##हरिबहादुर श्रेष्ठ
घाँसको भारी बोकेको वीरे दाहिने हातले थाप्लोमा नाम्लो अड्याउँदै र देब्रे हातले पुस्तक लिएर उकालो चढिरहेको थियो । धने पनि उसकै पछि पछि घाँस बोकेर गीत गुनगुनाइ हिँडिरहेको थियो । दुब्लो पातलो वीरे हेर्दैमा थाकेको जस्तो देखिन्थ्यो । तर, उसको मुखमा सन्तोष र गौरवको भाव झल्किरहेको थियो । उसले फाटेको र टालेको गाउँले लुगा नै लगाएको थियो । थाके पनि ओठमा हाँसोका धर्का कोरिएकै थियो । वीरेलाई गाउँका सबै आइमाई, लोग्नेमानिस, बूढाबूढी र केटाकेटीले चिनेका थिए । तर, उसका आमाबाबु को हुन्, उनी कहाँ बस्छन् र उसको आफ्नो घर कहाँ छ, कुन हो भन्ने नाटीकुटी कोही गर्दैनथे । कसैले उसलाई ‘दाइ’ भनेर बोलाउँथे त कसैले ‘भाइ’, कसैले ‘साथी’ त कसैले ‘मामा’, सबैले आफ्नो उमेरअनुसार नाता लगाएर उसलाई बोलाउने गर्थे । केटाकेटीहरू उसलाई कोही ‘मामा’ भन्थे, कोही ‘काका’ भन्थे । आमाबाबुले पिट्दा वा आपसमा झगडा गरेर रुँदासमेत केटाकेटी ’मामा’ र ’काका’ भनेर गुहार माग्थे । ऊ गाउँलेहरूका साथी र शिक्षक थियो भने केटाकेटीका न्यायाधीश, संरक्षक र मायाको मूर्ति थियो धने । गाउँको एक तरुण थियो ।
वीरेले घाँस गोठमा बिसायो । खुर्पेठ्याक पालीको खोपामा झुण्ड्यायो र तुरुन्तै पैँटो लिएर पानी लिन हिँड्यो । “ए वीरे दाइ, एकछिन बिसाइ मार्नुहोस् न । भो तपाईँ नजानुहोस्, बिरामी मान्छे काम नगर्नुहोस् भन्दा मान्नु हुन्न,” मायालु आँखाले हेर्दै धनेले भन्यो । “यति सानो जाबो काममा पनि के भन्नुभएको त्यसो ! हामीले जनताको निम्ति जे गर्नुपर्ने हो त्यो गर्न सकिरहेका छैनौँ । ल तपाईँ पढ्नु होस्, म छिट्टै पानी लिएर आउँछु र गिठ्ठा पकाइ खाई बैठकमा जानु छ”, वीरे हिँडिहाल्यो । वास्तवमा ऊ बिरामी नै थियो । तर, ऊ चुप लाग्ने मानिस नै होइन ।
वीरे बिहान केटाकेटीलाई पढाउँथ्यो दिउँसो किसानहरूसँग खोरिया खन्न जान्थ्यो । काम गर्दा गर्दै उसले साथीहरूलाई क्रान्तिको कुरा बुझाउँथ्यो । किसानहरू थकाइ मार्न बस्दा वीरेले तिनीहरूलाई क्रान्तिको कुरा बुझाउँथ्यो र क्रान्तिकारी गीत सुनाउँथ्यो । बेलुका घाँस या दाउरा बोकेर आउँथ्यो । राति गाउँले सबैलाई सँगै राखेर देश र विदेशको परिस्थितिबारे सम्झाउँथ्यो । सबै सुत्न गएपछि ऊ आगोको उज्यालोमा पढ्ने लेख्ने गथ्र्यो ।
धनेकी आमा पिठो लिएर आई । उसको बाबु पनि गाई बाँधेर घाँस हाली–वरी टुप्लुक्क आइपुग्यो । उसले के के हराए जस्तो गरी हे¥यो । “वीरे नानी खै त, धने ?”, ऊ टुक्रुक्क पिँढीमा बस्दै सोध्यो । सबै माहुरीको रानु हराएजस्ता देखिए । एकले अर्काको मुखमा हेर्न थाले । धनेको निधारमा पछुतोका धर्काहरू कोरिए र भन्यो, “घाँस मैलेमात्र लगे पुग्छभन्दा पनि मान्नु भएन । आउनै नपाई पानी लिन जानुभयो ।”
धनेकी आमाले बर्रर आँसु खसाली र फाटेको मुजेत्रोले आँसु पुछ्दै भनी, “हे ईश्वर ! यस्ता मान्छे पनि हुन्छन् भन्ने कसलाई थाहा थियो ? हाम्रो किसान पार्टीले कसरी बनाउन सक्यो यस्ता मान्छे ? हामी गरिबले अरूबाट राम्रो बोलीसम्म सुन्न पाएका थिएनौँ । ओहो ! कत्ति जाती छ हाम्रो किसान पार्टी, हामीलाई यस्ता मान्छे पठाइ दिन्छ ।”
गालामा हात लगाएर लेकको टुप्पोतिर हेरेर बसेको धनेको बाबु आफै बोल्न थाल्यो, “न गतिलो खानु छ, न राम्रो लाउनु छ, यसरी हामी गरिबहरूको दुःख मेटाउन हामीले भन्दा बढ्ता दुःख गर्नुभएको छ । भर्खर बिरामीबाट उठेकोलाई यसो एक छाक मीठो–मसिनो खुवाउन पनि सकिएन, हामीले हेरविचार नगरे कसले गर्छ ?”
