#सिड्नी स्यापिरो
(सिड्नी स्यापिरो अमेरिकी नागरिक थिए । दोस्रो विश्वयुद्धमा उनी अमेरिकी सिपाहीँ थिए । विश्वयुद्ध सकिएपछि सिपाहीँहरूलाई सामाजिक समायोजनको क्रममा कुनै न कुनै विदेशी भाषा सिक्ने अवसर दिइयो । सिड्नी खासमा फ्रान्सेली भाषा सिक्न चाहन्थे । तर, फ्रान्सेली भाषाको कक्षामा उनले ठाउँ पाएनन् । अनि उनी चिनियाँ भाषा सिक्न थाले । चीनमा गएर पैसा कमाउने उनको सपना थियो । चिनियाँ भाषा सिकेर उनी साङ्घाई घुम्न आए । त्यतिबेला चीन पश्चिमा साम्राज्यवादी देशहरूका अर्ध उपनिवेश थियो । चीनका विभिन्न भूभाग, सहर र नाका साम्राज्यवादीहरूले कब्जा जमाएका थिए । तर, चीनमा कम्युनिस्ट पार्टीको प्रभाव पनि बलियो बन्दै थियो । सिड्नीले चिनियाँ छोरी फिनिक्ससँग विवाह गरे । फिनिक्स सांस्कृतिक क्षेत्रका कलाकार थिइन् । उनीहरूले पनि कम्युनिस्ट पार्टी र क्रान्तिलाई समर्थन गरे ।
चीन जापानी उपनिवेशवाद र कोमिङतानको शासनबाट मुक्त भएपछि सिड्नी र उनको परिवार पेइचिङमा बस्न थाले । सिड्नीले चीनका विभिन्न कृतिको अङ्गे्रजी भाषामा अनुवाद गर्ने काम पाए । उनले चीनका धेरै शास्त्रीय तथा समकालीन कृतिको अङ्ग्रेजी भाषामा अनुवाद गरेका छन् । उनले अनुवाद गरेका तिनै कृति नै चीनको नयाँ जनवादी व्यवस्था र चिनियाँ क्रान्ति संसारभर पु¥याउने सेतु बन्यो । उनै सिड्नी स्यापिरोको आत्मसंस्मरणात्मक कृति ‘एन अमेरिकन इन चाइना, थर्टी एयर्स इन द पिपुल्स रिपब्लिक’ सन् १९७९ मा प्रकाशित भयो । सोही पुस्तकको तेस्रो पाठको नेपाली सारांश प्रस्तुत छ । चीनको तत्कालीन परिस्थिति र जनजीवन बुझ्न यो सामग्री पाठकको लागि रोचक र उपयोगी हुन सक्छ ।)
सन् १९५३ मा अनेकन समस्याबिच चीनको परिस्थिति मूलतः स्थिर थियो । किसानहरू उत्पादक सहकारी संस्था गठन गर्दै थिए, व्यापार व्यवसाय पनि समाजवादको बाटो हिँड्दै थियो । जुलाई महिनामा कोरियाली युद्धविराम सम्झौतामा हस्ताक्षर भयो । चिनियाँ स्वयम्सेवक लडाकुहरू कोरियाली युद्धभूमिबाट स्वदेश फर्किरहेका थिए । सन् १९५३ मा चीनको पहिलो पञ्चवर्षीय योजना सुरु भयो ।
त्यही साल म विदेशी भाषा प्रेसमा संलग्न भएँ । सन् १९५१ मा म परराष्ट्र सांस्कृतिक सम्बन्ध ब्युरोमा कार्यरत छँदै हामीले परीक्षणको रूपमा ‘चाइनिज लिटरेचर’ नामको पत्रिकाको प्रकाशन थाल्यौँ । त्यो पत्रिकामा हाम्रो मूल जोड समकालीन रचनाको प्रकाशन थियो । यद्यपि, हामीले पाएसम्मका पछिल्ला उत्कृष्ट आख्यान र साहित्यिक रचनाका साथै शास्त्रीय चिनियाँ तथा बीसौँ शताब्दीका सुरुका रचना पनि चिनियाँ भाषाबाट अङ्ग्रेजीमा अनुवाद गरेर प्रकाशन गर्न थालेका थियौँ । तर, नयाँ चीनलाई पुस्तक, पत्रिका र पम्लेटका माध्यमबाट संसारलाई चिनाउन एउटा बृहत् सङ्गठनको आवश्यकताबोध भने अझ सघन बनिरहेको थियो । फलतः सन् १९५३ मा विदेशी भाषा प्रेसको स्थापना भयो । अरूसँगै हाम्रो पत्रिका पनि यही संस्थाभित्र समाहित गरियो ।
