५ माघ, कञ्चन
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ खुदावगरको सोनवरसीमा थारु समुदायको लवा बरष(नयाँ बर्ष) को अवसरमा बुधवार माघी तथा खिचडी महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। महोत्सवमा थारु संस्कृति झलकाउने झुमरा नाच, मयुर नाच, लट्ठी नाच लगायत थारु भेषभुषा सहितको झांकी तथा नृत्य प्रदर्शन गरिएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानले आफ्नो पहिचान स्थापित गर्न त्यो समुदायको भाषा, साहित्य, कला संस्कृतिको संरक्षरण र सम्बर्द्धन हुनुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख मुसलमानले लुम्बिनी विश्व शान्तीका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थललाई बहुभाषिक र बहुसाँस्कृतिक रुपमा बिकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटनको अझ बढी बिकास हुने बताउदै थारु समुदायको भाषा, साहित्य, कला संस्कृतिको संरक्षरणमा नगरपालिका सदैव लागिपरिहेको बताउनु भयो।

यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कमल अख्तर फकीरले लुम्बिनी साँस्कृतिक नगर आफैमा थारु, मुस्लिम, मधेसी समुदाय बढी भएको ठाउ रहेको र नगर, प्रदेश र संघले ती समुदायको भाषा, साहित्य, कला संस्कृतिको संरक्षरण र सम्बर्द्धन गर्न ध्यान दिनु पर्नेमा जोड दिनु भयो। वडा र नगरपालिकाबाट आवस्यक सहयोग हुने समेत वडा अध्यक्ष फकिरले बताउनुभयो।
खुदावगर सामुदायिक बिकास केन्द्र, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ९ सोनवरसीका अध्यक्ष केशव नन्द चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ९ का वडा सचिव महाशर्मा अधिकारी, थारु कल्याणकारीणी सभाका भुतपसर्व सचिव कमल नारायण चौधरी, कञ्चन गाउापालिकाका कार्यपालिका सदस्य रञ्जना चौधरी, थारु बौद्ध समाजका केन्द्रिय उपाध्यक्ष राम कुमार थारु, स्थानीय महिला नेतृ सरस्वती चौधरी लगायतले थारु समुदायको कला संस्कृति, रितिरविाजलाई संरक्षण र सम्बर्द्धन गर्न नयाँ पुस्तामा हस्तान्तरण गर्दै नाचगानसंगै राज्यको हरेक निकायहरुमा आफ्नो उपस्थिति देखाउन अवको पुस्ताले शिक्षालाई बढी जोड दिनु पर्ने उललेख गरेका थिए। शिक्षा विना कुनै पनि कुराको सम्भावना नभएकोले हरेक थारुहरुको घरमा कम्तीमा स्नातकोत्तर तहसम्म शिक्षा हासिल गरेको व्यक्ति उत्पादन गर्नु पर्ने अभियान सञ्चालन गर्नु पर्ने आवस्यकतामा जोड दिएका थिए।
कलाकार मिलन चौधरी
बुद्ध टेलिभिजनका पत्रकार राज चौधरी र निलम चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा राष्ट्रिय कलाकार मिलन चौधरी सहित स्थानीय थारु महिला तथा आमा समूहद्वारा थारु संस्कृति झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए।