का. रोहित
पहिलो भ्रमण
असोज १०–२६, २०४८ (26 Sept. – 12 Oct., 1991)
पुनःएकीकरण सडक (१४ असोज, २०४८/30 Sept., 1991)
बिहान ८ बजे, २ वर्षभित्र ५० हजार परिवारलाई बसाउने उद्देश्यले बनाइरहेको ‘पुनः एकीकरण सडक’ (Tongli Street) भन्ने निर्माणस्थल पुग्यौँ । त्यो क्षेत्र ८ वार्डमा सडकबाट विभाजित गरिएको कुरो नक्साले देखाउँथ्यो । वास्तवमा यो दुई वा अढाइ लाखको बस्ती हुनेछ अर्थात् भक्तपुर नगरजस्तो २–४ वटै अटाउने सहर हो । ‘एकीकरण सडक’ सडकमात्र होइन स्कूल, कलेज, अस्पताल, सिनेमा हल सबै ती क्षेत्रहरूमा उपलब्ध हुनेछन् । भनिन्छ, एउटै घरमा पनि ५ सयदेखि हजार परिवार अटाउने घरहरू बनाउन जनताले श्रमदान पनि गर्ने गर्छन् ।
बिहान ९ः३० मा हामी कोरिया पुनःएकीकरणको निम्ति अन्तर्राष्ट्रिय विशाल पदयात्राको स्तम्भको अनावरण कार्यक्रममा गयौँ । स्तम्भको दृश्य बडो राम्रो थियो ।
राष्ट्रपतिसँग भेट
११ बजे हामी राष्ट्रपति भवनमा पुग्यौँ । राष्ट्रपति भवन सा¥है भव्य थियो । राष्ट्रपति भवनमा हरेक ठुलठुला कोठाहरूमा राम्रा राम्रा चित्रहरू लेखिएका थिए । लाग्छ, ती सब भवन निर्माण र सजावटका सबै सामान कोरियाभित्रकै हुन् । फोटो खिच्ने बैठक, छलफल गर्ने बैठक, उपहारहरू राख्ने कोठा, कुराकानी गर्ने र भोजको कोठा सरल ढङ्गले सजाइएको तर भव्य थियो । राष्ट्रपति भवन नपुग्दै सडक र सडकका बिचका रुख, विरुवा र फूलहरू सा¥है राम्रोसित छाँटिएका थिए । बसमा बस्ने अन्य भारती, बङ्गलादेशी, पाकिस्तानी, श्रीलङ्काली आदि प्रतिनिधिहरू दङ्ग परेका थिए ।
राष्ट्रपति भवनको एउटा ठुलो कक्षमा सबै प्रतिनिधिहरू पसे, एकछिन बसे, कोरियाली चिया खाए । त्यसबेला प्रतिनिधिमण्डलका नेता र मुख्य मुख्य सदस्यहरूलाई राष्ट्रपति किम इल सङसँग कुराकानी गर्दा को को कहाँ बस्ने बन्दोबस्त गरिएको एक सूची देखाइयो । त्यहाँबाट सबै प्रतिनिधिहरू बाहिर जाने सङ्केतपछि सबै उठे र एकदल पहिले नै फोटो लिने खुड्किलाहरूमा बसिसकेका थिए । त्यो ठाउँमा हामी पुग्दा अर्को कोठाबाट का. किम इल सङ आउनुभयो र सबैसँग नाम र देश सोध्दै हात मिलाउनुभयो । अनि सबै फोटो खिच्ने ठाउँमा उभिए र फोटो खिचियो ।
त्यसपछि उपहारहरूको कोठामा लगियौँ र युरोपका प्रतिनिधिहरूले ल्याएका राम्रा राम्रा उपहारहरू देखाइए । त्यसपछि माथि कोठामा लगियो र बन्दोबस्त गरिएकै कौचमा बसेँ । मेरो स्थान का. किम इल सङको दायाँपट्टि तेस्रो नम्बरमा थियो । कुराकानीमा का. किम इल सङले प्योङयाङलाई बाढीबाट बचाउन र खेतीको निम्ति समुद्रमा बाँध बाँध्नुपर्छ, त्यो हामीले ग¥यौँ जनतालाई त्यसले चित्त बुझ्यो भन्ने जस्ता व्यवहारिक कुराहरू भन्नुभयो ।
