) घुम्ने पिङ, घोडा गाडी, रेल, पूरै तल माथि घोप्ट्याउने रेल, डोरी गाडी आदि हेर्यौँ । यो त एक प्रकारको केटाकेटीको मेला लाग्ने ठाउँ हो ।
भनिन्छ, दिनको एक लाखसम्म केटाकेटी खेल्न आउँछन् । यस मनोरञ्जन स्थलमा हामीले केटाकेटीमात्रै होइन देश–विदेशका धेरै धेरै प्रौढ मानिसहरूले पनि मनोरञ्जन गरेको देख्यौँ ।
त्यसको एक छेउमा गएर हेर्दा सूर्यविनायक, गोकर्ण र दक्षिणकालीजस्ता बनभोज गर्ने ठाउँ देख्यौँ । ठुलठुला पोखरी, मोटर ढुङ्गा र रेष्टुराँहरू देख्दा अर्कै कुनै नयाँ ठाउँमा पुगे जस्तो लाग्यो । मासु पोलेर खाने चलन कोरियामा पनि धेरै रहेछ भन्ने कुरा त्यहाँ देखेँ । हामीले पनि एक रेष्टुराँमा चिया खाएर कोरियो होटल फक्यौँ ।
दिवाभोज
१२–१ बजेको थियो । कोरियो होटलको ४४ औँ तलामा अन्तर्राष्ट्रिय कोरियाली एकीकरण समितिको एक प्रमुख र अन्तर्राष्ट्रिय समितिको उपनिर्देशकले हाम्रो सम्मानमा एक दिवाभोजको आयोजना गर्नुभएको थियो । होटलको त्यो माथिल्लो गोलो तला, सिसै–सिसाले मोडिएको र बिस्तारै घुमिरहेको थियो ।
उपनिर्देशकज्यूले कोरियाली एकीकरणको यात्रामा भाग लिई कोरियाली जनताको उत्साहलाई बढाइदिएको र आन्दोलनलाई समर्थन गरेकोमा नेपाली मित्रहरूलाई धेरै धन्यवाद दिनुभयो । नेपालीहरूको तर्फबाट पालैपालो हामीले पनि कोरियाली एकीकरण यात्रामा भाग लिने अवसर दिनुभएकोमा का. किम इल सङसँग पनि भेटघाट गर्ने र कोरियाली जनताको विविध पक्षमा जानकारी पाउने अवसर दिनुभएकोमा कोरियाली मित्रहरूलाई धन्यवाद दियौँ ।
घुमिरहेको त्यो झ्यालबाट प्योङयाङको एकएक गरेर सबै भाग देखिन्थ्यो । १९५०–५३ को युद्धमा प्योङयाङ पूरै ध्वस्त भएको थियो । तर, ३५–४० वर्षभित्र २० लाख जनताको विशाल र भव्य राजधानी कसरी निर्माण ग¥यो होला भनी खुल्दुली जाग्यो । हजारौँ हजार इन्जिनियर, ओभरसियर र प्राविधिकहरूविना सम्भव नै छैन भन्ने हाम्रो अनुमान रह्यो ।
आ–आफ्ना कौतुहलहरू मिटाउन उपनिर्देशकज्यूसँग प्रजग कोरियामा कति इन्जिनियर र ओभरसियर छन् भन्ने प्रश्न गर्यौँ । उत्तरमा उहाँले बडो सहजताका साथ भन्नुभयो, “२० लाख ।”
अर्को जिज्ञासा उठ्यो – तपाईँहरूको अहिले कति डाक्टरहरू छन् ? त्यसको पनि उहाँले सरल उत्तर दिनुभयो, “प्रति १००० जनतामा एक डाक्टर छ । हामीसँग जम्मा २०,००० डाक्टरहरू छन् ।”
विभिन्न प्रकारका नयाँ नयाँ कोरियाली परिकारहरूको भोजन सँगसँगै हामीले कोरियाली जनताका महान् नेता का. किम इल सङको सुस्वास्थ्य र कोरियाली जनताको सुख–समृद्धिको कामना गर्दै इन्सामका गिलासहरू उठायौँ ।
भूमिगत रेन : मेट्रो
मैले सुनेको थिएँ – अणुबम खसाले पनि केही नहुने रेल कोरियामा छ । यसकारण, मैले कोरियाली मित्रहरूलाई मेट्रो पनि कार्यक्रममा समावेश गर्न अनुरोध गरेको थिएँ ।
दिवाभोजपछि हाम्रो मोटर मेट्रोको ढोकामा गएर रोकियो । बाहिरबाट हेर्दा टेलिफोन बुथ जस्तो लाग्ने ठाउँको ढोकाबाट हामी पस्यौँ । आफैँ सुल्ल जाने सिँढीमा हामीले टेक्यौँ । बिस्तारै हामी १०० मिटर तल सुरुङ जस्तो हुँदै झर्याैँ । एकछिनपछि हामी भूमिगत रेलको स्टेसनमा पुग्यौँ ।
त्यहाँ पुग्दा, त्यहाँको झिलमिली हेर्दा १०० मिटर जमीन तल पुगेको अनुभव गर्न गा¥हो थियो । दुबैतिर झन्डै ५–५ मिनेटमा दायाँ र बायाँतिर स–साना रेलहरू आवतजावत गर्दै थिए ।
यसको निर्माण १९६८ मा सुरु भएको र १९७३ मा पहिलो खण्डको उद्घाटन भएको थियो । यसो हेर्दा प्योङयाङको एक भूमिगत रेल उत्तर पूर्वी कुनाबाट दक्षिण–पश्चिम कुनामा टुङ्गिन्छ र दोस्रो खण्ड दक्षिण–पूर्वी कुनाबाट उत्तर–पश्चिम कुनामा टुङ्गिन्छ । २२ स्टेसनमा टुङ्गिने यो मेट्रोमा प्रतिस्टेसनको १० पैसा भाडा लाग्दो रहेछ । हरेक स्टेसनलाई एउटा एउटा ऐतिहासिक नामहरू दिइएका छन् ।
‘समृद्धि’ को स्टेसनमा १९८० का ठुलठुला टाइलका टुक्रा (चिप्स) हरूबाट चित्रहरू बनाइएका छन् । राम्रो बाली भित्याउने एक गाउँ र किसानहरूका चित्रहरू, कारखाना, उत्पादन र मजदुरहरूको चित्र अनि सिलिङ वा दलिन भित्तामा आतसबाजी र भुइँचम्पाजस्ता देखिने बत्तीहरूको सजावट थियो । त्यो स्टेसनको नाम ‘समृद्धि’ थियो ।
भूमिगत रेल चढेर हामी ‘गौरव’ को स्टेसनमा उत्र्यौँ । त्यस स्टेसनमा कोरियाली जनताका महान् नेता किम इल सङ र अन्य चित्रहरू कुँदिएको थियो । ती सबै कुरा हेर्दा प्योङयाङलाई सिंहमर्मरको सहर भन्न मन लाग्छ र स्टेसनको भव्यतामा कोरियाली जनताले गौरव गर्ने अधिकार राख्छ । यी सबै सुन्दरता, सजावट र निर्माणमा प्रिय नेता किम जोङ इलको निर्देशन छ भनी हामीलाई बताइयो । जानकारी दिएकोमा स्टेसनका निर्देशकहरूलाई धन्यवाद दिएर हामी बजारतिर लाग्यौँ ।