#ई. रामविन्दु श्रेष्ठ
नोभेम्बर ७ को दिनलाई विश्वका सबै प्रगतिशील मानव समुदायले महान् अक्टोबर समाजवादी क्रान्ति दिवसको रूपमा मनाउँछन्, त्यो इतिहासको महत्वपूर्ण घटनाको सम्झनामा । जसको परिणामले सम्पूर्ण मानवजातिको विकासक्रममा आमूल परिवर्तन ग¥यो । यस दिन भ्लादिमिर इल्यिच लेनिनको नेतृत्वमा रुसी सामाजिक जनवादी श्रमिक पार्टी (बोल्शेविक) ले सशस्त्र विद्रोहबाट तत्कालीन पेत्रोग्राड (हालको सेन्ट पिटर्सवर्ग) मा राज्य सत्ता कब्जासँगै अक्टोबर क्रान्ति सम्पन्न भएको थियो । यदि सोभियत सङ्घ विद्यमान हुँदो हो त अहिले ऊसँगै विश्वले १०६ औँ अक्टोबर क्रान्ति दिवस मनाइरहेको हुन्थ्यो ।
मानव सभ्यताकै नौलो यो क्रान्तिले २० औँ शताब्दीमा युरोप र विश्व इतिहासमा ठूलो प्रभाव पारेको थियो । यो संसारमा श्रमिकवर्गले रचेको पहिलो राजनैतिक इतिहास थियो । अक्टोबर क्रान्ति बीसौँ शताब्दीका प्रतिभाशाली नेताहरूले नेतृत्व गरेको क्रान्ति थियो । मानव इतिहासमा नयाँ सभ्यता निर्माण गर्ने सो पहिलो प्रयास थियो । त्यो सभ्यताको निर्माणको सुरुवात थियो – मानवद्वारा मानिसको शोषणविनाको सभ्यता, सामाजिक न्यायको सभ्यता । त्यसैले यसलाई महान् अक्टोबर समाजवादी क्रान्ति नामकरण गरियो ।
दशकौँसम्म धेरै युरोपेलीहरूले यसलाई फासीवाद अझ संसदीय प्रजातन्त्रकै विकल्पको रूपमा हेरेका थिए भने विश्वभरका मजदुरहरूले शोषणरहित समाज निर्माण गर्ने अवसरको रूपमा । जुलियन क्यालेन्डरअनुसार २५–२६ अक्टोबरमा सम्पन्न भएकोले यसको नामकरण महान् अक्टोबर क्रान्ति रहन गयो जुन ग्रेगोरियन क्यालेन्डरअनुसार ६–७ नोभेम्बर तारिख पर्दछ ।
लेनिनको शब्दमा अक्टोबर क्रान्ति रहर नभई तत्कालीन रुसी समाज, व्यवस्था र परिवेशको उपज थियो । त्यस्तो परिस्थिति जब शासकवर्गले पुरानो तरिकाले शासन गर्न सक्दैन र तल्लो वर्ग पुरानो तरिकामा बाँच्न चाहँदैन त्यसबेला तयार हुन्छ । यो सङ्कटबाट रुसी समाजलाई मुक्तितर्फ डो¥याउन बोल्शेभिकहरूको नेतृत्वमात्र सक्षम भयो । फलतः अक्टोबर समाजवादी क्रान्तिको जन्म भयो ।
यो रुसी समाजवादी क्रान्तिको नारा थियो –भ्स्या भ्लास्ट सोवेताम, मीर नारोदाम, जेम्ल्या क्रेस्त्यानाम, ई फाब्रिकी राबोच्छिम अर्थात् “सम्पूर्ण सत्ता सोभियतहरू (निर्वाचित मजदुर, कृषक र सिपाहीका सामूहिक प्रतिनिधिहरू) लाई, शान्ति जनतालाई, जमिन जोत्नेलाई र कारखाना मजदुरहरूलाई ।” अक्टोबर क्रान्तिसम्बन्धी थुप्रै ग्रन्थहरू लेखिएका छन्, महिमाहरू गाइएका छन् । तीमध्ये अमेरिकी रिपोर्टर जोनरीडद्वारा लिखित ‘दस दिन जब दुनिया हल्लियो’ नामक पुस्तकले संसारभर उनको ख्याती फैलियो† जो अक्टोबरमा बोल्सेभिक क्रान्तिको बखत पेट्रोग्राद सहर पुगेका थिए र उक्त ऐतिहासिक अवसरको प्रत्यक्षदर्शी बने ।