“सधैँ गिठ्ठामात्रै भयो भनेर दुई माना कोदो पैँचो माग्न गएको उतै पिँध्न लागेर अबेला भयो । पानी लिन त म आफै जाने थिएँ नि” –धनेकी आमा सिंगान पुछ्दै भित्र पसी र आगो फुक्न थाली ।
चिसो सिरेटो चल्छ । धनेको बाबुले दस पत्र टालेको कमिजको कलरले गर्दन छोप्छ । धने सुर्ती बेरिरहेको थियो । धनेको बाबुले आँखा ठूलठूलो पार्दै दरोसँग बोल्यो, “हेर धने, तैंले घरको काम नछोई खालि पार्टीकै काममा लाग् । अब हाम्रा आँखा उघ्रिसकेका छन् । हामीले छिटो क्रान्ति गर्नु परेको छ । क्रान्ति नै हामी गरिबको सुख ल्याउने बाटो हो । यसैका निम्ति हामी सबैले त्याग गर्नुपर्छ ।” धनेको मन पनि क्रान्तितिर तानिन्छ र ढुक्क भएर बाबुको सल्लाहमा सही थाप्यो, “हुन्छ, पार्टीकै काममा लाग्छु ।”
वीरे एक किसान कार्यकर्ता थियो । पार्टीको निर्णयलाई ऊ रतीभर तलमाथि हुन दिँदैनथ्यो । साथीहरूलाई आफ्नो खोट देखाउन, आलोचना गर्न सघाउ माग्थ्यो । साथीहरूले आफ्नो आलोचना गर्दा ऊ साहै खुसी हुन्थ्यो । आलोचनालाई ऊ खोट र बिरामहरू हटाउने एक सघाउ मान्थ्यो । आफ्ना खोट र बिरामहरू सुधार्न सङ्घर्ष गथ्र्यो । घमण्डी हुने, नाम चलाउन खोज्ने वा प्रकाशमा आउन खोज्ने, “म ठूला–बडा हुँ” भन्ने धक्कु लगाउने र फुलेर बस्ने स्वभावलाई उसले पुँजीवादी विचार हो भनेर सम्झाउँथ्यो । पुँजीवादी विचारले सबै गरिब जनतालाई एकगठ गर्न सकिन्न, बरु आपसमा झगडा हुन्छ र ऊ आफू पनि खाल्डोमा पर्छ भनेर सम्झाउँथ्यो । गाउँका रोदीघरलाई उसले पाठशाला बनाइदियो । अब सबै केटाकेटीहरू रोदी बस्न छोडेर पढ्न थालेका थिए । वीरेले आइमाईहरूलाई नराम्रो आँखाले हेर्नु हुन्न, छाडा व्यवहार गर्नु हुन्न, जुवा–तास खेल्नु हुन्न भनेर सम्झाउँथ्यो । गाउँमा जुवातास पनि हरायो । वीरेले पानी ल्याउने, कोदो, मकै पिँध्ने र घाँस हाल्नेजस्ता काम सबैका घर–घरमा पालैपालो गरी सघाउँथ्यो ।
वीरे पानी लिएर आइसकेपछि लेख्न बसेको थियो । “आज त अलि थकाइ मार्नुहोस् न नानी,” धनेकी आमाले वीरेका अगाडि पानीको लोटा राख्दै भनी । खानेबेला भएको देखेर वीरेले कापी कलम एकातिर राख्यो र भन्यो, “खै आमा म थाकेको छुइन । कलम समात्नु भनेको घन र कोदाली समात्नुजस्तो गा¥हो छैन ।” यति भनेर वीरे हात धुन बाहिर गयो । उसको मुख बत्तीजस्तै उज्यालो थियो । वीरे, धने र उसको बाबु ढिँडो खान बसे । ढिँडोको थाल दिँदै धनेकी आमाले लोग्नेको मुख हेर्दै भनी, “बाबुलाई अलि थकाइ मार्न भन्नुस् न ।” “आमा मैले त्यसो थकाइ मार्नुपर्ने काम के गर्न सकेको छु र ? अझ हामीले त पार्टीले दिएको जिम्मा एक छेउ पनि पूरा गर्न सकेका छैनौँ । हामी जनताका सेवकहरू एकछिन पनि बिसाउन हुँदैन, आमा । तपाईँहरूको दुःख देख्दा हामीलाई खपिसक्नुभएको छैन,” वीरेले ढिँडो निल्दै भन्यो । धनेको बाबुले बोल्नै पाएन ।
