डाफ्ने लिडल
हालैमात्र विश्वमा चाल्र्स डार्विनको २०० औँ जन्मजयन्ती मनाइयो । एउटा जीवबाट अर्को जीवमा विकास हुँदै जान्छ भन्ने निष्कर्ष निकालेका यी जीव वैज्ञानिकले आफ्नो खोजको यो निष्कर्ष आफू र विश्वसँग लुकाइराख्न सकेनन्, फलतः त्यतिबेलाका स्थापित वैज्ञानिक मान्यताहरूलाई उनले जगैदेखि हल्लाइदिए ।
सन् १८३१ मा धर्मशास्त्रको पढाइ सिध्याएर डार्विन ‘विगल’ (The Beagle) भन्ने जहाजमा ५ वर्षको लागि यात्रामा निस्किए । जीवशास्त्रीको रूपमा सो जहाजमा गएका डार्विनले जहाज पुगेका सबै ठाउँका वनस्पति र जनावरहरूको अध्ययन गरे । प्रशान्त महासागरको ‘गालापागोस’ (Galapagos) टापुहरूमा झण्डै एउटै जातका तर फरक–फरक प्रजातिहरू उनले पाए । ती टापुहरूमध्ये एउटामा फिन्च (Finch) भन्ने चराको बलियो र छोटो चुच्चो भएको र अर्को टापुमा त्यही प्रजातिको चरामा पातलो र लामो चुच्चो उनले पाए । पहिलो किसिमका चराको चुच्चो फल खानका लागि उपयुक्त थियो भने दोस्रोको चुच्चो जमीनबाट कीरा फट्याङ्ग्रा खोजेर खान उपयुक्त थियो । प्राकृतिक छनोट (Natural Selection) ले त्यहाँ एउटै चराका १३ भिन्नाभिन्नै प्रजातिहरू विकसित भएका थिए ।
ती सबै चराका एउटै पुर्खा रहेको तर छुट्टाछुट्टै टापुहरूमा रहेका कारण उनीहरूबिच सम्बन्ध नरहनाले आ–आफ्नो क्षेत्रमा पाइने खानाको लागि, चारोका लागि, उपयुक्त शारीरिक विकास उनीहरूमा हुँदै अन्ततः उनीहरू भिन्नाभिन्नै उप–प्रजातिहरूमा विकसित भएको निष्कर्षमा डार्विन पुगे ।
उनका अनुसार सबै वनस्पति र प्राणीहरू एक–कोषीय, अविकसित पुर्खाहरूबाट भिन्नाभिन्नै र परिवर्तनीय प्राकृतिक अवस्थामा बाँच्न सक्ने गरी क्रमिकरूपमा विकसित हुँदै गएका हुन् । तर, यी कुरा बाइबलको कुरासँग बिलकुल मेल खाँदैनथ्यो । सो धर्मशास्त्रको उत्पत्ति (Genesis) भन्ने पाठमा भगवानले सम्पूर्ण प्राणीहरूलाई आजकै अवस्थामा सृष्टि गरेको र त्यसयता ती प्राणीहरूमा कुनै परिवर्तन नआएको उल्लेख छ ।
आफ्नो वैज्ञानिक निष्कर्षहरूले ठूलो उथलपुथल ल्याउँछ भन्ने थाहा पाएर डार्विनले २० वर्षसम्म त्यसलाई प्रकाशित गरेनन् । १८५९ मा अर्को वैज्ञानिक अल्फ्रेड रसेल वालेस (Alfred Russell Wallace) ले उस्तै किसिमको लेख प्रकाशित गर्न लागेको थाहा पाएर डार्विनले ‘प्रजातिहरूको उत्पत्ति’ (Origin of species) पुस्तक प्रकाशित गरे ।
उनलाई पहिले बधाई दिनेहरूमध्ये एक कार्ल माक्र्स हुनुहुन्थ्यो । माक्र्सले बधाईसहित आफ्नो कृति पुँजी पनि उनलाई पठाउनुभएको थियो । तर, डार्विनले त्यो पुस्तक सायद कहिल्यै पढेनन् । जीवनको विकासक्रममा भगवानको अनुपस्थितिको डार्विनको सिद्धान्त मानव समाजको विकासक्रम सँग मेल खान्छ भन्दै माक्र्सले प्रकृतिको सिद्धान्त समाजको सिद्धान्तसँग नजिक छ भनी डार्विनलाई लेख्नुभएको थियो ।
