भैरव रिसाल
नेपाल मजदुर किसान पार्टी स्थापना भएको आधा शताब्दी पुग्न लाग्यो । ती झन्डै ५० वर्षमा नेपालमा कति ठाउँमा त समाजवादको सुगन्ध आइसक्यो । यदि नेपाल मजदुर किसान पार्टी स्थापना एवं सञ्चालन गर्ने काम दृढतापूर्वक नभएको भए मुलुकको राजनीति समाजवादउन्मुख कसरी हुन्थ्यो होला भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ । भक्तपुरलाई खासै दृष्टान्त बनाएर हेर्न सकिन्छ । नेमकिपाले सोभियत रूसले स्तालिनको निधनपछि समाजवाद अवलम्बन गर्न लागेको बाटो समाजवादको सक्कली बाटो नभएर खोटो बाटो हो भन्ने एउटा नयाँ दृष्टिकोण नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले लेख्न थालेपछि संसारको हेराइमा नै परिवर्तन आउन थाल्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा खोटा विचारको प्रभाव पर्न थाल्यो । नेपालको कम्युनिस्ट आन्दोलनबारे पुनः गम्भीर भएर केलाउन थालियो । यी रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपाल–भारत सम्बन्धको कसीमा घोटेर साँचो कुरा के हो परीक्षण गर्न लागियो । अब यस विषयको चर्चा ठोस आधारमा मात्र हुनलाग्यो । नेपालको राजनीतिक वृत्तमा नेमकिपा स्थापना नभएको भए देश र जनताको सच्चा सेवा गर्ने राजनीतिक पार्टी हुँदैनथ्यो । राजनीतिक दल दर्शन र वर्गीय आधारमा मात्र स्थापना हुन्छन् । नेपाल मजदुर किसान पार्टी नेपाल कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवाद, अवसरवाद, सुधारवाद, उदारवाद, विश्व सैद्धान्तिक सङ्घर्षबाट स्थापना भएको हो । करिब आधा शताब्दीदेखि नेमकिपा नक्कली कम्युनिस्टविरूद्ध लड्नुका साथै सामन्ती राजतन्त्र हुँदै पुँजीवादविरूद्ध सङ्घर्षरत छ । नेमकिपाले किसान सङ्घर्षलाई जोड दिँदै आएको छ । आफ्नो सङ्घर्ष थरीथरीको गर्छ नेमकिपा ।
प्रतिफलको आन्दोलन बाक्लियो
सङ्घर्षको दौरानमा नेक्राकिसङ्घले किसानलाई परेको समस्याबारे सङ्घर्ष गरेको थियो । त्यो हो साँढे धपाउने आन्दोलन, बाली काट्ने आन्दोलन, कुत तिरेपछि जग्गा धनीबाट भर्पाई लिने आन्दोलन, जसबाट मोहियानी हक सुरक्षित हुन्थ्यो । यसरी अरू कर्मले आन्दोलनको रूपमा नहेरेको तर किसान मजदुर लाभान्वित हुने कामलाई पछि अरूहरूले आन्दोलनको नाम र स्वरूप दियो । जसबाट किसान लाभान्वित भए र आन्दोलन भनेपछि जागरुक पनि भए । यी आन्दोलनको प्रभावबाट किसान र मजदुरलाई फाइदा हुन लाग्यो । पेटभर खाने हुन लागे । सुत्केरी किसान महिलाले पौष्टिक खाद्य पाउन थाले । सालनाल नझरेर मर्ने आमा बाँच्न थाले । नानीहरूलाई बिफरको खोप लगाउन लगियो । तब बिफरबाट पर्ने अनुहार, छ्याकटे हुनेको सङ्ख्या घट्न लाग्यो । अस्पतालप्रति जनविश्वास बढ्न थाल्यो । जहाँ दुखेको छ त्यही यन्त्र लगाएर जाँच्नुपर्ने गृहस्थ गृहिणी पनि अब अस्पतालको औषधिबाट निको हुन थालेपछि, औषधि उपचारबाट बिरामी निको भएपछि औषधि उपचारप्रति विश्वास बढ्न थाल्यो । साँढे धपाउने, बाली भित्याउने, भर्पाई लिने आन्दोलनबाट मोहियानी हक जोगिएपछि किसान सङ्गठन र आन्दोलनहरूप्रति विश्वास हुन थाल्यो । यी नै कुरा नपत्याइ नपत्याइ हुन लाग्यो किसानक सङ्गठनको माग । तब नेतृत्वप्रति आस्था र विश्वास बढ्न थाल्यो । बैठकमा सहभागी बढ्न थाल्यो, मोहीको कुराकानी चल्न थाल्यो ।