चुक घोप्टिएजस्तै अँध्यारो थियो । पारि गाउँमा कुकुर भुकेको सुनिन्थ्यो । जुनकिरीहरू आँखा झिम्क्याउँदै बताससँग नाचिरहेका थिए । बतासको एक थप्पडले पिपलका पातहरूलाई सर्रर बजाइदियो । वीरे र धने एक हातमा लौरो र अर्को हातमा पुस्तक लिएर यसो एकछिन अडे, अगाडि पछाडि हेर्दै फेरि अँध्यारोलाई चिर्दै ओरालो लागे । एकछिनपछि वीरेले धिपिक्क आगो बलेको देख्यो । उसलाई थाहा थियो कि आगोको उज्यालो तिनीहरू पुग्ने गोठबाटै आइरहेको हो ।
गोठको अगाडि दुईजना मानिस उभिरहेका थिए । वीरे र धने होसियार भए । लौरोलाई बलियोसित समातेर अगाडि बढे । मानिसहरू आफैतिर आइरहेको देखेर गोठ अगाडिका गाउँलेहरू अगाडि सरेर तिनीहरूलाई नियालेर हेरे । चिन्न नसकेर एकले सोध्यो, “तपार्इँहरू को हुनुहुन्छ ?” “ए चिन्नुभएन ? म वीरे हुँ, नमस्कार साथी” –वीरेले हात मिलाउन दायाँ हात पसार्दै भन्यो । “अहो, कस्तो तेजिलो आँखा तपाईँको, यस्तो अँध्यारोमा हामीलाई कसरी चिन्नुभयो ?” –अर्कोले सोध्यो । “रात जतिसुकै विकट भए पनि मानिसले आफ्नो साथी चिनी हालिन्छ नि होइन ?,” हाँस्दै ठट्टाको भावमा वीरेले भन्यो । तर, त्यो ठट्टा थिएन बरु त्यो गम्भीर कुरो थियो । हो, जस्तोसुकै गा¥हो परिस्थितिमा पनि ढिलो या चाँडो जनताले आफ्ना शत्रु र मित्रलाई छुट्याउने छन् । वीरे, धने र दुईजना साथीहरू भित्र पसे । वीरेलाई देख्नासाथै आगोको चारैतिर किताब लिएर बसेका साथीहरू उठे । वीरेले सबैलाई नमस्कार गर्यो र अरूले पनि फर्काए । सबै आ–आफ्ना ठाउँमा बसे । सबै गम्भीर भए । दुईजना साथीहरू फेरि बाहिर निस्के । बाहिर चारैतिर आँखा दौडाए । बतास सिरसिर बहिरहेको थियो । कतैकतै कुकुरहरू भुकिरहेको सुनिन्थ्यो । तिनीहरू भित्र पस्दा बैठक सुरु भइसकेको थियो ।
“अब हामी निकै चङ्ख भएर हिँड्नुपर्छ र बैठक पनि छिट्टै सक्नुपर्छ । फटाहाहरूलाई पिटेदेखि यता उनीहरू एक भएका छन् र हाम्रो चियो चर्चा गर्न थालेका छन्,” वीरेले सबैका मुखमा हेर्दै भन्यो । आगो दनदन बलिरहेको थियो, त्यसको चारैतिर साथीहरू बसेका थिए । “हामीले हात उठाइसक्यौँ साथी, जोरी खोज्ने जतिका च्यापु फुकाली दिने त हो नि,” ठूलेले मुड्की कसेर बोल्यो । “त्यसै हो साथी, हामीले धनीको खोसेर गरिबलाई बाँड्नुपर्छ,” हर्के जोसिलो भयो । धने सुर्ती बेरिरहेको थियो, बेरिरहेको सुर्ती फ्याट्ट भुइँमा राख्यो र हात नचाउँदै भन्यो, “फटाहाहरू एक भए पनि उनीहरूले हाम्रो मुड्की खाएपछि डरले थरथर भएका छन् । हामी कस्सिनै पर्छ । हेर्नुस् न, उनीहरूले बा¥ह वर्षदेखि खाएको कोसेली र चोके हामीले फर्कायौँ । दुईजनाको खेत पनि फर्काइयो र उनीहरूलाई थलै पनि पा¥यौँ । अब साहुकार पल्टेकाहरूको सत्यानाश नपारी कहाँ हुन्छ ?”
