शुरु शुरुमा प्रधानमन्त्री रोजगार कार्याक्रमले सबैतिर चर्चा पायो। हरेक संचार माध्यमहरुमा मुख्य शिर्षक बनेर मुख्य पृष्ठ बनाइएको थियो। कार्यक्रम बिस्तारै शुरु पनि भयो। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार पाएकाहरुले काम नपाएर बाँदर धपाउने, बाटो सफा गर्ने, गाई धपाउने जस्ता काम लगाएको भन्दै अनगिन्ती आलोचना पनि समेत भए।
तर प्रधानमन्त्री रोजगार कार्यक्रम जव बिस्तारै गाउ गाउमा पुगेर बेरोजगारहरु समक्ष पुग्यो तव यसले कामको खोजीमा भौतारिएकाहरुको जिवनमा फरक आयाम थपिदियो। तथ्यांकगत अध्ययन गर्दा पनि रुपन्देहीको हकमा आ व ०७९/०८० मा ५ हजार ६०९ जना व्यक्तिहरु बेरोजगार सुचिमा सुचिकृत भएका मध्ये ९९२ जनालाई रोजगार उपलब्ध गराइएको छ। मतलव ९९२ जनाको जिवनमा हात र मुखको सम्बन्धलाई बिश्वासिलो बनाइदिएको छ। तिनै ९९२ जनालाई ८० हजार ४७९ दिनको रोजगारीको सुनिश्चित गरिदिएको छ। औसतमा भन्ने हो भने बेरोजगार सुचीमा सुचिकृत मध्ये एक जना बेरोजगारले ८१.५ दिन रोजगार पाए ।
युवारुप र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्युनतम रोजगारी सृजना गर्नका लागि नेपाल सरकारले बजेट विनियोजन गरेको हुन्छ। युवारुपका लागि १०८ वटा आयोजना र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६९ वटा आयोजनाहरु रुपन्देही जिल्ला भित्रका स्थानिय निकायहरुमा सन्चालित भएका छन ।
संघिय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएपछि स्थानीय तहमा हुने बिभिन्न योजना तथा विकास निर्माणमा महिला सहभागितामा वृद्धि भएको छ । कार्यक्रम मार्फत हुने विकास निर्माणका कामहरू साना सिँचाइ योजना, बाटो निर्माण, खानेपानी योजना, भवन निर्माण जस्ता कामहरुमा महिलाको सहभागिता बढेको हो । विकास निर्माणमा सहभागी भएका महिलाहरूले आर्थिक उपलब्धी समेत हासिल गर्न पाएका छन ।
कञ्चन गाउपालिकामा गत आ.व.२०७९/०८० मा ४० जनालाई रोजगारी उपलब्ध गराउन सफल भएको छ। गाउपालिकामा २४७ जना बेरोजगार सुचीमा सुचिकृत भएका मध्ये गत आ.व.मा ४० जना बेरोजगारहरुलाई करिब ८० दिनको रोजगारमा संलग्न गराएको हो। ३१ जना पुरुष र २१६ जना महिलागरी २४७ जना पालिकामा सुचिकृत बेरोजगारहरु मध्ये ४० जनालाई ८० दिनको रोजगारी सृजना गराउदा १७ लाख १ हजार ६९४ रुपैया ज्याला समेत भुक्तानी गरेको छ। कम्तीमा ८० दिन भएपनि ४० जनाको घरमा बिहान र साँझ चुलो बल्ने अवसर पायो। घरमा चुलो बलेपछि उनिहरुको परिवारमा खुशी दिलायो।
