प्रिय साथी कृष्ण,
तिम्रो आषाढको पत्र पाएँ । मनको कुरो खुलस्त र निश्छलरूपले राखेकोमा धेरै धेरै धन्यवाद !
तिम्रो पत्र पढ्दै जाँदा देश अत्यन्त ठूलो अँध्यारो खाडलमा धकेलिँदै गएको र त्यस स्थितिबाट बचाउन सक्ने उपाय नै नभएको अड्कल काटेका रहेछौ । तिमीले त्यसमा आफ्नै व्यक्तिको, देश र नेपाली जनताकै सम्भावित दुर्दशा वा अझ भनूँ भने विध्वंश र अस्तित्वकै कुरा उठायौ । जीवन र जनताप्रति तिम्रो चासो उचित हो, तर म तिमीलाई सा¥है डरलाग्दा सपना देखिरहेको तथा कहिल्यै सपनाबाट नबिउँझने र बिहानको राम्रो उज्यालोको कल्पनासमेत गर्न छोडेको व्यक्तिसँग तुलना गर्दै छु ।
साथी, जीवन कहाँ त्यस्तो हो र ! रात जतिसुकै लामो र चिसो भए पनि बिहान हुन्छ र न्यानो घाम हिमाल, डाँडा, पाखा र घरमा झुल्किहाल्छ । हो, पत्रमा उल्लेख गरेजस्तै तिमीले एक सरकारी कर्मचारी भएर ३३ – ३४ वर्ष इमानदारीपूर्वक सेवा ग¥यौ, अवकास पनि पाउँदै छौ र महिनाको ५–६ हजार रूपैयाँले तिमीले गुजारा चलाउनुपर्नेछ । पत्रमा तिमीले आफूसँगै र आफू भन्दा पछि नोकरी गरेका तल्ला स्तरमा कति कर्मचारीहरूले छिटोछिटो पदोन्नति गरेको तथा विदेशीहरूसँग मिलेर वा विदेशीहरूलाई देशका गुप्त नक्साहरू र तथ्य तथ्याङ्क उपलब्ध गराई करोडपति भएका उदाहरणहरू दियौ । आफ्ना निर्देशक, सचिव र मन्त्रीहरूलाई भनसुन नगर्ने, चाप्लुसी र चुक्ली नगर्ने, चिप्लो नघस्ने, उपहारहरू नपठाउने वा चुनावमा लाखौँ–लाख रूपैयाँ, अनेक योजना वा ठेकेदारहरूसँग मिलेर नपठाउने इमानदार कर्मचारीहरू जहाँका तहीँ भएको तथा मन्त्रालय, विभाग, संस्थानहरू र जिल्ला तहका कार्यालयहरूमा समेत नातागोता, भाषा र जातको आधारमा पदोन्नति हुने स्थितिबाट तिमीले सा¥है खिन्नता व्यक्त ग¥यौ ।
कृष्ण, सबै काम–कुरा र बन्दोबस्त स्वाभाविक र नियमसम्मत भएको भए, सुधार र परिवर्तनको आवश्यकता पनि हुने थिएन, असन्तोष र विद्रोह पनि हुने थिएन । आज देशमा भइरहेको रगताम्य अराजकता र आतङ्कको कारण यस्तै यस्तै अनियमितता, स्वार्थ, शोषण, बेवास्ता, थिचोमिचो, पक्षपात र शक्तिको दुरूपयोगकै कारण हो भन्नेबारे दुईमत नहोला ।
पत्रमा तिमीले हरेक व्यक्ति जुनसुकै पद र जिम्मेवारीमा बसे पनि इमानदार रहने मेरो सल्लाहलाई मानेको तर त्यसले तुलनात्मकरूपले आफ्नो आर्थिक स्थिति माथि नउठेको विषय पनि उल्लेख ग¥यौ । २–४ हजार व्यक्तिगतरूपले चिनेका कर्मचारीहरूको सूचीमा तिमी पनि एक इमानदार कर्मचारीको रूपमा देख्न पाउँदा मलाई सा¥है गर्व छ । केही सरल कर्मचारी खालि हात–मुख जोड्न सरकारी नोकरीमा दाखिला हुन्छन्, तिनीहरू आफ्नो जहान–परिवारको हितबाहेक देश र जनताको व्यापक हित र अहितसँग केही मतलब राख्दैनन् । केही सरकारी कर्मचारी भएर इमानदारीपूर्वक देश र जनताको व्यापक हित हेर्ने वा सेवा गर्ने भावनाले नोकरीमा सामेल भएका हुन्छन् । केही व्यक्ति ‘सरकारको चोरी नखाए कसको चोरी खाने’ र ‘पदमा बसेर फाइदा उठाउन नपाउने भए सरकारको नोकरी किन गर्ने’ भन्ने भावना र उद्देश्य लिएर पनि नोकरीमा सामेल हुन्छन् । तिनीहरू पदको दुरूपयोग गरी भ्रष्टाचार, अनियमितता र गर्न नहुने सबै काम गरेर आफ्नो छोराछोरी, नातागोता वा सानो स्वार्थलाई प्राथमिकता दिन्छन् र पैसाकै निम्ति विदेशको पिछलग्गू बन्छन्, आफ्नो देशको मालिक आफ्नै जनता हो भन्ने भावनालाई बेवास्ता गरी विदेशको नोकर बन्छन् । देशको नागरिक र कर्मचारी भएर आफ्नै देश र जनताप्रति विश्वासघात गर्छन् ।
