२५ पुस, शुद्धोदन/रवि राना
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ। जिल्ला समन्वय समिती रुपन्देही प्रमुख उमाकान्त चपागार्इँले गाउँ सभाको उद्घाटन गर्नुभयो।
गाउँसभाको उद्घाटन गर्दै प्रमुख चपागार्इंले हाम्रो शुद्धोधन राम्रो शुद्धोधनको नारा सफल बनाउनका लागि सभामा प्रस्तुत हुने विभिन्न ऐन, नीति, नियमावली र विधेयकहरुले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्नका लागि आफ्नो तर्फबाट सबैले सिर्जनात्मक पहल गर्दै गएमा गाउँपालिका समृद्ध हुने र गाउँपालिकाले लिएको हाम्रो शुद्धोधन राम्रो शुद्धोधनको नारा सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आइतबार गाउँपालिकाको सभाहलमा भएको सभामा विधेयक मस्यौदा समितीका संयोजक तथा शुद्धोधन गाउँपालिका वडा न. ४ अध्यक्ष केशबप्रसाद अधिकारीले आर्थिक सहायता सम्बन्धि विधेयक २०७९, सस्था दर्तासम्बन्धि ऐन २०७९, सहकारी सम्बन्धि ऐन २०७९ लगायतका विधेयकहरु प्रस्तुत गर्नुभयो ।
यसैगरी सार्वजनिक लेखा समितिका संयोजक तारक बहादुर कुवरले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७८/०७९ सम्मको वेरुजु परिक्षण हाल सम्मको खर्च अनुमोदन ,गाउँकार्यपालिकाद्वारा गरिएका पारित भएका हालसम्मका निर्णयहरु, आर्थिक वर्ष २०७९/८० मा गाउँकार्यपालिका वैठकले पारित गरेका नियमावली, कार्यविधि ,निर्देशिका मापदण्ड लगायतका प्रस्तावहरु सभाले सर्बसम्मत पारित भएको छ।
लेखा संयोजक कुवरले आर्थिक वर्ष २०७९/०८०मा विनियोजित कुल वजेट रकम ६२ ,७५,५९,००० रुपैया मध्ये चालुतर्फको कुल बजेट ३५करोड ६४ लाख ४८ हजार रहेकोमा हाल सम्म ८ करोड ९६ लाख ४७ हजार ४ सय ४ रुपैया (२५.१५५) र पुँजीगत तर्फ कुल बजेट २७ करोड ११ लाख ११ हजार मध्ये हालसम्म १ करोड ३९ लाख १३ हजार ३ सय २ रुपैया अर्थात (५.१३५) खर्च भएको जानकारी दिनु भयो ।

साथै गाउँपलिक अध्यक्ष विष्णुप्रसाद बस्यालद्वारा प्रस्तावित आर्थिक वर्ष २०७९/०८०को अर्धवार्षिक समीक्षा, पालिकाभित्रका विपन्न परिवारका सदस्यहरुका लागि ५० हजार सम्मको सहयोग गर्ने, विपन्न,अपाङ्ग परिवारको विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्ने निशुल्क रुपमा रगत उपलब्ध गराउने, हिउदे अधिवेशन अन्त्य लगायतका विभिन्न कार्यसुचि तथा प्रस्तावहरु गाउँसभाले पारित गरेको हो।
कार्यक्रममा सभामा गाउँ सभासदरुद्वारा उठाइएको टिप्पणी तथा सुझावमाथी जवाफ दिदै गाउँपालिकाका अध्यक्ष बस्यालले सम्पुर्ण जनप्रतिनिधिको साथ र सहयोगले मात्र विकास सम्भव भएको र आगामी दिनमा पनि त्यसको निरन्तरता हुदै जाने उललेख गर्नु भयो। सभामा उठेको गाउँ सभासदहरुको सुझाव तथा सल्लाहलाई गाउँपालिकाले अपनत्व ग्रहण गर्दै आगामी दिनमा प्रस्तुत हुने योजनाहरुमा समाबेश गरिने अध्यक्ष बस्यालले बताउनुभयो । गाउसभामा शुद्धोदनवासी जनताले प्रत्यक्ष लाभ लिनसक्ने गरी केही नया ऐन निर्माण गरि कार्यक्रमहरु अगाडि सारेको समेत अध्यक्ष बस्यालले जानकारी दिनु भयो।
सभामा उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा सदस्यहरू बालकृष्ण पराजुली, टोलप्रसाद राना, भिमबहादुर छहारी, णमकुमारी पङ्गीनीले सभामा प्रस्तुत विभिन्न बिधेयक, नीति, नियमावली, कार्यविधि लगायत बिषयहरुमाथी टिप्पणी सहित आ आफ्नो धारणा राख्नुभएको थियो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईको स्वागत तथा सामाजिक शुरक्षा ,पञ्जिकरण तथा न्यायिक शाखाकी गंगा गैरेले कार्यक्रम सञ्चालन गर्नुभएको सभामा छलफलका लागिकार्य सुचीहरु प्रस्तुत भई पारित भएको गाउँपालिका प्रवक्ता केशब अधिकारीले बताउनु भयो ।