तर, डार्विनका सबै कुराहरूसँग माक्र्स र एङ्गेल्स् सहमत हुनुहुन्थेन । विशेषगरी जीव विकासक्रम ‘बिस्तारै हुन्छ भन्ने कुराहरूमा उहाँहरूको असहमति थियो । बरु विकासक्रमका लामा र ढिला क्रमहरूबाट पछि चाँडो र एक्कासि विकास हुने क्रममा परिवर्तन हुने उहाँहरूको धारणा थियो ।
चाँडै नै जीवाशेषहरूको खोजले विकासका लामा र ढिला क्रमलाई पुष्टि गर्छ भन्नेमा डार्विन विश्वस्त थिए । एक प्रजातिबाट अर्को प्रजातिमा परिवर्तन भएका जीवाशेष जस्तै मध्यम लम्बाइको घाँटी भएका जिराफका अवशेष भेटिनेछन् भन्ने डार्विनको विश्वास थियो ।
अन्तर–प्रजातीय विकासक्रमका तथ्यहरू विस्तारै प्रकाशमा आउँदै गए तर साह्रै थोरै । किनभने विकासक्रम निकै ढिला नभएर ढिला क्रमबाट छिटो विकासको क्रममा परिवर्तन हुन्थ्यो । छिटो विकास भन्नाले हजारौँ वर्षको अन्तराल बुझाउँछ । वातावरणमा हुने आकस्मिक परिवर्तनले निम्त्याउने परिवर्तनहरू केही पुस्ताभित्रै देखिन्थ्यो ।
जीवाशेषहरूको अध्ययनले विगतमा धेरै प्रजातिहरू एकैचोटि लोप हुने (Mass Extinction) का ६ वटा घटनाहरू देखाउँछ – क्याम्ब्रियन (Cambrian) कालखण्डको सुरु र अन्त्यमा (६ करोड र ५ करोड वर्षअगाडि), डेभोनियन (Devonian) कालखण्डको अन्त्यमा (आजभन्दा ३४ करोड ५० लाख वर्षअघि), पर्मियन (Permian) (२२ करोड ५० लाख वर्षअघि), ट्रायसिक (Triassic) (१८ करोड वर्षअघि) र क्रेटासियस (Cretaceous) (६ करोड ३० लाख वर्षअघि) कालखण्डको अन्त्यमा ।
वातावरणमा जब–जब एक्कासि र व्यापक परिवर्तन आयो, धेरै प्रजातिहरू पुरै लोप भए । केही प्रजातिहरूमा पनि नयाँ वातावरणमा बाँच्न सक्ने केही जीवहरूमात्रै बाँकी रहे । ती बाँकी रहेका जीवहरूमा सो नयाँ वातावरणमा बाँच्न सक्ने हुन जीन (Gene) मा केही परिवर्तनहरू भए । फलतः उनीहरूका सन्तानहरूमा सोही जीनहरू देखा परे । यहाँ जीनमा देखिएको फरक त्यो प्रजातिको मुख्य गुण भयो, त्यो निकै फैलियो र नयाँ प्रजातिको विकास भयो ।
रूसी माक्र्सवादी प्लेखानोभ (Plekhanov) ले यसबारे लेखेका छन्, “आधुनिक विकासशास्त्रीहरूले आफ्ना विचारमा रुढीवाद मिसाउँछन् । प्रकृति होस् वा इतिहास, एक्कासि परिवर्तन सम्भव छैन भनी उनीहरू पुष्टि गर्न चाहन्छन् । दुई किसिमको विकासक्रममा विश्वास गर्ने विकासशास्त्रीहरू भने प्रकृति र मानव इतिहास दुबैमा एक्कासि परिवर्तन अपरिहार्य रहेको कुरा बुझ्छन् । तर, परिवर्तनका सबै अवस्थाहरूमा विकासको क्रम निरन्तर चलिरहने तथ्यलाई भने उनीहरूले नकार्दैनन् । बरु बिस्तारै भइरहेको विकासको गतिले तीव्रता पाउने अवस्थाहरूका बारे स्पष्ट पार्न चाहन्छन् ।”
मुख्य प्रजातिबाट एउटा सानो समूह भौगोलिकरूपमा लामो समय छुट्टिएर बसेको खण्डमा पनि त्यहाँ परिवर्तन देखापर्छ । ट्रयालोप्याक (Triallopac) भनिने यो किसिमको छुट्टिने क्रममा जीवको विकासक्रम निकै तीव्र हुने गर्छ । पुरानो प्रजाति छुट्टिने बित्तिकै भिन्न प्रजातिहरूबिचको संसर्ग टुट्छ । जीनमा आउने परिवर्तन छुट्टाछुट्टै विकसित हुने गर्छ । तर, पुरानो प्रजातिको तुलनामा नयाँ प्रजातिमा जीनको विविधता निकै चाँडो फैलिने गर्छ ।