तर, कृष्ण त्यस्ता विश्वासघातीहरूले पैसा थुपारेकोमा वा ठूलठूला भवन बनाएको वा ऐस–आराम गरेको देख्दा तिमीलाई इष्र्या पनि लागेको होला वा तिमीलाई आफ्नो गरिबीको कारण हीनताबोधको अनुभव पनि भएको होला । सच्चाइ त्यसो होइन, तिमीमा ती विश्वासघातीहरूसँग इष्र्या होइन घृणा जाग्नु पर्दछ र आफ्नो गरिबीमा हीनताबोध होइन गर्व हुनुपर्दछ किनभने तिमी नोकरी अवधिभर इमानदार रह्यौ, एक असल नागरिक रह्यौ, अनियमितता, भ्रष्टाचार र पक्षपातजस्ता बैगुणहरूबाट तिमी टाढा रह्यौ तथा विश्वासघातीहरूभन्दा फरक परिचय दियौ ।
साथी, तिमी हामी एकदिन बूढाबूढी हुनेछौँ, त्यसबेला हाम्रा जीवनका अनेक घटनाहरू बारम्बार सम्झनेछौँ, उमेरले हामीलाई राम्रो र नराम्रो विषयका सूक्ष्मभन्दा सूक्ष्म जानकारीहरूसमेत दिनेछ । तिमी एक्लै बस्दा आफूले गरेका देशभक्तिपूर्ण राम्रा कामहरू र योगदानहरू सम्झँदा तिमीलाई आत्मसन्तोष र आनन्द लाग्नेछ । कहिलेकाहीँ जानेर वा नजानेर गरेका केही नराम्रा घटनाहरूको स्मरणले पश्चाताप पनि गराउनेछ । तर, तिमीले जीवनभर जानेरै देश र जनताको हितमा एक कर्मचारी भएर सेवा वा सङ्घर्ष गरेको हुँदा तिमी सदा गौरव, सन्तोष र आनन्दपूर्वक बाँकी जीवन जिउनेछौ । तिम्रा छोराछोरीहरू र नातागोता सबैले तिमीबाट इमानदार हुने प्रेरणा लिनेछन् र तिमी समाजकै निम्ति एक उदाहरण हुनेछौ ।
यसको ठीक उल्टो देश र जनतालाई धोखा दिने, विदेशी र भ्रष्टाचारीसँग साठगाँठ गरी करोडपति र अरबपति बन्ने कर्मचारीहरू आफ्नो अवकाशपछि, शारीरिकरूपले अशक्त भइसकेपछि आफ्ना सबै अनियमितता, काला–कर्तुत र विश्वासघातहरू सम्झनेछन्, सपनामा पनि बरोबर झस्कने छन्, आफ्ना अपराधहरूको कारण तिनीहरू सुत्न सक्नेछैनन्, रक्सी र अन्य अमल पदार्थ खाएरमात्रै सुत्न सक्नेछन् । चिनेजानेका सबै माथिल्ला वा तल्ला कर्मचारीहरूले अगाडि ‘नमस्ते’ गरे पनि पछाडि ‘यो ठूलो भ्रष्टाचारी थियो, अनियमित काम गथ्र्यो, देशको गुप्त कुरा विदेशलाई दिएर देशमाथि नै विश्वासघात गर्ने देशद्रोही हो’ भन्नेछन् । कसैले ‘यो विश्वासघातीको तीन पुस्ता नर्क जानेछ, यो ठूलो भवन एक दिन ढल्ने छ र यो बूढो यसैमा पुरिनेछ’ भनी सराप्ने छन्, कसैले त्यसलाई ‘जिउँदो लाश’ भन्नेछन् ।
कृष्ण, के तिमीलाई थाहा छ, त्यस्ता देशद्रोहीहरूका छोराछोरीहरू पनि या त त्यस्तै भ्रष्ट भई नरकको जीवन बिताउने छन् वा सङ्गत र पढाइले राम्रो भएपछि आफ्ना आमाबाबुका काला कर्तुतहरू थाहा पाएर बूढालाई एक्लै छोडेर जानेछन् । त्यसका खराब छोराछोरीहरू कतिले आत्महत्या गर्नेछन्, कोही त्यस्तै नराम्रा अपराधहरूमा फोहरको कीराजस्तै घृणित जीवन बिताउने छन् र विदेश गएपछि फर्कने नाम लिनेछैनन् । मर्ने बेलामा ती विश्वासघातीहरू पश्चाताप, अपराधबोध र धुनै नसक्ने पापको टीको लगाएर कीरा–फट्याङ्ग्रासरह गौरवहीन भई मर्छन् ।
तिमीले प्रश्न गर्नेछौ, “पाप गरेर पनि आर्थिकरूपले सम्पन्न भइसकेका व्यक्तिहरू मनमा जस्तोसुकै भावना राखे पनि बाहिर त मुख खोल्दैनन् नि ।” यो कुरा पनि साँचो होइन । एउटा सत्य घटना बताउँछु, तर नाउँ भने शिष्टताको कारण उल्लेख गर्दिनँ । हाम्रो देशको केही दैनिक उपभोग्य सामानको भाउलाई तलमाथि गर्नु उसको हातमा छ, धनको हिसाबले ऊ देशको एकजना अरबपति वा खरबपति होला । राति रक्सीको मातमा आफ्ना साथीहरूको माझ बर्बराउँछ, “हामी करोडपति र अर्बपति भएर के गर्ने ? हामीलाई जनताले शोषक भनेर घृणा गर्छन्, विदेशी दलाल भनेर शत्रु सम्झन्छन् । हामीले धेरै कारखाना खोलेका छौँ । धेरैलाई काम–माम दिएका छौँ, सरकारलाई वर्षमा लाखौँ–लाख कर तिछौँ, सत्तामा आउने पार्टीहरूलाई चुनावमा आवश्यक चन्दा दिन्छौँ, नेता र मन्त्रीहरूलाई घरमा बोलाएर भोज खुवाउँछौँ र अनेक धार्मिक संस्था, मठ–मन्दिर र पूजा–पाठमा मनग्य चन्दा दिन्छौँ, कत्ति शैक्षिक र सामाजिक संस्थामा हामी आजीवन सदस्य छौँ, कति पत्रपत्रिका वा पत्रकारहरूलाई नियमित चन्दा दिन्छौँ, तर एक–दुईजना बाहेक ९९ प्रतिशत जनताले हामीलाई अछुतसरह व्यवहार गर्छन्, हाम्रो सम्पत्ति भएर के गर्ने ? हामीलाई त कुन दिन कालोमोसो दलेर जुत्ताको माला लगाएर घुमाउने हुन् …… आदि आदि ।”
