गएको बुधबार संरा अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टीको तर्फबाट आगामी चुनावको लागि राष्ट्रपति पदको उम्मेदवार छानिएपछि दिएको मन्तव्यमा डोनाल्ड ट्रम्पले तीन वटा ठूला झूट बोले । ती तीन झूटलाई उनले आगामी निर्वाचनमा आफू निर्वाचित हुने आधार बनाएका छन् ।
पहिलो झूट, काला समुदायमाथि विभेदविरुद्ध चालु आन्दोलनमा संलग्न आन्दोलनकारीहरू ‘हिंसात्मक अराजकतावादी, उपद्राहा र हाम्रा (अमेरिकी) नागरिकलाई आतङ्कित बनाउने अपराधी’ हुन् ।
दोस्रो, चीन खतरा हो ‘जसले हाम्रो रोजगारी खोस्छ, हामीलाई ठग्छ र हाम्रो देशको आँखामा छारो फालेर लुटपाट गर्छ ।’
तेस्रो, जो बाइडेन ‘समाजवादका श्यामकर्ण घोडा हुन्’ जसले ‘अमेरिकी महानतालाई ध्वस्त बनाउनेछ ।’
ट्रम्पले राष्ट्रपति पद सम्हालेको केही समयपछि केही लब्धप्रतिष्ठित पत्रकारहरूबीच उनले बोलेका कुरालाई झूट भनी लेख्न हुने वा नहुने विषयमा बहस भएको म सम्झन्छु । त्यसो लेख्नु कतै राष्ट्रपति पदको मानमर्दन गर्नु र पत्रकारकारिताको पेशागत धर्म पालना नगर्नु त हुने होइन भन्नेमा हामी चिन्तित थियौँ ।
हामीले चाँडै नै त्यो अलमलबाट त्राण पायौँ । ट्रम्पको भाषणपछि प्रकाशित समाचारका केही शीर्षकहरू हेरौँ ः ‘द गार्जियन’ले लेख्यो, ‘ट्रम्पले बोले नग्न झूट र गरे आधारहीन हमला ।’
‘द वाशिङ्टन पोस्ट’ ले लेख्यो, ‘झूटा दाबी र इतिहास बङ्ग्याउने कुराले भरिभराउ ट्रम्पको भाषण ।’
‘द न्यु योर्क टाइम्स’ले लेख्यो,‘बाइडेनमाथि भ्रामक आरोप थोपरेर ट्रम्पद्वारा आफ्नो उम्मेदवारी स्वीकार ।’
आउनुहोस्, ट्रम्पका तीन ठूला झूटबारे केही छलफल गरौँ
ट्रम्पले काला समुदायमाथि संरा अमेरिकामा चालु विभेदको विरोधमा प्रदर्शन गर्ने जनतालाई ‘खतरनाक’, ‘हिंसात्मक’ र ‘उग्रवादी’को संज्ञा दिए । तर, गएको गर्मीयाममा संरा अमेरिकामा इतिहासकै सबभन्दा ठूला प्रदर्शनहरू भए । ‘द न्यु योर्क टाइम्स’ अनुसार जून महिनाको सुरुमा भएका प्रदर्शनहरूमा कम्तीमा १ लाख ५० हजार मानिस सहभागी थिए ।
ट्रम्पले आफ्ना भाषणहरूमा चीनविरुद्ध धेरै पटक हमला गर्ने गरेका छन् । उनी भन्छन्, “हामी चिनियाँहरूबाट हाम्रो रोजगारी फिर्ता ल्याउनेछौँ । हामी चीनबाट रोजगारीलाई अब हाम्रै देशमा ल्याउनेछौँ ।” ट्रम्प संरा अमेरिकी उत्पादक कम्पनीहरूलाई चीनले दुःख दिइरहेको आरोप लगाउने गर्छन् । उनी अमेरिकी जनतासमक्ष उत्पादनमुखी रोजगारी बढाउने वाचा गर्छन् ।
विश्वव्यापीकरणले शारीरिक श्रम गर्ने मजदुरहरू पछाडि छुटेको भन्ने ट्रम्पको भनाइ सही हो । तर, यसको निम्ति चीनमाथि दोषारोषण गर्न मिल्दैन । धनी झन्झन् धनी बन्ने, अरू मानिसको आम्दानी भने नबढ्नुको मूल कारण त विभेदकारी नीतिको परिणाम हो ।
प्रहरीले काला समुदायमा जनतामाथि गरिरहेको हिंसात्मक हमलाको विरोधमा जनताले ती प्रदर्शनहरू गरेका थिए । हालै विनकनसिन राज्यमा निःशस्त्र नागरिक ज्याकोब ब्लेकलाई उनका तीन सन्तानकै अघि गोली हानी घाइते बनाएपछि सडक प्रदर्शनको नयाँ लहर सुरु भएको छ । केही हिंसात्मक प्रदर्शन बेतुक, प्रत्यत्ुपादक र कहिलेकाहीं वियोगपूर्ण समेत हुने गरेका छन् । तथापि, यस्ता उपद्रव बिनाकारण शून्यतामा भइरहेका छैनन् ।