अक्टोबर क्रान्ति र समाजवादको सफलता असफलताको मूल्याङ्कन गर्ने काम इतिहासविद् र विश्लेषकहरूको विषय हो । तथापि म सोभियतकालको उत्तराद्र्धको द्रष्टा एवं त्यसको उत्कर्षकालका विरासतहरूको साक्षीहरूमध्ये एक हुनुको कौतुहलताले यो टिप्पणीमूलक लेख कोर्ने प्रयास गरेको हुँ ।
सोभियत समाजवादका उपलब्धिहरू
सोभियत सङ्घले मानवजातीको इतिहासमा आफ्नो गर्विलो स्थान त्यतिकै रचेको हैन । संसारमा सबैभन्दा पहिला पञ्चवर्र्षीय योजना (पिचीलेत्नी प्लान) सोभियत सङ्घले सुरु गरेको थियो । क्रान्तिपूर्व रुस एक कृषिप्रधान मुलुक थियो । त्यहाँ अशिक्षा, बेरोजगारी र गरिबी थियो । योजनाबद्ध विकासको अवधारणाअनुरूप द्रुतगतिमा औद्योगिकीकरण एवं कृषिको सामूहिकीकरण गरेर सन् १९३० को मध्यमा नै कूल गार्हस्थ उत्पादन र औद्योगिक शक्तिको सन्दर्भमा जर्मनी, ग्रेट ब्रिटेन र फ्रान्सलाई उछिँदै सोभियत युनियनले युरोपमा शीर्ष र विश्वमा दोस्रो स्थान हासिल ग¥यो ।
सोभियत सत्ताले साधारण मानिसहरूलार्ई शिक्षा र उच्च संस्कृतिको लागि बाटो खोलिदियो । कला र साहित्यिक कार्यहरूमा अब माथिल्लोवर्ग मात्रको विशेषाधिकार हुन छोड्यो र त्यो सबैको साझा सम्पत्ति भयो । अनिवार्य रोजगारी, निःशुल्क जस्तै आवास, निःशुल्क औषधोपचार, निःशुल्क शिक्षा र सबैलाई पूर्ण रोजगारीको व्यवस्थाको बन्दोबस्ती सोभियत प्रणालीले स्थापना गरेको थियो । नोभेम्बर १७, १९१७ मा, रसियन पीपुल्स कमिसार परिषद्ले आठ घण्टा काम गर्ने दिनको व्यवस्था गर्नेे निर्णय ग¥यो । विश्वमा सर्वप्रथम प्रसव र सुत्केरी बिदा सोभियत रसियामा २७ नोभेम्बर १९१७ को जन कमिसार परिषदको निर्णयबाट सुरु भयो । त्यहाँ सन् १९३३ देखि बेरोजगारी पूर्ण निर्मूल पारिएको थियो । धेरैले भन्ने गर्छन् सोभियत युनियनमा, तपाईं जो कोही हुनुहुन्थ्यो, मिस्त्री, मजदुर, एक वैज्ञानिक, एक सैनिक, एक विद्यार्थी, सबैले महसुस गर्थे उसको पछाडि उउटा देश छ, जसले उसलार्ई सधैँ मद्दत गर्नेछ ।
धेरैजसो रुसीहरू सोभियत सङ्घलाई स्थिरताको र भोलिको लागि निश्चिन्तताको काल थियो भन्न रुचाउँछन् । अझ सृजनाको युग, जनताको एकताको युग, विजयको युग, आविष्कार र अन्तरिक्ष उडानको युग । सोभियत सङ्घमा, सबैले समुद्र किनारमा छुट्टी मनाउन अधिकार राख्थे ।