साथी कृष्ण, तिमीले आफ्नो पत्रमा केही डरलाग्दा प्रसङ्ग पनि उठायौ, जसको मैले प्रतिवाद गर्नैपर्छ विश्व बैङ्क (WB), अन्तर्राष्ट्रिय मुद्रा (IMF), विश्व व्यापार सङ्गठन (WTO), बहुराष्ट्रिय कम्पनीहरू, संरा अमेरिका, नाटो (NATO) आदिको बढ्दै गएको प्रभावले नेपाल जस्ता स–साना र विकासशील देशहरूको कुनै भविष्य नभएको टुङ्गोमा तिमी पुग्यौ ।
यो असाध्यै निराशावादी र कर्मचारी भावनाबाट पीडित मानसिकताको अभिव्यक्तिको रूपमा मैले लिएँ । हो, तिमीले भनेजस्तै संरा अमेरिकाले नाटोका देशहरूलाई मिलाएर एक तटस्थ देश युगोस्लाभियामाथि हमला ग¥यो, आफ्नो इसारामा चल्ने सरकार स्थापना गर्यो, त्यहाँका राष्ट्रपति मिलोसेबिचलाई बल प्रयोग वा अपहरण गरी संरा अमेरिकाको इच्छाअनुसार चल्ने तथाकथित ‘अन्तर्राष्ट्रिय अदालत’ हेगमा बन्दी बनायो, भूतपूर्व सोभियत गणराज्यहरू कब्जा गर्न र ती देशहरूका खनिज धनमाथि हैकम चलाउन, रुस र चीनमा समेत राजनैतिक दबाब दिन, दक्षिण एशिया एवं मध्यपूर्वका अरब देशहरूमाथि प्रभुत्व कायम गर्न संसारको सबभन्दा गरिब देशमध्ये एक अफगानिस्तानमाथि हमला ग¥यो र आफ्नो कठपुतली सरकार कायम गर्यो । साथै संसारलाई जनताको इच्छाअनुसार सरकार बनाउन दिन प्रजातन्त्रको वकालत गर्नेमा संरा अमेरिकाको बुश प्रशासन आफैले इराकी सरकार र प्यालेस्टाइनी जनताको नेतृत्व फेर्ने हाकाहाकी घोषणा ग¥यो ।
संरा अमेरिकी साम्राज्यवादका यी सबै प्रजातन्त्र र मानव अधिकारविरोधी गतिविधि हुँदाहुँदै पनि प्यालेस्टाइन र अन्य विषयहरूमा संरा अमेरिकाको प्रशासनसँग बेलायतबाहेक सबै नाटो देशहरूले फरक मत जाहेर गरे, संरा अमेरिकाको कति हैकमवादी नीतिको चीन, रुस, भारत, मलेसिया, एसिया, अफ्रिका र लाटिन अमेरिकाका धेरै देशहरूले पनि विरोध गरेका छन् । त्यतिमात्रै होइन प्रजग कोरिया र क्युवाजस्ता समाजवादी देशहरूले हाकाहाकी अमेरिकी साम्राज्यवादको थिचोमिचोको विरोधमा सङ्घर्ष गर्ने हाँक दिएका छन् । यी सबै कुराले विश्व सदा एक ध्रुवीय हुनेछैन र संरा अमेरिकाको एकाधिकारको विरोधमा चीन, युरोपेली सङ्घ आफै र अन्य तेस्रो विश्वका देशहरू उभिने निश्चय छ । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व व्यापार सङ्गठनको आर्थिक थिचोमिचो वा नयाँ उपनिवेशवादको कारण पनि हाम्रो देशको सार्वभौमिकता र स्वतन्त्रता नै समाप्त हुने भयो भन्ने पिर लिनुपर्ने दरकार छैन । युरोपेली देशका जनतामात्रै होइनन् अमेरिका, अफ्रिका, एसिया र ओसेनियाका देशका जनताले समेत तिनीहरूको विरोधमा सङ्घर्ष गर्दै छन् ।
तिमीले उठाएको एउटा गम्भीर विषय हो– सन् २०२५ सम्ममा भारतको जनसङ्ख्या झन्डै दुई अरब पुग्नेछ, त्यसबेला भारतको खाद्यान्नको आवश्यकता दोब्बर पुग्नेछ, त्यसको निम्ति उसलाई पानीको अत्यन्त ठूलो खाँचो हुनेछ । यसकारण, सन् २०१२ सम्ममा नेपालमा राजनैतिक सङ्कट ल्याएर वा अनेक सन्धि–सम्झौतामार्फत नेपालका सबै नदीनालाहरू भारतले घुमाइफिराइ आफ्नो नियन्त्रणमा लिनेछ । त्यस्तै निजीकरणको नाममा नेपालका सबै सार्वजनिक र निजी ठूलठूला उद्योगधन्दाहरू, अनि नेपालको वायुसेवा र पर्यटन उद्योगसमेत भारतीय एकाधिकार पुँजीले हात पार्ने छ । त्यसबेला नेपालको स्वतन्त्रता र सार्वभौमिकता कायम रहेको बताए पनि सिक्किम र भुटानको स्थितिमा देश पुगे पनि यो विषय सुखद हुनेछैन ।
