-रामसुन्दर वासी
भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखि ९ गतेसम्म खो खो प्रतियोगिता सम्पन्न भयो । भारतको महाराष्ट्र राज्यबाट सुरु भएको खो खो खेल ओलम्पिक खेलकुद प्रतियोगितामा अझैसम्म खेलाएको छैन । तर, एसियाली देशहरूबिच खेलाइने एसियन खेलकुद प्रतियोगितामा भने यो प्रतियोगिता समाहित छ ।
नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममा शिक्षा विषयमा खो खो खेल समावेश गरिएको भए पनि तालिम प्राप्त प्रशिक्षकको अभावमा यो खेलले लोकप्रियता पाउन सकेन । वि.सं. २०४१ सालमा भारतबाट आएका प्रा.भी.डी. बापतले नेपाल भ्रमण गरी खो खोको प्रदर्शन खेल प्रस्तुत गरेपछि यो खेलले नेपालमा स्थान पाएको हो । वि.सं. २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो खो सङ्घको तदर्थ समिति गठनपछि वि.सं.२०५२ सालमा उक्त सङ्घले मान्यता पायो ।
पछिल्लो समय खो खो खेल नेपालमा लोकप्रिय हुँदै आएको हो । विशेषतः भारतसँगको सिमाना जोडेका नेपालका तराईका जिल्लाहरूमा खो खो खेल अत्यन्त लोकप्रिय खेल हो । बारा, पर्सा, सर्लाही, चितवन, रूपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका खो खोे खेलाडीहरूको राष्ट्रिय टीम, प्रदेशीय टीम र नेपाल सरकारका विभागीय टीमहरूमा बाहुल्यता रहेको पाइन्छ ।
भक्तपुर जिल्ला खो खो सङ्घ भने वि.सं. २०६७ साल पुस २४ गते उपेन्द्र सुवालको अध्यक्षतामा गठन भएको हो । हालको परिमार्जित पाठ्यक्रममा पनि यो खेल समावेश गरिएको र भक्तपुर नगरपालिकाले हरेक वर्ष आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा समावेश १४ विभिन्न खेलमध्ये यो खेल पनि समावेश गरिएको हुँदा भक्तपुरमा यस खेलको लोकप्रियता बढ्दै आएको छ । भक्तपुर नगरपालिकाले आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७४ सालबाट सुरु भएको हो । कोरोना महामारीको विषम परिस्थितिमा बाहेक यो प्रतियोगिता नियमित भइरहेको छ । यो वर्षसम्ममा भक्तपुर नगरपालिकाले पाँचपटक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ । तर, यो छोटो अवधिमा भक्तपुर जिल्लाले खो खो खेलमा धेरै प्रगति गरेको मान्नुपर्छ किनभने गएको कार्तिक महिनामा पोखरामा भएको ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीहरूमा पुरुष ३ जना र महिला ७ जना खेलाडी भक्तपुर नगरका थिए ।
कबड्डी खेलमा जस्तै विपक्षी खेलाडीलाई छुने र अङ्क हासिल गरी खेल्ने भएकोले यस खेललाई कबड्डी खेलबाट नै परिमार्जित हुँदै आएको खेलको रूपमा लिइन्छ । नेपालका जुन जुन जिल्लामा कबड्डी खेल लोकप्रिय छ त्यही जिल्लामा यो खेल लोकप्रिय रहेको पाइन्छ । पहिला कबड्डी खेलमा प्रशिक्षक वा खेलाडी बनेकाहरू नै अहिले खो खो खेलका प्रशिक्षक र निर्णायक बनेका धेरै देखिन्छन् । कबड्डीजस्तै सानो र माटोको खुला खेलमैदानमा सजिलै खेल्न सकिने भएकोले कबड्डी मन पराउने खेलाडीहरूले खो खो खेललाई पनि रुचाएको हुनसक्छ ।