हाम्रो कार्यालय मञ्चु शासनकालका एक जना शासकको घरमा राखिएको थियो । सुन्दर बगैँचाभित्र चौडा खाली चोकमा बनेको एकतले झिङ्गटीले छाएको आकर्षक घर नै हाम्रो कार्यालय थियो । कार्यालयका दुई जना कर्मचारी, एक जना अङ्ग्रेज महिला र उनकी चिनियाँ श्रीमान् पनि त्यहीँ बस्थे । उनीहरूले बेलाबेला हामीलाई चिया वा कफी खुवाउँथे । अङ्ग्रेज महिला बेलायती व्यापारीकी छोरी थिइन् । उनी चीनमै हुर्केकी थिइन् । चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा उनको राम्रो दखल थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढ्दाताका उनीहरूले एकअर्कालाई भेटेका रहेछन् । पछि उनीहरूको विवाह भयो । जापानीहरूले आत्मसमर्पण गरेपछि उनीहरू चीन फर्के । श्रीमान्को पनि अङ्ग्रेजीमा राम्रो दखल थियो । चिनियाँ शास्त्रीय साहित्यसँगै समग्र विश्व साहित्यबारे उनको ज्ञान फराकिलो थियो । त्यो दम्पत्ति मिलेर भाषानुवादकहरूको एउटा गज्जबको टोली बनाइएको थियो ।
त्यहाँ काम गर्ने हामी एक दर्जन कर्मचारी थियौँ । हामी त्रैमासिकरूपमा पत्रिका प्रकाशन गथ्र्यौँ । पछि पाक्षिकरूपमा त्यसको प्रकाशन भयो । अनि मासिकरूपमा ।
मेरो भागमा समकालीन साहित्यिक रचनाको चिनियाँ भाषाबाट अङ्ग्रेजीमा अनुवाद गर्ने जिम्मा थियो । विशेषतः मैले युद्ध र लडाइँसम्बन्धी साहित्यको अनुवाद गर्नुपथ्र्यो । प्रायशः अनुवाद गर्नुपर्ने रचना रुखोसुखो हुन्थ्यो । तातो रगत बग्ने हरेक अमेरिकी केटाहरू हिंसात्मक आख्यानको खुराक खाएर हुर्केका हुन्थे । त्यसकारण, त्यस्ता साहित्यको अनुवाद गर्न आवश्यक पर्ने शब्दज्ञान र उपमाको मसँग कुनै कमी थिएन ।
खासमा त्यस्ता साहित्य अनुवाद गर्दा मलाई स्वाद लाग्थ्यो । तिनका कतिपय पात्रसँग मेरो विशेष निकटता अनुभव हुन्थ्यो । मलाई त्यस्ता साहित्य अनुवादको काम मनपर्नुको अर्को कारण त्यसमा मैले सामान्त्न्दा बढी नै चिनियाँ पढ्नुपथ्र्यो । चीन लामो र गतिशील इतिहास बोकेको विशाल देश हो । कसैले पनि, अझ एक जना विदेशीलाई ती सबै समय र क्षेत्र सम्पूर्णतः बुझ्न सजिलो छैन । त्यसकारण, चीनका कथा, कविता र नाटकबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।
समाजमा आउने परिवर्तनसँगै त्यहाँको लेखनशैलीमा पनि परिवर्तन हुने कुरा हामीले आफ्नै आँखाले देख्छौँ । केही सय वर्षअघिसम्म लेखनको ढाँचालाई नै प्रमुख मानिन्थ्यो । कुनै पनि साहित्यले के भन्यो, महत्वपूर्ण हुने गर्दैनथ्यो । जे भने पनि त्यसलाई आकर्षक पारामा निश्चित सूत्रभित्र रहेर भन्नुपथ्र्यो । अस्पष्टता र छायावादी लेखन नै उतिबेलाको लेखनको मूल प्रवृत्ति थियो । चीनको इतिहासका आधा दर्जन शताब्दीमा आधा दर्जनभन्दा कम सङ्ख्यामा मात्र उल्लेखनीय उपन्यास प्रकाशित भए । ती उपन्यास बुझ्न मध्ययुगीन ल्याटिन भाषाका साहित्यलाई बुझ्ने बनाउन युरोपेली विद्वान्हरूले जति मिहिनेत गर्थे, त्यति नै मेहनत गर्नुपथ्र्यो ।