हो, त्यो निश्चित पनि सुखद विषय हुनेछैन, कुरो ठिक्कै उठायौ । पहिले वर्षौंसम्म तोप, बन्दुक, बम र आक्रमणका ठूलठूला लडाइँले जित्न नसकिने युद्ध ‘प्रजातान्त्रिक आन्दोलन’ नामक कूटनीतिले सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूलाई विखण्डन र धुजाधुजा पारेजस्तै पञ्चायतको ३० वर्षले भन्दा प्रजातन्त्र पुनःस्थापनाको उदारीकरण र १२ वर्षभित्रको निजीकरणको नाममा मुख्य मुख्य सबैजसो उद्योगधन्दा ध्वस्तै पा¥यो, हिजो कोसी र गण्डकीको सम्झौतामा ठगिएको कुरा गरिन्थ्यो भने आज टनकपुर, महाकाली सन्धि, लक्ष्मणपुर बाँध, रसियावाल खुर्दलोटन बाँध, बाग्मती र बक्राहामा समेत थिचोमिचोको सामना गर्दै छौँ र एक दिन ती सबै नदीनाला नेपालको हातबाट गुम्नेछ र लुफ्थान्सा र थाई हवाई सेवा आउन छोडेको हुँदा नेपालको वायुसेवा नै निजीकरणको नाममा भारतीय एकाधिकार पुँजीको हातमा पर्नेछ, अनि ठूलठूला पाँचतारे होटलहरूमा भारतीय पुँजी लगानी हुनेछ र नेपालको अर्थतन्त्र भनेको बाँकी रहनेछैन भन्ने पिरमा तिमी छौ ।
तिम्रो यो चिन्ता आधारहीन छैन । तर, यो त सिक्काको एक पाटोमात्रै हो अर्थात् समस्याको एकापट्टिको तस्बिरमात्रै हो । यही १०–१२ वर्षभित्र नेपालको उत्तरको छिमेकी मित्रराष्ट्र चीनको तिब्बतमा रेल आइपुग्ने छ, नेपालसँग जोडिएका सबै नाका नाकासम्म सडकहरू पुग्नेछन्, हुम्ला, मुगु, बाजुरा, कालीकोट, जुम्ला, डोल्पा, मुस्ताङ, मनाङजस्ता दुर्गम जिल्लाहरूमा सडक जोडिने छन् वा कतै रज्जुमार्गले सम्पर्क जोड्नेछ, गोर्खा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङजस्ता कति मोटर नचल्ने गाउँ र जिल्लामा पनि यातायात र सञ्चार पुग्नेछन् ।
उत्तरी भेगमा मोटर चल्नु भनेको त्यस क्षेत्रको द्रुतत्तर विकास हुनु हो र तिमीलाई थाहा छ उत्तरी भेगमा सुविधाहरू नभएको हुँदा हरेक दशकमा एक डेढ प्रतिशतले त्यहाँको जनसङ्ख्या घट्दै छ वा दक्षिणतिर बसाइँ सर्दै छ, उत्तरी क्षेत्र निर्जन हुँदै छ । तर, तिब्बतको विकासको प्रभावले दक्षिणतिर बसाइँ सरेको हाम्रो जनसङ्ख्या फेरि माथि नै जान सुरु गर्नेछ । आज काठमाडौँ र तराईमा समेत भारतको भन्दा सा¥है सस्तोमा चिनियाँ मालसामान बेचिँदै छ भने उत्तरका जिल्लाहरूमा बाटो खुल्दा ती ठाउँका उपभोक्ताहरूले पनि सा¥है सस्तो मालसामान उपभोग गर्न पाउनेछन् । दक्षिणको आवतजावत र व्यापारको दृश्य उत्तरमा देखिनेछ ।
साथी कृष्ण, सरकारी नोकरीको बेला सरकार र माथिल्ला कर्मचारीहरूको दुव्र्यवहारले तिमीमाथि एक प्रकारको नकारात्मक दृष्टिकोणको विकास भएको मलाई तिम्रो पत्रबाटै अनुभव भयो । हो, साधारण जनता र राजनैतिक कार्यकर्ताहरूलाई माथिल्ला केही व्यक्तिहरूको स्वार्थको कारण भएको प्रशासनिक दुव्र्यवहार र पक्षपातले ‘माओवादी’ लाई अराजकतावादी बनायो भने कत्ति मर्यादाभित्र बस्ने कर्मचारीहरूलाई सरकार, ऐन–कानुन र व्यवस्थाप्रति नै अनास्था र निराशा जगाउँथ्यो, तिमी पनि त्यसैको शिकार भयौ । तर, मैले अघि नै भनेँ, त्यो त खालि तस्बिरको एउटा पाटो हो । फोहर नभई सफाइको कुरा आउँदैन, शोषण नभई शोषणरहित समाजको कल्पना हुँदैन तथा अन्याय–अत्याचार नभई विद्रोह र क्रान्तिको कुरा उठ्ने गर्दैन । जे होस्, संसार प्रगति उन्मुख छ, मानव सभ्यता अनेक दोष र गल्तीबाटै नागबेली बाटो लिँदै परिमार्जित हुँदै एक परिष्कृत मानव समाजमा पदार्पण गर्दै छ । वर्तमान मानव समाज अन्ततः साम्यवादी समाजमै सङ्क्रमण हुनेछ चाहे त्यसको नाम जेसुकै देऔँ । तर, साँचो कुरा के हो भने त्यस्तो समाज