काठमाडौँ उपत्यकाका जिल्लाहरूमध्ये भक्तपुरमा कबड्डी खेल मन पराउने धेरै छन् । भक्तपुरमा धेरै समयदेखि कबड्डी प्रतियोगिता नियमित हुने गर्दथ्यो । कबड्डीको राष्ट्रिय टीममा भक्तपुरका खेलाडीहरूको प्रतिनिधित्व कहिल्यै खाली भएको छैन । कबड्डी खेलाउने राष्ट्रिय र अन्तर्राष्ट्रिय रेफ्रीहरू पनि भक्तपुरका उल्लेखनीय सङ्ख्यामा छन् । सम्भवतः यही कारणले होला, भक्तपुरमा खो खोको लोकप्रियता पनि अन्य कबड्डीपे्रमी जिल्लामा जस्तै बढ्दै छ ।
भक्तपुर नगरपालिकाले २०७४ पछि भलिबल, एथ्लेटिक्स, कराँते र बुद्धिचाल (चेस) को अन्तरनगर प्रतियोगिता गरिसकेको छ । २०७४ सालअगाडि २०५५ सालमा बक्सिङ र २०५६ मा कबड्डीको अन्तरनगर प्रतियोगिता भएको थियो । यो वर्ष २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म खो खोको अन्तरनगर प्रतियोगिता सम्पन्न भयो । नेपाल खो खो सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनका अनुसार भक्तपुर नगरपालिकाले गरेको यो प्रतियोगिता पहिलो अन्तरनगर प्रतियोगिता हो । धेरै नगद पुरस्कारको व्यवस्था भएको प्रतियोगिता पनि यही नै हो ।
२०४६ साल फागुन ८ गते भएको जनआन्दोलनमा शहादत प्राप्त अमर सहिदहरूको सम्झनामा भक्तपुर नगरपालिकाले आयोजना गरेको यो प्रतियोगितामा १४ टीमहरूको सहभागिता थियो । यस खेलमा प्रदेशगत हिसाबमा कर्णाली प्रदेशबाहेक सबै प्रदेशबाट प्रतिनिधित्व रहेको छ । सुदूरपश्चिमाञ्चल प्रदेशबाट कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, लुम्बिनी प्रदेशबाट बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका, गण्डकी प्रदेशबाट कास्की जिल्लाको पोखरा महानगरपालिका र नवलपरासी जिल्लाको कावासोटी नगरपालिका सहभागी थिए । त्यसैगरी बाग्मती प्रदेशबाट आयोजक भक्तपुरसमेत ६ टीम सहभागी थिए । काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र बनेपा नगरपालिका बाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने नगरपालिकाहरू हुन् । मधेस प्रदेशबाट पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका र बारा जिल्लाको कलैया उपमहानगरपालिका सहभागी थिए । प्रदेश १ बाट भने सङ्खुवासभाको खाँडबारी नगरपालिकाले प्रतियोगितामा भाग लिएको थियो ।
दत्तात्रय मन्दिरबाट सुरु भएको ¥याली सहिद स्मृति खेलमैदानमा पुगेपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अन्तर नगर खो खो प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटनको दिनबाट नै लिग चरणका खेलहरू भएका थिए ।
लिग कम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगिता फागुन ५ गतेदेखि ७ गतेसम्म लिग चरणका खेलहरू भएका थिए । लिग चरणका खेल सहभागी टीमहरूलाई चार वटा विभिन्न पोलमा विभाजन गरी खेलाइएको थियो । समूह ‘क’ बाट भक्तपुर नगरपालिकाको ‘ए’ टीम र धनगढी नगरपालिका र समूह ‘ख’ बाट ठाकुरबाबा नगरपालिका र कावासोती नगरपालिका नकआउट चरणमा पुगेका थिए । त्यस्तै समूह ‘ग’ बाट कीर्तिपुर नगरपालिका र खाँडबारी नगरपालिका र समूह ‘घ’ बाट कलैया उपमहानगरपालिका र भक्तपुर नगरपालिकाको ‘बी’ टीम लिग चरण पार गर्दै नकआउट चरण अथवा क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका थिए ।
