जि आर रञ्जित
जसरी किराँतकालमा पाटनको च्यासलमा आठ सय जना किराँतीहरुको हत्या गरि बैशालीबाट आएका लिच्छविहरुले शासन आफ्नो हातमा पारे । त्यसरी उज्जैनबाट आएका मल्लहरुले लडाइँ गरेर शासन लिएको ईतिहास पाइन्दैन । किराँतीहरुको शासन भैरहेको समयमा लिच्छवि, शाक्य, मल्लारि, वज्जी लगायतका समुदायहरु शरणार्थीका रुपमा उपत्यकामा प्रवेश गरेका थिए । पछि मल्लारीको सहयोगमा लिच्छविहरुले किराँतीहरुसंग विद्रोह गरी शासनमा अधिकार जमाएका थिए । सुपुष्प प्रथम लिच्छवि राजा थिए । सुरुका समयमा देव थर भएका राजाहरुले नै शासन गरेका थिए । जस्तै बसन्तदेव, शिवदेव, मानदेव, मित्रदेव आदि । पछिल्लो लिच्छवि कालमा द्वैध शासन व्यवस्था रहेको थियो । यसरी हेर्दा लिच्छविबाट नै सहज किसिमले मल्लवंशमा शासन हस्तान्तरण भएको देखिन्छ । बि.सं १२११ नेपालमा राजा मित्रदेवले मल्लयुद्ध गरी सर्वसाधारण जनतालाई मनोरञ्जन दिइरहेका बेला दरबारमा उनको छोराको जन्म भयो । त्यस बेला उनले आफ्नो छोरालाई मल्ल उपाधि दिए । त्यही उपाधि नै थरका रूपमा रहन गयो भन्ने वंशावलीहरूमा पाइन्छ । १२५७ मा नेपालमा प्रथम मल्ल राजा अरि मल्ल भएका थिए भने यसै समय कहिले लिच्छविले त कहिले मल्लहरुले राज्य चलाएको देखिन्छ । यस समय नेपाल मण्डलको राजधानी भक्तपुर थियो भने राजाहरू ‘युथनिम्हम’ र ‘त्रिपुर’ दरबारमा रही शासन चलाउँथे । यो क्रम अरि मल्ल पश्चात् अभय मल्ल, आनन्द मल्ल हुन्दै रुद्र मल्ल सम्म रहेको थियो । रुद्र मल्लका छोरा नभएको कारण छोरी नायकादेवीको बिबाह हरिशचन्द्र र पछिल्लो पल्ट सिम्रौनगढबाट शरण लिन आएका जगतसिंह संग भएको थियो भने उनिबाट पनि एक मात्र सन्तान रजलादेवी भए । जसको बिबाह स्थिती देवसंग भयो । स्थितीदेवले उपत्यका मै दीक्षा लिएर देवबाट मल्ल थर धारण गरेपछि जयस्थिती मल्ल हुन पुगे र द्वैध शासनको अन्त्य गरि मल्ल शासनको सुरुवात गरे । जयस्थिती मल्ल पश्चात् जयधर्म मल्ल, जयज्योतिर मल्ल र यक्ष मल्लले शासन गरेका थिए । बि.सं १४८५ मा राजा यक्ष मल्लको मृत्यु पश्चात् जेठा छोरा राय मल्ल भक्तपुरका राजा भए भने महिलो छोरा रण मल्ल काभ्रेका राजा भए । त्यस्तै कान्छो छोरा रत्न मल्ल र छोरी धर्मवतीले संयुक्त रुपमा कान्तिपुर र ललितपुरमा शासन गरेका थिए । काभ्रेमा रण मल्ल पछि केशव मल्ल र कृष्ण मल्लले शासन गरेका थिए । यसै समय भक्तपुरमा राय मल्ल पछि सुवर्ण, प्रण मल्ल र विश्व मल्लले राज्य चलाएका थिए । बिश्व मल्ल कमजोर भएका कारण रानी गंगा महारानी सर्वेसर्वा थिए । गंगा महारानीले नै काभ्रेमा आक्रमण गरि काभ्रेलाई भक्तपुरमा गांबेका थिए । बिश्व मल्ल पछि त्रैलोक्य मल्ल, जग ज्योती मल्ल, नरेन्द्र मल्ल, जगत प्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजित मल्लले शासन चलाएका थिए । त्यस्तै कान्तिपुर र ललितपुरमा भने राजा रत्न मल्ल पश्चात् सूर्य मल्ल, अमर मल्ल, महेन्द्र मल्ल, सदाशिव मल्ल राजा भएका थिए । सदाशिव मल्लका पालामा भाइ हरिहर मल्लले पाटनलाई अलग्गै राज्य