नेपालको मल्लकालिन इतिहासमा यस्तो राजा थिए जसले आफ्नो राज्यका प्रजाहरुको घरमा चुलो बलेर धुवाँ उडेको देखेपछि मात्र प्रजाहरुले आज खान पाएछन भनि आफुले खाना खान्थे। प्रजाहरुले खनएपछि खाने मल्लकालिन राजा थिए महेन्द्र मल्ल । उनले आफ्नो राज्यका प्रजाहरुले खाना नखाएसम्म आफु भोकै बस्दथे। यदि कुनै प्रजाको घरमा चुलो नदेखेमा आफ्ना मन्त्रीहरुलाई प्रजाको घरमा पठाई सोधखोज गर्थे र प्रजाको घरमा कुनै अन्नपात नभएको सूचनाको आधारमा उनिहरुको घरमा अन्न पठाइदिन्थे।
अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि कतै महेन्द्र मल्लको विस्तारित रुपमा आएको हो कि भन्ने अनुमान गर्न सकिन्छ। कञ्चन गाउपालिकामा बेरोजगारहरुको सूचिमा सुचिकृतहरु मध्ये गत आर्थिक वर्षमा १६.१९ प्रतिशतले मात्र रोजगार पाएको भएपनि उनिहरुका आश्रित करिब २०० जनाको भोको पेट भरिन पाउनु महेन्द्र मल्लले प्रजाको घरमा चुलो बलेपछि खाना खाने दृष्टान्तलाई केही हदसम्म भएपनि अनुसरण गर्न खोजेको छ प्रधानमन्त्री रोजगार कार्यक्रमले ।
कञ्चनमा प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्नहरु भएकाहरुलाई गत आ.व.मा पालिकाले पालिका भित्र रहेका बिद्यालयहरुमा बगैंचा निर्माण गर्ने, सडकको दायाँ बायाँको नाली निर्माण तथा सफाई, कुलो निर्माण जस्ता निर्माण कार्यहरुमा काम लगाएको थियो। बिशेषगरी आफु बेरोजगार भएको बखत प्रधानमन्त्री रोजगार कार्यक्रमले गर्दा घरमै बसेर काम गर्न पाउँदा आफूलाई निकै सहज भएको रोजगारमा संलग्न बेरोजगारहरुले खुशी ब्यक्त गरेका छन । रोजगारमा संलग्न कञ्चनका एक महिलाले भनिन "जिन्दगीमा सरकारको नुनपानी खाम्ला भन्ने सोंचेको थिएन तर प्रधानमन्त्री रोजगार कार्यक्रमले गर्दा घरको काम धन्दा सकेर पालिकाले दिलाएको रोजगारमा संलग्न भएपछि सरकारको नुनपानी खान पाएं यो भन्दा खुशी अरु के हुन सक्छ र?" यस भन्दा अघिका बर्षहरुमा रोजगारमा संलग्न भएका अम्विका दर्जीले भनिन "आफुले गर्दै आएको ठेकेदारले कोरोनाको समयमा रोग फैलिने भनेर काम रोकेको बेला खोसिएको रोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमले गर्दा काम पाएं अनि मेरो घरमा चुलो बलिरहन पायो।"
कञ्चनका ती दुई पात्रको भनाइबाट प्रस्ट हुन्छ की प्रधानमन्त्रधी रोजगार कार्यक्रमले रोजगार खोसिएकाहरुको रोजगार खोसिनबाट जोगिएको छ भने बेराजगारहरुलाई रोजगारको सृजना गरिएको छ।
कञ्चन गाउपालिकामा आ.व. २०७८/०७९ मा १७ पुरुष र ९७ महिला गरी ११४ जना बेरोजगार सुचिमा सुचिकृत भएका मध्ये ६६ जनालाई ७० दिनको रोजगार उपलब्ध गराएको थियो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६६ जनालाई रोजगार उपलब्ध गराउदा उनिहरुले ३१ लाख ९७ हजार ७४६ रुपैया ज्याला स्वरुप प्राप्त गरेका थिए। कञ्चनले कोरोना संक्रमणको चरम बर्ष अर्थात आ.व. २०७७/०७८ मा ९७ जनालाई रोजगारी उपलब्ध गराएको थियो। गाउपालिकाले औसतमा ५५ दिनको रोजगारी उपलब्ध गराउदा सो बर्ष ९७ जना बेरोजगार ब्यक्तिहरुले रोजगार पाए वापत ज्याला स्वरुप २७ लाख २७ हजार ५४२ रुपैया प्राप्त गरेका थिए।
