#नाजेज्दा क्रुप्सकाया
लेनिनको सम्बन्ध त्यस पिढीसँग थियो । जो पिशार्रव, शेडिन, नेक्रासोव, दोब्रोल्युबोव तथा चर्नीशेयस्कीको प्रभावका थिए, उन्नाइसौँ शताब्दीको सातौँ दशकको क्रान्तिकारी जनवादी कविहरूको प्रभावमा हुर्केको थियो । इस्क्रा (झिल्को) का कविहरू पुरानो अर्धदास व्यवस्था अवशेषहरूलाई निर्ममरूपले खिल्ली उडाउँदथे । दुराचार, दासवृत्ति, चाकरी, धोकापूर्ण व्यवहार र नोकरशाही तरिकामाथि उनीहरू कठोर प्रहार गर्दथे । उन्नाइसौँ शताब्दीका सातौँ दशकका लेखकहरूले भन्दथे कि जीवनलाई अझ नजिकबाट अध्ययन गर्नुपर्छ र पुरानो सामन्ती व्यवस्थाका अवशेषहरूलाई उदाङ्गो पारिदिनुपर्छ । लेनिन आफ्नो जीवनको प्रारम्भिक कालदेखि नै आलोकाँचोपन, गफबाजी, समयको दरूपयोग, पारिवारिक जीवनलाई ‘सामाजिक हितहरू’ बाट अलग राख्ने कामलाई घृणा गर्नुहुन्थ्यो† महिलाहरूलाई खेलौना बनाउने, उनीहरूलाई मनोरञ्जनको वस्तु अथवा आज्ञाकारी दासीको रूपमा हेर्ने कार्यलाई घृणा गर्नुहुन्थ्यो । कुटिलता र अवसरवादीपनले भरिएको जीवनप्रति उहाँ तीव्र घृणा गर्नुहुन्थ्यो । चेर्नीशेयस्कीको उपन्यास के गर्नेप्रति इलिचको विशेष प्रेम थियो । शेड्रिनको तीव्र व्यङ्ग्य उहाँलाई धेरै मन पर्दथ्यो । इस्क्राका कविहरूलाई उहाँ ज्यादै मनपराउनुहुन्थ्यो, उनीहरूको अनेक कविता उहाँलाई कण्ठ थियो । नेक्रासोबलाई उहाँ प्रेम गर्नुहुन्थ्यो ।
भ्लादीमीर इलिच धेरै वर्षसम्म जर्मनी, स्विजरल्यान्ड, बेलायत, फ्रान्स आदि देशहरूमा निर्वासित हुनुपर्यो । उहाँ मजदुरहरूको सभाहरूमा जानुहुन्थ्यो, मजदुरहरूको जीवनलाई गहनरूपमा अध्ययन गर्नुहुन्थ्यो । उनीहरू आफ्नो घरमा कसरी बस्छन, र बिदाको समयमा कहाँ जान्छन् र कसरी बिताउँछन् भन्ने कुरा थाहा पाउन कोसिस गर्नुहुन्थ्यो ।………………..
विदेशमा हामीहरू ज्यादै गरिबीमा रहन्थ्यौ । हामीहरू धेरैजसो सस्तो कोठाहरूमा बस्दथ्यौँ जहाँ हरेक किसिमका मान्छेहरू बस्दथे । हामीहरू अनेकौँ घरपट्टीकहाँ बस्यौँ र सस्तो होटलहरूमा खाना खान्थ्यौँ । इलिचलाई पेरिसको साङ्गीतीक होटलहरू ज्यादै मन पर्दथ्यो । त्यहाँ गीत गाउने गायक गायिकाहरूले आफ्नो जनवादी गीतहरूमा पुँजीवादी जनतन्त्र र दैनिक जीवनका अनेकौँ पक्षहरूप्रति तीव्र आलोचना गर्दथे । इलिचलाई मेगेटसको गीत विशेषरूपमा मनपर्दथ्यो । उनी एक कम्युनार्डका छोरा थिए । उनले सहरको बाहिरी भागमा बस्ने मान्छेहरूको जीवनको बारेमा राम्रो कविता लेख्दथे । एक पटक रात्रिभोजमा मेगेटससँग इलिचको भेट भएको थियो । तब उहाँहरू क्रान्ति, मजदुर आन्दोलन तथा समाजको बारेमा आधा रात पछि पनि धेरै बेरसम्म कुरा गर्नुहुन्थ्यो । समाजवादले कसरी एउटा नयाँ जविनको सृष्टि गर्नेछ र जीवनको समाजवादी पद्धति भनेको के हो आदि विषयहरूमा उहाँहरू धेरै अबेलासम्म कुरा गर्नुहुन्थ्यो । नैतिकताका प्रश्नहरूलाई भ्लादीमीर इलिचले सधैँ विश्व दर्शनको प्रश्नहरूसँग जोडेर हेर्नुहुन्थ्यो ।