बनाउन विभिन्न षड्यन्त्र रचे । यसरी कान्तिपुर र ललितपुर छुट्टै राज्य बन्न पुगे । कान्तिपुरमा सदाशिव पछि लक्ष्मी नरसिंह मल्ल, प्रताप मल्ल, पार्थिबेन्द्र मल्ल, भूपलेन्द्र मल्ल, भाष्कर मल्ल राजा भए । भाष्कर मल्ल (सन् १७००-१७२२) मृत्यु पश्चात उनि निसन्तान भएकोले उनका भान्जा नाता पर्ने तत्कालिन मुख्यमन्त्री झंगल थाकुलका नातेदार जगजय मल्ल राजा भए । जगजय मल्ल पछि उनका छोरा जय प्रकाश मल्ल राजा भएका थिए ।
ललितपुरमा हरिहर सिंह मल्ल पछि सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, योग नरेन्द्र मल्ल राजा भए । राजा योगनरेन्द्र मल्लको मृत्यु पश्चात उनि निसन्तान भएकोले मथ्याहा तर्फको छोरा लोकप्रकाश मल्ल (सन् १७०५-१७०६) को समेत मृत्यु भए पश्चात भान्जा नाता पर्ने इन्द्र मल्ल (६ प्रधान मध्ये १ को छोरा) राजा भए । कतै कतै इन्द्र मल्ललाई बिष्णु मल्ल पनि भनिन्छ । बिष्णु मल्ल पछि ६ प्रधानहरु शक्तिमा आउन थाले पछि उनिहरुले नै आफू खुशी राजाहरु नियुक्त गर्ने थाले । यसरी बिष्णु मल्ल पछि राज्यप्रकाश मल्ल, बिश्वजित मल्ल राजा भए भने बिश्वजित पछि कान्तिपुरका राजा जय प्रकाश मल्ल र भक्तपुरका राजा रणजित मल्ललाई पनि ललितपुरका राजा बनाएका थिए । त्यसैगरि यी ६ प्रधानहरुले पृथ्वीनारायणका भाइ दलमर्दन शाहलाई पनि ललितपुरका राजा नियुक्ती गरेका थिए । अन्तमा तेज नरसिंह मल्ल ललितपुरका राजा भए । यस समय पृथ्वीनारायण शाहका सेनाहरुले उपत्यका चारैतिरका राज्यहरु जित्दै आएका थिए । बि.सं १८२५ मा काठमाडौ जितेपछि यी ६ प्रधानहरुले पृथ्वीनारायण शाहलाई नै ललितपुर सुम्पेका थिए । सत्ताच्यूत भएका राजाहरु जयप्रकाश मल्ल र तेज नरसिंह मल्ल भने भक्तपुरका राजा रणजित मल्लकोमा शरण लिन आएका थिए । पृथ्वीनारायण शाहले आफ्नो मीतबुबासंग शरणलिन आएका राजाहरु मागे पछि मीतबुबाले दिन नमानेपछी भक्तपुर माथी आक्रमण गरे । यस आक्रमणको प्रतिकार गर्न राजा रणजित मल्ल नमानेपछि यसको कमान राणजित मल्लका छोरा अवधूत सिंह मल्ल, जयप्रकाश मल्ल र तेज नरसिंह मल्लले गरेका थिए । बि.सं १८२६ मा तीन दिनको लडाइँ पश्चात् भक्तपुर माथी जीत हासिल गरे । जयप्रकाश मल्ल र तेज नरसिंह मल्ललाई बन्दी गरे भने रणजित मल्ल र अवधूत सिंह मल्ललाई काशी पठाए । बाँकी सन्तानले पृथ्वीनारायण शाहबाट बच्न प्रधान, प्रधानांग, बैदार, बहिदार, मुलेपति, तिमिला, था, थाकु, थाकुल, राजवंशी, रघुवंशी, राजलवट, श्रेष्ठ आदि थर लेख्ने गरेका छन् । काशी गएको १५ बर्षपछि अवधूत सिंह बाग्लुङमा फर्केका थिए । पर्वतका राजा कीर्तिबम मल्लबाट अवधूत सिंहले बागलुङ उपल्लाचौरमा १०० मुरी जग्गा बिर्ता पाएका थिए । अवधूत सिंहले उपल्लाचौरमा तेलिया इँटाको गारो र काठको कलात्मक थाम, झ्याल, ढोका भएको भव्य दरबार बनाएका थिए । उनकै सन्तानहरु हाल कुश्मा बजार, बागलुगं, पाल्पा, बुटवल, खैरेनी, गोरखा, दमौली, चितवन, हेटौंडा, रिडी, प्युठान, डोटी, बर्दिया, नेपालगंजमा बसोबास गर्छन ।
स्रोत :सामाजिक सञ्जाल