एकैदिनमा बन्ने छैन, त्यसको निम्ति ‘एक ऐतिहासिक युग’ लाग्नेछ । किनभने, संसारका महादेशहरू र विभिन्न देशहरूका विकासका चरणहरू असमान छन् । समाजको त्यो अवस्था विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको कारण वा नयाँ नयाँ आविष्कारहरूको कारण ढिलो अथवा चाँडो हुनेछ । किनभने, बिजुलीको आविष्कारले कठिन कामहरूलाई जसरी सजिलो पायो र उत्पादन कार्य अकल्पनीय ढङ्गले बढ्यो, त्यस्तै कम्प्युटरको विकासले वा विज्ञान र प्रविधिको नयाँ नयाँ उपलब्धिहरूले चिताउँदै नचिताएका परिणामहरू देखा पर्दैछन् ।
एकछिन तिम्रै नकारात्मक सोच र निराशावादी आँखाले २०–२५ वर्षपछिको देशलाई हेरौँ, देशको उत्तरी भाग भारतीय सेनाको तालिम केन्द्र बन्ने छ, भारतीय पुँजीपति वर्गको मनोरञ्जन स्थल र शिकार खेल्ने ठाउँ हुनेछ, नेपाल भारतकै एक नयाँ उपनिवेश बन्नेछ, नेपालीहरू भारतीय एकाधिकार पुँजीकै दरवान, कुल्ली, पिउन बन्नेछन् र नेपालका राष्ट्रिय पुँजीपतिहरू भारतीय पुँजीपतिहरूको दयामायामा बाँच्ने र स–साना खुद्रा हिस्सेदारहरू हुनेछन् । ‘राष्ट्रिय’ राजनैतिक पार्टीहरूकै कारण नेपाल र नेपालीको अस्तित्व आर्यघाटमा सुताएको बिरामीको धुकधुकी जस्तोमात्रै हुँदै छ ।
साथी कृष्ण, तिम्रो यो अत्यन्त निराशावादी दृष्टिकोणसँग म पूर्णरूपले असहमत छु । तर, महाकाली सन्धि, भृकुटी कागज कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना वा अन्य सार्वजनिक उद्योगहरू निजीकरणको नाममा विदेशलाई सुम्पेको, लाउडा र चेज एयर काण्डमा राष्ट्रिय पार्टीहरूका नेताहरूको संलग्नता, जलविद्युत्को सबभन्दा राम्रो सम्भावना भएको हाम्रो देशमा प्रतियुनिट ७ रूपैयाँ, चीनमा एक रूपैयाँ, श्रीलङ्कामा ३ रूपैयाँ, बङ्गलादेशमा ४ रूपैयाँ र भुटानमा ५० पैसा प्रतियुनिटको स्थिति ल्याउनमा ‘राष्ट्रिय’ पार्टीहरू नै जिम्मेवार देखिएका छन् । यसकारण, ती ‘राष्ट्रिय’ पार्टीहरू र त्यसका नेताहरू आज जनताको आँखामा नैतिकताको कठघरामा उभिएका छन् । त्यतिमात्रै होइन, एकआपसमा देशको दुर्गतिको कारणबारे आरोप–प्रत्यारोप पनि भइरहेका छन् । ती सबै आफ्नै ठाउँमा छन् । तिमीले २५ वर्षपछिको नेपाललाई कालो छायाले ढाकेको देख्यौ, मैले भने ५० वर्षपछिको नेपाललाई सा¥है उज्यालो देखेको छु । तिमीले प्रस्तुत गरेका हरेक तथ्य–तथ्याङ्कलाई म सरकारी तथ्य–तथ्याङ्ककै आधारमा देशको उज्ज्वल भविष्य देख्छु ।
२००७ सालमा नेपालमा ५० जना डाक्टरहरू थिए भने आज नेपालमा २६०० डाक्टरहरू छन् । यसको अर्थ हो– झन्डै ९००० जनतामा एक डाक्टर उपलब्ध छ २००७ सालतिर १ लाख ७० हजार जनतामा एक डाक्टर थियो ।
आज नेपालमा ८/९ वटा मेडिकल कलेजहरू छन् र सालाखाला ती कलेजहरूले वर्षमा ४०० भन्दा बढी नेपाली डाक्टरहरू सेवामा पठाउने छन् र विदेशबाट अध्ययन गरी फर्केका ५०/६० जना डाक्टरहरू हामीसँग हुनेछन् । मेडिकल कलेजहरू पनि बढ्ने छन् । त्यसबेला नेपालको जनसङ्ख्या ४ करोड नाघे पनि हामीसँग प्रतिहजार जनसङ्ख्यालाई एक डाक्टरको सेवा उपलब्ध हुनेछ । यो त स्वाभाविक वृद्धिमात्रै हो । समयको गतिले हामीलाई प्रतिहजार होइन प्रति ५,०० जनसङ्ख्यामा एकजना डाक्टर उपलब्ध हुनेछ ।
५० वर्षअगाडि नेपालमा ५/७ वटामात्रै अस्पतालहरू थिए भने अहिले हामीसँग साना–ठूला १२० अस्पतालहरू छन्, ५,००० बिरामीका शय्याहरू छन् । यसमा पनि द्रुतत्तर प्रगति हुने कुरामा शङ्का छैन ।
डाक्टरहरू र अस्पतालको सङ्ख्यामा हुने वृद्धि तथा स्वास्थ्य चेतनालाई ध्यान दिई आजका कत्ति स्वास्थ्य केन्द्रहरू अस्पतालमा उन्नति हुनेछन् र हरेक अञ्चलमा एउटा एउटा अत्याधुनिक स्तरीय अस्पतालहरू भइसक्ने छन् त्यसबेला सबै रोगीहरू काठमाडौँ वा भारतका अस्पतालहरूमा धाउने छैनन् ।