प्रथम विश्व युद्धपछि त्यस्ता पुराना लेखनशैलीप्रति असहमतिका आवाज सुनिन थाल्यो । बीसौँ शताब्दीको सुरुआतमा कम्युनिस्टहरूले नै यो अभियानको नेतृत्व गरे । तर, (चिनियाँ कम्युनिस्ट) पार्टी सत्तासीन भएपछि मात्र चीनभर ‘जनताको भाषामा’ लेख्ने अभियान थाल्न सम्भव भयो । लेखकहरूले जनताको बोली बुझ्न जरुरी भयो । कतिपय पुराना उखान टुक्का र भनाइ अपठित मानिसको बोलीबाट अभिव्यक्त भइरहेका हुन्छन् । तिनले भाषालाई अझ समृद्ध र सुन्दर बनाएको हुन्छ । यस्ता सुन्दर अभिव्यक्तिलाई जोगाउने र लेख्य भाषामा क्रमशः रूपान्तरण गर्नुपर्ने मूल विचार मूलधारमा आयो । त्यसो गर्दा त्यहाँका साहित्य ताइवान वा हङकङका पत्रपत्रिकामा प्रयोग गरिने भाषाभन्दा नितान्त पृथक हुँदै गयो ।
लेख्य भाषा बोलीचालीको भाषासँग निकट हुँदा चीनको साक्षरता दर बढ्न त बढ्यो, तर सोचे जति भने बढ्न सकेन । चिनियाँ भाषा पढ्न कम्तीमा दुई हजार अक्षर (क्यारेक्टर) बुझ्नुपर्छ । अनि ती हरेक क्यारेक्टर कण्ठस्थ गर्नुको अर्को उपाय नै हुँदैन । चिनियाँ भाषामा केही चित्राक्षर छन् । प्राचीनकालमा मानिस आफूले भन्न खोजेका कुरा चित्र बनाएर अभिव्यक्त गर्थे । धेरै चिनियाँ क्यारेक्टर सोचमा आधारित छन् । भन्नुको मतलब ती क्यारेक्टरमा कुनै अमूर्त विचार अभिव्यक्त गर्न विभिन्न चित्रको संयोजन गरिएको हुन्छ । अनि केही भने स्रोतबिहीन छन् जसको स्रोत परम्पराकै कुनै कुनामा हराएको हुनुपर्छ । थोरै क्यारेक्टर भने स्वतन्त्र खालका छन् । हिजोआज धेरै त लामा शब्दका अक्षर बनेका छन् ।
कण्ठस्थमात्र गरेर पुग्दैन, बरु लगातार पढेर र लेखेर चिनियाँ क्यारेक्टर सिक्नुपर्छ । नत्र एक समय सिकेका क्यारेक्टर पनि बिर्सिँदै गइन्छ । छोटो समयावधिको साक्षरता कोर्स पढेका किसानहरूको सन्दर्भमा यो विशेष लागु हुन्छ । कनिकुठी गरेर उनीहरूले झन्डै तीन महिनामा त्यस्तै पन्ध्र सय क्यारेक्टर सिक्थे । तर, पढ्नु भनेको झ्याउलाग्दो काम हो र लेख्न उनीहरूसँग कुनै बहाना नै हुन्थेन । त्यसकारण, तीन महिनामा सिकेका कुरा उनीहरूले अर्को तीन महिनामा सबै पोलेर खाइसकेका हुन्थे ।
जटिल खालका चिनियाँ क्यारेक्टरलाई सरलीकरण गर्न चीन सरकारले एउटा विशेष राष्ट्रिय आयोग गठन ग¥यो । आयोगले पक्कै केही काम त ग¥यो । तर, मूल समस्या भने ज्यूँका त्यूँ रहे । सोचमा आधारित लेखन अवैज्ञानिक र बोझिलो हुन्थ्यो ।
मेरै एक जना मित्रको नेतृत्वमा अर्को एउटा आयोग पनि गठन गरियो । चिनियाँ भाषालाई वर्णमाला (एल्फाबेट) को ढाँचामा लाने सम्भावनाबारे अध्ययन गर्नु त्यो आयोगको मूल ध्येय थियो । मेरा मित्रको भनाइमा उनीहरूले निकै मेहनतका साथ काम गरे । तर, उनीहरूलाई काम गर्न ज्यादै कठिन भयो । मानिसहरूले क्यारेक्टर सिक्न छोडे चिनियाँ मूल लेखन र अन्य विभिन्न भाषामा तिनको अनुवादबाट ठुलो हिस्सा मेटिने त्यो आयोगले निष्कर्ष निकाल्यो ।