त्यसपछि हामी तल ओर्लेर दिवाभोजको कक्षमा पुग्यौँ । अन्य प्रतिनिधिहरू ४–४, ५–५ जनाको टेबुलमा थिए । म राष्ट्रपति किम इल सङकै गोलो टेबुलमा उहाँको दायाँको पाँचौँ नम्बरमा थिएँ । मसँगै चौथो नम्बरमा उपराष्ट्रपति हुनुहुन्थ्यो । उहाँ नेपाल आइसक्नुभएको थियो । उहाँसँग नेपालकै आर्थिक स्थितिमा कुराकानी भयो ।
औपचारिक कार्यक्रमपछि राजकीय दिवाभोज सुरु भयो । दिवाभोजमा गुलियो स्वादको रियो केक, च्याउ मिसाएको तरकारी, मासु र फलफुलको झोल आदि परिकार र पेयपदार्थहरू थिए ।
दिवाभोजपछि सबैसँग कुराकानी गर्दै का. किम इल सङले फेरि फेरि कोरिया भ्रमण गर्न निमन्त्रणा दिँदै बिदा दिनुभयो ।
विद्यार्थी र केटाकेटीको दरबार
केटाकेटीको दरबार (Mangyondae Student and Children Palace)
२ः३० बजे म्याङयोन्डे विद्यार्थी र केटाकेटीको दरबार (Mangyondae Student and Children Palace) मा केटाकेटीको गतिविधि र सांस्कृतिक कार्यक्रम हेर्न गयौँ । हामीले पियानो, कोरियाली परम्परागत बाजा, एकर्डिन, कार्चोपी भर्ने, टी.भी. सेट बनाउने, कम्प्युटर बनाउने, व्यालेनाच, मुक्का, भलिबल, बास्केटबल, पौडी खेल्न सिकाउने आदि कोठाहरूमा केटाकेटीको सीप र कला देख्यौँ । त्यसपछि एउटा हलमा केटाकेटीहरूहरूको सांस्कृतिक कार्यक्रम सुरु भयो । माइक आफैँ तलबाट उठ्ने र माथिबाट झर्ने, कलाकारहरू र दलहरूसमेत स्वयं आवतजावत गराउने, दृश्यहरूको फेरबदल र बिजुली बत्तीको नयाँनयाँ प्रयोगले स्टेजको कौशलमा विकास गरेको देखेँ । नाचगान, फूटबल खेल्ने र सानोले ठुलोलाई पछार्ने आदि प्रदर्शनले सबैलाई आश्चर्यचकित पारे । छोटोमा कलाको क्षेत्रमा कोरियालीहरूले विश्वकर्मालाई नै कोरियामा उतारे जस्तो लाग्छ । त्यसैलाई भूस्वर्ग भनिन्छ ।
सारियोन सहरमा (१५ असोज, २०४८/1 Oct., 1991)
बिहान ९ः३० बजे प्योङयाङबाटै विभिन्न देशका प्रतिनिधि र कोरिया पुनःएकीकरण पदयात्राका सहभागीहरू विभिन्न बसहरूबाट नारा लेखिएका पताकाहरू फहराउँदै सारियोन भन्ने सहरतिर प्रस्थान गरे । प्योङयाङबाट ६५ कि.मि. दक्षिणको सारियोन सहरलाई राजधानीको दक्षिणी ढोका मानिन्छ ।
११ बजे हामी सारियोन सहर पुग्यौँ । सबै देशका सहभागी र प्रतिनिधिहरू आ–आफ्ना देशको नाम र नारा लेखिएका ध्वजापताकाहरू लिएर पङ्क्तिबद्ध उभिए । संसारका विभिन्न महादेशका अनेकौँ मुलुकका कोरियाको एकीकरण चाहने शान्तिप्रेमी जनताको प्रदर्शन बडो भव्यताका साथ सुरु भयो ।
सारियोन ठुलो नहर, सिमेन्ट र रासायनिक मलजस्ता कारखाना, अनि ऐतिहासिक स्मारकहरूले चिनिन्छ । यो सहर वास्तवमा अङ्गुर र अङ्गुरको रक्सीको निम्ति पनि प्रसिद्ध छ । फलफुल र सारियोन रक्सीका धनी, सारियोनका चौडा सडकहरूको दायाँ बायाँका पेटीहरूमा हजारौँ हजार नरनारीहरू परम्परागत र आधुनिक सुकिला लुगा लगाएर हात–हातमा फूलका गुच्छाहरू र कोरियाको झन्डा हल्लाएर ‘कोरिया एक हो’ भन्ने गगनभेदी नारा लगाउँदै थिए । स–साना नानीहरूसमेत आ–आफ्नो आमा र बुबासँगै स–साना हातहरू हल्लाउँदै थिए– फूल र स–साना कागतका झन्डाहरू लिएर ।