परिवर्तित मौसम र भौगोलिक अवस्थासँग मिल्न प्राकृतिक छनोट (Natural Selection) ले त्यहाँ काम गर्छ । एउटै प्रजातिका दुई समूह छुटिएपछि समयक्रममा यो दुई समूह दुई छुट्टाछुट्टै प्रजाति बन्न पुग्छन् । गणितात्मक परिवर्तनले गुणात्मक परिवर्तन ल्याउँछ । यदि भविष्यमा यो दुई समूहका जीवहरू भेट भएमा यिनीहरूबिच संसर्ग नै हुन नसक्ने गरी एक अर्काबाट फरक हुन्छन् ।
एङ्गेल्सको शब्दमा : “कुनै एउटा जीव वा पुरै प्रजातिको मूल प्रजातिबाट छुट्टिएर हुने जैविक विकास, विकासक्रम ढिला र तीव्र गरी दुई किसिमले हुन्छ भन्ने कुराको उदाहरण हो । शारीरिक प्रणालीमा आउने विकास जति बढ्छ, यी स–साना र निरन्तर परिवर्तनहरू त्यति नै महत्वपूर्ण हुन्छ । त्यसलाई चिन्ने तरिकामा हुने फरक पनि महत्वपूर्ण हुन जान्छ । यस्तो अवस्थामा कुनै जैविक जातिलाई त्यसैको परिवेशमा हेरेर चिन्ने तरिका अपरिवर्तनीय छ भन्ने पुरानो मान्यता काम नलाग्ने हुन पुग्छ । …यदि कुनै जीवहरू नयाँ वातावरणमा घुलमिल भएर वातावरण सुहाउँदो परिवर्तन हुँदै नयाँ प्रजातिमा विकसित हुने र पुराना जीवहरू त्यसमा बाँच्न नसकेर अन्ततः लोप हुने र त्यससँगै राम्ररी विकसित नभएको बिचको अवस्थाका जीवहरू लोप हुने भएमा त्यसबेला म्याल्थसवाद (Malthusianism) बिना नै त्यो विकासक्रम चलिरहन्छ । यदि त्यसमा म्याल्थसवाद देखिए पनि त्यसले विकासक्रममा असर पार्दैन, बढी गरे विकासक्रमलाई तीव्र बनाउन सक्छ ।”
‘प्रजातिहरूको उत्पत्ति’ (The Origins of the Species) पहिलो प्रकाशन भएदेखि नै पुँजीवादी सिद्धान्तकारहरूले निकै क्रूर र प्रतिस्पर्धी पुँजीवादी व्यवस्थाको वकालत गर्न डार्विनको सिद्धान्तलाई प्रयोग गर्ने कोसिस गर्दै आएका छन् ।
१७८९ मा थोमस म्याल्थस (Thomas Malthus) का अनुयायीहरूका अनुसार जीवन सङ्घर्षमा ‘हरूवा’ हरू सधैँ हुने गर्छन् । – भोका र गरिब जनता सधैँ रहने गर्छन् । गरिबहरूलाई सहयोग दिएर यो सन्तुलनलाई कृत्रिमरूपमा मिलाउन खोजे गरिबहरू बढी सन्तान जन्माउन प्रेरित हुन्छन् । जनसङ्ख्या वृद्धि अव्यवस्थित भएमा यो ज्यामितीय अनुपात (Geometric Ratio) मा बढ्ने गर्छ । खाना र अरु आधारभूत आवश्यकता गणितीय अनुपात (Arithmetic Mean) मा मात्रै बढ्छ ।’ (थोमस रोवर्ट म्याल्थस, जनसङ्ख्याको सिद्धान्त– Thomas Robert Malthus, The Principles of Population)
यसरी अन्ततः यसले गरिबी र भोकमरीले मर्नेको सङ्ख्या अझ बढ्ने उनको धारणा छ । जनसङ्ख्या वृद्धिका खतराहरूप्रति उनी निकै नै सशङकित थिए ।
यो कुरा डार्विनको प्राकृतिक छनौटको विचारसँग मिल्न आउँछ । प्राकृतिक छनोट भनेको सङ्घर्षमा सक्षम नै मात्र बाँच्न सक्ने विचार हो र यसले प्रकृति क्रुर रहेको बताउँछ । यदि ‘कमसल’ जीन भएका जीवहरूलाई कृत्रिमरूपमा बचाएर तिनीहरूका ‘कमजोरी’ हरूलाई पछिल्लो पुस्तामा स्थानान्तरण हुन दिने हो भने त्यो प्रजातिले विकास गर्न .सक्दैन ।