रोजगारमा संलग्न कञ्चन १ कि तारा कुमारी दमाईले भनिन "प्रधानमन्त्री रोजगार कार्यक्रमले गर्दा मैले काम गर्न पाएको र यो काम बर्षैभरी पाउन पाए अझ राम्रो हुने थियो। गाउपालिकाले ३ महिनाको भएपनि रोजगारी दिएपछि म जस्तो विपन्न परिवारको घरमा राम्ररी भान्सा चलाउन सजिलो भएको उनले अनुभव बताइन।" पालिकाले लगाएको काम गर्दा मेहनत गरे अनुसार थोरै पैसा भएपनि समयमै ज्याला पाएको बताउदै काम गरेपछि पाएको ज्यालाले छोरा छोरीको स्कुलमा महिनावारी फि तिर्न, कापी कलम किन्न निकै सहज बनाइदिएको रोजगारमा संलग्न कञ्चन गाउपालिकाको रोजगार सेवाकेन्द्रबाट काममा खटिएकी फुलमाया गुरुंगले बताइन। केही पनि नहुँदा थोरै दिन भएपनि काम पाउनु निकै ठूलो भएको र यस्तो कामलाई सरकारले निरन्तरता दिएमा हामी जस्ता बिपन्न महिलाहरुलाई निकै राहत हुने गिता जैसि न्यौपानेले बताइन।
यस्तै एकसय दिने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम पाउँदा कञ्चन ३ कि महिला बसन्ती थापाले साँझ बिहान छाक टार्न र छोराछोरीलाई पढाउन सहज भएको अनुभव बताइन। “पहिला महिना सकिएपछि स्कुलको फि कसरी र कहाँबाट तिर्ने होला भन्ने चिन्ता थियो तर अहिले काम पाएं पछि कुनै चिन्ता नभएको बताउदै प्रधानमन्त्री रोजगार कार्यक्रमले मलाई मेरो परिवार चलाउन र बच्चा पढाउन निकै सहज भएको छ” थापाले भनिन।
गाउँपालिकाले सुचना निकाले अनुसार फाल्गुण महिनाभरी वडा कार्यालय तथा रोजगार सेवाकेन्द्रमा आवेदन सँकलन गरेर सङ्कलित आवेदनहरुलाई वडा समितिले छानविन गरी वडा कार्यलय मार्फत रोजगार सेवकेन्द्रमा मापदण्डका आधारमा छानविन भई स्थानिय निर्देशक समिति मार्फत कार्यपालिकामा बेरोजगार व्यक्तिको सुचि प्रकाशन गर्ने गर्दछ। उक्त सूचीलाई रोजगार व्यपस्थापन प्रणालिमा प्रविष्टी गरेपछि प्रथमिकताको सुचि प्रकाशन गरीने गर्दछ । उनीहरूले फारम भर्दा आफ्नो विवरण भरेका आधारमा नै उनीहरू रोजगारीका लागि योग्य हुन वा होइनन् भन्ने छनोट गर्ने काम गर्दछ । त्यसपछि नै उनीहरूलाई सूचीकृत गरेर कार्यक्रममा सहभागी गराउने काम गाउँपालिकाले गर्दै आइरहेको छ ।
“पहिले नै हामीले सफ्टवेयर प्रणालीमार्फत विवरण भराएका हुन्छौ । त्यसबाट नै कसलाई प्राथमिकता दिने भन्ने प्रणालीले नै छान्छ” रोजगार संयोजक ईश्वरी ज्ञवालीले भन्नु भयो। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दा प्राप्त बजेट सबै रकम ज्यालामा खर्च गर्नुपर्ने भन्ने कार्यविधि रहेको छ ।
