१ बागलुङ,फागुन
बागलुङ बडिगाड गाउँपालिका ५ ग्वालीचौर टारी स्थित भानु माध्यमिक विद्यालयको हिरक महोत्सव हर्षोउल्लासका साथ शनिबार सम्पन्न भएको छ ।
हिरक महोत्सवको समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख माननीय विना कुमारी थापाले आफु संसदमा भानु माध्यमिक विद्यालयलाई आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग गरिरहने भन्दै विद्यालयलाई यहाँसम्म ल्याउन सहयोग सबैप्रति धन्यवाद दिनुभयो ।
साथै हिरक महोत्सवका अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले अहिलेको आवश्यकता गुणस्तरीय शिक्षा भएकोले अब गुणस्तर सुधार तर्फ ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।


साथै कार्यक्रमको अवसरमा हिरक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक केशव खरेलले स्थापना काल देखि हालसम्म विद्यालयलाई यो स्थानसम्म ल्याईपुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुहुने अगुवा एवम् महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रधानाध्यापक खरेलले विद्यालयको ईतिहास र वर्तमानको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । विद्यालयमा हाल ६ सय ३२ जना विद्यार्थी र ३० जना शिक्षक तथा कर्मचारी रहेको जानकारी गराउदै प्रधानाध्यापक खरेलले आर्थिक वर्ष २०७८र०७९ को प्रगति प्रतिवेदन सहित भावी योजना समेत प्रस्तुत गर्नुभएको थियो ।

“गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार”भन्ने मुल नारा सहित विद्यालयमा प्राविधिक शिक्षा,छात्राबासको सुविधा,निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन,विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित गत माघ २२ देखी २८ गतेसम्म विद्यालयमा हिरक महोत्सव सञ्चालन गरिएको हिरक महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।
हिरक महोत्सवका अवसरमा विद्यालयलाई हालसम्म जग्गा सहित करिव २ करोड ५० लाख चन्दा सहयोग भएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।

त्यस्तै हिरक महोत्सवका अवसरमा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, अक्षयकोषदाता, विद्यालयका भवन निर्माण समिति, जग्गादाता सहित विद्यालयलाई चन्दा सहयोग गर्नुहुने चन्दादाताहरूलाई बाजागाजा सहित दोसल्ला ओढाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, विद्यालयमा चन्दादाता, जग्गादाता लगायतको आतिथ्यता रहेको थियो।
हिरक महोत्सवलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको कार्यक्रममा खेलकुद, शैक्षिक कार्यक्रम, विविध मौलिक सास्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

हिरक महोत्सव मुल समारोह समिति संयोजक अर्जुन प्रसाद खरेलको अध्यक्षता तथा वडाअध्यक्ष विष्णुप्रसाद आचार्य, विद्यालयका शिक्षक कृष्णप्रसाद भट्टराई, दिननाथ पौडेल, शिवलाल घिमिरे, टिका पाइजाको सञ्चालनमा सम्पन्न भएको थियो ।