संरा अमेरिकाको नेसनल बास्केटबल एसोसिएसन (एनबीए) लस एन्जलसका प्रशिक्षक (जो आफै कालो समुदायका हुन्) क्लिपर्स डोक रिभर्सले रिपब्लिकन पार्टीको सम्मेलनमा पारित निर्णयप्रति प्रतिक्रिया जनाउँदै बुधबार भने, “हामी मारिइएका छौँ । हामीमाथि गोली प्रहारका घटना भइरहेका छन् । हामीलाई निश्चित समुदायमा बस्न निषेध गरिएको छ । हामीलाई झुन्ड्याइएको छ । हामीलाई घाइते बनाइएको छ । अनि यस्ता सबै घटनाका समाचार तपाईँहरू भयग्रस्त भएर सुनीमात्र रहनुहुन्छ । मलाई त आश्चर्य लाग्छ, हामी यो देशलाई किन अझै पनि प्रेम गरिरहेका छौं । हामीलाई यो देशले प्रेम गर्दैन । यो वास्तवमै दुःखको कुरा हो ।”
ट्रम्पको दाबीविपरीत कालो समुदायमाथि विभेदविरुद्ध भइरहेका प्रदर्शनहरूलाई प्रहरी ज्यादतीविरुद्ध अमेरिकीहरूको प्रतिरोधको रूपमा चित्रण भइरहेका छन् ।
ट्रम्पले आफ्ना भाषणहरूमा चीनविरुद्ध धेरै पटक हमला गर्ने गरेका छन् । उनी भन्छन्, “हामी चिनियाँहरूबाट हाम्रो रोजगारी फिर्ता ल्याउनेछौँ । हामी चीनबाट रोजगारीलाई अब हाम्रै देशमा ल्याउनेछौँ ।” ट्रम्प संरा अमेरिकी उत्पादक कम्पनीहरूलाई चीनले दुःख दिइरहेको आरोप लगाउने गर्छन् । उनी अमेरिकी जनतासमक्ष उत्पादनमुखी रोजगारी बढाउने वाचा गर्छन् ।
विश्वव्यापीकरणले शारीरिक श्रम गर्ने मजदुरहरू पछाडि छुटेको भन्ने ट्रम्पको भनाइ सही हो । तर, यसको निम्ति चीनमाथि दोषारोषण गर्न मिल्दैन । धनी झन्झन् धनी बन्ने, अरू मानिसको आम्दानी भने नबढ्नुको मूल कारण त विभेदकारी नीतिको परिणाम हो ।
चीनमाथि दोषारोपण गर्दैमा केही परिवर्तन हुनेछैन । ट्रम्पले चीनमाथि करको दायरा बढाए । तर, उनले संरा अमेरिकी जनतालाई वाचा गरेजस्तै त्यसले उत्पादनमुखी रोजगारी बढेन । चीनबाट गएका अधिकांश उत्पादक कम्पनीहरू अहिले भियतनाम र मेक्सिको गएका छन् । उनीहरू संरा अमेरिका फर्केनन् । नोबेल कोरोना भाइरसको महामारीअघि ट्रम्पले ‘इतिहासकै सबभन्दा ठूलो अर्थतन्त्र विकास गर्ने’ घोषणा गरेका थिए । तथापि, यो अवधिमा संरा अमेरिकाको आर्थिक वृद्धि ओबामा वा जर्ज डब्ल्यु बुशको पालामा भन्दा कति पनि माथि उक्लिएन ।
ट्रम्पले फेरि चीनले संरा अमेरिकाविरुद्ध कोभिड–१९ को महामारी फैलाएर हमला गरेको दाबी गरिरहेका छन् । ट्रम्प र उनका पिछलग्गूहरूले चीनले संसारभर यो भाइरस फैलाउन भाइरसबारे सूचना लुकाएको बताए । तथापि, ‘द न्यु योर्क टाइम्स’ले अगस्ट १९ मा प्रकाशित एक समाचारअनुसार संरा अमेरिकी गुप्तचर विभागका प्रतिवेदनले उनको यस्तो अभिव्यक्तिमा कुनै सत्यता नभएको बताएको छ । महामारी नियन्त्रण गर्न ट्रम्प सरकारले पुग्दो प्रभावकारी काम गर्न नसकेपछि जनताको ध्यान अन्यत्र धपाउन उनले यस्ता कुरा गरिरहेका छन् । अर्थतन्त्र जोगाउने नाममा ट्रम्प सरकारले १ लाख ८१ हजार मानिसको ज्यान लिइसकेको छ । उनले रिपब्लिकन पार्टीको सम्मेलनमा भाषण गर्दै गर्दा पनि उनी वरपर बसेका मानिसहरूले मुखमा मास्क लगाएका थिएनन् । जब कि संरा अमेरिकामा हरेक दिन ४० हजारभन्दा बढी मानिस नोबेल कोरोना भाइरसबाट सङ्क्रमण भइरहेका छन् ।