तिब्बतबाट उत्तरका जिल्लाहरूमा सडक र आवतजावत भइसक्ने हुँदा आजका उत्तरका सदरमुकामहरूमात्रै होइनन्, अन्य गाउँबस्तीहरूसमेत सहर–बजारको रूपमा विकास हुनेछन् हुम्ला, मुगु, डोल्पा, कालीकोट, जुम्लाजस्ता हेलिकप्टर र हवाईजहाजबाट खाद्यान्न पु¥याउनु पर्ने दुर्गम जिल्ला र गाउँ–ठाउँमा कृषि महाविद्यालय र फलफुल एवं पशुपालनका अनुसन्धान संस्थाहरूको स्थापना हुनेछ र ती जिल्लाहरू आत्मनिर्भर भइसक्नेछन् । जुम्लाका जस्ता व्यावसायिक स्कूलहरू जिल्ला–जिल्लामा स्थापित भइसक्नेछन् । त्यसमध्ये कत्ति महाविद्यालय र पश्चिमाञ्चल विश्वविद्यालयको रूपमा विकास भइसक्नेछन् ।
सडक निर्माणले बाढी–पहिरोको सम्भावना भएको हुँदा मोटर बाटोको सट्टा रज्जुमार्गले जिल्ला र गाउँहरू जोडिने छन्, गाउँगाउँका स–साना खोल्सा र एक घट्टको पानी ढलले पनि स्थानीय विद्युत् उत्पादनमा योगदान पु¥याएको देख्नेछौँ ।
तिमीले भनौला, हाम्रो जनसङ्ख्या ५३ प्रतिशतमात्रै साक्षर छन्, ५० वर्षमा के पो प्रगति गर्न सकिएला ? तर, ५० वर्षअगाडि अर्थात् २००७ सालमा २/४ प्रतिशतमात्रै साक्षर थिए, झन्डै ३०० जनामात्रै स्नातक र ४–५ जना मात्रै इन्जिनियर थिए । आज ५० वर्षपछि हामीसँगै झन्डै ३,००० इन्जिनियरहरू छन्, १९–२० वटा सरकारी र निजी इन्जिनियरिङ्ग कलेजहरू छन्, ५ वटा विश्वविद्यालयहरू पनि छन् र ५३ प्रतिशत जनता साक्षर भइसकेका छन् ।
५० वर्षअगाडि हामीसँग जम्मा ३७६ किलोमिटर बाटो थियो, जनकपुर, जयनगर तथा रक्सौल–अमलेखगञ्जको गरी २ वटा रेल्वे तथा भैंसेलोटन–टेकुको एउटा रोपवे थियो । आज हामीकहाँ ७,००० किलोमिटरभन्दा बढी लामो सडक बनिसकेको छ । त्यसमध्ये ४१ प्रतिशत कालोपत्र भइसकेको छ । त्यस हिसाबले सालाखाला वर्षको नेपालले १४० किलोमिटर सडक निर्माण गर्यो । वास्तवमा यो ढिलो प्रगति हो । तर, यही चाललाई नै हामीले हाम्रो प्रगतिको मापदण्ड बनायौँ भने ५० वर्षपछि अर्को ७,००० किलोमिटर लामो सडक बन्ने छ । त्यसबेला आज सडक नपुगेका अनेक गाउँ, जिल्ला वा सदरमुकाममा सडक वा रज्जुमार्ग पुगिसकेको हुनेछ ।
विक्रम संवत् २१०९ पछि अर्थात् सन् २०५२ सम्ममा नेपालको नक्सा धेरै फेरिसक्नेछ । हवाईजहाजबाट बलौटे र खैरो देखिने नेपालको दक्षिणी नदीनालाको बगरको भाग पूरै हरियो हुनेछ, उत्तरका हाम्रा जिल्लाहरूमा रज्जुमार्ग र बिजुलीका तारहरूले मानव जीवनको सङ्केत दिनेछन् र हिमाली क्षेत्र पर्यटकहरूको गन्तव्य स्थलहरू बन्नेछन् ।
त्यसबेला चिनियाँ पर्यटकहरूबाहेक वर्षको १५ लाखभन्दा बढी पर्यटकहरू नेपालको भ्रमणमा आउनेछन् ।
उत्तरी क्षेत्र जडीबुटी, फलफुल, माछा र पशुधनको प्रशोधन र उत्पादनको महत्वपूर्ण केन्द्र बन्ने छ, त्यसैअनुसार प्रयोगशाला, उद्योग र व्यापारको पनि क्षेत्र बन्ने छ ।
नेपाली जनतामा देशको स्वतन्त्रता र सार्वभौमिकताको चेतना जागृत भइसकेको तथा आलोचनात्मक दृष्टिकोणको समेत विकास भइसकेको हुनाले तथा उत्तरमा चीनको उपस्थितिले नेपालको उत्तरी भाग भारतको सैन्य तालिम केन्द्र हुने कुरा असम्भव हो । अत्याधुनिक हातहतियारको निर्माणले समेत त्यस स्थितिको सम्भावना अहिले छैन ।
लुम्बिनी र जनकपुरजस्ता हाम्रा तीर्थस्थलहरू त धार्मिक र सांस्कृतिक पर्यटनको गन्तव्य क्षेत्रहरू बन्नेछन् । यी क्षेत्रहरूमा पुरातत्व, भाषा र संस्कृति तथा पर्यटनसम्बन्धी अध्ययन केन्द्रहरू बन्नेछन् । जिल्ला–जिल्लामा कृषि विद्यालय र महाविद्यालयहरूको विकास हुनेछन् तराई क्षेत्रहरूमा आजको पूर्व–पश्चिम राजमार्गजस्तै ट्रलीबस र विद्युत्ले चल्ने रेलहरू चल्नेछन् ।