अहिलेका सोभियतकालीन मानिसहरू भन्न रुचाउछँन्, कुनै पनि देशमा सोभियत सङ्घका मानिसहरूको जस्तो सामाजिक सुरक्षाको प्रबन्ध कहिल्यै भएको छैन न हुनेछ नै । सोभियत सङ्घका जनता गरिब थिए भनेर कसले कुतर्क गर्छ ? उसो भए त्यो गरिब कसरी हरेक वर्ष देशको कुनै न कुनै आराम गृह वा रिसोर्टमा जान कसरी सके ? त्यहाँ जो कोही पनि राष्ट्रियता वा धर्मको आधारमा अपमानित हुनुपर्थेन ।
उनीहरू अझै सम्झन्छन् र महिमा गाउँछन्, सबैभन्दा सुन्दर कुरा हाम्रो विगत थियो– विश्वमा निःशुल्क र उत्कृष्ट शिक्षा, निःशुल्क र उत्कृष्ट औषधोपचारको युग, महान् सोभियत युग । त्यो युग जसले सयौँ राष्ट्रियता र गणराज्यहरूलाई एकसूत्रमा बाँध्न सक्यो ।
अक्टोबर समाजवादी क्रान्तिको उल्लास
सोभियत युगमा दशकौँदेखि चलिआएको अक्टोबर क्रान्ति दिवस, मे दिवस, विजय दिवस त्यहाँको कयौँ पुस्ताको संस्कृतिको अङ्ग बनिसकेको थियो । मस्कोको केन्द्रमा अवस्थित रेड स्क्वायर यी उत्सवहरूको ७४ वर्षसम्म साक्षी बन्यो, जसको मैदानमा थुप्रै ऐतिहासिक परेडहरू भए । यहाँस्थित लेनिनको समाधिस्थलमा उभिएर नेताहरूले अक्टोबर क्रान्ति दिवस, मे दिवस, विजय दिवसहरूलाई सम्बोधन गरे । हरेक भाषणपछि नेताहरू हुरर्रा… भन्थे, त्यसको समर्थनमा परेडमा सहभागी जनसागर र सैनिकहरूले नि हुरर्रा …हुरर्रा स्वर गरेर आकाश गुन्जाउँथे । त्यसपछि सैनिक ब्यान्डबाट राष्ट्रिय गान बज्थ्यो । यो दृश्य र आवाज प्रायःको हृदयमा जुर्मुराहट पैदा गर्ने खालको हुन्थ्यो । रेड स्क्वायरको छाती माथिबाट सोभियत महाशक्तिको प्रदर्शन बनेर हजारौँ ट्याङ्क, क्षेप्यास्त्रहरू गुड्ने गर्थे । क्रेमलिनको महिमा गाउँदै कवि मायाकोभ्स्की हाम्रो लागि पृथ्वी क्रेमलिनबाट सुरु हुन्छ ।) भन्थे ।
नब्बेको दशकमा त्यहाँ आएका परिवर्तनहरूसँगै यस्ता गौरवशाली परम्पराहरू इतिहासको गर्भमा विलिन भए ।
एउटा इतिहासको अवसान
२५ डिसेम्बर १९९१ मा क्रेमलिनको सिनेट दरबारबाट सोभियत सङ्घको हँसिया हथौडा अङ्कित रातो झन्डा तल झारियो र त्यसलाई रुसी त्रिरङ्गी झन्डाद्वारा प्रतिस्थापित गरियो । योसँगै विशाल सोभियत साम्राज्य प्रतिकात्मकरूपमा समाप्त भयो र विश्व समाजवादको प्रतिरक्षाको अवस्थामा रूपान्तरित भयो । करिब सात दशक फरफराइरहेको त्यो झन्डाको विस्थापन सँगैसँगै विश्वभर अक्टोबर समाजवादी क्रान्तिको नयाँ समीक्षा सुरु भयो ।
