२५ चैत्र, चितवन
मिटरब्याजी र लघु वित्तहरूलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने माग राख्दै नेपाल क्रान्तीकारी महिला संघको तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले अनुराधा थापामगरको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ।
नेक्रामसंघको सम्मेलनले नेपाललाई युद्धभूमि बनाउने गरी संरा अमेरिकाले अघि बढाएको देशघाती एमसीसी सम्झौता–मिलिनियम च्यालेन्ज (कम्प्याक्ट) खारेज गर्न जोडदार माग गर्दै एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने, पारित गराउन सहयोग गर्ने र पारित गराउने देशघाती सरकार एवं शासक दलहरूको विरोध र भत्र्सना गरको छ ।
विदेशी नागरिकलाई सजिलै नेपालको नागरिकता दिई देशलाई सिक्किमिकरण र फिजीकरणको बाटोमा लाने गरी अघि बढाएको देशघाती नागरिकता विधेयक तत्काल खारेज गराउन तथा विदेशीलाई दिएको नागरिकता छानबिन गरी खारेजी गराउन यो सम्मेलन माग गरेको छ ।
नेपाल–भारत खुला सीमाका कारण चेलीबेटी बेचविखन, लागु पदार्थ ओसारपसार तथा तस्कर जस्ता अपराध बढिरहेको उल्लेख गर्दै सम्मेलनले ती सबै समस्या नियन्त्रण गर्न तथा देशको सुरक्षा एवम् सार्वभौमिकता रक्षाको लागि नेपाल–भारत खुला सीमा नियमित गर्न वा बन्द गर्न माग गरेको छ ।

नेक्रामसंघको तेस्रो राष्ट्रिय सम्मेलनको बन्द शत्रबाट पारित राष्ट्रिय अन्तराष्ट्रिय १४ बुँदे प्रस्तावमा महँगीको मारमा परेका बहुमत जनतालाई एकातिर मिटरब्याजीहरू र अर्कोतिर लघु वित्तहरूले आर्थिक शोषण गरिरहेको उल्लेख गर्दै ती मिटरब्याजी र लघु वित्त सञ्चालकहरूलाई सरकार र शासक दलहरूले नै संरक्षणमा राखेको हुँदा मिटरब्याजी र लघु वित्तहरूबाट ठगिएका जनतालाई न्याय दिलाउन र ठग मिटरब्याजी र लघु वित्तहरूलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
साथै अन्धविश्वास र कुप्रथाको रूपमा रहेको बोक्साबोक्सी, छाउपडी, छुवाछुत, बालविवाह लगायत अन्त्य गर्नको निम्ति विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग जोडदार माग गर्दै गणतन्त्रको १५ वर्ष नाघिसक्दा पनि अन्धविश्वास र कुप्रथा अन्त्य नगर्ने सरकार र मन्त्रीहरूको विरोध एवम् निन्दा गरको छ ।
सम्मेलनले बलात्कारी, महिला बेचविखनलगायत गम्भीर महिला हिंसाका अपराधीलाई मृत्युदण्ड सजाय समेतको बन्दोवस्त गर्न पनि जोडदार माग गरको छ ।
यसअघि सम्मेलनको बन्दशत्रमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेमकिपाको सैद्धान्तिकका आधारहरुबारे प्रशिक्षण दिनुभयो । नेमकिपाले जनताको प्रजातन्त्र स्थापना गर्न संघर्ष गरिरहेको चर्चा गर्दै सचिव सुवालले गरिब र दुर्गम तथा पिछडिएको क्षेत्रका जनताले समेत व्यक्तित्व विकासमा समान अवसर नपाएसम्म प्रजातन्त्र हुँदैन भन्नुभयो ।
चुनाव हुँदैमा जनताको प्रजातन्त्र नहुने जिकिर गर्दै सचिव सुवालले पैसा खर्च गरेर चुनाव जितेपछि पैसा खर्च गरिदिनेको पक्षमा मात्र काम गर्ने र तिनीहरुलाई पुँजीपति वर्गले लगानी गरिरहेको स्पष्ट पार्नुभयो । सचिव सुवालले बन्द शत्रमा प्रस्तुत विभिन्न जिल्लाका प्रतिवेदनमा उल्लेख भएका विषयहरुमाथि आवश्यकता अनुसार स्पष्ट व्याख्या गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले पुँजीपति वर्गले नाफाको लागि नक्कली सामान उत्पादन गर्दा क्यान्सर रोगहरु भयावह रुपमा फैलिएको उल्लेख गर्नुहुँदै पुँजीवादी व्यवस्था नै क्यान्सरको जन्मदाता हो भन्नुभयो । प्रजग कोरियामा क्यान्सर तथा कोभिड लगायत रोगहरु नफैलिएको चर्चा गर्नुहुँदै केन्द्रीय सदस्य गोसाईंले पुँजीवादी व्यवस्थामा जे उत्पादन गरे पनि विषालु हुने र समाजवादी व्यवस्थामा जे उत्पादन गरे पनि अमृत जस्तै हुन्छ भन्नुभयो ।
बन्द शत्रमा समाजवादी र पुँजीवादी देशमा महिलाहरुको अवस्था विषयमा नेमकिपाका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सांसद सिर्जना सैंजु, स्थानीय निकायमा नेमकिपाको भूमिकाबारे भक्तपुर नगरपालिकाका उपप्रमुख ई. रजनी जोशी, मानव समाजको विकास विषयमा प्रकाशकुमार श्रेष्ठ, महिला स्वास्थ्य विषयमा नेपाल नर्सिङ समाजका अध्यक्ष देविका दनेखु, कानुनमा महिला अधिकारबारेमा कानुन अध्ययन समाजका अधिवक्ता अनिता जधारीले प्रशिक्षण दिनुभयो ।