ट्रम्पले डेमोक्रेटिक दलको तर्फबाट राष्ट्रपति चुनावका उम्मेदवार जो बाइडेनको छवि धमिल्याउन खोजेका छन् उनले बाइडेनले प्रहरीको बजेट कटौती गर्न चाहेको, सबै अमेरिकी परिवारमाथि करको बोझ बढाउन खोजेको साथै संरा अमेरिकामा तेल, कोइला र प्राकृतिक ग्यास उत्पादन बन्द गर्न खोजेको आरोप लगाए ।
उनले डेमोक्रेटिक दलभित्रकै प्रगतिशील खेमाले आलोचना गर्ने गरेका बाइडेनका प्रस्तावलाई ‘आजसम्म प्रमुख पार्टीको उम्मेदवारले अघि सारेको सबभन्दा अतिवादी प्रस्ताव’ भनी खेदो खने ।
यी कुनै पनि कुरा सत्य होइनन् ।
ट्रम्पले बाइडेनमाथिको हमलालाई चीनसँग जोड्ने गरेका छन् । उनले ‘जो बाइडेनका सबै मुद्दा चीनमा बनेको’ र आफ्नो मुद्दा भने ‘संरा अमेरिकामा बनेको’ बताउँदै हिँडेका छन् । उनले कोभिड–१९ रोकथामको निम्ति बाइडेनले संरा अमेरिका नै बन्द गर्न खोजेको बताए ।
सबैलाई डोनाल्ड ट्रम्पले झूट बोल्ने कुरा थाहा छ किनभने यस्तो काम उनी बारम्बार गर्छन् र निर्लज्ज भएर गर्छन् । ट्रम्पकी बहिनी मेरिन्नी ट्रम्प बेरी (उनी न्यायाधीश हुन्) ले आफ्नो दाजुका ‘झूट’ र ‘निर्दयिता’ बारे बोलेको अभिव्यक्ति रेकर्डमा छन् । उनका पहिलेका निजी वकिल माइकल कोहेनले ट्रम्पलाई रिपब्लिकन सम्मेलनमा ‘खुलमखुला झूट’ बोलेको भनी आलोचना गरे । ‘द वाशिङ्टन पोस्ट’ले त ट्रम्पले बोलेको २० हजार झूटको तथ्याङ्क नै सार्वजनिक गरेको छ । उनले राष्ट्रपति बनेयता औसत दैनिक १५ वटा झूट बोल्ने गरेको सो पत्रिकाको दाबी छ ।
झूट बोल्नु प्रभावकारी हुनसक्छ । जति ठूलो झूट, त्यत्ति राम्रो ¤
तीस वर्षअघि भ्यानिटी मेलामा ट्रम्पले आफूसँग एडोल्फ हिटरका भाषणहरूको पुस्तक भएको बताएका थिए । उनलाई त्यो पुस्तक एक जना मित्रले दिएको भनेका थिए । उनकी श्रीमती तनाले हिटलरको सो पुस्तक ट्रम्पले आफ्नो सिरानी छेउ राख्ने गरेको र नियमित पढ्ने गरेको सार्वजनिक गरेकी थिइन् ।
भीडलाई कस्तो धारणा बनाउन दिने भन्ने विषयमा हिटलर सिपालु थिए । उनले एक ठाउँमा ‘ठूला झूटले सर्वसाधारण जनताको बौद्धिकतामा नभई भावनालाई उत्तेजित बनाउने’ लेखेका थिए । त्यसैकारण भीडले ‘ठूला झूट’ लाई विश्वास गर्ने हिटलरको दाबी थियो । “सर्वसाधारण जनता सरल हुने भएकाले उनीहरू स–साना झूटभन्दा ठूला झूटको चङ्गुलमा सजिलै फस्ने गर्छन् । स–साना काममा उनीहरूले पनि स–साना झुट बोलिरहेका हुन्छन् । तर, ठूलो आकारको झूट बोल्न भने उनीहरूलाई लाज हुन्छ ।”
ट्रम्प के हिटलरका यी विचार पढ्थे वा पढ्दैनथे ? जे भए पनि उनले यसको निहीत सिद्धान्त भने बुझेका छन् । अमेरिकी जनताले यो कुरा कति बुझेका छन् ? यो भने हेर्न बाँकी नै छ । ट्रम्पका झूटले उनीहरूलाई कोक्याउने गर्छ वा गर्दैन ?
स्रोत : सीटीटीएन
नेपाली अनुवाद : राजजी