५ असोज, एजेन्सी ।
यो मिति आफ्नो डायरी वा गुगलको क्यालेन्डरमा नोट गर्नुहोस् किनभने ५९ वर्षपछि एउटा दुर्लभ खगोलीय घटना हुने भएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति धर्तीको निकै नजिक आउँदैछ । यसदिन वृहस्पति सूर्यभन्दा ठिक विपरित दिशामा हुनेछ। पृथ्वीबाट देखिनेछ । वृहस्पतिको यो दिशा परिवर्तन हुने यो स्थितिलाई वैज्ञानिक भाषामा अपोजिशन भनिन्छ ।
वृहस्पति ग्रहका लागि अपोजिशन एक सामान्य प्रक्रिया हो । हरेक १३ महिनामा एक पटक हुन्छ । हरेक वर्ष पृथ्वी र वृहस्पति एकपटक एकअर्काको नजिक आउँछन् । तर यसपटक २५ सेप्टेम्बर र २६ सेप्टेम्बरमा जुन घटना हुँदैछ, त्यो दुर्लभ छ । यो ५९ वर्षमा पहिलो पटक हुन लागेको हो । यतिबेला पृथ्वी र वृहस्पति एक अर्काको निकै नजिक हुनेछन् जसका कारण तपाईंले आकाशमा वृहस्पति ग्रहलाई एउटा ठूलो चम्किलो ताराको रुपमा देख्नुहुनेछ । यदि आकाश सफा रहे तपाईंले टेलिस्कोपको मद्दतले यसको चन्द्रमा र यो ग्यासयुक्त ग्रहलाई आरामले हेर्न सक्नुहुन्छ ।
अलबामास्थित नासाको मार्शल स्पेस फ्लाइट सेन्टरमा रिसर्च एस्ट्रोफिजिसिस्ट एडम कोबेलस्कीले २६ सेप्टेम्बरलाई विशेष दिन भनेका छन् । उनका अनुसार त्योभन्दा अघि र त्यसको केही दिनपछि सम्म वृहस्पतिलाई खुल्ला आँखाले एउटा चम्किलो ताराको रुपमा देख्न सकिन्छ । यसका लागि मौसम राम्रो, आकाश कालो र प्रदुषण मुक्त हुनुपर्ने उनको भनाई छ । उनका अनुसार त्यस दिन आकाशमा चन्द्रमा पछि सबैभन्दा चम्किलो वस्तु जे देखिन्छ त्यो वृहस्पति ग्रह हो भनेर बुझ्नुपर्छ ।
धर्तीबाट कति टाढा हुनेछ वृहस्पति ग्रह रु
धर्तीले सूर्यको चक्कर ३६५ दिनमा लगाउँछ । वृहस्पति ४३३३ दिनमा सूर्यको चक्कर लगाउँछ । अर्थात धर्तीको १२ वर्ष बराबर । २५ र २६ सेप्टेम्बरमा धर्तीबाट वृहस्पतिको दुरी ५९ करोड किलोमिटर हुनेछ । जबकी साधारणतया अधिकतम दुरी ९६ करोड किलोमिटर हुन्छ । यसअघि वृहस्पति हाम्रो धर्तीको यति नजिक सन् १९६३ मा भएको थियो । नजिक हुनुको अर्थ वैज्ञानिकका लागि अनुसन्धानका लागि उत्कृष्ट मौका ।
वृहस्पतिका चार चन्द्रमा पनि देखिनेछन्
एडम कोबेलस्कीले बताए अनुसार यदि तपाईंसँग राम्रो दुरबिन वा टेलिस्कोप छ भने तपाईंले वृहस्पति ग्रहको मुख्य रेखा, तीन–चार रेखाहरु वा उक्त ग्रहसँग घुम्ने चन्द्रमालाई देख्न सक्नुहुनेछ । महान वैज्ञानिक ग्यालिलियोले वृहस्पतिको चन्द्रमालाई १७ औँ शताब्दिमा पत्ता लगाएका थिए । वृहस्पति ग्रहसँग ७९ वटा चन्द्रमा छन्, यसको संख्या बढ्न पनि सक्छ । यीमध्ये सबैभन्दा ठूला लो, युरोपा, गेनिमेड र क्यालिस्टो हुन् । यी सबै चन्द्रमा वृहस्पतिको चारैतर्फ घुम्छन् र चम्किलो बिन्दुजस्तो देखिन्छन् ।
युरोपामा पानी छ, यसको अनुसन्धान भइरहेको छ
एडम कोबेलस्कीले युरोपामा बरफको समुद्र भएकोले त्यहाँ पानी हुनसक्ने बताएका छन् । उनका अनुसार यदि पानी छ भने जीवन पनि हुनसक्छ । यसको अनुसन्धानका लागि युरोपा क्लिपरको लञ्चिङ सन् २०२४ मा हुनेछ ।
वृहस्पतिको विशाल रातो धब्बा
वृहस्पतिको एउटा ठूलो रातो धब्बा छ । यसलाई ग्रेट रेड स्पट भनिन्छ । यो स्पटको व्यास १६ हजार किलोमिटर छ ।