ती नागरिकहरू जसका कैयौँ पुस्ता सोभियत कालमा जन्मे हुर्के, तीमध्ये धेरैलाई यो परिवर्तनबाट, तिनीहरूको जीवनको धेरै सुमधुर क्षणहरू र भविष्यप्रति निर्धक्क हुने युग चकनाचुर भयो । कैयौँको लागि आफू जन्मेको देश जसमाथि तिनीहरू विश्वभर गर्व गर्थे त्यो नै हरायो । तीमध्ये धेरै मानिसहरू ठान्दछन् कि रातो झन्डासँगै, नेताहरूहरूले सुका मोहोरको लागि सबैभन्दा बहुमूल्य चीजहरू बेचे – देशको स्वतन्त्रता, एउटा महाशक्ति र सत्तरी वर्ष लगाएर निर्माण गरिएको संस्कृति । यसको विपरीत केही अर्काथरी नागरिकहरू परिवर्तनपछिको खुला संसार र स्वतन्त्रता अनि बजार अर्थतन्त्रको लागि यो सत्तापलटलाई धन्यवाद दिन्छन् । यी परस्पर विरोधीबाहेक बिचका एउटा तप्का पनि छ जसको विचारमा : “जो सोभियत सङ्घको अवसानमा पछुताउँदैन, उ कुनै हृदयविहीन हो र जसले यसलाई पुनस्र्थापित गर्न चाहन्छ ऊ मस्तिष्कविनाको मान्छे हो ।”
केही स्खलनहरू
आज धेरै पूर्वसोभियत नागरिकहरू सोभियत सङ्घको पतन स्टालिनको मृत्युपछि सुरु भएको भन्ने गर्छन् । उनीहरूको विचारमा ख्रुश्चेभले भ्रष्टाचार फैलाए र स्टालिनको नामलाई बदनाम गरे । यसले पहिले मुलुक, पार्टी र समाजको र वैचारिक मूल्य मान्यताको क्षयीकरण र त्यसपछि सोभियत सङ्घको विघटनतर्फ लग्न नेतृत्व ग¥यो । उनीहरूको कथनअनुसार लियोनिद ब्रेज्नेभको मृत्युपछि, दलाल र देशद्रोहीहरूले मुलुकको विभिन्न क्षेत्रमा कृत्रिम अभाव सिर्जना गरे, जसले सोभियत सङ्घका जनतालाई समाजवादी मार्गप्रति वितृष्णा उत्पन्न गराउन सुरु गरे ।
माक्र्सवादले सबै असमानता, शोषण आदिको जड उत्पादनको साधनहरूमाथिको निजी स्वामित्वलाई मान्दछ । उत्पादनका साधनहरूमा तिनै निजी स्वामित्वको उन्मूलन गरी समाजवादी स्वामित्व स्थापित गर्न सो.स.मा सामूहिकीकरण र समाजवादीकरणहरू गरिए । समयक्रममा नेतृत्ववर्गमा आएको वैचारिक स्खलन र जड्ताले सोभियत राज्यको सम्पत्तिमाथि जनताको नियन्त्रण दिनानुदिन कमजोर बन्दै गयो र स्वामित्व प्रणाली बाहिरीरूपमा जे देखिए पनि, भावनात्मकरूपमा न त सामूहिक न त व्यक्तिगत बल्कि ‘नि च्छेइनाया सब्स्त्भेन्नस्त्’ अर्थात् No one’s Ownership मा परिणत हुँदै गएको कुरा राजनैतिक अर्थशास्त्रका प्रोफेसरहरू बताउँछन् ।
पुँजीवादी व्यवस्थामा बजार र नाफाका लागि हुने प्रतिस्पर्धाबाट उत्पादन र गुणस्तरको विकास हुदै जान्छ भन्ने मान्यता छ । उसो भए समाजवादी प्रणालीको प्रेरक तत्व के त ? यसको जवाफमा भ्लादिमिर इल्यिच लेनिन भन्ने गर्थे, समाजवादी प्रतिस्पर्धा । तथापि समाजका हरेक क्षेत्र, शिक्षा, विज्ञान र अन्तरिक्षमा श्रेष्ठता हासिल गरेपनि कालान्तरमा सोभियत उत्पादनहरू विश्व बजारको प्रतिस्पर्धामा उत्रिने गरी परिमार्जन हुन सकेनन् । दशकौँदेखि मौलाएको सैद्धान्तिक स्खलन र भ्रष्टाचार तथा अन्तरपार्टी जनवादलाई समयानुकूल व्यवस्थित र परिमार्जित हुन नसकेको कारण पछिल्ला दशकहरूमा नेतृत्वदायी पार्टी विचारधारात्मकरूपमा भुत्ते भइसकेको थियो । यी यावत कमजोरी र अकर्मण्यताका कारण कहिलेदेखि पार्टी संयन्त्रमा खिया लागेको र त्यसले राज्यका विविध मसिनरीहरूलाई आवश्यक प्रभावकारी गतिशीलता दिन सकेन ।