कञ्चन गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिभिन्न आयोजनाका कामहरुमा खटिएका श्रमिकको भनाइ अनुसार अति विपन्न वर्गका परिवारलाई आफ्नो आम्दानीबाट खर्च धान्नुपर्ने अवस्था नै हुँदैन । उनीहरू कामका लागि भारत वा तेश्रो मुलुकहरुमा जानुपर्ने हुन्छ । आफ्नै स्थानीय तहमा सय दिन काम गरेर अलिकति भए पनि आम्दानी हुँदा उनीहरूका लागि निकै राम्रो भएको गाउँपालिकाको बुझाइ छ । “आफ्नै घर टोलको विकास गर्न पनि पाइएको छ भने त्यसले आर्थिक अवस्था पनि मजबुत भएकाले सबै जना हर्षित छौं ।" काममा लगाएर ज्याला दिएर मात्र भन्दा पनि आयआर्जन, सिपमूलक तालिम लगाउन सकियो भने अझ प्रभावकारी हुन्थ्यो" रोजगारमा संलग्न निकिता दर्जिले भनिन।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सय दिन काम गरेपछि भुक्तानी रकम समयमा नै पाउने गरे पनि ज्याला भने कम भएको बसन्ती थापाले गुनासो गरिन। उनले यो कार्यक्रम सय दिन मात्र नभइ कम्तिमा ६ महिनाको अवधिका लागि सञ्चालन भएमा हामीलाई निकै सहज हुने बताइन । थोरै ज्याला र थोरै दिनको कामले वर्षभरि मजदुरी गरेर खानेलाई सय दिनले केही राहत त मिल्ला तर, समस्या भने यथावत रहने उनले बताईन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमका अनुसार मानिस बिदेसिने क्रम बढिरहेका बेला यो कार्यक्रमले केही हदसम्म सहयोग पुराएको र यस कार्यक्रमको माध्यमबाट गाउँको विकास हुनुका साथै स्थानीयलाई पनि केही सहयोग पुग्ने भनाइ रहेको छ। खासमा न्युनतम रोजगारी नपाएकालाई लक्षित गरेर ल्याइएको कार्यक्रम भएता पनि अदक्ष जनशक्तीका कारण गाउपालिकाको बिभिन्न योजनाहरुमा संलग्न गराउन नसकिएको कुरा प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनु भयो। न्युनतम रोजगार नपाएकाहरुलाई न्युनतम रोजगारमा संलग्न गराउने भनिएको भएपनि उक्त कार्यक्रमले उनिहरुको जिवन निर्वाह चलाउन गाह्रो भएकोले सिपमुलक तालिम दिएर दक्षजनशक्ती तयार गरी त्यही अनुसार स्थानीय तहको बिकास निर्माणको कार्यहरुमा अनिवार्य काममा लगाउन सकियो भने मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अझ प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत गौतमको भनाई रहेको छ।
यस्तै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बनेको बताउनु भयो। अति विपन्न वर्गका मानिसलाई गाउँपालिकाले सूचीकृत गरेर काममा लगाउन पाउनु र काम अनुसारको ज्याला दिन पाउनु पालिकाको एक महत्वपुर्ण कार्य भएको समेत उपाध्यक्ष थापा मगरले भन्नु भयो। कार्यक्रम राम्रो भएपनि संघबाट आउने बजेटमा गाउपालिकाबाट पनि थप बजेट राखेर साझेदार गर्न पाएको भए अझ धेरैले काम पाउने थिए तर पालिकाको आन्तरिक आम्दानीको श्रोत नभएको कारण संघमा निर्भर हुनु परेको उपाध्यक्ष थापा मगरले बताउनु भयो। यस कार्यक्रमबाट उनीहरूको आर्थिक अवस्थालाई सुधार गर्न पनि केही हदसम्म भएपनि सहज भएको बताउदै उपाध्यक्ष थापा मगरले सुचिकृत बेरोजगारहरुलाई पालिकाको कुनै पनि योजनाहरुको काममा लगाउदा वडा स्तरमा समन्वय गरी काममा लगाइएको बताउनु भयो। यस कार्यक्रमले पालिकाको विकास निर्माणको कामलाई एकदमै सहयोग पुर्याएको र स्थानीयलाई रोजगारी प्रदान गर्न सहयोग पु¥याएको समेत उपाध्यक्ष थापा मगरले बताउनु भयो ।