तर, चिनियाँ भाषा र लिपिमा सुधार चाहनेहरू यो विचारसँग सहमत थिएनन् । उनीहरू युरोपमा ल्याटिन र ग्रीक भाषा र लिपिमा विज्ञहरूले विशेषज्ञता हासिल गरेजस्तै चिनियाँ भाषिक इतिहासका विज्ञहरूले चिनियाँ लिपिमा विज्ञता हासिल गर्न सकिने अन्यथा सामान्य प्रयोगको लागि चिनियाँ भाषालाई वर्णमाला ढाँचामा विकास गर्नुपर्ने मान्यता राख्थे ।
क्यारेक्टरलाई निरन्तरता दिनुपर्ने धारणाका पक्षधरहरू शब्दोच्चारणमा चिनियाँ भाषामा ठुलो क्षेत्रीय अन्तर भएको र त्यसकारण यदि चिनियाँ भाषालाई वर्णमाला ढाँचामा लगे एउटा क्षेत्रको चिनियाँले अर्को क्षेत्रको चिनियाँले बोलेको नबुझ्ने सम्भावना भएको तर्क गर्थे ।
सुधारका पक्षधरहरू यो तर्कमा सहमत थिएनन् । धेरै देशमा एकभन्दा बढी भाषिका छन् । तथापि पनि त्यहाँ वर्णमालाको प्रयोग हुने गरेको छ । बरु वर्णमालाले उनीहरूको भाषालाई स्तर बनाउन मद्दत गरेको छ ।
भाषा आयोगले फुचियानको एउटा प्राथमिक विद्यालयमा एउटा अध्ययन टोली पठाएर थप अध्ययन ग¥यो । चीनका अन्य क्षेत्रका मानिसको निम्ति फुचियानका मानिसले चिनियाँ भाषा बोल्दा ‘चरा चिरचिर गरेको’ जस्तो भन्थे । अध्ययन टोलीले प्राथमिक विद्यालयका विद्यार्थीलाई वर्णमाला सिकायो । त्यसको ध्वनि र हिज्जे सिकाइयो । अनि उच्चारणमा भएका कमजोरी सच्याइयो । केही सातामै बालबालिकाहरूले शुद्ध पेइचिङ शैलीमा चिनियाँ भाषा बोल्न सिके ।
आयोगले रोमन लिपिमा एउटा सानो पत्रिका र कैयौँ पुस्तक पनि प्रकाशन ग¥यो । उनीहरूले क्यारेक्टरको प्रयोग गर्दा टाइप गर्न, छाप्न र टेलिग्राफ तथा विद्युतीय संवादमा कति कठिनाइ हुन्छ र वर्णमालाको प्रयोगले तिनै काम कति सहज हुन्छ भन्ने कुरा देखाउने प्रयास गरे । अध्यक्ष माओ त्सेतुङ आफैँ पनि वर्णमालाको प्रयोग हुने चिनियाँ भाषाको पक्षमा थिए । यो विचारप्रति सर्वसाधारणको पनि व्यापक समर्थन थियो ।
तर, वर्णमाला प्रयोग गर्ने प्रस्ताव बिचमै तुहियो । परम्परावादीहरू नै क्षणिकरूपमा विजयी भए । समयान्तरमा चिनियाँ भाषा घुमिफिरी वर्णमाला प्रयोग गर्ने अवस्थामा पुग्यो । सन् १९७८ को अन्त्यतिरबाट विदेशमा चिनियाँ व्यक्ति र स्थानको नामलाई रोमन लिपिमा रूपान्तरण गरी पठाउने निर्णय भयो । त्यो सानो तर महत्वपूर्ण सुरुवात थियो ।
चिनियाँ भाषाको परम्परागत प्रारूप त्याग्न नचाहनुको पछाडि पनि बलियो आधार थियो । चिनियाँ क्यारेक्टरको लेखन सुन्दर र महत्वपूर्ण कला हो । त्यसो त हिजोआज धेरैजसो चिनियाँहरू यतातिर लाग्दैनन् । तर, चीनका सुसंस्कृत परिवारमा केटाकेटीलाई सानै उमेरमा यो कला सिकाइन्छ । यो कला कुनै चित्रकला भन्दा कम हुँदैन ।
ताइ ची