अन्ततः अस्सीको दशकको मध्यमा समाजलाई गतिशील र खुला बनाउन भनी थालिएको पेरेस्त्रोइकाको ‘सुधार’ पनि असफल सिद्ध भयो र सोभियत सङ्घको विखण्डनमा गएर टुङ्गियो । पन्ध्र वटा स्वतन्त्र राष्ट्रहरू मिलेर खडा भएको र राष्ट्रगानमा अविनाशी भनिएको सङ्घ ढल्यो । भितरहरूले ‘विभेदरहित न्यायपूर्ण व्यवस्था’ भन्दै आएको र इतरहरूले ‘अधिनायकवादी’ नाम दिएको त्यो सोभियतहरूको देश विश्व मानचित्रबाट हरायो । प्रत्येक नागरिक ‘भोलिको लागि निश्चिन्त भएर जन्मने’ भनिएको मुलुक आपँैm अनिश्चयको भुमरीमा तुवाँलियो । सोभियत सङ्घका सरकारी भवनहरू, सङ्ग्रहालयहरू, पुस्तकालयहरू र विद्यालयहरूमा फहराइएका त्यो महाशक्ति राज्यको राता झन्डाहरू हटाइए । त्यो करोडाँै वीरहरूको निःस्वार्थ देशभक्तिको बलिदानबाट रक्षित आस्थास्तम्भ ढल्यो ।
…….त्यो कम्सामोलहरूले साइबेरियाको बैकालदेखि आमुरमम्मको रेलमार्ग निर्माणमा भाग लिएको; ती निकोलाई आस्त्रोभ्स्कीहरूले मानव जीवनको मूल्य मान्यताको लागि सङ्घर्षको भट्टीमा होमिएर अग्निदीक्षा प्राप्त गरेको; गोर्की, शोलोखोभ, मायाकोभ्स्कीहरूले सामाजिक यथार्थवादको नयाँ साहित्य रचेको; मातृभूमिको रक्षार्थ साढे दुई करोड वीर–वीरङ्गनाहरूले त्याग र बलिदानको अनुपम नमुना प्रस्तुत गरेर महान् देशभक्ति युद्धमा जीवन अर्पेको; युद्धबाट क्षतविक्षत मुलुकलार्ई फेरि शून्यबाट उठाएर अन्तरिक्षको उचाइमा पु¥याएको…….त्यो देश अब वर्तमानबाट धेरै टाढा पुगिसक्यो ।
र अन्त्यमा,
सोभियत समाजवादको अवसान र रुसमा प्रजातन्त्रको आगमनसँगै १७ जुन १९९२ मा रुसी राष्ट्रपति बोरिस यल्त्सिनले अमेरिकी काङ्ग्रेसलाई गर्नुभएको सम्बोधनमा “.. अब संसारले सहज सास फेर्न सक्छ । पृथ्वीमा जताततै सामाजिक विद्वेष, वैमनस्य र क्रुरता छर्ने, मानव समुदायमा भय जगाउने कम्युनिस्ट मूर्ति ढल्यो । .. र म तपाईँहरूलाई आश्वस्त पार्न यहाँ छु, हाम्रो पृथ्वीमा, हामी उसलाई फेरि उठ्न दिनेछैनौँ ।… धेरै वर्षसम्म हाम्रा राज्यहरू दुई चरम विपरीत ध्रुवमा थिए । …अब यो शैतानी परिदृश्य विगतको भएको छ ।….” भनी भनेका थिए ।