कोरिया पुनःएकीकरणको माग वास्तवमा एक आन्दोलन र अभियान हो । यो एक सङ्घर्ष हो । तर, सारा जनता एक किसिमले सङ्घर्ष–उत्सवको रूपमा प्रस्तुत थिए । तिनीहरूको मुखमण्डलमा एक प्रकारको गम्भीर उत्सुकता र आशाका भावना खेलिरहेका थिए । आधा घण्टाको पदयात्रापछि उक्त प्रदर्शन एक समारोह वा जनसभामा पारिणत गरियो ।
त्यस समारोहपछि पूर्व निश्चित कार्यक्रमअनुसार हामी गोदावरी, दक्षिणकाली वा गोकर्ण जस्तो एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण र रमणीय ठाउँमा लगियौँ । सन् १३२७ मा स्थापित बुद्ध–मन्दिरहरूले सजिएको त्यस सुन्दर स्थलमा वनभोज भयो । झरनाहरू, स–साना पोखरी, हरिया वन–जङ्गल र हरिया चौर र झारहरूले आफ्नै देश नेपालको सम्झना झलझली आइरहन्थ्यो । वनभोजको शैली झन्डै आधुनिक थियो– सीसी र बट्टामा बन्द खानाका परिकारहरूको बाहुल्य थियो । हाम्रो जस्तो हरियो पात गाँसिएको भ्वेयलप्ते (भोजको पात), लाभा, पालु, मुस्या, बजी (लसुन, अदुवा, भटमास, चिउरा) आदि थिएन । सारमा, त्यो वनभोज पाँचतारे होटलकै ढाँचा–काँचामा बन्दोबस्त गरिएको थियो ।
बुद्धका मूर्तिहरू र प्राचीन वास्तुकलाका मन्दिरहरूले त्यस ठाउँप्रति हामी नेपालीहरूमा आत्मीयताको भावना जाग्नु स्वाभाविक थियो ।
कैसोङतिर
वनभोज र नाचगानपछि २ः३० बजे हाम्रो पुनःएकीकरण यात्रादल कैसोङ भन्ने अर्को सहरको निम्ति प्रस्थान ग¥यो । यात्रा रेलमा थियो । रेल पनि हाम्रा नारा र ध्वजापताकाले सजिएको थियो । रेल सा¥है सफा, एकएक यात्रुलाई आराम गर्न एकएक सीटको ओछ्यानको बन्दोबस्त भएको लामो यात्रा गर्ने खालको थियो । आरामदायी र चिटिक्क परेको त्यस रेल यात्रामा केही मित्रहरू देश–विदेशबारे कुराकानी र छलफलमा थिए, केही गीत गाउन थाले, केही कोरियाली जिनसिन चियाको घुट्को लिँदै कोरियाली खेत र खलिहानको दृश्यावलोकन गर्न थाले । हामी माणिक दाइबाट कोरियाका विविध पक्षबारे जानकारी लिँदै गयौँ । औपचारिक सभा र बैठकहरूमा भन्दा अनौपचारिक कुराकानीमा माणिक दाइबाट कोरियाबारे धेरै कुरा जान सकिने मैले थाहा पाएँ । कोरियाबारे उहाँको ज्ञान गहिरो र व्यापक थियो ।
राजधानी प्योङयाङको १९२ कि.मि. दक्षिणमा पर्ने कैसोङ कोरियाको पहिलो एकीकृत देशको राजधानी थियो । यो सहर सन् ९१८ देखि १३९२ सम्म कोर्यो वंशको राजधानी रह्यो । कोर्यो वंशकै नामबाट आजको कोरियाको नाम ‘कोरिया’ भएको हो । यस प्राचीन नगरको लामो इतिहास र भव्य संस्कृति छ । सुरुमा यस नगरलाई राजधानी बनाउँदा, यसको नाम ‘काइजु’ थियो । १००० वर्ष पहिले यसको नाम कैसोङ राखिएको थियो ।
कोरियाको ठीक माझमा रहेको यो नगर कोर्यो वंशका अनेकौँ विशाल र भव्य ऐतिहासिक स्मारकहरूले भरिएको छ । कोर्यो वंशको ३१ सौँ राजा कोङमिनले यसलाई वास्तुकलाले झिलिमिली पारेका थिए र नमुनाका कलात्मक चिहानहरूको निर्माण योजनाहरू बनाएका थिए ।