क्वार्टरफाइनलबाट सेमिफाइनमा धनगढी उपमहानगरपालिका, कीर्तिपुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र भक्तपुर नगरपालिकाको ‘बी’ टीम प्रवेश गरेका थिए । सेमिफाइनलबाट ठाकुरबाबा नगरपालिका र कीर्तिपुर नगरपालिका फाइनल प्रवेश गर्न सफल भएका थिए । फागुन ९ गते सम्पन्न फाइनल खेलमा ठाकुरबाबा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई सहजै पराजित गर्दै अन्तरनगर खो खो प्रतियोगितामा प्रथम स्थानको शिल्डसहित रु. एक लाख पचास हजारको नगद पुरस्कार जित्न सफल भएको थियो । कीर्तिपुर नगरपालिका दोस्रो स्थान र धनगढी नगरपालिकाले तेस्रो हुँदै भक्तपुरको मौलिकता झल्किने अन्टी (नेपालभाषा) को शिल्डसहिद क्रमशः एक लाख र पचास हजार नगद पुरस्कार पाउन सफल भएका थिए ।
यसरी यो वर्षको खो खो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । नेपालमा पहिलो पटक नगद पुरस्कारसहित भएको उक्त खो खो प्रतियोगिताको प्रशंसा प्रतियोगितामा सहभागी नगरपालिकाहरूले गरेका थिए । भक्तपुर नगरपालिकाको आयोजनामा २०५६ सालमा भएको अन्तरनगर कबड्डी प्रतियोगितामा सहभागी भएका खेलाडीहरू अहिले खो खो प्रशिक्षकको रूपमा आउनुभएका कलैया उपमहानगरपालिका प्रशिक्षक कयामुदिन मंसुरका अनुसार आयोजक भक्तपुर नगरपालिकाको व्यवस्थापन त्यो बेला पनि उत्कृष्ट थियो र यो वर्ष पनि उत्कृष्ट रह्यो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल ठाकुरबाबा नगरपालिकाका प्रशिक्षक खगेन्द्रबहादुर शाहीले भादगाउँ टेलिभिजनलाई दिएको अन्तर्वार्ताअनुसार खेलाडीलाई हौसला प्रदान गर्न नेपालमा पहिलोपटक नगद पुरस्कारसहित भक्तपुर नगरपालिकाले खो खो प्रतियोगिता गर्नु प्रशंसायोग्य भएको बताउनुभयो । नेपाल खो खो सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले भक्तपुर नगरपालिकाले नेपालका नगरपालिकाबिच राम्रो सम्बन्ध विकासको लागि गरेको खो खो प्रतियोगिता सराहनीय काम भएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, कला, संस्कृति संरक्षण, प्रवद्र्धन र भूकम्पले तहसनहस भएका सम्पदा पुनः निर्माणमा भक्तपुर नगरपालिकाले गरेको कामको अन्य नगरपालिकाहरूले प्रशंसा गर्दै आएका छन् । विश्वविद्यालयका विद्यार्थीहरूले भक्तपुर नगरपालिकाले हासिल गरेका प्रगतिको केस स्टडीसमेत गरिरहेका छन् । भक्तपुर नगरपालिकाले केही समयदेखि खेलकुद क्षेत्रमा गरेको लगानी र यसले समग्र देशका खेलाडीहरूको निम्ति गरेको योगदानको चर्चाको विषय भइरहेको छ । पुुसमा सम्पन्न अन्तरविद्यालयस्तरीय खेलकुद प्रतियोगितामा २८ सय विद्यार्थीहरू सहभागी थिए । खो खो खेलका खेलाडीहरू पछि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेमा विश्वस्त हुन सकिन्छ । भक्तपुरले खेल र खेलाडीमा गरेको लगानीले सार्थकता पाउनेछ ।
“हरेक महिना कुनै न कुनै गतिविधि गरेर भक्तपुरका जनतालाई कुनै न कुनै प्रकारले व्यस्त गरिराख्छौँ । गतिविधि निरन्तर भइरहेको सहरलाई जीवन्त सहर भनिन्छ र भक्तपुरलाई जीवन्त सहर बनाउँदै छौँ ।” उक्त विचार भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले खो खो उद्घाटन समारोमा भन्नुभएको थियो । कहिले सांस्कृतिक मेला, कहिले शैक्षिक मेला त कहिले खेलकुद मेला गरी जनताको आवश्यकताअनुसार गतिविधि गर्दै आउनु भक्तपुर नगरपालिकाको प्रशंसायोग्य काम हो ।