चिनियाँ परम्परामा उपयोगी त्यस्ता धेरै ज्ञान छन् । हाम्रो कार्यालयको परिसर फराकिलो थियो । कार्यालयमै बस्ने अङ्ग्रेज सहकर्मी र उनकी श्रीमान्लाई ताइ ची छ्वान सिकाउन साँझपख एक घण्टा एक जना बुढो मान्छे त्यहाँ आउँथ्यो । बगैँचामा उनले मेरा सहकर्मी दम्पत्तिलाई ताइ ची सिकाउँदै गरेको म हेरिरहन्थेँ । ताइ ची शरीरलाई ठीकठाक राख्ने पुरानो चिनियाँ विधि हो । मैले पनि त्यो कक्षामा सामेल हुने रहर गरेँ । हाम्रा गुरु ६० वर्षका थिए । उनीका बाजे र बुबाले पनि यो कला सिकाउँथे ।
दुई हजार वर्षअघि हान कालमा उतिबेलाका सिपाहीँहरूको शारीरिक अभ्यासको रूपमा यसको विकास भएको थियो । कालान्तरमा यो उपचारात्मक कला (थेराप्युटिक डान्स) को रूपमा विकास भयो । चिकित्सकहरूले सर्वसाधारणलाई यसको अभ्यास गर्न सल्लाह दिन्थे । अस्पतालहरूमा स्वास्थ्यलाभको लागि यो विधि प्रयोग गरिन्थ्यो । अल्सर, उच्च रक्तचाप, अनिद्राजस्ता समस्या भएका बिरामीको लागि यो विधि उपयुक्त मानिन्छ ।
मेरो लागि ताइ ची कला तनाव कम गर्ने राम्रो विधि बन्यो । यसका चाल ज्यादै सुस्त, झन्डै सपना देखेजस्तै हुन्छ । यो अभ्यासमा लामो श्वास तान्ने र फाल्नेबिचको तालमेल मिलाउनु पर्छ । श्वासको यो चालमा एकाग्रता राख्नु कठिन हुन्छ ।
ताइ ची कुनै पनि समस्याको अचुक उपाय होइन । सबैको लागि यो विधि उत्तिकै उपयोगी नहुन सक्छ । तर, मेरो लागि प्रायशः यो विधिले काम गरेको अनुभव हुन्छ ।
छोरी
मेरी छोरी या–मेइ शिशु विद्यालय जान थालेकी थिइन् । कम्युनिस्टहरूको पक्षमा लागेका कोमिङतानका एक जना उच्च अधिकारीकी जहानले चलाएको विद्यालयमा छोरीलाई भर्ना गरेका थियौँ । हामी बसेको घरभन्दा विद्यालय थोरै टाढा थियो । बिहान केटाकेटीलाई लिन एउटा सानो भ्यान आउँथ्यो । आठ जना केटाकेटी बोकेर विद्यालयतिर हुइँकिन्थ्यो । सुरुका दुई दिन बिहान छोरी रोइन्, मानौँ उनलाई उत्तरी ध्रुवमा पठाउन लागिएको हो । तर, तेस्रो दिन विद्यालयबाट घर फर्किँदा उनी स्वाभाविक भइसकेकी थिइन् । उनी आफ्नो नयाँ उपलब्धिका कुरा हामीलाई सुनाउन आतुर थिइन् ।
“आज मिसले मलाई तिमी राम्री छ्यौ भन्नुभयो”, खुसी भएर उनले सुनाइन् ।
“केमा राम्री ?”
“खानमा । मैले अरूभन्दा चाँडै खाजा खान सिध्याएँ ।”
चिनियाँ केटाकेटी सात वर्षको नहुँदासम्म प्राथमिक विद्यालयमा भर्ना हुन्थेनन् । हुन त उनीहरू ६ वर्ष वा त्योभन्दा पनि कम उमेरमा विद्यालयमा भर्ना हुन सक्षम हुन्छन् । यसरी विलम्ब गर्नुको अर्थ मैले बुझ्न सकेको थिइनँ । यो बुझाइ केटाकेटीको सिकाइबारे तुलनात्मकरूपमा पछौटे बुझाइ हो वा शिक्षक तथा कक्षाकोठाको अभावको कारण यस्तो ढिलाइ गरिएको हो, मैले ठम्याउन सकेको छैन ।
मेरी छोरी या मेइलाई म ‘विदेशी’ हो भन्ने कुराको हेक्का थियो । तर, त्यसको अर्थ के हो भन्ने कुरामा उनी स्पष्ट थिइनन् । उनलाई त्यसमा खास कुनै समस्या पनि थिएन । तर, राष्ट्रिय दिवसको परेड र तियान आन मेन चोकमा साँझ हुने आतसबाजीमा आमन्त्रण गरिने बुबा पाउँदा उनी पनि खुसी नै हुनुपर्छ । (यो आलेख अनलाइन मजदुरमा पनि प्रकाशित छ ।)
नेपाली भावानुवाद : नीरज