२२ पुस, कञ्चन
रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४, रुपन्देहीको १२ औं बार्षिक उत्सव सम्पन्न तथा छैठौं साधारण सभाको शुभारम्भ भएको छ। बार्षिक उतसवको अवसरमा आयोजित सरसफाई सम्बन्धी गित तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो।
कञ्चनका १० महिला तथा आमा समूहहरुले सहभागिता जनाएको प्रतियोगितामा रोदी आमा समूह, कञ्चन ४ प्रथम भएको छ भने शान्ती आमा समूह, कञ्चन ४, गरगरे द्वितिय भएको छ। यसैगरी मिलिजुली आमा समूह, कञ्चन ४ थकालीचोक तृतिय अनि नमुना आमा समूह कञ्चन ५ वर्गदवा सान्त्वना भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम भएसंगै रोदी आमा समूहले नगद १० हजार रुपैया सहित सम्मान पत्र प्राप्त गर्न सफल भएको छ भने द्वितिय स्थान हासिल गर्न सफल शान्ती आमा समूहले नगद ७ हजार रुपैया र सम्मान पत्र प्राप्त गरेको छ। यसैगरी तृतिय भएको मिलिजुली आमा समूहले नगद ५ हजार रुपैया र सान्त्वना भएको नमुना आमा समूहले नगद ३ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएकोछ।
विजेता समूहहरुलाई पुरस्कार तथा सम्मान गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यलय,बुटवलका प्रमुख गुणनीधि पोख्रेलले भाषणबाट भन्न्दा गित संगितको माध्यमबाट सरसफाई सम्बन्धी शिक्षा दिन र उपभोक्ताहरुलाई सचेतना प्रदान गर्न सहज हुने बताउनु भयो। पिउने पानी असुरक्षित हुँदा झाडा पखला, वान्ता, आउँ, हैजा, जण्डिस जस्ता बिभिन्न रोगहरु लाग्ने भएकोले सफा र स्वस्थ पिउने पानीको फाइदाबारे उपभोक्ताहरुका लागि समय समयमा सन्देशमुलक बिभिन्न गित संगित तथा नाटकहरु प्रदर्शन र प्रस्तुती गर्नु पर्ने कार्यलय प्रमुख पोख्रेलले बताउनु भयो।

कार्यक्रममा उपभोक्ताहरुको तर्फबाट लक्ष्मीकान्त पौडेल, वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा लगायतले हरेक सेवाप्रदायक संस्थाहरु सेवाग्राहीमुखी हुनुपर्नेमा जोड दिएका थिए। उपभोक्ताहरुका लागि पारदर्शी र गुणस्तरिय सेवा प्रवाह गर्न उपभोक्तामैत्री कार्यक्रम र योजना सञ्चालन गर्नु पर्नेमा जोड दिदै वक्ताहरुले रुद्रपुर खानेपानी योजना सञ्चालन भएपछि कञ्चन गाउँपालिका वडा नं. २, ३, ४ र ५ का उपभोक्ताहरुले शुद्ध पानी पिउन पाएको र यसले समाजमा पनि सकरात्मक सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गरेका थिए।

संस्थाका अध्यक्ष गेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य शेर बहादुर पुनले स्वागत गर्नु भएको थियो भने सदस्य दुर्गा राजकोटीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।