त्यसबेलादेखि यो सिद्धान्तलाई प्रयोग गरी धेरै दक्षिणपन्थी विचारकहरूले वर्गीय समाजलाई सही ठह¥याउँदै धनी र शक्तिशाली व्यक्तिहरू समाजको उच्च भागमा पुग्नुमा उनीहरूको विकसित जीनको भूमिका रहेको बताए, उनीहरूको लोभ र आक्रमकताको होइन । वर्तमान परिस्थितिमा उनीहरू, लोभ र आक्रामकता सकारात्मक र प्रगतिको गुण हो भनी तर्क गर्न थालेका छन् ।
‘विगल’ सानो जहाज थियो । तर, ठूल्ठूला विचार लिएर फर्कियो ।
मानवजातिको उच्च विकासको लागि राम्रो नश्ल छान्नेहरू (Eugenicist) र नाजीहरूले ‘तल्ला’ वा ‘कमसल’ जीवहरूलाई सन्तान उत्पादन गर्न दिन्नु हुन्न भन्ने तर्क गर्छन् – उनीहरूलाई या त जबरजस्ती नपुंसक बनाउनु पर्छ वा मार्नुपर्छ । यो नीतिलाई नाजीहरू सत्तामा पुगेपछि ग्यास च्याम्बर र व्यापक नरसंहार (Holocaust) मार्फत प्रयोगमा ल्याइयो । त्यसपछि पनि स्कान्डाभिया, स्वीजरल्यान्ड, संरा अमेरिका र अष्ट्रेलियाका केही सरकारहरूले कमसल ठानिएका युवाहरूलाई जबजरस्ती नपुंसक बनाउने कार्य केही दशक अघिसम्म जारी राखेका थिए । यो समूहमा सुस्त मनस्थितिका व्यक्ति, घुमन्ते जाति (Gypsies) अस्ट्रेलियाली अबोरिजिन (Aborigine) आदिवासी र अरु अल्पसङ्ख्यक जनजाति थिए ।
तर, डार्बिनले देखाएको कुरा त अर्कै थियो– संसारको अनिश्चित र परिवर्तित वातावरणमा बाँचिरहनका लागि कुनै पनि प्रजातिमा ठूलो वा व्यापक जीन समूह (Gene Pool) आवश्यक छ । यता यी राम्रा नश्लका पक्षपातीहरूले मानव प्रजातिको जीन समूहलाई झन् सानो बनाएर मानवजातिको अस्तित्व नै सङ्कटमा पार्दै छन् । हाम्रो शक्ति नै विविधतामा छ† भिन्ना भिन्नै मानवले आफ्नो शक्ति समूहलाई दिन्छ भने समूहले मानवलाई ।
डार्विनले पुँजीवादी अर्थशास्त्रको सिद्धान्तका प्रणेता म्याल्थस र एडम स्मीथका लेखहरू पढेका थिए । उनीहरूको सिद्धान्तअनुसार उपभोग्य वस्तुलाई कम भाउमा बेच्ने सक्षम उत्पादकले प्रगति गर्ने र बढी मूल्यमा बेच्ने असक्षम उत्पादक विस्थापित हुने बजारमा देखिने यो प्रतिस्पर्धाले नराम्रोमाथि राम्रा उत्पादन विजयी हुन्छ ।
एङ्गेल्सले यसबारे लेख्नुभएको छ, “पुँजीवादी अर्थशास्त्रीहरूले सबभन्दा ठूलो ऐतिहासिक उपलब्धि ठानेको अस्तित्वका लागि सङ्घर्ष र स्वतन्त्र प्रतिस्पर्धालाई प्राणीजगत्को सामान्य सिद्धान्त भनी लेखेर मानव जाति र आफ्नै देशका जनताप्रति डार्विनले कत्रो व्यङ्ग्य गरे, त्यो उनी आफैले बुझ्न सकेनन् ।”तर डार्विनले भनेको ‘सक्षमता’ कुनै वातावरणीय स्थितिको लागि थियो– सम्पूर्ण अवस्था र स्थितिका लागि होइन । अझ डार्विनको नाम सँगै जोडिएर आउने ‘विकासक्रम’ (Evolution) र ‘सक्षम मात्रै बाँच्ने’ (Survival of the fittest) शब्दहरू उनको पुस्तक ‘प्रजातिहरूको उत्पत्ति’ को पहिलो सुरुका संस्करणहरूमा छँदै थिएनन् । बरु ती शब्दका सट्टा परिवर्तन (Mutability) र ‘प्राकृतिक छनोट’ (Natural selection) प्रयोग भएका छन् ।
प्रस्तुति– सुवेग
श्रोत : अनलाइन मजदुर