सुचिकृत बेरोजगारहरुलाई रोजगारमा संलग्न गराउने क्रममा पक्षपात गरिएको, पहुँच भएकाहरुले मात्र काम पाएको, बिपन्नको नाममा हामी भन्दा केही हुनेखानेहरुले समेत काम पाएको गुनासोबारे रोजगार संयोजक ईश्वरी ज्ञवालीले पालिकाले रोजगार दिनेक्रममा पक्षपात भएको भन्ने गुनासोमा कुनै सत्यता नभएको बताउनु भयो। "सफ्टवेयर प्रणालीमार्फत प्रत्येक वडाका बेरोजगारहरुले फारम भरेका हुन्छन् र फारम भर्ने बेलामै उनीहरूले आफ्नो विवरण सार्वजनिक फारममा उल्लेख गर्नु पर्छ । बेरोजगारहरुले भरेको फारमको आधारमा नै उनीहरू रोजगारीका लागि योग्य हुन वा होइनन् भन्ने छनोट गर्ने काम गरिएको हुन्छ र सोही अधारमा उनीहरूलाई सूचीकृत गरेर कार्यक्रममा सहभागी गराउने काम गाउँपालिकाले गर्दै आइरहेको छ । " रोजगार संयोजक ईश्वरी ज्ञवालीले बताउनु भयो।
कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले प्रधानमन्त्री रोजगार कार्यक्रम समय सान्दर्भिक रहेको बताउनु भएको छ। “यो कार्यक्रमको माध्यमले विकास निर्माणमा टेवा पुगेको छ। गाउँ समुदायमा रोजगारी सिर्जनामा पनि भएको छ,”अध्यक्ष ढकालले भन्नु भयो। स्थानीय तह र रोजगार कार्यक्रमबीच साझेदारी गरेर पालिकाको विकास निर्माणको कामलाई अझ प्रभावकारी वनाउदै लौजानका लागि संघले कार्यविधीमा परिवर्तन गर्नु पर्ने आवस्यता रहेको बताउनु भयो।
अध्यक्ष ढकालले संघबाट आएको बजेटले कर्मचारीको ब्यबस्थापन र आवस्यक पुर्वाधार निर्माण गर्नमा मात्र खर्च हुने भएकोले राज्यले निर्धारण गरेको लक्ष्य लिन नसक्ने बताउनु भयो। संघले निर्धारण गरेको कार्यक्रमले कञ्चनको आवस्यकता अनुसार सुचिकृत भएकाहरुलाई काममा लगाउन नसक्दा र संघबाट आउने बजेट लक्षित समूहमा भन्दा कर्मचारी संरचनामा खर्च गरिने बजेट बढी हुने भएकाले लक्ष्य केन्द्रित कार्यक्रम संचालन गर्न स्थानीय तहको आवस्यकता अनुसार स्थानीय तहले निर्धारण गरेका योजनाहरुमा सूचिकृतहरुलाई रोजगारमा संलग्न गराउन पाउनेगरी कार्यविधी परिवर्तन गर्न आवस्यक रहेको अध्यक्ष ढकालले बताउनु भयो।