कृष्ण, तिमीले पुनः थप प्रश्न उठाउनेछौ– नेपालको कला–संस्कृति, भाषा र साहित्य विदेशी सांस्कृतिक आक्रमणको अगाडि टिक्ने छैनन् वा बिटुलिने छन् । तर, व्यवहारले हामीलाई भिन्नै परिणाम देखाएको छ । बेलायतको ४०० वर्षको पुँजीवादको विकासले र संसारमाथि राजनैतिक र आर्थिकरूपले विजय प्राप्त गर्ने बेलायतले त्यही देशका विभिन्न क्षेत्रका भाषा र संस्कृतिलाई मेटाउन सकेन, सोभियत सङ्घ र पूर्वी युरापेली समाजवादी व्यवस्थाको ५०÷६० वर्षको शासन कालमा त्यहाँका जनताका विविध भाषा र संस्कृति कायमै रह्यो भने केही हजार जनसङ्ख्या भएको जिप्सीजस्ता घुमन्ते जाति पनि सक्रिय छन् । एक–डेढ सय वर्षको साम्राज्यवादी आक्रमण र उपनिवेशवादी व्यवस्थाले पनि चीन, भारत, कोरिया, भियतनाम, लावस, कम्बोडिया, बर्मा, श्रीलङ्का आदि देशको भाषा, साहित्य र संस्कृतिलाई मेटाउन सकेन भने नेपालका भाषाहरू, साहित्य र संस्कृतिलाई विदेशी सांस्कृतिक आक्रमणले पराजित गर्नसक्नेछैन र बिटुल्याउन सक्नेछैन । बरु, हाम्रो भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवद्र्धनमा नयाँ नयाँ विज्ञान र प्रविधि उपयोग गरिनेछ ।
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भए पनि, चीन, भारत वा अन्य तेस्रो मुलुकका ठूलठूला देशहरू पनि त्यसमा सदस्य भइसक्ने र हुँदै जानाले त्यसका नियमहरूमा पनि परिमार्जन आउनेछ र कुनै एक देशको आर्थिक र व्यापारिक थिचोमिचोको सम्भावना पनि कम हुँदै जानेछ । साथै नेपालले आफ्नो हावापानीअनुसारको जैविक र कृषि उत्पादनमा जोड दिनेछ तथा चीन र भारतजस्ता विशाल छिमेकीहरूसँग नभएका हलुका वस्तुहरूको उत्पादनमा विशेषता हासिल गर्नेछ ।
फेरि तिमीले प्रश्न गर्नेछौ– वर्तमान सङ्कटकाल र गृहयुद्धले देश ध्वस्त हुनेछ, एड्स, हेपाटाइटिस, मेनेन्जाइटिसजस्ता रोगव्याधिहरूले वर्षको लाखौँ जनता मृत्युको मुखमा पर्नेछन् । साथी, यसबारे पनि हामीले बढी चिन्ता लिएर हात खुट्टा छोड्नुपर्ने स्थिति आउँदैन । बढ्दै जाने स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अनुसन्धान र सफलताको वृद्धि तथा उपचार विज्ञानको नयाँ नयाँ उपलब्धिहरूले आज देखा नपरेका रोगहरूको विरोधमा समेत लड्ने क्षमता हाम्रो देशले बढाइसक्नेछ । यसको एक उदाहरण क्षेत्रफल र जनसङ्ख्या नेपालभन्दा सानो देश क्युवा हो । क्युवामा आज प्रति १६७ जनसङ्ख्यालाई एकजना चिकित्सक उपलब्ध छ र विकसित देशहरूको दाँजोमा चिकित्सा सेवा उपलब्ध गराएको छ । वर्तमान ‘माओवादी’ अराजकतावादी गतिविधिको कारण एकातिर सरकार र प्रशासन, अनि जिल्ला र गाउँका जालीफटाहा र शोषकहरूका स–साना स्वार्थलाई हेरेर सीधा–सादा जनतालाई थिचोमिचो गरी सीमा नाघ्दा हुने दुष्परिणामबाट सचेत भइसक्नेछ, सरकारको विकास रकम लक्षित क्षेत्र र समूहमा पु¥याउने कार्यमा गम्भीर हुनेछ, जनता र राजनैतिक पार्टी, नेता र कार्यकर्ताहरूलाई अझ बढी संवेदनशील र सिद्धान्तनिष्ठ बनाउनेछ । साथसाथै देशको प्रहरी, सेना, प्रशासन र अन्य सुरक्षा निकायहरू पनि फूर्तिला र यथार्थवादी बनिसक्नेछ ।
देशको जनसङ्ख्याको अत्यन्त ठूलो भाग अर्थात् २५/३० लाख काठमाडौँ उपत्यकामा केन्द्रित भई वातावरण प्रदूषित हुने जुन सम्भावना तिमीले पत्रमा देखायौ त्यो पनि छलफलको विषय हो । निराशै हुनुपर्ने वा परिस्थितिको अगाडि आत्मसमर्पण गरिहाल्नुपर्ने स्थिति भने अवश्य होइन ।