तर, शीतयुद्धको अवसानपछि खडा भएको एकध्रुवीय विश्वले पनि सांसारिक द्वन्द्वहरूको समाधान भएन । बर्लिन पर्खालको पतन निस्सन्देह शीतयुद्ध अन्त्यको चिह्न ठानिएको थियो । यसलाई राजनैतिकवादहरूबिचकोे सङ्घर्षको विश्राम भएको मानिएको थियो । तर, पर्खाल भत्काइनुले संसारमा विद्यमान विचारधाराहरूबिचको अन्तरविरोध र राजनीतिक ध्रुवीकरणलार्ई रोक्न सकेन । आज यल्त्सिन जिउँदा भए युक्रेन र अन्य द्वन्द्वबारे के भन्दा थिए होलान् ।
परिवर्तन संसारको नियम हो । नब्बेको दशकमा आएको प्रजातन्त्रले रुस र पूर्वसोभियत राष्ट्रहरूमा सबै कुराहरू फेरिँदै गए । अब पहिलेको सामाजिक, आर्थिक र सांस्कृतिक प्रणाली रहेन । सोभियत जीवनको त्यो युग समत्न्दा धेरै पछाडि छुट्यो । विलुप्त प्रायः भइसकेको सोभियत जीवनबारे कसैले यस्तो लेखेको पनि पाएँ ।
अर्को २५–३० वर्ष बित्नेछ र :
सोभियत कालमा साधारण मानिसहरूले
सित्तैजस्तो अर्पामेन्ट प्राप्त गर्दथे,
औषधोपचार पूर्ण निःशुल्क हुन्थ्यो,
निःशुल्क शिक्षाको व्यवस्था थियो
र सबैलाई रोजगारीको ग्यारेन्टी थियो ……!
भन्ने कुराहरू शानदार दन्त्यकथाको रूपमा लिइनेछ ।
हिजोको कालखण्डमा सोभियत युगलाई ‘कुन्ठित काल’ मान्ने केही पक्षले जब अन्य संसार प्रत्यक्ष देखे : “हामीले त्यो बेला आफूसँग उपलब्ध कुराहरूको कदर र मूल्याङ्कन गर्न सकेका रहेनछौँ र विश्वमा अरू ठाउँमा नभएका सुविधाहरू पाएर पनि त्यसलाई अवमूल्यन गरेका रहेछौँ ।” भनेर लेख्न पनि सुरु गरेका छन्् ।
अक्टोबर क्रान्तिसम्बन्धी, यसको सफलता असफलताबारे विविध चर्चा परिचर्चा हुनु स्वाभाविक छ । सोभियत सङ्घ अब इतिहास भइसक्यो । त्यसभित्र केही नराम्रा पक्षहरू थिए होलान् । त्यसभित्र कतिपय असल पक्षहरू थिए होलान् । तथापि त्यसले विश्व राजनैतिक, आर्थिक, सांस्कृतिक संसारमा ल्याएको हलचल र परिवर्तन युगीन छ । यसका उपलब्धिहरू सामाजिक न्याय र लोककल्याणकारी विश्व राज्यको निर्माणार्थ प्रेरणादायी उदाहरण बनेका थिए । दोस्रो विश्वयुद्धमा पूरा युरोप नै खर्लप्प निलेर मानवजातिलाई ग्यास च्याम्बर र यातना शिविरहरूमा कैद गर्ने दिग्वीजयी भनिएको फासिस्ट शक्तिलाई परास्त गर्ने राष्ट्र सोभियत सङ्घ नै थियो । सबैभन्दा महत्वपूर्ण श्रमजीवीवर्गको हितमा स्थापित त्यो मानव सभ्यताकै पहिलो शासन व्यवस्था थियो ।
अन्तमा हराएको त्यो सोभियत देशको बारेमा दागेस्तानी कवि रसुल गमजातोभको कविताः
जब म आफूलार्ई त्यो अर्को संसारमा भेट्टाउँछु –
र म युद्धमा मारिएका भाइहरूलार्ई भेट्नेछु :
– अच्छा, देश कस्तो छ ? मातृभूमि कस्तो छ ? घर कस्तो छ..?
पहिलो पटक, तिनीहरू मसँग झूट बोल्न चाहन्छन् ।
एउटा महान युद्धको मैदानमा लडेको जस्तै
कसरी भनुँ कि उनको देश अब रहेन ?