झरना र प्राकृतिक सौन्दर्यले भरिएको कैसोङ बौद्ध विहार अन्य मन्दिरहरूले सजिएको छ र इन्साम अर्थात् जिनसिन भन्ने जडिबुटीको निम्ति पनि यो ठाउँ सा¥है प्रसिद्ध छ । औषधि, रक्सी र टनिक वा तागतको औषधि बनाइने इन्सान (जिनसिन) विश्व प्रसिद्ध छ । कैसोङको हावापानी र माटोको विशेषताले गर्दा त्यहाँको इन्सामले विशेष महत्व राखेको हो ।
त्यतिमात्र होइन कपडा उद्योग, सिलाइबुनाइ र कार्चोपी भर्ने, खाद्यवस्तुको उद्योग, माटाका वा पोसिलिन र हस्तकला, काठ र फलामे उद्योगमा यो सहरको आफ्नो पुरानो नाउँ छ भने कृषिमा धान, मकै, फलफुल, तरकारी आदि उत्पादनमा अगाडि छ ।
तर, आज यस नगरको अर्कै राजनैतिक र ऐतिहासिक महत्व पनि छ । यस नगरको ८ कि.मि. दक्षिणमा पानमुनजोम पर्दछ । दोस्रो विश्वयुद्धपछि सन् १९५० को जून महिनामा संरा अमेरिकी साम्राज्यवादले कोरियामाथि आक्रमण गरेको थियो । कोरियाली जनताले त्यसको विरोधमा पितृभूमि मुक्ति युद्धको रूपमा लडे र त्यो लडाइँ सन् १९५३ जुलाई महिनासम्म चल्यो ।
अन्तमा, अमेरिकी साम्राज्यवादले झुक्नुपर्यो र कोरियाली जनसेनासँग अमेरिकी सेनाले पानमुनजोममा युद्धविराम सन्धि गर्नुपर्यो । यसरी त्यही पानमुनजोमबाट ३८ समानान्तर रेखामाथि उत्तर कोरिया र तल दक्षिण कोरिया भन्ने अस्थायी विभाजन गरिएको थियो । त्यो आजसम्म कायमै छ ।
यस नगरबाट २७ कि.मि. उत्तरमा ५ मिटर उचाइ र जगमा १० मिटर चौडा भएको पूर्वदेखि पश्चिमसम्मको २४० कि.मि. लामो सिमेन्टको पर्खाल देख्न सकिन्छ । यसरी एउटै भाषा बोल्ने, एउटै जाति, एउटै परिवार र राष्ट्रलाई विभाजन गर्ने अपराध साम्राज्यवादीहरूले गरेको प्रस्ट देखिन्छ । कैसोङमा आउने विदेशीहरू त्यहाँ जरुरै हेर्न जान्छन् अर्थात् पानमुनजोम र त्यो सिमेन्टको पर्खाल हेर्न नै विदेशीहरू कैसोङ पुग्छन् । कैसोङमा हामी नेपालीहरू पुरानै शैलीका घरहरू भएको बस्तीमा लगियौँ । त्यहाँको नियमअनुसार हामीले जुत्ता आँगनमै फुकाल्यौँ । कोठा स–साना थिए । गुन्द्री ओछ्याइएको थियो, हरेक कोठामा हाम्रो पुरानो सन्दुकजस्तै सन्दुकहरू सजाइएको थियो । ढोकाहरू हाम्रो न्ह्या खापा वा घिरिङ्गि (सरर ठेल्न हुने ढोकाको खापा) जस्ता हल्का खापाहरू थिए । नुहाउने कोठा र कोठालाई तलतिरबाट न्यानो पार्ने बन्दोबस्त आधुनिक थियो ।
बस्ने ठाउँ, कोठा र घरको शैली, भित्र चाकु राखेर बनाएका स–साना योमरी, ममचा, साख्ला (तिरौली) जस्ता खाने परिकारले कताकता पुनः नेपालकै सम्झना हुन्थ्यो । टेबुल र मेचमा होइन खानलाई भुइँमै बसेर सा¥है होचो चारकुने टेबुलमा राखेर खाना खायौँ । यसले मलाई नेपालकै कुनै नौलो ठाउँमा बसिरहेको अनुभूति दियो ।
पानमुनजोमतिर (१६ असोज, २०४८/2 Oct., 1991)