प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार मार्फत जनतालाई प्रत्यक्ष सुविधा दिएको छ भने स्थानीय गरिब विपन्नहरुले रोजगार पाइरहेका छन । रोजगार विकास सँग जोडिएको छ। यसलाई निरन्तरता दिनु पर्ने भएपनि यही संरचना र नमुनाले सधै प्रभावकारी हुन्छ भन्ने छैन। कार्यक्रमलाई समयानुकूल हिसाबले अझै व्यवस्थित बनाएर लैजानेतर्फ संघीय सरकारको ध्यान जानुपर्दछ । भोलीका दिनमा भौतिक संरचना लगायतका विकास निर्माणका काममा पनि सिपमूलक जनशक्ति उत्पादनतर्फ ध्यान दिएर परिचालन गर्न सकियो भने त्यसले थप प्रभावकारी काम हुने देखिन्छ ।
अवको योजनामा यो कार्यक्रम दक्ष जनशक्ती उत्पादन र पढे लेखेका मानिसहरुले पनि सहज रुपमा काम गर्न सक्ने र काम पाउने किसिमका कार्यक्रमहरु ल्याउन सकेमात्र प्रधानमन्त्री रोजगारक कार्यक्रमको दिगोपना र प्रभावकरी हुने छ।
अनुपातमा हेर्ने हो भने कञ्चन गाउपालिकामा बेरोजगारहरु सुचिकृत हुने संख्या हरेक बर्ष घट्दै गएको देखिन्छ । सबै सुचिकृत बेरोजगारहरुलाई रोजगारी दिन नसक्दा उक्त संख्या कम भएको हो । विकास निर्माणका आयोजनाहरुमा सुचिकृत वेरोजगारहरुलाई खटाउन तथा पालिकाले साझेदारी गर्न सकेमा सबै सुचिकृत वेरोजगारहरुलाई न्युनतम रोजगारी सृर्जना गर्न सकिने रोजगार सँयोजक ईश्वरी ज्ञवालीले बताउनु भयो ।
रोजगार पाएकाहरु बाहेक अन्य बेरोजगारहरु फेरी पनि भारत वा तेश्रो मुलुक जान बाध्य छन। जसले गर्दा बेरोजगरा सुचिमा सुकिृत हुन रुचि नदेखाएका कारण सुचिकृत हुने संख्यामा कम देखिएको हो ।युवाहरुलाई बिदेश जानबाट कम गराउन पालिकाले पालिकाको पहिचान दिने कार्यक्रमहरु जस्तै "पालिका रोजगार कार्यक्रम", "पालिका श्रम उपयोग कार्यक्रम", "पालिकाको बिकासमा पालिकावासीको सहभागिता" जस्ता थप कार्यक्रम ल्याउन सकेमा प्रधानमन्त्री रोजगार कार्यक्रममा समेटिन नसकेका थप सुचिकृत बेरोजारहरुलाई रोजगार उपलब्ध गराउन सकिने सम्भावना प्रवल छ।
चालु आ.व २०८०/०८१ का लागि १५ पुरुष र १०९ जना महिला गरी १२४ जना बेरोजगार सुचिमा सुचिकृत भएका छन। त्यस मध्ये पालिकाले चालु आ.व.मा करिब ५० जनालाई रोजगार दिने लक्ष्य निर्धारण गरेको छ। बाँकी सुचिकृत भएकाहरुलाई गाउपालिकाले पालिका रोजगार कार्यक्रम कार्यविधी बनाएर रोजगारको सृजना गरिनु पर्दछ।
रुपन्देहीको १६ स्थानीय तहहरूमध्ये कञ्चन गाउँपालिका एक हो। साविक गजेडी र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब १ किलोमिटर दक्षिण ८३.२७०३५३ पूर्वी देशान्तर र २७.६४२२९१ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ ।
रुपन्देही जिल्लमा चालु आ.व.मा बेरोजगार सुचिमा ६ हजार ९ सय ६६ जना सुचिकृत भएका छन। जिल्लाले सुचिकृत भएका बेरोजगारहरु मध्ये चालु आ.व.मा ६४० जनालाई रोजगार उपलब्ध गराउन सकिने लक्ष्य समेत निर्धारण गरेको छ। गत आ.व.मा ५ हजार ६०९ जना सुचिकृत मध्ये ५४९ जनालाई रोजगार उपलब्ध गराउने लक्षय लिएको भएपनि ९९२ जनालाई रोजगार दिन सफल भएको थियो।