“सबै धनीहरूको सत्यानाश पार्नुपर्छ हो । तर, यो सरकार धनीहरूको सरकार हो । त्यसैले, यो सरकारलाई नउल्टाएसम्म जालीफटाहाहरू कहाँ मासिन्छन् ! सरकारले नै धनीहरूबाट गरिबहरूलाई लुट्न दिइरहेको छ, गरिबविरोधी सरकारलाई उल्टाउन हामीले सबै गाउँमा सङ्गठन गर्नुपर्छ । गरिबको पल्टन बनाउनुपर्छ अनिमात्रै शोषकहरूको सरकारलाई चिहानमा गाडेर गरिब जनताको सरकार आउनेछ । नत्र, त यो सरकारले जनतालाई कुरामा मात्रै भुलाएर लुटिरहने छ । गरिबको सरकार आएपछि मात्रै गरिबहरूलाई सधैँ सुख हुन्छ,” वीरेले साहै नरम भएर रसिलो भाषामा बुझायो ।
आगोको उज्यालोमा सबैले ‘किसान पत्रिका’ पढ्न थाले, पढ्दा पढ्दै “अँ ऊँ” भन्दै टाउको हल्लाउँदै कुरा पनि गर्थे । पार्टीलाई चन्दा उठाएको अन्न सबै उनीहरूले एकै ठाउँमा जम्मा गर्ने निधो गरे । पार्टीको निम्ति कुखुरा पाल्ने पनि सल्लाह गरे । धनेले वीरेतिर हेर्यो र केही सोचेर भन्यो, “माथिल्लो गाउँमा तपाईँ जानुपर्यो, हामी पार्टीको निम्ति मकै छर्ने र खोरिया खन्छौँ ।”
“खोरिया खन्न हामीहरू जान्छौँ, यताका साथीहरूलाई पनि हामी बुझाउँछौँ । हामी सबै यता लेखपढ पनि गर्दै जान्छौँ, तपाईँलाई पार्टीले पेशेवर कार्यकर्ता तयार गर्ने निर्देशन दिएको छ । तपाईँले अब बढी काम गर्नुपर्दछ र गाउँका दाजुभाइहरूसँग कुरा गर्न पनि सजिलो हुन्छ ।” “त्यसो भए पार्टीले मलाई ठूलो काम जिम्मा दियो । म कहिले स्कूल, कलेज नदेख्या मानिसले त्यो काम पूरा गर्न सकिएला र !” –धनेले बडो आश्चर्य र लाज मानेको जस्तो भावले भन्यो । “गरिब जनताले संसारमा गर्न नसक्ने केही पनि छैन, खालि कोसिस गर्नुपर्छ । गरिब जनता वीर हुन्छन्, मर्न र मार्न डराउँदैनन् । पार्टी नै हाम्रो विश्वविद्यालय हो, पार्टीले हामीलाई अप्ठ्यारो र अज्ञानता हटाउन सघाउ दिन्छ,” वीरेले अधिकारपूर्ण स्वरमा भन्यो । सबै साथीहरू धनेको मुखतिर हेर्न थाले । धने मुसुक्क हाँस्यो । आगोमा कसैले दाउरा थप्छ र आगो अझ दन्कन्छ । त्यस थपेको उज्यालोमा वीरे र धनेको मुख सा¥है चम्किला देखिए ।
स्रोत : हरिबहादुर श्रेष्ठका कथाहरू
(२०५९ असार)