भोलिपल्ट बिहान ८ः३० बजे कैसोङ सहरको एक छेउबाट एकीकरण पदयात्रा सुरु गरियो । यहाँ पनि हजारौँ हजार नरनारीहरू उत्साह र उल्लासपूर्ण वातावरणमा ‘कोरिया एक हो’ भन्ने नारा लगाउँदै प्रदर्शनलाई फूलको गुच्छा र झन्डाहरू हल्लाएर अभिवादन गर्दै थिए । कोरियाली जनताको एक मन र एक जीउ भनेको यही हो भन्ने लाग्यो ।
हाम्रो लाय्कु वा दरबारस्क्वायर जस्तो चौडा स्थानमा पदयात्रा पुगेर एक समारोहमा परिणत भयो । त्यसपछि हामी ९ः३० बजे पानमुनजोमतिर बसबाट गयौँ ।
पानमुनजोम १९५३ मा युद्धविराममा हस्ताक्षर भएको अस्थायी सीमारेखाको २४ गजे ठाउँ हो । यही ३८ डिग्री अक्षांश रेखाले अस्थायीरूपमा उत्तर र दक्षिणलाई विभाजन गर्न सीमा कोरिएको ठाउँ हो । उत्तरतिर भवनहरूमा कोरियाली झन्डा र कोरियाली अधिकारीहरू छन् भने दक्षिणी भवनहरूमा विदेशी सेना र विदेशी झन्डाहरू फहरिएका छन् ।
ती अस्थायी सीमा कोरिएका ठाउँमै बैठक गर्ने भवनहरू बनाइएका छन् । बैठकको बिचको भागमा टेबुल हुन्छ, टेबुलको दुवैपट्टि दुई पक्षका मानिसहरू बसेर बैठक गर्ने गर्छन् । एकीकरण यात्राका सहभागीहरूले भित्रसम्म गएर हेरे, नारा लगाए । ‘कोरिया एक हो’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘दक्षिणबाट अमेरिकी आणविक हातहतियार र सेना फर्काई लैजा’ जस्ता नारा लगाएका थिए । विदेशी सैनिकहरू बडो लाचार भएर विभिन्न देशका शान्तिकामी जनताको आक्रोश र क्षोभका प्रतिक्रियाहरू सुनिरहे ।
त्यसपछि प्रजग कोरियापट्टि तोङली भवन अर्थात् एकीकरण आँगनमा आएर झन्डा फहराउने समारोह मनाइयो । विभिन्न देशका सहभागीहरूले एकीकरणको औचित्यता र अनिवार्यताबारे बोले, संस्मरणको निम्ति बिरुवाहरू रोप्ने कार्यक्रममा पनि भाग लिए ।
११ बजे पुनः हामी कैसोङकै चोकमा फक्यौँ र झन्डा र विभिन्न देशहरूबाट एकीकरणको पक्षमा गरिएका हस्ताक्षरका पुस्तकहरू हस्तान्तरण गर्ने समारोहमा भाग लियौँ । एक प्रकारको विजयोल्लासका साथ समारोह सकियो ।
१ बजे कैसोङका जनताबाट गरिएको स्वागत समारोह सुरु भयो । स्वागत समारोहपछि बिहानको खाना र नाचगान भयो ।
२ बजे हामी दक्षिण कोरियाली अधिकारीहरूले पूर्वदेखि पश्चिमसम्म बनाएको सिमेन्टको पर्खाल हेर्न गयौँ । दुर्बिनबाट देखिने त्यस पर्खालले कोरियाली जनतालाई स्थायीरूपले नै विभाजित गर्ने दक्षिणका अधिकारीहरूको कमजोर मनोबल प्रदर्शित हुन्थ्यो । तर, त्यस पर्खालको पछाडि संरा सङ्घको झन्डा पनि फहरिरहेको देखिन्थ्यो । कोरियाली विभाजनको विडम्बना यही हो !
कोरिया प्रायःद्वीपको पूर्व–पश्चिम करिब २४० किमि लामो उक्त कङ्क्रिटको पर्खाल ५ देखि ८ मिटरसम्मको उचाइको छ भने फेदमा १० देखि १९ मिटर र माथितिर ३ देखि ७ मिटरको चौडाइ छ । सन् १९७७ देखि यस पर्खालको व्यापक विरोध हुँदै आएको छ ।
२ दिनभित्रै सा¥है आत्मीय देखिएका कैसोङका जनतासँग बिदा लियौँ र ३ बजेतिर रेलबाट हामी प्योङयाङतर्फ लाग्यौँ । राती ८ः३० बजे हामी राजधानी प्योङयाङ पुग्यौँ ।