अञ्चल र जिल्लाहरूको सन्तुलित विकासको नीतिको २–४ वर्षभित्रै काठमाडौँतिर ओइरिने प्रवृत्ति स्वतः निस्तेज हुनेछ । काठमाडौँ उपत्यकामा केन्द्रित उद्योगधन्दालाई व्यवस्थितरूपले विभिन्न जिल्ला र अञ्चलमा विकेन्द्रित गर्दा कामको निम्ति विभिन्न जिल्लाबाट ओइरिने जनता देखापर्ने छैनन्, स्वास्थ्य सेवा, उच्च शिक्षाको सहुलियत र अन्य क्षेत्रका सुविधाहरू तथा विकास बजेटको २०–३० प्रतिशत गर्दै क्रमशः ५० प्रतिशत स्थानीय निकायलाई जिम्मा दिँदै जाँदा आजको समस्या भोलि देख्नुपर्ने छैन । जिल्लाले नै डाक्टर, इन्जिनियर, शिक्षक वा अन्य आवश्यक श्रमशक्तिको निम्ति छात्रवृत्ति प्रदान गर्दा जिल्लाका अस्पताल, स्कूल र कार्यालयहरूमा डाक्टर, शिक्षक वा प्राविधिक व्यक्तिहरू खाली हुने छैनन् ।
तिमी फेरि अर्को अड्को तेस्र्याउने छौ– हाम्रो देशको ६० प्रतिशत जनता गरिबीको रेखामुनि छन्, मानव विकास प्रतिवेदन – २००२ अनुसार नै भोकबाट संसारका सबै जनतालाई आजकै गतिमा मुक्त गर्ने हो भने १५० वर्ष लाग्नेछ । यसकारण, सबै नेपाली जनतालाई भोकबाट मुक्त गर्न नेपालकै प्रयासले डेढ सय वर्ष लाग्नेछ ।
साथी कृष्ण, तिम्रो त्यो अनुमान पनि गलत हो । यो प्रश्न देशको राजनैतिक व्यवस्थासँग सम्बन्धित छ । ४०/५० वर्षदेखि नाकाबन्दीमा परेका क्युवा र प्रजग कोरिया ४५/५० वर्षभित्र भोकबाट सबैलाई मुक्त पार्न सफल भए । ५० वर्षभित्र ठूलठूलो प्रगति हुनसक्छ भन्ने कुरा क्षेत्रफल र जनसङ्ख्यामा नेपालभन्दा सानो देश प्रजग कोरिया र क्युवाको उदाहरण हामीसँग छ । कोरिया मुक्त हुँदा सीसाकलमको एउटा कारखाना पनि थिएन र पहिलो विश्वविद्यालय स्थापना गर्दा तीन जना प्राध्यापकहरूमात्र थिए । क्युवाको क्रान्तिपछि संरा अमेरिकाले सबैजसो डाक्टरहरू र विशेषज्ञहरू अमेरिका भगाएका थिए । तर, ती दुवै देशले आफ्नै देशका जनताको खुट्टामा उभिएर प्रगति गरे । नेपाल, प्रजग कोरिया र क्युवाको तुलना गरेमा हामीमा समयमै ती दुवै मित्रराष्ट्रहरूले भन्दा छिट्टै प्रगति गर्ने आँट आउनेछ ।
नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर छ र प्रजग कोरियाको १ लाख २२ हजार ७६२ वर्ग किमि छ भने क्युवाको १ लाख १० हजार ९ सय २२ वर्ग किमि छ । त्यस्तै नेपालको जनसङ्ख्या २ करोड ३१ लाख छ, प्रजग कोरियाको २ करोड छ भने क्युवाको १ करोड १० लाख छ । नेपालमा अहिले २६०० डाक्टर छन् । प्रजग कोरियामा २०, ००० अर्थात् १०० जनामा एकजना डाक्टर छन् र क्युवामा ५४ हजार डाक्टर सेवारत छन् । नेपालमा इन्जिनियर ३००० छन् । प्रजग कोरियामा २० लाख र क्युवामा १० लाख स्नातक र प्राविधिक छन् । नेपालमा बाल मृत्युदर १००० मा ९.४ छ भने क्युवामा ६. ४ मात्र नेपालको जनताको औसत आयु ५८ छ भने प्रजग कोरियाको ७५. ५ वर्ष छ । नेपालको साक्षरता ५३ प्रतिशत छ, प्रजग कोरियाको ९० प्रतिशत र क्युवाको ९८ प्रतिशत छ ।
नेपालको कुनै देशसँग प्रत्यक्ष शत्रुता नभएको तथा धेरै मित्रराष्ट्रहरूको सहानुभूति पनि हामीसँग रहेको हुँदा नेपालको भोकमरीलाई उन्मूलन गर्न क्रान्तिकारी भूमिसुधार, जिउन लायकको ज्याला, सरकारले नेपाली उत्पादन र कुटीर व्यवसायको उत्पादन र प्रयोगमा प्राथमिकता दिनेछ, सीपमूलक र अनिवार्य प्राथमिक शिक्षाजस्ता नीतिहरू लागू गर्दा डेढ सय वर्षमा होइन २० वर्षमा देशको तस्बिर फेरिंदै जानेछ र ५० वर्षमा त नेपालको नक्सा नै फेरिने छ तथा नेपाली जनताको जीवनशैलीमा ठूलो परिवर्तन आउनेछ । अहिले झन्डै ५० लाख छात्रछात्राहरू अध्ययनरत छन् । क्युवा र प्रजग कोरियाको एकतिहाइ जनता अध्ययनरत छन् । अर्थात्, ५० वर्षमा नेपाल एक शिक्षित, सुसंस्कृत, वैज्ञानिक खेती र एक उद्योगमुखी देशमा परिणत हुनेछ ।
तिम्रो शुभचिन्तक मित्र
स्रोत : बरिष्ठ साहित्यकार नारायणमान बिजुक्छेद्वारा लिखित सय वर्षपछिको भक्तपुर
(२०५९ असोज)