साङ्गोपाङ्गो दुवै मिल्नुपर्ने
माथि उल्लिखित आन्दोलनहरूका कारण किसानहरूमा पनि आत्मविश्वास बढ्न थाल्यो एकातिर भने अर्कोतिर सामन्तहरूको आन्दोलन दबाउने हिम्मत पनि एकदमै घट्दै जान लाग्यो । क्रमशः तैपनि किसानहरूलाई भड्काएर शत्रुहरू किसानहरूको सङ्घर्ष तुहाउने कुचेष्टामा छन् भन्नेतर्फ पनि अध्यक्ष नारायणमानले सचेत गराउन बाँकी राख्नुभएन । नेमकिपाको नेतृत्वमा भएको किसान सङ्घर्षसँगै सरसफाइ आन्दोलन, शैक्षिक आन्दोलन, साँचो अर्थमा देश र जनता खाँचो रहेको प्रसङ्गमा उहाँले भन्नुभयो, “नेपालको राजनीतिक डबलीमा नेमकिपाको उपस्थिति नहुँदो हो त भारतीय विस्तारवाद एवं एकाधिकार पुँजी, अमेरिकी साम्राज्यवादको विरोध हुँदैनथ्यो । जनता र देश बाहिर पनि साम्राज्यवाद र पुँजीवादको विरोध चर्कदैनथ्यो । भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादका यस खालका विरोधहरू पनि किसान–मजदुर आन्दोलनको श्रृङ्खला जति मजबुत हुनथाल्यो त्यति नै प्रबल हुने गर्छ । महिलाहरू राजनीतिकरूपमा जति अगाडि बढ्छन् समाज र देश त्यहीअनुसार अगाडि बढ्छ । यो विचार जनताको घर आँगनमा फैलाउनुपर्छ । प्रगति भनेको साङ्गोपाङ्गो नै मिल्नुपर्छ । साङ्गोपाङ्गो मिलेरमात्र पुग्दैन साङ्गो पनि मिल्नुपर्छ पाङ्गो पनि मिल्नुपर्छ ।
वस्तु सत्य नभुलौँ
नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन, रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपाल–भारत सम्बन्धबारे प्रस्तुतीकरण एवं चर्चाबारे पनि व्यापक चर्चा भएको थियो । नेमकिपाका अध्यक्ष बिजुक्छेँले स्पष्टै भन्नुभयो, नेपालको राजनीतिक वृत्तमा नेमकिपा स्थापना नभएको भए देश र जनताको सेवाको राजनीति गर्ने पार्टी हुँदैनथ्यो । यो कुरा छ्याङ्गै भन्न हिम्मत गर्ने पार्टी नेता रोहित एउटामात्र हुन् । राजनीति दल, दर्शन र वर्गीय आधारमा स्थापना हुन्छन् भन्ने कुरा कति नेतालाई गूढरूपमा थाहा छ होला र कति थाहा हुनेहरूले पनि अन्य राजनीतिक झमेलाले कहिले पो सम्झन सकेका होलान् भन्नुपर्ने भएको छ । नेमकिपाले साँढे धपाउने, बाली काट्ने, भर्पाई लिने आन्दोलनले गर्दा खिसि गर्नेहरू अहिले तिनका छोराछोरी उनीहरूले स्थापना, सञ्चालन र बन्दोबस्त गरेका शिक्षण, स्वास्थ्य र सामाजिक संस्थामा रोजगारीका लागि प्रतिक्षारत छन् । आफ्ना केटाकेटीहरूको स्थायी रोजगारीको लागि पनि ती संस्थाको जीवन लामो होस् भनी प्रार्थना गर्दछन् । जुग जमाना कस्तो हुन्छ ? आफ्नो घरमा कुत बुझाउन आउने किसानका छोराछोरीले एक कप चियामात्र खाइदिए पनि ती जग्गावालाको परिवार कृतज्ञ पो हुन्छन् अचेल कस्तो जुग आयो हेर्दाहेर्दै । यो सङ्घर्ष सेलायो भने युग फेरि फुत्कन सक्छ । यो वस्तु सत्य नभुलौँ ।