xxx
२ अक्टोबर १९२० मा सम्पन्न कम्युनिस्ट युवा सङ्घको तेस्रो अधिवेशनमा भ्लादीमीर इलिचले कम्युनिस्ट नैतिकताको बारेमा बोल्नुभएको थियो । उहाँले कम्युनिस्ट नैतिकताको मूल तत्वलाई बुझाउन सरल र ठोस उदाहरणहरू दिनुभएको थियो । आफ्ना स्रोताहरूसँग उहाँले भन्नुभएको थियो कि सामन्ती र पुँजीवादी नैतिकता धोकापूर्ण कुराहरू हुन् । त्यसको उद्देश्य जमिनदार र पुँजीपतिहरूको हितको लागि मजदुर र किसानहरूको आँखामा धूलो हाल्नु र उनीहरूलाई मूर्ख बनाउनु हुन्छ । यसको विपरीत, कम्युनिस्ट नैतिकताको आधार सर्वहारा वर्गको वर्गसङ्घर्षको हितमा हुन्छ । उहाँले भन्नुभएको थियो कि कम्युनिस्ट नैतिकताको लक्ष्य मानव समाजलाई उच्चतातर्फ लैजानु, श्रमको शोषणलाई अन्त गराउनु हुनुपर्छ । साम्यवादको सङ्घर्षलाई सशक्त बनाउनु तथा अन्तमा त्यसको स्थापना गर्नु, यही कम्युनिस्ट नैतिकताको आधार हुन्छ । एकता, आफूमाथि नियन्त्रण राख्ने क्षमता नयाँ सामाजिक व्यवस्थालाई सुदृढ बनाउन नथाकी आवश्यक पर्ने काम गर्ने योग्यता, यस लक्ष्य प्राप्तिको लागि आवश्यक कठोर तथा सचेत अनुशासन कायम गर्ने आवश्यकता तथा निर्धारित कामहरू पूरा गर्न सुदृढ एकता स्थापित गर्ने आवश्यकताको कति महत्व छ, यसलाई स्पष्ट गर्नका लागि ठोस उदाहरण दिनुभएको थियो । इलिचले युवाहरूलाई भन्नुभएको थियो कि आफ्नो सम्पूर्ण शक्ति आफ्नो सबै श्रमलाई उनीहरूले आफ्नो लक्ष्य प्राप्तिको उद्देश्यको लागि उत्सर्ग गर्नुपर्छ ।
यस कार्य कसरी गर्नुपर्छ– यसको आदर्श स्वयम् लेनिनको आफ्नो जीवन थियो । इलिच अरू किसिमबाट बस्न सक्नुहुन्थेन र अरू कसरी बस्न सकिन्छ भन्ने कुरा उहाँलाई थाहा थिएन । तर, उहाँ कुनै बैरागी सन्यासी हुनुहुन्थेन । स्केटिङ (हिउँमा चिप्लेटी खेल्ने खेल) गर्नु, तीव्रगतिमा साइकल चलाउनु, पहाड चढ्नु र शिकार खेल्नु उहाँका अत्यन्त प्रिय खेलहरू थिए । उहाँ सङ्गीतलाई प्रेम गर्नुहुन्थ्यो ।
उहाँ जीवनलाई त्यसको इन्द्रेणी सौन्दर्यसहित प्रेम गर्नुहुन्थ्यो । उहाँ आफ्ना साथीहरूलाई प्रेम गर्नुहुन्थ्यो । उहाँ जनतालाई प्रेम गर्नुहुन्थ्यो । उहाँको सादा जीवन, प्रशन्नतापूर्ण उन्मूक्त हाँसोसँग सबैजना परिचित छन् । तर, उहाँसँग प्रत्येक वस्तु एउटा मुख्य लक्ष्यको अधीनमा थियो । त्यस सङ्घर्षको अधीनमा जुन सबैको लागि एक उज्ज्वल, प्रबुद्ध, समृद्ध तथा सुखी जीवनको सृष्टिको लागि गरिँदै थियो । उहाँलाई यस सङ्घर्षको सफलताहरूबाट जति खुसी हुन्थ्यो त्यति खुसी अरु कुनै पनि कुराहरूबाट हुँदैनथ्यो । उहाँको जीवनको व्यक्तिगत पक्ष उहाँको सामाजिक पक्षसँग स्वाभाविकरूपले एकाकार हुन्थ्यो ।